आर्थिक क्षेत्रका विशेष गतिविधी

Thursday, December 4, 2014

पोखरा विमानस्थलको ऋण सम्झौताको प्रक्रिया सुरु


काठमाडौं, १७ मंसिर । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले ऋण लिने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि अर्थ मन्त्रालयले चीन सरकारलाई औपचारिक रूपमा पत्र पठाउँदै प्रक्रिया सुरु गरेको हो । 
सरकारले पठाएको पत्रको जवाफ आएपछि बैंक र नेपाल सरकारबीच ऋणसम्झौताको अन्तिम प्रक्रिया सुरु हुन्छ । अर्थ मन्त्रालयका उपसचिव लालमणि खत्रीले दिएको जानकारीअनुसार पोखरा विमानस्थल निर्माण गर्न चीनको एक्जिम बैंकले दिने २१ करोड ६० अमेरिकी डलर (करिब २१ अर्ब ४७ करोड रुपैयाँ) ऋणसम्झौताका लागि प्रक्रिया अगाडि बढाइएको हो । 
विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको निर्माण सम्झौतालाई गत कात्तिक १० गते बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि निर्माण प्रक्रियाका लागि बाटो खुलेको थियो । उक्त निर्णयसँगै अर्थ मन्त्रालयले ऋणसम्झौताको प्रक्रिया अगाडि बढाएको हो । ऋणबापतको ब्याज नेपाल नागरिक उड्डयन प्राधिकरणले ८.२५ प्रतिशत नेपाल सरकारलाई बुझाउनुपर्ने सर्त तोकिदिएको छ । 
सीएमएससी र प्राधिकरणबीच गत जेठ ८ गते दुई पक्षीय सम्झौता भएको थियो । 
उनले दिएको जानकारीअनुसार आगामी ६ महिनाभित्रमा सबै प्रक्रिया पूरा गरेर ऋणसम्झौता हुने भएको छ । सरकारलाई विमानस्थल निर्माणका लागि एक्जिम बैंकले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने यसअघि नै सहमति भएपछि विमानस्थल निर्माण प्रक्रिया अगाडि बढेको थियो । ऋण सम्झौतापछि नेपाल सरकारको नाममा बैंकले ऋण दिनेछ । प्राधिकरण र अर्थ मन्त्रालयबीच सहायक ऋण सम्झौता भएपछि निर्माण प्रक्रिया अगाडि बढ्ने छ ।  
प्राधिकरणले सन् २०१९ मा उक्त विमानस्थल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेको प्रवक्ता श्रेष्ठले बताए । हाल पोखरामा आन्तरिक उडानमात्र हुँदै आएको छ । नयाँ विमानस्थल निर्माणपछि पोखरामा अन्तर्राष्ट्रिय उडानसमेत सुरु हुने बताइएको छ । विमानस्थल पोखराको फिर्केमा निर्माण हुनेछ ।
०६८ माघ २६ गते प्राधिकरणले विमानस्थल निर्माणको ठेक्कालाई बोलपत्र आह्वान गरेको थियो । चाइना सीएएमसीले सरकारको लागत अनुमानभन्दा ८५ प्रतिशत बढी ३० करोड ५० लाख डलरको प्रस्ताव हालेको थियो । 
त्यसपछि निकै विवाद भएको थियो । त्यसको १ वर्षपछि फेरि चिनियाँ कम्पनीले सरकारी अनुमानकै हाराहारीमा निर्माण गर्न सकिने इच्छा देखाएर पर्यटन मन्त्रालयलाई पत्र लेखेको थियो । तर, केही समयपछि कम्पनीले परामर्शदाता खटाएर करिब ३० करोड डलरभन्दा कममा काम गर्न नसकिने अध्ययन रिपोर्ट तयार पारेपछि विवाद झनै चर्किएको थियो । 
विवादपछि सरकारले बनाएको ३ सदस्यीय समितिले २१ करोड ५९ लाख डलरको हाराहारीमा विमानस्थल निर्माण हुने प्रतिवेदन पेस गरेको थियो ।   
सम्भाव्यता अध्ययनअनुसार नयाँ बन्ने विमानस्थलमा बोइङ ७५७, एयरबस ३२० लगायतका जहाज अवतरण गर्न सक्नेछन् । विमानस्थलको २ हजार ५ सय मिटर लम्बाइ र ५० मिटर चौडा धावनमार्ग, एरोब्रिजयुक्त भवन तथा कार्गो भवन निर्माण गरिनेछ । एरोब्रिज र कंक्रिटको धावनमार्ग बनाइने छ ।    
सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवस्यक पर्ने थपजग्गा अधिग्रहणका लागि  १ अर्ब ५० करोड रुपैयाँ छुट्ट्याएको छ । आर्थिक वर्ष ०७१÷७२ को लागि बजेट बनाउने अन्तिम तयारी गरिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थल बनाउन आवश्यक पर्ने थप ५ सय रोपनी जग्गा अधिग्रहणका लागि १ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्ट्याइसकेको छ ।  
सरकारले करिब ४० वर्षअघि विमानस्थल बनाउन ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेर राखेकोे छ ।  आगामी वर्षभित्र आवश्यक सबै जग्गा अधिग्रहण गरी निर्माण कम्पनीलाई जिम्मा लगाउने सरकारी योजना छ । उक्त रकम नागरिक उड्डयन प्राधिकरणलाई ऋणका रूपमा सरकारले उपलब्ध गराउने छ ।           

