आर्थिक क्षेत्रका विशेष गतिविधी

Tuesday, November 3, 2015

नयाँ पर्यटकीय गन्तव्य : बडिमालिका


केदार दाहाल
नयाँ पर्यटकीय गन्तव्य : बडिमालिकाप्रकृतिसँग नरमाउने मानिस सायदै कम हुन्छन् । त्यसमध्ये हिमाल र बादलभन्दा पनि माथि आफूलाई पाएपछि नरमाउने कुरै भएन । बाजुराको कैलाशमान्डु गाविसमा रहेको बडिमालिका वास्तवमै अनुमप र सुन्दर स्थल  हो ।
ठाडो पहाडको बाटो हरेक समय परिरहने सिमसिम पानीमा भिज्दै बडिमालिका क्षेत्रमा पुग्दा पृथ्वीलाई छोडेर सौर्यमण्डलको छुट्टै ग्रहमा पुगेको भान गराउँछ । बडिमालिका क्षेत्र प्रकृतिको हिसाबले धनी हँुदा–हँुदा पनि मानव निर्मित भौतिक सुविधाले पछिपर्दा भने केही खिन्नता महसुस हुन्छ । समुद्री सतहबाट झन्डै ४ हजार ३०० मिटर उचाइमा रहेको बडिमालिका क्षेत्र सुदूरपश्चिमको मात्र सुन्दर क्षेत्र नरहेर नेपालका चर्चित क्षेत्रमध्ये एक हो । अन्य समयमा सुनसान रहने यस क्षेत्रमा जनैपूर्णिमाको अघिल्लो दिन सुदूरपश्चिमका ९ वटै जिल्लाबाट स्थानीयहरू झन्डै १० हजारको हाराहारीमा पूजा गर्नका लागि त्यस क्षेत्रमा जाने गर्छन् ।
प्राकृतिक छटाले भरिपूर्ण त्यस क्षेत्रको विकासका लागि हालसम्म कुनै पनि गतिविधि अगाडि नबढेको यस क्षेत्र पर्यटकीय सम्भावना बोकेको सुन्दर क्षेत्र हो । धार्मिक पर्यटनको विशेष सम्भावना रहेको यस क्षेत्रमा काठमाडौैंबाट त्यस क्षेत्रमा पुगेर काठमाडौंमा फर्कनका लागि ९ दिन समय लाग्छ । हवाईमार्ग, सडक मार्ग र ५ दिनको पैदलयात्राले बडिमालिका यात्रा सहज र रमाइलो बनाउँछ । पैदल यात्राको क्रममा पूरैक्षेत्र जंगल र पहाड मात्र भएकोले खाने–बस्ने व्यवस्था भएकाले टेन्टमा बास बस्नुपर्छ, जसका लागि सबै व्यवस्था समूहले आफैं गर्नुपर्छ ।

धार्मिक महत्व  
बडिमालिका मन्दिर हिन्दू धर्मावलम्बीका लागि धार्मिक आस्थाको केन्द्र बिन्दुका रूपमा छ । यहाँ हरेक वर्ष जनै पूर्णिमाको सु–अवसर पारेर मेला लाग्ने गर्छ । मेला अवधीमा सुदूर पश्चिमाञ्चलका सम्पूर्ण जिल्ला, कर्णाली अञ्चलका तथा अन्य जिल्लाहरू साथै भारतबाट पनि दर्शनार्र्थीको भीड लाग्ने गरेको छ । धार्मिक ग्रन्थ, स्वस्थानी व्रत कथाको आधारमा यस क्षेत्रमा (मन्दिर) दक्ष प्रजापतिको यज्ञमा सतीदेवीले आत्मदाह गरेपछि शिवजीले उनको मृत शरीर बोकेर विभिन्न स्थानमा घुम्ने क्रममा यहाँ पुगेर सतीदेवीको कुम पतन भई यस पर्वत (मलयागिरी पर्वत) मा देवी उत्पन्न भई बडिमालिका मन्दिर स्थापना भएको कथन छ । त्यसैले हिन्दू धर्मावलम्बीहरूले आफ्नो मनोकांक्षा पूर्ण होस् भन्ने उद्देश्यका साथ यस मन्दिरमा दर्शन गर्न आउने गरेका छन् ।
पर्यटकीय महत्व
बडिमालिका मन्दिरसँग आफनो छुट्टै धार्मिक महत्वको विषय भए पनि यस मन्दिर जान आउन गर्नुपर्नेबीच बाटोमा प्रशस्तै यस्ता स्थलहरू छन्, जसबाट प्रचुर मात्रामा आन्तरिक तथा बाह्य पर्यटकहरू भिœयाई आर्थिक उपार्जन गर्न सकिने सम्भावनाहरू छन् । बडिमालिका मन्दिर पुग्न बाजुरा सदरमुकाम मार्तडीदेखि जान आउन करिब ३,४ दिन लाग्छ । सदरमुकामबाहेक यस मन्दिर जान छोटो बाटोको रूपमा कैशाशमाण्डु गाविसको नाटेश्वरी मन्दिर भएर जान सकिन्छ । यी तिन ठाउँबाट जाँदा बाटामा थुप्रै मन्दिर, जडिबुटी, वनस्पति, वन्यजन्तु, पहाड, पर्वत, नदी, खोल्सा, झरना आदि जस्ता पर्यटकलाई आकर्षित गर्ने खालका र उनीहरूका मुख्य खोजीका विषयहरू त्यस क्षेत्रमा छन् ।
बडिमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र हो । एकैदिन १० हजारको संख्यामा पुग्ने तीर्थयात्रीहरूको उपस्थितिले यसलाई प्रमाणित गर्छ । प्रचार–प्रसारमा ल्याउन सके आन्तरिक तथा धार्मिक पर्यटन बढ्नेमा दुईमत छैन । यसका साथसाथै बडिमालिका क्षेत्रबाट प्याराग्लाइडिङको सम्भावना पनि प्रचुर छ । यसका लागि अध्ययन भए पनि व्यवहारमा भने लागू हुन सकेको छैन । भाद्र जनैपूर्णिमा बाहेकको अन्य समयमा पनि यस क्षेत्रमा पर्यटक लैजान सके सुदूरपश्चिममा खप्तड पछिको दोस्रो प्रसिद्ध पदयात्रा तथा पर्यटकीय स्थल बन्न सक्छ ।
काठमाडौं–बडिमालिका नवौं दिनको यात्रा 
पहिलो दिन   
काठमाडौंबाट ९ दिन समयमा पूरै घुमेर फर्किन सकिने यस क्षेत्रमा जानका लागि पदयात्राबाहेक अन्य विकल्प छैन । काठमाडौंबाट १ घन्टा २० मिनेटको हवाई यात्रापछि धनगढी विमानस्थल पुग्न सकिन्छ । त्यसपछि भने सोही दिन धनगढी बाट ५ घन्टाको सवारीको यात्रापछि डडेलधुरामा गएर पहिलो दिनको यात्रा सकिन्छ ।
दोस्रो दिन
डडेलधुराबाट डोटीको दीपायल, सिलगढी हँुदै अछामको साँफेबगरबाट अगाडि बाजुराको मौरिया ८ घन्टाको  बस यात्रापछि पुग्न सकिन्छ । मौरियाबाट पुन २ घन्टाको यात्रापछि लामागढा पुग्न सकिन्छ । केही छिनको पैदल यात्रापछि बाजुराको जडंगा पुगेपछि दोस्रो दिनको यात्रा समाप्त हुन्छ ।
तेस्रो दिन
समुद्री सतहबाट १ हजार १६७ मिटर उचाइमा रहेको जडंगाबाट ४ घन्टाको पैदल यात्रापछि कोर्दा भन्ने स्थानमा बिहानको खाना खाइन्छ । त्यसपछि लगातार ५ घन्टाको पैदलयात्रापछि  ९ घन्टाको पदैल यात्रापछि २ हजार ९९१ मिटर उचाइमा रहेको करली चौर भन्ने स्थानमा बास बस्नुपर्छ । पानीको सुविधाहरू रहेकाले त्यसक्षेत्रामा बस्न खासै समस्या हुँदैन ।
चौथो दिन   
चौथो दिनको यात्रा धेरै उचाइसम्म हुने भएकाले केही लेक लाग्ने समस्याले समेत सताउने भएकाले पानी जतिसक्दो धेरै पिउनुपर्छ । करलीचौरबाट बिहान ७ बजेदेखि हिँड्दा त्यो दिनको यात्रा बूढीगंगाको शिरभाग रक्तकुन्ड र दूधकुन्डको संगम त्रिवेणीसम्म पुग्नका लागि ९ घन्टाभन्दा बढी समय पैदलयात्राको क्रममा लाग्छ । करलीचौरबाट केही घन्टाको पैदल यात्रापछि  ३ हजार १३२ मिटर उचाइमा रहेको देउराली छौपाटनमा पुग्न सकिन्छ । छौपाटनबाट केही तल पारिपाटन हँुदै सोटा पाटन भन्ने स्थानमा बिहानको खाना खाइन्छ । जुन ३ हजार ४०३ मिटर उचाइमा पर्छ, जहाँ मानव निर्मित जस्तो देखिने फूलहरूले पूरै क्षेत्र ढकमक्क देखिन्छ । जहाँ प्रकृतिले आफैं निर्माण गरेको हो । त्यसमा केही समयको आरमपछि पदैल यात्रा सुरु हुन्छ । २ घन्टाको पदैल यात्रापछि ३ हजार ६३९ मिटर उचाइमाथि रहेको घोडापाटन क्षेत्र पुग्न सकिन्छ । घोडापाटनबाट केही घन्टाको पैदल यात्रपछि वीरबसौना हुँदैै ३ हजार ३६७ मिटर उचाइमा रहेको भित्ताछैना भन्ने स्थानमा पुग्न सकिन्छ । सयौंथरीका