मिति: 2012-07-11
काठमाडौं, २६ असार -नेपाल हुँदै तिब्बत भ्रमण जाने पर्यटकको संख्या घट्ने
क्रम सुरु भएको छ । चिनियाँ सरकारले सुरक्षाको कारण देखाउँदै महिनैपिच्छे
संशोधन गर्ने कानुनी प्रावधानले तिब्बत जाने पर्यटक संख्या घटेको हो ।
तिब्बतले गत महिनादेखि तिब्बत घुम्नका लागि एउटै मुलुकका पाँच जनाको
समूहमा जानुपर्ने प्रावधान राखेपछि त्यसको असर नेपाली पर्यटन व्यवसायमा
प्रत्यक्ष रूपमा पर्ने देखिएको छ । तिब्बतमा गत महिनादेखि लागूभएको पर्यटकको समूह एउटै मुलुकको हुनुपर्ने प्रावधानले नेपालका टे«किङ एजेन्सीहरूलाई हाल समूह जुटाएर तिब्बत पठाउन गा¥हो भएको हो । खासगरी विदेशी पर्यटकहरूले नेपाल आउँदा तिब्बतको पनि प्याकेज बनाएर आउने गरेकाले पाँचजना समूह बनाएर घुमाउन अफ्ठेरो भएको व्यवसायीले बताएका छन् ।
गत वर्ष बेमौसममा युरोपियन र अन्य मुलुकहरूबाट नेपाल हुँदै तिब्बत जाने पर्यटक संख्या झन्डै १० हजारको हाराहारीमा रहेकोमा चालू वर्षको सिजनमा ५ हजार पनि नपुग्ने भएको छ । हाल नेपाली पर्यटन व्यवसायीले तिब्बतको प्याकेज बिक्री गर्न सकेका छैनन् ।
गत तीन महिना अगाडिको सिजनमा पनि तिब्बत नाका बन्द गरिएको र नाका खुले लगत्तै पुनः एउटै मुलुकको पाँच जनाको समूहमात्र जानसक्ने प्रावधानलले गत वर्षभन्दा ५० प्रतिशतले कमी आएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष महेन्द्रसिंह थापाले बताए । “तिब्बत जाने पर्यटक घट्दा स्वाभाविक रूपमा नेपाली पर्यटन व्यवसायी र नेपालको पर्यटनमा असर पर्छ,” थापाले भने । तिब्बतको आन्तरिक कलहले गर्दा त्यहाँको सरकारले पर्यटन क्षेत्रलाई त्यति चासो नदिएको अवस्थामा नेपालको मुस्ताङ, अपर डोल्पालगायत क्षेत्रलाई खकुलो गरिए तिब्बत जाने पर्यटक नेपालको मुस्ताङ जाने उनको भनाइ छ । नेपालको मुस्ताङ क्षेत्रमा जान १० दिनमा प्रतिव्यक्ति थोरैमा पनि २ हजार ५ सय डलर खर्च गर्नुपर्ने तर तिब्बत भ्रमणका लागि १ हजार डलरमा १० दिन घुम्न सक्ने भएकाले नेपाल घुम्नुको सट्टा तिब्बत जाने गरेको उनको भनाइ छ । नेपालको मुस्ताङ, अपर डोल्पालगायत क्षेत्रमा जानका लागि दुई जनाको समूहमा जानुपर्ने प्रावधान रहेकाले पनि समस्या सिर्जना गरेको उनको भनाइ छ ।
तिब्बतमा देखिएको समस्याबाट नेपालले फाइदा लिन नसक्दा नेपाली पर्यटन व्यवसायीलाई समस्या हुने देखिएको थापाको भनाइ छ । हामीले जोमसोम उडान भर्ने विमान र जोमसोम विमानस्थललाई मात्र सुधार गर्न सके पनि तिब्बत जाने पर्यटक नेपालमा राख्न सकिने उनको भनाइ छ ।
वार्षिक ४ लाख भारतीय पर्यटक तिब्बतमा
नेपालको बाटो हुँदै वार्षिक ४ लाख भारतीय पर्यटक तिब्बत भ्रमणमा जाने गरेका छन् । यो संख्या हवाई र स्थलमार्ग दुवैको एकीकृत तथ्यांक हो । तिब्बतमा रहेको कैलाश पर्वतलाई भारतीय हिन्दु धर्मालम्बीहरूले विशेष मान्ने गरेकाले भारतीय पर्यटकको संख्या बढेको अध्यक्ष थापाले जानकारी दिए ।
गत वर्ष नेपालको बाटो हुँदै ४ लाखभन्दा बढी भारतीय पर्यटकले तिब्बत भ्रमण गरेका थिए । उनीहरूले नेपालमा कम्तीमा दुई रात बिताउने र तातोपानीको बाटो हुँदै तिब्बत जाने गरेकाले नेपालको पर्यटनमा ठूलो टेवा पुगेको थापाको तर्क छ । नेपाल हुँदै तिब्बत जाने पर्यटकमध्ये ७५ प्रतिशत पर्यटक ट्रेकिङ एजेन्सीमार्फत जाने गरेका छन् ।
No comments:
Post a Comment