द्वन्द्वका कारण बन्द उडल्यान्ड होटल पुनः सञ्चालनमा

द्वन्द्वका कारण बन्द उडल्यान्ड होटल पुनः सञ्चालनमा
केदार दाहाल
काठमाडौं, १६ मंसिर   - माओवादी द्वन्द्वका कारण १ दशकअघि बन्द भएको दरबारमार्गस्थित उडल्यान्ड होटल पुनः सञ्चालनमा आएको छ । १० वर्षका लागि भाडामा चलाउने गरी गत असोजदेखि नयाँ लगानीकर्ताले उडल्यान्ड काठमाडौं होटल प्रालिको नामबाट सञ्चालनमा ल्याएका हुन् । 
चारतारे होटलबराबरकै सेवा–सुविधायुक्त सोहोटलमा संसरा रेमिटयान्सका अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, अञ्जन थापासहित ३ जनाले ७ करोड रुपैयाँ लगानी गरेका छन् ।    
करिब १० वर्षदेखि बन्द रहेको उक्त होटल आवश्यक मर्मत गरेर भाडामा लगाइएको उडल्यान्ड होटलका सेल्स एन्ड अपरेसन निर्देशक ऋषि पाण्डेले बताए । द्वन्द्व, मजदुरको दबाब, प्रतिकूल व्यापारिक वातावरणलगायतका कारण देखाउँदै वि.सं. २०६१ देखि सो होटल पूर्ण रूपमा बन्द थियो ।
होटल क्षेत्रमा व्यावसायिक चासो बढ्न थालेको र पर्यटक होटल सञ्चालनको अवश्यकतामहसुस गरेर भाडामा लिएर पुनः सञ्चालन गर्न लागिएको होटलले जानकारी दिएको छ । होटलले पुनः सञ्चालनका लागि नयाँ स्वीमिङपुल तथा हेल्थ क्लब, आन्तरिक व्यवस्थापन, रङ्गरोगनलगायतका काम गरेर सञ्चालनमा ल्याएको हो । उडल्यान्ड काठमाडौंका अनुसार प्रतिस्पर्धात्मक बजारमा होटल सञ्चालन गर्नुपर्ने भएकाले आधुनिक सेवा–सुविधा पनि थप गरेर बताएको छ । यसका लागि करीब ७ करोड खर्च गरेर लिफ्ट, स्वीमिङ पुल, होटलका कोठा, रेस्टुराँ, बगैंचाको मर्मत तथा पुरानो प्रविधिलाई हटाएर नयाँ राखिएको पाण्डेले जानकारी दिए । “हामीले यही नै भनेर स्तर लिएका छैनौं, तर चारतारे बराबरको सुविधा दिएका छौं,” पाण्डेले भने ।  
१ सय कोठा रहेको सो होटलको ४० ओटा वठाबाट सेवा सुरु गरिएको छ, जसमध्ये ३ वटा कोठा भने फेमिली रुम बनाइएको छ । अन्य कोठामा हाल रेस्टुराँ तथा व्यापारिक प्रयोजनका निम्ति प्रयोग भइरहेको छ । यस होटलमा भिन्टेज क्याफे एन्ड बार रेस्टुरेन्ट र मिल्क कफी सप सञ्चालनमा छन् ।  
२०३२ सालमा स्थापना भएको यो होटल पर्यटकीय स्टान्डर्ड हँुदै चारतारेसम्म आइपुगेको थियो । ०४७ सालमा मजदुर आन्दोलनका कारण होटल बन्द भएको थियो । केही समयपछि सञ्चालनमा आएको यो होटल पुनः २०६१ सालमा दोस्रो पटक बन्द भएपछि अहिले पुनः सञ्चालनमा  ल्याइएको हो । उक्त होटल हरिहरलाल श्रेष्ठले सञ्चालन गरेका थिए ।
पर्यटन व्यवसायमा देखिएको सम्भावनाकै आधारमा द्वन्द्वकालमा बन्द भएका होटललाई पुनः सञ्चालनमा ल्याएको होटलका फाइनान्स निर्देशक कृष्ण वस्तीले बताए ।  होटलमा कर्पोरेट, बिजनेसलगायत अन्य पर्यटकहरू पनि आउने गरेको उनले बताए । “होटलमा चिनियाँ, भारतीयलगायत युरोपियन र अमेरिकनसमेत आउने गरेका छन्,” निर्देशक पाण्डेले भने । होटलमा नेपाली, चाइनिज, इन्डियन तथा कन्टिनेन्टल खाना पाइन्छ । होटलमा ३० जना अट्ने क्षमताको कन्फरेन्स हलसमेत छ ।     

