आर्थिक क्षेत्रका विशेष गतिविधी

Wednesday, January 4, 2017

विमानस्थल र ध्वजावाहक जहाज नै पर्यटनका मुख्य पूर्वाधार हुन्

 नेपालको पर्यटन भूकम्प र भारतीय नाकाबन्दीका कारण थला नै परेको थियो । सन् २०१६ को पर्यटक आगमन हेर्ने हो भने ३३ प्रतिशतले बृद्धि भएको छ, जुन पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत हो । निजी क्षेत्रले पर्यटक भित्र्याउनका लागि पूर्वाधार तयार पारे पनि सरकार भने अझै तयार नभएको आरोप व्यवसायीले लगाउँदै आएका छन् । 
निजी क्षेत्रले तयार पारेको पूर्वाधार हिसाब गर्ने हो भने यतिबेला २० लाख पर्यटक धान्ने पूर्वाधार तयार भइसकेको दाबी गरिएको छ । तर, सरकारले निर्माण गर्ने विमानस्थलको कुरा गर्दा १० लाख पनि धान्न नसक्ने अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल रहेको छ भने पर्यटकका मुख्य हवहरूमा नेपाल वायुसेवा निगमले उडान गर्न नसक्दा पर्यटक आगमन सोचेजस्तो बढ्न सकेको छैन । 
नेपालको पर्यटन क्षेत्रको अवस्था र आगामी दिनमा सरकार र निजी क्षेत्रले गर्नुपर्ने विषयमा केन्द्रित रहेर नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसूदन आचार्यसँग कारोबारले गरेको कुराकानीः