फूलहरूले मन लोभ्याउँदै झन अगाडि बढ्न प्रेरित गर्छ । त्यसको केही घन्टाको पैदलयात्रापछि समुद्री सतहदेखि ३ हजार ८७० मिटर उचाइमा रहेको कालीकोट र बाजुरा जिल्लालाई जोडेको त्रिवेणी पुग्न सकिन्छ । उक्त क्षेत्रलाई बूढीगंगा नदीको शिरभागको रूपमा रहेको त्रिवेणीमा दूधकुन्ड र रक्तकुन्ड नदी मिसिएको छ । बडिमालिका जान आउने हजारांै तीर्थयात्रुहरू पालटाँगेर त्यसै नदीको छेउछाउमा रात बिताउँछन् । काठमाडौंबाट हिँडेको चौथो दिनको रात त्यसै क्षेत्रमा बिताइन्छ ।
पाँचौं दिन
बडिमालिका पुगिने दिन भएकाले पाँचौं दिन विशेष खालको स्मरण राख्ने दृश्यहरू र कौतुहलताले बढी सताउँछ । बिहानैदेखि त्रिवेणीमा आफ्ना स्वर्गवास भएका बाबु र आमाको श्राद्ध गर्नेहरूको भीड नदीवरपर देखिन्थ्यो । केही भने पूजा गर्नमा बेस्त देखिन्थे नदीको बीचभागमा । तर, त्यो दृश्यले भन्दा त्यसको माथिल्लो भागहरूमा देखिने घाम र छायाले मन लोभ्याउँछ । केही छिनमै पूरै अन्धकार हुने गरी कुहिरोले ढाकिन्छन पहाडहरू भने केही छिनमै घाम लागेर खुल्दा कतै स्वर्गमा आइपुगेको भान हुन्छ त्रिवेणी वरपरको दृश्य ।  त्रिवेणी क्षेत्रमा रहेको अर्को अचम्म लाग्दो र आकर्षक दृश्यावलोकनको क्षेत्र हो खेतीबेती । यो क्षेत्रमा तराईका फाँटमा झै यति उचाइमा धानका गह्राहरूझै मिलाएर धान रोपिएको जस्तै दृश्य देख्न सकिन्छ । यहाँ लगाएको जस्तो देखिने धान जस्तै तर नफलेको देखिन्छ । यी गह्राहरूमा यो बाली दूरी मिलाएर डोरी हालेर लगाएको जस्तो गरी बोटहरू रोपिएका छन् । पौराणिक कथनअनुसार वर्षायाममा चराहरू बेसीतिर नहुनुको कारण त्यहाँ गएर खेतीबेतीमा खेती गर्छन् रे । बिहानको सुन्दर दृश्यको अवलोकनपश्चात् सुरु हुन्छ बडिमालिका मन्दिरको यात्रा । त्रिवेणीबाट लगातार ६ घन्टाको यात्रापछि बडिमालिका पुगिन्छ । त्रिवेणीबाट केही घन्टाको हिँडाइपछि लौरी विनायक पुग्न सकिन्छ । जहाँ भेडा र घोडा चरेका दृश्यहरू देख्न सकिन्छ । ६ घन्टाको पैदल यात्रापछि पाँचौं दिनको साँझ बडिमालिका मन्दिर परिसर पुगिन्छ । समुद्री सतहबाट ४ हजार २१४ मिटर उचाइमा रहेको बडिमालिका मन्दिर वरपर हजारांै तीर्थयात्रीहरू पालटाँगेर रात्री १२ बजे देखिलाग्ने पुजाको प्रतीक्षमा बसेका हुन्छन् । बेलुकीपख खास मौसम नखुल्ने भएकाले चिसोका कारण धेरै मानिसहरू पालमा बस्छन् ।
छैटौं दिन
छैटौं दिनको बिहान बडिमालिका मन्दिर परिसरबाट देखिने प्राकृतिक दृश्य शब्दहरूमा बयान हुन सक्दैनन् । पारिपाटी देखिने हिमालका दृश्य त्यसभन्दा तल बादल र बादलभन्दा माथि आफू रहेको दृश्य क्यामेरामा कैद गर्न तँछाड र मछाड गरेका हुन्छन् । विहान सूर्य उदाउँदाको दृश्य झनै मनमोहक देखिन्छ । रातको १२ बजेदेखि दिनको १२ बजेसम्म गरिने विशेष पूजामा १० हजारभन्दा बढीले दर्शन गर्छन् । पहाडको टाकुरामा रहेको मन्दिर परिसर मानिसहरूको भीडले कोलाहल भइरहे तापनि प्राकृतिक छाटाले आनन्द महसुस दिलाउँछ । केही घन्टाको बडिमालिकाको मनोरम दृश्यको अवलोकनपछि तल झर्नेक्रम सुरु हुन्छ । छैटांै दिनमा ४ हजार २१४ मिटर उचाइमा रहेको बडिमालिकाबाट बीचमा बस्ने स्थान नभएकाले २ हजार १०१ मिटर तल नाट्टेश्वरीमा आएर बास बस्नुपर्ने हुन्छ । बडिमालिकाबाट ३ हजार ६५६ मिटर उचाइमा रहेको विष्णुपानी, चानकिली हुँदै ३ हजार ३७७ मिटर उचाइमा झरेपछि धर्मघर आइपुगिन्छ । त्यस्तैगरी ३ हजार १७ मिटर उचाइमा रहेको ठूलागढा हँुदै २ हजार ६६१ मिटर उचाइमा रहेको मोतीबनी हुँदै २ हजार १९५ मिटर उचाइमा रहेको लामागढा पुगिन्छ । त्यसको १ घन्टाको पदयात्रापछि २ हजार १०१ मिटर उचाइमा रहेको नाट्टेश्वरी पुगिन्छ । बडिमालिकाबाट १० घन्टाको लगातार पदयात्रपछि नाट्टेश्वरीमा बास बसिन्छ । बडिमालिका पुगेका सबै तीर्थयात्रीहरू नाट्टेश्वरीमा आइपुगेपछि पालटाँगेर रातभर देऊडा गीत गाएर रमाइलो गरी बस्छन् ।
सातौं दिन
सातौं दिन जनैपूणर््िामा दिन पर्ने भएकाले नाट्टेश्वरीमा मन्दिरमा ठूलो मेला लाग्ने गर्छ । त्यहाँ जिल्ला प्रशासन कार्यालयले समेत बोकाको बली चढाउने प्रचलन छ । जनैपूर्णिमा दिन सबै तीर्थयात्रीहरूले पूजा गरेपछि आफ्नो गन्तव्यमा लाग्छन् । नाट्टेश्वरीबाट झन्डै ४ घन्टाको पैदलयात्रापछि १ हजार ८ मिटर उचाइमा रहेको मौरियामा आइपुगिन्छ । त्यसपछि बिहानको खाना खाएर बसको यात्रा सुरु हुन्छ । मौरियाबाट अछाम हँुदै ८ घन्टाको यात्रापछि डोटीको सदरमुकामा सिलगढी आइपुगिन्छ । त्यहाँ नै सातांै दिनको यात्रा समाप्त हुन्छ ।
आठौं दिन  
डोटीको सिलगढीबाट आठौं दिनको यात्रा सुरु हुन्छ । सिलगढीबाट डडेलधुरा हुँदै ८ घन्टाको बसको यात्रापछि धनगढी पुगिन्छ । धनगाढीमा आठांै दिनको यात्रा सकिन्छ ।
नवौं दिन    
नवौं दिन भने धनगढीमा रहेको धनगढी विमानस्थलबाट १ घन्टा २० मिनेटको हवाईयात्रापछि काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि बडिमालिका यात्रा समाप्त हुन्छ ।
एक जनाका लागि न्यूनतम खर्च (रुपैयाँमा)
काठमाडौं–धनगढी बसभाडा तथा खाना– २,०००।–
धनगढीदेखि जडांगा बसभाडा तथा खाना–२,०००।–
मौरयादेखि धनगढी बसभाडा–२,०००।–
धनगढीदेखि काठमाडौं बसभाडा तथा खाना–२,०००।–
होटेल तथा खाना खर्च–१०,०००।–
जम्माः १८,००० ।–
काठमाडौं धनगढी जहाजबाट थप–१०,००० ।–
जम्मा २८,०००।–
नोट–पदयात्राका क्रममा ३ दिन कुनै होटेल तथा आवासको सुविधा नभएकाले खाना तथा टेन्ट, स्लिपिङ ब्याग आफैंले प्रबन्ध गर्नुपर्ने हुन्छ

नेपालमै प्याराग्लाइडिङको प्रशिक्षण स्कुल खुल्दै

एक दर्जनले संस्थाले दिए आवेदन  
नेपालमै प्याराग्लाइडिङको प्रशिक्षण स्कुल खुल्दै

काठमाडौं, १७ कात्तिक   – प्याराग्लाइडिङका लागि नेपाल आकर्षक गन्तव्य बन्दै गइरहेका बेला अब पाइलटलाई प्रशिक्षण दिन पनि नेपालमै स्कुल खुल्ने भएका छन् । नेपालमा प्रशिक्षण स्कुल नहँुदा विदेशबाटै पाइलटहरू ल्याउनुपर्ने बाध्यता केही वर्षपछि समाप्त हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो संस्था खोल्न पछिल्लो समय १ दर्जन संस्थाल आवेदन दिएका छन् । धेरैजसो आवेदन पोखरामा सञ्चालित प्याराग्याइडिङ कम्पनी रहेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उनका अनुसार सञ्चालनको तयारीमा रहेका र वर्षौंदेखि सञ्चालनमा रहेका कम्पनीले समेत प्याराग्लाइडिङ स्कुलको अनुमति माग गरेका छन् ।