Wednesday, December 3, 2014

चीनबाट पर्यटकसँगै एयरलाइन्स पनि थपिँंदै


केदार दाहाल
काठमाडौं, १६ मंसिर- उत्तरी छिमेकी चीनबाट नेपाल आउने पर्यटकको संख्या बढेसँगै नेपालमा उडान भर्ने एयरलाइन्स कम्पनी पनि थपिन थालेका छन् । सन् २०१५ जनवरीदेखि सिचुवान एयरलाइन्सले नेपालमा उडान गर्ने निश्चित भएको छ । उसले चीनका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ । 
नेपालका लागि सिचुवानको जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी ट्राभल्स सर्भिस प्रालिका अनुसार कम्पनीले पुस अन्तिमदेखि छेन्दु–ल्हासा–काठमाडौं उडान गर्ने भएको छ । सिचुवानले यो रुटमा दैनिक एउटा उडान गर्ने सोसाइटी ट्राभल्सका टुर अपरेसन प्रमुख चन्दन श्रीवास्तवले बताए ।
त्यस्तै, फेब्रुअरीदेखि हिमालयन एयरलाइन्सले ल्हासा–काठमाडौं उडान गर्ने तयारी गरिरहेको छ । हिमालयले तिब्बत एयरलाइन्ससँग सहकार्य गर्दैछ । उसले २ अर्ब ५० करोड रुपैयाँ लगानी गरी उडान थाल्ने पक्का भइसकेको छ । चीनबाट अहिले पनि एयर चाइना, चाइना इस्टर्न र चाइना साउदर्नले नेपाल उडान गरिरहेका छन् ।
नेपाल र चीन सरकारबीच गत वर्ष हवाई सम्झौता पुनरावोलकन भएको थियो, जसमा वार्षिक सिट क्षमता १ लाख ४५ हजारबाट बढाएर ५ लाख ५२ हजार ४ सय पु¥याइएको थियो । त्यसअघि सन् २००३ मा सम्झौता पुनरावोलकन भएको थियो । चीनसँग पहिलो हवाई सम्झौता सन् १९९७ मा भएको थियो । पहिले बेइजिङ, सांघाईबाट मात्र उडान भर्ने सम्झौता भएकोमा गत वर्ष कुनमिङ, छेन्दु र लासा थपिएका थिए ।
चीनबाट नेपाल भ्रमण गर्नेको संख्या उल्लेख्य रूपमा वृद्धि भएपछि एयरलाइन्स थपिने क्रम पनि बढेको हो । चीनबाट सन् २०१२ मा ७१ हजार ८ सय ६१ र २०१३ मा १ लाख १३ हजार १ सय ७३ पर्यटक नेपाल आएका थिए ।
चीनबाट आउनेको संख्या बढेपछि सिचुवान नेपालमा आकर्षित भएको हो । यसअघि नै कम्पनीका अध्यक्ष ली हाइयिङले अन्तर्राष्ट्रिय गन्तव्यअन्तर्गत नेपाल प्राथमिकतामा परेको बताएका थिए ।
सिचुवानले नेपालमा एयरबस ३२० सिरिजको जहाजमार्फत उडान गर्नेछ । सन् १९८६ देखि चीनको सिचुवानबाट क्षेत्रीय गन्तव्यमा उडान थालेको कम्पनीले २०१४ मा एसियाली एयरलाइन्समध्ये उत्कृष्ट अवार्ड जितेको थियो । २००७ देखि अन्तर्राष्ट्रिय गन्तव्यमा उडान सुरु गरेको सिचुवान अहिले हङकङ, मेलबर्न, भान्कुवर, सिड्नीलगायत गन्तव्य पुगेको छ । सिचुवालने विभिन्न गन्तव्यमा ९३ वटा एयरक्राफ्टमार्फत उडान गर्दै आएको छ ।

