त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका सबै सम्भावना समाप्त भएकाले स्तरोन्नति गर्न नसकिने निष्कर्षमा स्वयं सरकारी अधिकारी पुगेका छन् । यसअघिसम्म उनीहरूले विमानस्थल सुधारको चरणमै रहेकाले स्तरोन्नति गरिने बताउँदै आएका थिए । अब अर्को विमानस्थल निर्माणबिना यसलाई व्यवस्थित, सुधार र निर्माण गर्न असम्भव भएको टुंगोमा उनीहरू पुगेका छन् ।
नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल सुधार आयोजना, विमानस्थल कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीबीचको २ साता लामो छलफलले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई मात्रै उपयुक्त विकल्प देखेको छ । त्रिभुवन विमानस्थलको क्षमता केही विस्तार गर्न सकिए पनि धावनमार्गको बृहत् सुधार असम्भव भइसकेको निष्कर्ष उनीहरूले निकालेका छन् ।
छलफलमा मन्त्रालयका सचिव सुशील घिमिरे र सहसचिव पूर्णचन्द्र भट्टराई, प्राधिकरण महानिर्देशक रत्तिशचन्द्रलाल सुमन, आयोजना प्रमुख पुण्यराज शाक्य, विमानस्थल प्रमुख ऋषिकेश शर्मालगायत अधिकारी सहभागी थिए । १ सातापछि सरकारलाई औपचारिक प्रतिवेदन बुझाउने र सार्वजनिक गर्ने तयारी छ ।
निजगढमा निर्माण गरिने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम तत्काल सुरु गर्नुपर्ने सुझावलाई प्रतिवेदनमा उच्च प्राथमिकता दिइने भएको छ । निजगढ सञ्चालनमा आएपछि त्रिभुवनको गुणात्मक स्तरोन्नति गर्न सकिने निष्कर्षमा अधिकारीहरू पुगेका छन् । निजगढसँगै भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई पनि गति दिन सुझाव सुझाइने भएको छ ।
सरकारले हाल भैरहवा क्षेत्रीय विमानस्थल निर्माणकार्य अगाडि बढाइसकेको छ भने पोखरा र निजगढलाई राष्ट्रिय गौरवका प्राथमिकताप्राप्त आयोजनामा राखेको छ । भैरहवा र पोखरा क्षेत्रीयस्तरको एकल धावनमार्गमा निर्माण गर्न लागिएका हुन् भने निजगढ दोहोरो धावनमार्गसहित अत्याधुनिक सेवा उपलब्ध गराइने अन्तर्राष्ट्रिय विमानस्थल हो । कोरियाली कम्पनी ल्यान्डमार्कले यसको विस्तृत अध्ययन प्रतिवेदन तयार पारी सरकारलाई बुझाइसके पनि निर्माण प्रक्रिया भने अगाडि बढ्न सकेको छैन ।
धावनमार्ग यो वर्ष पनि भत्किन सक्ने
३ वर्षयता पटक–पटक भत्किँदै आएको धावनमार्ग यो वर्ष भत्किन सक्ने भएकोले सचेत रहन मन्त्रालयले त्रिभुवन विमानस्थल कार्यालयलाई निर्देशन दिएको छ । तर, धावनमार्ग पुनःनिर्माण गर्दा उडानै रोक्नुपर्ने भएकाले तत्काल यो सम्भव छैन ।
धावनमार्ग भत्किँदा गत वर्ष २ सातामा ४ पटक उडान अवरुद्ध भएका थिए । पर्यटकीय मौसममा दैनिक साढे ४ सयदेखि ४ सय ५० वटासम्म उडान÷अवतरण हुन्छन् । अफ सिजनमा भने दैनिक २ सय ५० वटामा सीमित हुन्छ । हाल त्रिभुवन विमानस्थलमा २७ अन्तर्राष्ट्रिय र १४ वटा आन्तरिक वायुसेवा कम्पनीले उडान भरिरहेका छन् ।
सन १९४९ मा पहिलो पटक गौचरणमा सिंगल इन्जिन जहाज अवतरण गरेको १ वर्षपछि भारतमा दर्ता रहेको डकोटा जहाजले काठमाडौंबाट भारतका पटना, कोलकाता र नयाँदिल्ली उडान सुरु गरेको थियो । १९५२ मा काठमाडौंबाट पोखरा, भैरहवा, सिमरा र विराटनगर उडान सुरु भएको थियो । सन् १९५५ मा त्रिभुवन र १९६४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण गरिएको थियो ।
क्षमताभन्दा बढी हवाई सम्झौता
सरकारले क्षमताबिनै दीर्घकालका लागि भन्दै धमाधम हवाई सम्झौता गरिरहेको छ । तर, छिट्टै अर्को विमानस्थल निर्माण गर्न नसके यही सम्झौता घाँडो बन्ने देखिन्छ । हाल सरकारले ३६ मुलुकसँग हवाई सम्झौता गरिसकेको छ, जसअनुसार वार्षिक ३० हजार ९ सय ९२ उडान हुन्छन् । सम्झौता भएका सबै मुलुकले उडान गर्न चाहे कसरी, कहाँ उडान÷अवतरण गराउने भन्ने जवाफ सरकारी अधिकारीसँग भने छैन । उनीहरूको एउटै जवाफ हुन्छ, “अर्को विमानस्थल निर्माण र पूर्वाधार खडा गरेपछि सबै समस्या समाधान हुन्छन् ।” विमानस्थलको क्षमताकै कारण सरकारले ठूला हवाई सम्झौता गर्न सकेको छैन ।
हाल अन्तर्राष्ट्रिय उडातर्फ ९ वटामात्र जहाज पार्किङ क्षमता छ । एकपटकमा १ हजार २ सयभन्दा बढी यात्रुलाई सेवा दिन सकिँदैन । विमानस्थल बिहान ६ बजे खुल्छ भने राति साढे १२ बजे बन्द हुन्छ । दैनिक करिब ५ दर्जन अन्तर्राष्ट्रिय तथा साढे २ सयदेखि ३ सयसम्म आन्तरिक उडान हुन्छन् ।
४ दशकपछि धावनमार्ग विस्तार
झन्डै ४ दशकपछि विमानस्थलको धावनमार्ग केही विस्तार गर्न लागिएको छ । प्राधिकरणले ६ सय मिटर धावनमार्ग थप्न लागेको हो । उत्तर र दक्षिण दुवैपट्टि ३–३ सय मिटर विस्तार गरिने प्राधिकरणले जनाएको छ । दक्षिणपट्टि कोटेश्वर र उत्तरपट्टि गुह्वेश्वरी फाँटसम्म विस्तार हुनेछ । विस्तारपछि धावनमार्गको लम्बाइ ३ हजार ६ सय ५० मिटर हुनेछ ।
सन् १९६६ मा धावनमार्गको लम्बाइ ६ हजार ६ सय मिटर बनाइएको थियो । त्यसअघि ३ हजार ७ सय मिटर थियो । त्यसपछि १९७५ मा करिब ३ हजार मिटर पु¥याइएको थियो ।
No comments:
Post a Comment