नेपालमा नै प्रशिक्षण दिएर नेपाली प्याराग्लाइडिङ पाइलट उत्पादन गर्ने मुख्य उद्देश्यले आवेदन परेको मन्त्रालयको भनाइ छ । मन्त्रालयसमक्ष पाइलट प्रशिक्षण संस्थाको आवेदन माग्नेमा एभिया क्लब नेपाल, ब्ल्यु स्काई, परि फ्लाई, ओपन स्काई, किमुलस क्लाउडसहितका दर्जन कम्पनी रहेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल अहिले अधिकांश विदेशी पाइलटल प्याराग्लाइडिङ उडाउने गरेका छन् । नेपाली पाइलट उत्पादन गर्ने र विदेशीलाई विस्थापन गरेर नेपालीबाट नै प्याराग्लाइडिङ सेवा सञ्चालन गर्ने उद्देश्यले प्रशिक्षण संस्थाको अनुमति मागिएको एभिया क्लबका निर्देशक बरुण ज्ञावलीले बताए । उनका अनुसार एभिया क्लबले अल्ट्रालाइटकोसमेत प्रशिक्षण संस्थाको अनुमति लिएको छ । यो संस्थाले हालसम्म ६  नेपाली पाइलट उत्पादन गरिसकेको छ ।
नेपालमा प्याराग्लाइडिङको व्यापार बढ्दै गएकाले प्रशिक्षण संस्थामार्फत आफैं पाइलट उत्पादन गर्न लागिएको पनि ज्ञवालीको भनाइ छ । उनका अनुसार नेपाली पाइलट उत्पादन भए विदेशीको तुलनामा कम खर्चमा नै प्याराग्लाइडर तयार हुन्छन् । नेपालीले रोजगारीका लागि बिदेसिनु नपर्ने र नेपालमा नै आम्दानीको राम्रो स्रोत हुने भएकाले पनि प्रशिक्षण संस्थाका रूपमा अनुमति लिन खोजिएको उनको भनाइ छ ।
पोखरा क्षेत्रमा मात्रै अहिले ३ दर्जन कम्पनीले अनुमति लिएर प्याराग्लाइडिङ सञ्चालन गरिरहेका छन् । धरान, सुर्खेत, बन्दिपुर, काठमाडौंसहितका अन्य गन्तव्यमा गरी कुल ५७ वटा कम्पनीले प्याराग्लाइडिङको अनुमति लिइसकेका छन् । नेपालमा पछिल्लो सयम साहसिक पर्यटन प्रतिको आकर्षण बढ्दै गाएकाले पनि प्याराग्लाडिङप्रतिको रुचि बढेको व्यवसायी बताउँछन् ।
नयाँ प्रशिक्षण संस्था स्थापनको लागि कार्यविधि आवश्यक पर्छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य सुरु गरिसकेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार कति चुक्ता पुँजी राख्ने, इजाजत शुल्क कति लिने, वार्षिक नवीकरण शुल्क कति तय गर्ने भन्ने विषयसहितको कार्यविधि तयार पारेर दसैंपछिबाट अनुमति दिन सकिने भएको छ । अहिलेसम्म यस्तो कम्पनी मन्त्रालयमा आइनपुगेको र पहिले कुनै मापदण्ड नभएकोले पनि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिएको छ ।
हवाई उड्डयन क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरलेले भने प्राधिकरणले यसअघि तयार पारेको हवाई खेलकुद संस्थाको नियमावलीअनुसार प्रशिक्षण संस्थालाई अनुमति दिन सकिने बताए । उनका अनुसार हवाई खेलकुद नेपालमा पछिल्लो समय उदीयमान हुँदै गएकाले पनि यो क्षेत्रबाट निकै आशा गर्न सकिन्छ । अहिले पोखरा क्षेत्रमा मात्रै केन्द्रीकृत रहको प्याराग्लाइडिङलाई विस्तारै अन्यन्त्र पनि फैलाउँदै लैजाने गरी मन्त्रालयत तथा प्राधिकरणबाट अनुमति दिन थालिएको छ । प्रशिक्षण संस्था खोलेरै नेपालमा नै पाइलट उत्पादन गर्नुलाई सकारात्मक रूपमा लिनुपर्ने पनि पोखरेलको बुझाइ छ । मन्त्रालयले प्याराग्लाइडिङ सञ्चालन गर्न १ करोडको चुक्ता पुँजी देखाएर कम्पनी खोल्नुपर्ने, निवेदन दस्तुर ५ हजार, बैंक ग्यारेन्टी ५ लाख, इजाजत दस्तुर ५० हजार रुपैयाँ लिएर नयाँ कम्पनी सञ्चालको अनुमति दिने गरेको छ । बैंक ग्यारेन्टी भने कम्पनीले सेवा सञ्चालन गरेको ६ महिनापछि फिर्ता हुने गरेको छ ।