Tuesday, December 2, 2014

पाथीभरा र स्वर्गद्वारीमा केबलकार बन्ने पक्का


" दुवै आयोजनाका लागि २ अर्ब रुपैयाँ "

पाथीभरा र स्वर्गद्वारीमा केबलकार बन्ने पक्का
केदार दाहाल-काठमाडौं, १५ मंसिर । सरकारले ताप्लेजुङको पाथीभरा र प्युठानको स्वर्गद्वारीमा केबलकार निर्माण प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार विकास आयोजनाले दुवै आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सकेको छ । एकैसाथ बनाउने तयारीमा रहेका यी आयोजनाका लागि मन्त्रालयले केही दिनभित्रै निजी क्षेत्रसँग प्रस्ताव माग्नेछ ।
केबलकार निर्माणपछि स्वर्गद्वारीमा वार्षिक १५ लाख र पाथीभरामा १० लाख पर्यटक (आन्तरिक र बाह्य) लैजान सकिने अध्ययनले देखाएको छ । दुवै आयोजनाका लागि २ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । मन्त्रालयले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने गरी विस्तृत अध्ययन पूरा गरेको हो । 
“हामीले भर्खर अध्ययन सकेका छौं, अब लगानीकर्ता खोज्ने प्रक्रिया सुरु हुन्छ,” योजना महाशाखाका वरिष्ठ अधिकृत डोरेन्द्र निरौलाले भने, “दुवै आयोजना निर्माण सुरु भएको १८ महिनामा निर्माण गर्न सकिन्छ ।”
पाथीभरामा निर्माण गरिने केबलकारमा जग्गाबाहेक ६० करोड रुपैयाँ लगानी लाग्ने देखिएको छ । जग्गासहितको लगानी जोड्दा १ अर्ब नाघ्छ । स्वर्गद्वारीमा पनि जग्गाको ५० करोडसहित १ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
पाथीभरा केबलकारको लम्बाइ २.५ किलोमिटर रहनेछ । यो ताप्लेजुङको फेदी भन्ने स्थानबाट पाथीभरासम्म पुग्नेछ । पूर्वीनेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभरा समुद्री सतहदेखि ३,७९४ मिटर उचाइमा छ । त्यहाँ प्रत्येक वर्ष हिन्दू र बौद्ध गरी झन्डै डेढ लाख हाराहारीमा स्वदेशी÷विदेशी तीर्थालु जाने गरेका छन् । केबल कार निर्माणपछि यो संख्या १० पुग्ने अनुमान छ । पाथीभरा मुख्यगरी कञ्चनजंघा हिमालय शृंखलाको मुख्य आकर्षण हो । अहिले पैदलै पाथीभरा पुग्नुपर्ने बाध्यता छ ।
स्वर्गद्वारी मन्दिर भने समुद्री सतहदेखि २,९०० मिटर उचाइमा छ । स्वर्गद्वारी आश्रममा नेपालीमात्रै नभई वार्षिक २ लाख भारतीय पुग्छन् । प्युठानको भिंग्रीदेखि स्वर्गद्वारीसम्म ३.५ किलोमिटर लामो केबलकार निर्माणपछि पर्यटक संख्या १५ लाख पुग्ने अध्ययनको निष्कर्ष छ ।
स्वर्गद्वारी १,६०० रोपनी जग्गामा फैलिएको छ । धौलागिरि, नीलगिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु अदि हिमशृंखलासमेत अवलोकन गर्न सकिने भएको धार्मिक पर्यटनमात्रै यहाँको आकर्षण होइन ।
मुलुकमा हाल मनकामना केबलकारमात्रै सञ्चालनमा छ । थानकोट–चन्द्रागिरि केबलकार निर्माण चरणमा छ ।
 