पर्यटन बोर्डको सीईओ कात्तिकभित्रै

केदार दाहाल
काठमाडौं, ११ कात्तिक– चार वर्षदेखि कार्यकारी प्रमुख (सीईओ) विहीन रहेको नेपाल पर्यटन बोर्डले यो महिनाभित्रै नायाँ सीईओे पाउने भएको छ । सीईओे नियुक्ति प्रक्रियामा पुनरावेदन अदालत पाटनले बाटो खोलिदिएको २ महिनापछि  बोर्ड सञ्चालक समितिले काम थालेको हो ।
अदालतले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत अविलम्ब नियुक्ति गर्नु भनी विपक्षीका नाममा परमादेश जारी गरेपछि कानुनी बाटो खुलेको थियो । “हामी अब सबै हिसाबले सीईओे नियुक्त गर्ने अन्तिम प्रक्रियामा पुगेका छौं, २० दिनभित्रले बोर्डले नेतृत्व पाउनेछ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेश थपलियाले भने । बोर्ड सञ्चालक समितिका अध्यक्षसमेत रहेका थपलियले अब सीईओे नियुक्तिमा कहीँ–कतैबाट पनि अवरोध नरहेको बताए ।
पुनरावेदनको पछिल्लो परमादेशसँगै सीईओे नियुक्तिका लागि अदालतमा विचाराधीन मुद्दालाई आधार बनाएर पन्छिँदै आएका सरोकारवाला निकायले यसपटक भने सीईओे नियुक्त प्रक्रियालाई टुंगोमा पु¥याउन लागि परेका छन् । बोर्ड ०६८ मंसिरयता नेतृत्वविहीन अवस्थामा छ ।
बोर्डले सीईओे छनोटका लागि ०६८ देखि नै प्रक्रिया सुरु गरेको थियो । सोही क्रममा प्रारम्भिक छनोट प्रक्रिया पार गरेका १२ जना उम्मेदवारको सूची निकालिएको थियो । प्रक्रिया नटुंगिदै बोर्डले ०७२ जेठ २७ मा सोही पदका लागि पुनः विज्ञापन आह्वान गरी सीईओे नियुक्ति प्रक्रिया अगाडि बढाएको थियो ।
पछिल्लो प्रक्रिया गैरकानुनी भएको र रद्द हुनुपर्ने माग गर्दै नेपाल पर्यटन बोर्ड कार्यकारी समितिलाई विपक्षी बनाइ नारायणकृष्ण प्रधान, विष्णुबहादुर जिसी, रघु विष्ट र ज्ञानेन्द्ररत्न तुलाधर अदालत गएका थिए । उनीहरू पुरानो प्रक्रियाको प्रारम्भिक छनोटबाट उत्तीर्ण उम्मेदवार हुन् ।
नेपाल पर्यटन बोर्ड ऐन, ०५३ र नेपाल पर्यटन बोर्ड नियमावली, ०५४ मा पहिले आह्वान गरिएको विज्ञापन कानुनबमोजिम रद्द वा बदर नभएको अवस्थामा सोही पदका लागि पुनः विज्ञापन गर्न पाउने व्यवस्था नभएकाले पुनः विज्ञापन प्रक्रियालाई गैरकानुनी ठहर गर्दै पुनरावेदनले बदर गरिदिएको थियो ।
“पुनरावेदनको पछिल्लो आदेशपछि छनोट प्रक्रियाको प्रारम्भिक चरण पार भइसकेका १२ जना उम्मेदवारभित्रबाटै सीईओे नियुक्ति हुनेछ,” सचिव थपलियाले भने । अदालतको आदेशलाई सम्मान गर्दै पुरानै प्रक्रियाबाट अगाडि बढ्नुको विकल्प नरहेको सीईओेका एक उम्मेदवार विष्णुबहादुर जिसीले बताए ।
लामो समयदेखि बोर्डमा सीईओे नियुक्ति हुन नसक्दा पर्यटन क्षेत्र अस्तव्यस्त बनेको बोर्डका अर्का उम्मेदवार भूमिलाल लामाले बताए । “मुद्दामामिलालाई आधार मानेर सीईओे नियुक्तिमा आलटाल गर्ने काम भयो,” उनले भने, “अब प्रक्रियामार्फत सीईओे नियुक्ति हुने भएको छ ।”
पर्यटन बोर्डका सदस्य तथा सीईओे छनोट उपसमिति सदस्य घनेन्द्रबहादुर श्रेष्ठले नियुक्ति कामकारबाही अगाडि बढेको बताए । उपसमितिमा श्रेष्ठसहित पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय  र राजेन्द्र सापकोटा सदस्य छन् । श्रेष्ठ र सापकोटा बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गरिरहेका सदस्य हुन् । सीईओे नियुिक्तका लागि यसपटक भने लोकसेवा आयोगका १ प्रतिनिधिसमेत रहने छन् ।

निगमले २ वटा वाइड बडी किन्ने


काठमाडौं, १५ कात्तिक – नेपाल वायुसेवा निगम सञ्चालक समितिले वाइड बडी जहाज खरिद प्रक्रिया अघि बढाउने भएको छ । समितिको दसैंअघि नै बसेको बैठकले जहाज खरिदका लागि प्राविधिक समिति बनाउने निर्णय गरेको छ । समितिले विस्तृत योजनासहितको सुझाव सञ्चालक समितिलाई दिएपछि वित्तीय व्यवस्थापनसँगै विश्वव्यापी बोलपत्रको प्रक्रिया अगाडि बढाइनेछ ।


समिति तयार नभइसके पनि छिट्टै टुंग्याइने निगम प्रवक्ता रामहरि शर्माले जानकारी दिए । नेपालमा चरम इन्धन अभावलगायत समस्याले सबै राज्यसंयन्त्र अन्यत्र केन्द्रित हुनु परेकाले तिहारपछि प्रक्रिया अगाडि बढाइने उनले बताए ।
सन् १९८७ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि २ जहाज (बोइङ–७५७) खरिद गरेको थियो । त्यसको २७ वर्षपछि गत वर्ष २ एयरबस–३२० खरिद गरेर अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । न्यारो बडी जहाजले मात्र अन्तर्राष्ट्रिय बजार लिन नसक्ने भएकाले वाइड बडी आवश्यक रहेको भन्दै निगमले प्रक्रिया अगाडि बढाउन लागेको हो ।
“हामी लामो रुटमा जान वाइड बडी नै आवश्यक पर्छ, हाल भएका जहाजले छोटो दूरीमा मात्र उडान गर्ने हो,” शर्माले भने, “जहाज किन्ने प्रक्रिया लामो हुने भएकोले सबै व्यापारिक योजना बनाएर खरिद गरिनेछ ।”
आगामी ३ वर्षभित्रमा वाइडबडी खरिद गर्ने निगमको योजना छ । २ बोइङ ७५७ पुराना भइसकेकाले पनि केही वर्षभित्रै विस्थापन गर्ने र नयाँ जहाज खरिद गर्ने लक्ष्य उसले लिएको छ ।
निगमले २७ वर्षपछि सञ्चय कोषसँग १० अर्ब रुपैयाँ ऋण लिएर एयरबसका २ जहाज खरिद गरेको हो । ऋण तिर्ने कसरी भन्नेमै अलमल रहेका बेला वाइड बडी किनेर यही व्यवस्थापनले चलाउन सक्नेमा निगमका उच्च अधिकारी नै विश्वस्त छैनन् ।
निगमको व्यवस्थापन सुधार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्तिको तयारी पनि भइरहेको छ । निगमले विश्वव्यापी बोलपत्र आह्वान गरेर परामर्शदाता मागेकोमा एयरबस, लुफ्थान्सासहित २१ विदेशी कम्पनीले इच्छा देखाएका छन् ।
एयरबस ए–३२० सिरिजको न्यारो बडीमै निगमले झन्डै ८ अर्ब रुपैयाँ खर्चिएको छ । तर, नयाँ जहाज भए पनि पाइलट तथा प्राविधिक अभाव सल्टाउन उसले सकेको छैन, जसका कारण सानो समस्याले पनि जहाज पटक–पटक ग्राउन्डेड हुँदै आएका छन् ।
गत वर्ष फागुन र वैशाख गरी निगमले एयरबसका २ जहाज खरिद गरेको थियो । यिनबाट दिल्ली, मुम्बई, बैंग्लोरमा उडान भइरहेको छ । पुराना २ बोइङले पनि विभिन्न सेक्टरमा उडान गरिरहेका छन् ।
सरकारले संशोधन गर्न लागेको सार्वजनिक खरिद ऐनमा निगमले बिनाटेन्डर सिधै जहाज खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।