पोखरामा ढिलाइ
पोखराको बसुन्धारापार्कदेखि स्तुपासम्म निर्माण गर्न लागिएको केबलकार भने निर्माण कम्पनी छनोटको विवादले अलमलमा परेको छ । सन् २०११ मै अध्ययन पूरा भइसकेर टेन्डर प्रक्रियामा समेत पुगेको यो आयोजना निर्माण कम्पनीहरूको विवादले निर्धारित समयभन्दा पछि सरेको छ ।
सरकारले आह्वान गरेको टेन्डरमा लक्ष्मी ग्रुप र चितवन कोई ग्रुप छनोट भएका थिए । दोस्रो चरणको आर्थिक छनोटमा चितवन परेको थियो । चितवनलाई अनियमित तवरले दिइएको भन्दै लक्ष्मी ग्रुपले अदालतमा मुद्दा दायर गरेपछि २ वर्षयता प्रक्रिया अगाडि बढ्न सकेको छैन । सरकारले सन् २०१५ मा सञ्चालन गर्नेगरी प्रक्रिया अगाडि बढाएको थियो । यो आयोजना पनि १ अर्बमा निर्माण गर्ने योजना थियो । 

Cable car in Pathibhara, Swargadwari


KATHMANDU, Dec 1
The government has moved the process for construction of cable car networks at Pathibhara of Taplejung and Swargadwari of Pyuthan. The Tourism Infrastructure Development Project under the Ministry of Culture, Tourism and Civil Aviation has already completed detailed feasibility study to construct both the projects in public private partnership (PPP) model. The ministry will soon seek proposal from the private sector simultaneously for the two projects.
The studies have showed that 1.50 million domestic and foreign tourists can be annually taken to Swargadwari and 1 million to Pathibhara after construction of cable car networks. Estimated cost for both the projects is around Rs 2 billion. “We have finished the study only recently. We will now start the process to search investors. Both the projects can be completed within 18 months of start of construction,” Senior Officer at the Planning Division Dorendra Niroula states. Cost for construction in Pathibara has been projected to be Rs 1 billion including Rs 400 million for land and Rs 600 million for others, while that for Swargadwari has been projected to be Rs 1 billion including Rs 500 million for land and Rs 500 million for others.
The cable car in Pathibhara Temple will be 2.50 kilometers starting from Phedi at Taplejung. The famous pilgrimage site of eastern Nepal lies at an altitude of 3,794 meters from the sea level. Around 150,000 pilgrims including Buddhists and Hindus annually visit Pathibhara, the major attraction of the Kanchenjunga Range. One has to walk to reach Pathibhara now. The number is expected to rise to 1 million once construction of cable car is completed.  
Swargadwari Temple lies at an altitude of 2,900 meters, and around 200,000 Indians apart from Nepali pilgrims visit the temple annually. The study estimates that around 1.50 million will visit Swargadwari once construction of 3.50-kilometer cable car system from Bhingri of Pyuthan is completed. Swargadwari is spread in 1,600 ropanis of land, and it also attracts non-religious tourists as Dhaulagiri, Nilgiri, Machhapuchchhre and other peaks can be viewed from there. There is currently only one cable car network in the country at Manakamana. The other at Thankot-Chandragiri is under construction.
Delay in Pokhara
Construction of cable car network from Basundhara Park of Pokhara to Stupa, however, has been stalled due to dispute about selection of the construction company. Study for the project was completed in 2011 and tender process also started, but it has now been delayed due to the dispute about selection. Laxmi Group and Chitwan Co-E Group were initially selected from the first round, and Chitwan was selected after the second round of selection. The process has not moved forward in the past two years after Laxmi Group moved the court claiming that Chitwan was selected unfairly. The government had moved the process forward in a way to complete the Rs 1 billion project in 2015.     