निगम स्रोतका अनुसार सन् २०१९ सम्म बोइङका २ जहाज विस्थापन गर्नुका साथै सोही अवधिभित्र २ वाइड बडी खरिद गर्ने योजना अघि बढेको छ । यसअघि निगमले तयार पारेको सन् २०१५–२०२४ व्यावसायिक योजनामा भने बोइङ विस्थापन गरेर नयाँ खरिद गर्ने कुरा उल्लेख छ । निगमले १० वर्षमा २५ वटा जहाजमार्फत सेवा दिने रणनीतिक योजना तयार पारेको थियो ।

निगमले ल्यायो साढे ५ लाख लिटर हवाई इन्धन


काठमाडौं, १३ कात्तिक – इन्धन अभाव चुलिएपछि नेपाल वायुसेवा निगमले हालसम्म भारतको कोलकाताबाट ५ लाख ५० हजार लिटर हवाई इन्धन ल्याएको छ । भारतीय नाकाबन्दीका कारण आन्तरिक उडानमै समस्या पर्न थालेपछि दसैंअघि सरकारले निगमलाई जहाजमार्फत हवाई इन्धन ल्याउन निर्देशन दिएको थियो ।
निगमले बोइङ ७५७ को एसीबी जहाजमार्फत इन्धन ल्याएको प्रवक्ता रामहरि शर्माले बताए । “उडान नियमित राख्न र दसैंका बेला धेरै यात्रुलाई सेवा दिन कोलकाताबाट चार्टर उडान गरी हवाई इन्धन ल्याएका हौं,” उनले भने ।
निगमले हालसम्म नेपाल आयल निगमका लागि १७ वटा चार्टर फ्लाइट गरी ३ लाख ७४ हजार लिटर हवाई इन्धन ल्याएको छ । यो तेल आयल निगममार्फत अन्य एयरलाइन्सलाई उपलब्ध गराइँदै आउकोछ । निगमले आफ्नो आन्तरिक उडान सुचारु गराउन हालसम्म ८ वटा चार्टर फ्लाइटमार्फत १ लाख ७६ हजार लिटर हवाई इन्धन ल्याएको छ । “निगमले तेल ल्याएपछि सबै एयरलाइन्सले दसैंमा सेवा दिन सकेका हुन्,” शर्माले भने ।
निगमले बोइङ ७५७ को प्रत्येक उडानबाट ३६ टन हवाई इन्धन ल्याउने गरे पनि एउटा उडानका लागि जहाजलाई ८ टन इन्धन आवश्यक पर्छ । ६ टन टं्याकमै स्टक राख्नुपर्ने भएकोले २२ टन तेलमात्र खन्याउने गरेको छ । यसरी ल्याइएको इन्धन आयल निगमको स्टोरेज ट्यांकमा जम्मा गर्ने गरिएको शर्माले बताए । कोलकाताको उडान ४५ मिनेटको मात्र हुने र काठमाडौंको तुलनामा हवाई इन्धन सस्तो भएकाले त्यहीँबाट चार्टर गरी ल्याइएको हो ।
उता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दैनिक ५ उडान गरी तेल ल्याउन निर्देशन दिए पनि निगमले भने ३ उडानमात्रै गर्ने तयारी गरिरहेको छ । उसले अहिले २ वटा चार्टर उडान गरी तेल ल्याइरहेको छ । परिस्थिति र आवश्यकताअनुसार यस्ता चार्टर उडान थप्दै जाने तयारी गरिएको शर्माले बताए ।
मन्त्रालयका सचिव दिनेश थपलियले ५ वटा चार्टर उडान गर्न खोजिरहे पनि केही प्राविधिक समस्याका कारण सम्भव नभएको बताए । निगमका बोर्ड अध्यक्षसमेत रहेको थपलियाले केही दिनमै थप उडान गरी हवाई इन्धन बढाइने जानकारी दिए ।
इन्धन अभाव भएपछि आयल निगमले नेपाल उडान भर्ने सबै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई असोज १२ देखि तेल दिन रोकेको छ । नेपालमा तेल भर्न नपाउने भएपछि अधिकांश एयरलाइन्सले वैकल्पिक व्यवस्था गरिसकेका छन् । उनीहरूले दिल्ली, लखनउ, बैंकक, बंगलादेशलगायत नजिकका विमानस्थलमा ‘टेक्निकल ल्यान्डिङ’ गराएर तेल भरिरहेका छन् । कतार एयरवेजले वाइड बडी जहाजमार्फत उडान गर्न थालेको छ । निगमले आफ्ना नियमित उडानमा रहेका ४ वटा जहाजलाई पनि ‘टेक्निकल ल्यान्डिङ’ गराएर तेल ल्याउने क्रम जारी राखेको छ ।