Sunday, November 30, 2014

विश्वका उत्कृष्ट १० गन्तव्यमा नेपाल



काठमाडौं, १३ मंसिर (कास) सन् २०१५ मा घुम्नैपर्ने ठाउँमध्ये नेपाल पनि उत्कृष्ट १० मा परेको छ । विश्व चर्चित पत्रिका फोब्सका अनुसार सन २०१५ मा घुम्नै पर्ने १० सुन्दर ठाउँमध्ये नेपाल पनि उत्कृष्ट नौ मा परेको छ ।
फोब्समा एन एबेलद्वारा लेखिएको एउटा आलेखमा नेपाललाई ट्रेकिङको स्वर्ग भनेर बयान गरेकी छिन ।  उनले विस्तारै आरामदायी गन्तव्य बन्दै गएको बताउँदै नेपालको कलात्मक संस्कृतिको प्रशंसा गरेकी छिन ।  उनले नेपालको हिमाल, मन्दिर, गुम्बाहरु घुम्न सुझाएकी छन ।
एनले फेवातालमा देखिने हिमाली छायाँको चर्चा गर्दै यहाँका हिमालय र अनुपम कला संस्कृतिको अवलकोनका लागि नेपाल एक पटक पुग्ने पर्ने गन्तब्य भएको उल्लेख गरेकी छन । नेपालका गुम्बा र मन्दिर घुम्दै फेवातालमा डुंगा चढ्न पनि उनले सुझाव दिएकी छन ।
फोब्समा लेख्दै एनले नेपालको ट्रेकिङलाई स्वर्गका रुपमा ब्याख्या गर्दै नेपाल बिस्तारै आरामदायी गन्तब्य बन्दै गएको तर्क गरेकी छन । सन् २०१५ मा घुम्नै पर्ने देशहरुको पहिलो सूचीमा आइसल्यान्ड, त्यसपछि मोरक्को, भियतनाम, अमेरिकाको नेशनल पार्क टप टेन सूचीमा पर्ने अन्य ठाउहरुमा आइसल्याण्ड, अमेरिकन प्यारालाइफ रिजर्भ, तास्मानिया, कोलोम्बिय, जापान, मोरोक्को, श्रीलंका र भियतनाम आदि छन ।
एजेन्सी   

Thursday, November 27, 2014

मोदीले नै ‘बुद्ध सर्किट’को प्रसंग निकालेपछि व्यवसायी दंग

मोदीले नै ‘बुद्ध सर्किट’को प्रसंग निकालेपछि व्यवसायी दंग
केदार दाहाल
काठमाडौं, १० मंसिर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सार्क शिखर सम्मेलनमा ‘बुद्ध सर्किट’को प्रसंग निकालेपछि नेपालको पर्यटन क्षेत्रमा तरंग पैदा भएको छ । नेपाल र भारत सरकारबीच पर्यटनसम्बन्धी सम्झौता भएको भोलिपल्ट मोदीले ‘बुद्ध सर्किट’ विकास गर्दै यसैमार्फत दक्षिण एसियालाई जोड्न सकिने बताएका छन् । 
“बुद्ध जन्मस्थान लुम्बिनीदेखि बुद्धले बुद्धत्व प्राप्त गरेको बोधगयासम्मको क्षेत्र विकासलाई अगाडि बढाउनुपर्छ,” उनले भने, “यसले नेपाल र भारतलाई मात्र नभई पूरै दक्षिण एसियालाई जोड्नेछ ।”
यो योजना पूरा हुन सके धार्मिक पर्यटनका क्षेत्रमा नयाँ आयाम थपिने व्यवसायी बताउँछन् । हाल भारतीय बाटो हुँदै आउने बुद्धमार्गीहरू लुम्बिनीमा जम्मा २ घण्टामात्रै बिताउने गरेकाले उनीहरूको बसाइ अवधि लम्ब्याउन यो योजना कोसेढुंगा हुने विश्वास उनीहरूको छ ।
व्यवसायीले वर्षौंदेखि बुद्ध जन्मस्थल लुम्बिनी, उनले बुद्धत्व प्राप्त गरेको बोधगया र महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरसँगै कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र रुपन्देहीको देवदहसमेतलाई जोडेर ‘बुद्ध सर्किट’ निर्माण गर्नुपर्ने माग गर्दै आए पनि कुनै सुनवाइ भएको थिएन ।  
पर्यटन व्यवसायी तथा ‘बुद्ध सर्किट’ निर्माणका अभियन्ता विक्रम पाँडे मोदी अभिव्यक्तिको सकारात्मक प्रभाव पर्ने बताउँछन् । बुद्धसँग जोडिएका सबै क्षेत्रलाई जोडेर एकीकृत ‘बुद्ध सर्किट’ बनाउँदा दुवै देशलाई उत्तिकै फाइदा हुने उनको भनाइ छ ।
सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका मोदीको उपस्थितिमा दुवै देशबीच ‘बुद्ध सर्किट’लाई समेत अगाडि बढाउने सम्झौता भएको छ । मंसिर ६ देखि विभिन्न चरणमा भएका द्विपक्षीय छलफलमा पर्यटन विकासलाई संयुक्त रूपमा अगाडि बढाउने सम्झौताभित्र यो विषयलाई समेत समावेश गरिएको छ ।
नेपाल र भारतबीच भएका द्विपक्षीय सम्झौताका ७३ बँुदामा ‘बुद्ध सर्किट’ पनि समावेश भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले जानकारी दिए । “बुद्ध सर्किटमा छुट्टै सहमति भएको होइन तर पर्यटनका विभिन्न सम्झौताभित्र यसलाई राखिएको छ,” उनले भने, “यो लुम्बिनीको मात्र नभई नेपालको समग्र पर्यटन क्षेत्रको विकासमा कोसेढुंगा हुनेछ ।”
नेपालले २ वटा कोणबाट ‘बुद्ध सर्किट’लाई अगाडि बढाउन खोजेको उनले बताए । “जन्मस्थल लुम्बिनीदेखि ज्ञान प्राप्त गरेको भारतको बोधगयासम्मका क्षेत्रलाई समेटेर अन्तर्राष्ट्रिय बुद्ध सर्किट बनाउने,” उनले प्रष्ट्याए, “अर्को— आन्तरिक रूपमा लुम्बिनीदेखि काठमाडौंका स्वयम्बू, बौद्ध, कपनलगायत क्षेत्रलाई समेट्ने लक्ष्य छ ।”
‘बुद्ध सर्किट’ले दुवै देशको धार्मिक तथा पर्यटकीय महत्वलाई फाइदा पुग्ने गरी प्रवद्र्धनका कार्यक्रम अगाडि बढाउने सम्झौता भएको छ । भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएकाले पनि ‘बुद्ध सर्किट’ अपहरिहार्य भएको भट्टराई बताउँछन् ।
सरकारले २०१७ सम्ममा निर्माण सम्पन्न गर्ने गरी विमानस्थलको काम अगाडि बढाइसकेको छ । विमानस्थल निर्माणसँगै ‘बुद्ध सर्किट’समेत अगाडि बढाउन सकिए लुम्बिनीमा बर्सेनि लाखौं बौद्धमार्गी आउने विश्वास छ ।
भारतले हाल बोधगया, कुशीनगर, सारनाथ र श्रावस्तीलाई लुम्बिनीसँग जोडेर ‘बुद्ध सर्किट’ बनाइरहेको छ । पाँडेका अनुसार हाल भारतीय बौद्ध क्षेत्रहरूलाई लुम्बिनीसँग मात्रै जोडेर सर्किटका रूपमा प्रचार हुँदै आएको छ । सोही रुटमा नेपालका कपिलवस्तु (तिलौराकोट), रामग्राम (नवलपरासी) र देवदह पूर्ण रूपमा ओझेल पर्ने भएकाले एकीकृत सर्किटको अवधारणा ल्याइएको हो । नेपालका ‘बुद्ध सर्किट’को विकास र प्रचारप्रसारबिना भारतीय क्षेत्र पनि ओझेलमा पर्छन् ।
“विश्वका प्रायः बौद्धमार्गी सबैभन्दा पहिले लुम्बिनी भ्रमण गर्न चाहन्छन्,” पाँडे भन्छन्, “त्यसैले पनि लुम्बिनीसहित, कपिलवस्तु, रामग्राम, देवदहको विकास गरी एकीकृत बुद्ध सर्किटमा जोड दिइएको हो ।”