नेपालमा पर्यटनको इतिहास लामै भइसक्यो । जुन ठाउँमा थियौं त्यही छौं, किन ?
हामी पुरानै ठाउँमा होइन, त्योभन्दा अझ पछाडि नै छौं । सन् २०११ लाई पर्यटन वर्ष घोषणा गर्दाको अवस्थाको तुलनामा अहिले कम्तीमा १५ लाख पर्यटन आगमन हुनुपर्ने हो । २०१६ को अन्त्यतिर आइपुग्दा हाम्रो देशमा पर्यटन आगमन अहिले पनि ८ लाखमै सीमित छ । 
यो आँकडाले हामी अगाडि जाने त कुरै नगरौं, पछाडि नै रहेका छौं । यसका धेरै कारण छन् । पर्यटन व्यवसायलाई सरकारले आर्थिक विकासको मेरुदण्डका रूपमा लिएकै छैन । अन्य उत्पादनमूलक उद्योगजस्तो होइन, पर्यटन व्यवसाय । विश्वभरका पर्यटक आवागमन दर हेर्ने हो भने बर्सेनि यो बढ्दै छ । 
सन् २०१२ को अन्तिममा विश्वभर १ अर्ब पर्यटक आवागमन भएकोमा २०१५ मा यो संख्या १ अर्ब २० करोड पुगिसकेको छ । २०३० सम्ममा विश्वभर १ अर्ब ८० करोड पर्यटको आवागमन हुने अनुमान गरिएको छ ।
पर्यटन व्यवसाय सधैं अघि बढ्ने व्यवसाय हो । तर, नेपालमा भने यसलाई न त राज्यले न त हामी व्यवसायी कसैले पनि त्यो रूपमा लिएनौं । केही पक्ष निजी क्षेत्रको पनि छ, तर मुख्य जिम्मेवार राज्य नै हो । पर्यटनको विकास पूर्वाधारको विकाससँग टड्कारो रूपमा जोडिएको छ । विश्वका अन्य मुलुकले त्यही कुरा बुझेर त्यहीअनुरूप अगाडि बढेर कति प्रगति गरिसके । तर, हाम्रो देशमा त्यतातर्फ सोच्दै सोचिएन भन्दा पनि हुन्छ ।
पूर्वाधारकै अभावले पर्यटन व्यवसाय पछाडि परेको हो ? 
पूर्वाधारको विकास नागरिकको जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । त्योसँगै यसको विकासले पर्यटन क्षेत्रलाई समेत ठूलो टेवा पुग्छ । जस्तै, खाडी मुलुकको उदाहरण लिन सकिन्छ । त्यहाँ न कुनै पूर्वाधार थियो, न त प्राकृतिक सौन्दर्य नै । तर, केही वर्षमा उनीहरूले यसरी पूर्वाधारको विकास गरे त्यसले तिनीहरू विश्वका धेरै पर्यटक भित्र्याउने मुलुकमध्येमा पर्छन् । 
यसको उदाहरणमा यूएई, कतार र साउदी अरब हुन् । यसको तात्पर्य के हो भने पूर्वाधारको विकासबिना पर्यटनको विकास सम्भव छैन । 
जुन ठाउँमा जस्तो पूर्वाधार छ त्यहाँ त्यस्तै पर्यटक जाने हुन् । नेपालमा प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा छ भनेका छौं । यसको लिमिट क्षमता हुन्छ । सबै मानिसलाई प्रकृति वा संस्कृतिसँग चासो नहुन सक्छ तर घुम्ने इच्छा त सबैलाई हुन्छ । भौतिक विकास पनि पर्यटक आकर्षण अर्ने आधार हो भन्ने प्रमाणित भइसकेको छ । 
हामीले अब पनि नेपाल प्राकृतिक रूपले उत्कृष्ट गन्तव्य हो भनेर बस्ने अवस्था छैन । यस्तो पर्यटकको प्रवाह परिवर्तन हुन सक्छ । यसरी आउने पर्यटकको संख्या पनि न्यून छ । अधिकांश पर्यटक विलासी, रिक्रिएसन, एक्युजमेन्टतर्फ आकर्षित हुन थालेका छन् । पूर्वाधारलाई केन्द्रमा राखेनौं भने हामीसँग भएका अन्य पूर्वाधार पनि ओझेलमा पर्न सक्छन् । 
यस्तो हुनुमा सरकार र व्यवसायी कहाँ चुके ?
व्यवसायीहरू आफ्नो व्यवसायमा मात्र केन्द्रित भए । पर्यटन क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेकाहरूले त्यति चासो दिएको पाइएन । व्यवसाय हुन्जेल गरौं, नभए ठीकै छ भन्ने खालको कुरा गर्दा समस्या भएको हो । विगतमा सबैभन्दा धेरै पर्यटक भित्र्याउने कम्पनी अहिले निष्क्रिय प्रायः छन् । 
त्यसो भन्दैमा अरूले केही गरेनन् भन्ने होइन । यसले पनि समस्या पर्छ । सरकारले अहिले पनि पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छैन । प्राथमिकता दिने भनेर पर्यटनका लागि छुट्टै पूर्वाधार चाहिने होइन । तर, सरकारको नीति निर्माण गर्दा सबै निकायले पर्यटन क्षेत्र पनि हाम्रो प्राथमिकताको क्षेत्र भने काम गर्नुपर्‍यो ।
पर्यटन आगमन बढाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्छ । एउटा निकायले काम गर्दा अर्काे निकायले सहयोग गर्नुपर्नेमा त्यस्तो देखिन्न । नेपालमा निकासी गरेर आम्दानी गर्ने त्यस्ता कुनै उद्योगको सम्भावना नै देखिन्न । 
विश्वका ठूला देशहरूले गरेका उत्पादनसँग हामीले प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । यो अवस्थामा हामी पर्यटन क्षेत्रमा मात्र प्रतिस्पर्धा गर्ने स्थितिमा छौं । 
यसका लागि हाम्रो राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको २८ वर्षसम्म नयाँ जहाज नआउनु दुःखद हो । हामीले गर्न सक्दैनौं भने विदेशी कम्पनीहरूलाई पनि आकर्षण गर्न सक्नुपर्ने हो, त्यो पनि भएको छैन । यहाँ जति पनि अन्तरराष्ट्रिय विमान कम्पनीहरू आएका छन् तिनीहरू पनि सन्तुष्ट छैनन् । त्यस्ता कम्पनीहरू व्यवसाय गर्न बाध्य छन्, उनीहरू खुसीका साथ काम गरिरहेका होइनन् । 
राष्ट्रिय ध्वजावाहकलाई अपग्रेड गर्नैपर्छ । पाँच–पाँच वर्षको योजना बनाएर हुन्छ वा अन्य योजनामार्फत एनएसीलाई विमान दिलाउनुपर्छ । नेपालजस्तो देशमा राष्ट्रिय ध्वजावाहकसँग कम्तीमा १५/२० वटा जहाज हुनुपर्छ । यस्ता विमान कम्पनीहरूले नाफा कमाउनुपर्छ भन्ने होइन । 
अन्य सरकारी कम्पनीहरू घाटामै चल्दा हुने तर एनएसी भने नाफामै जानुपर्छ भन्ने किन ? यसको अर्थ एनएसी घाटामा जाओस् भन्ने होइन । एनएसीसँग १० वटा जहाज हुने र उसले १० अर्ब घाटा खाए पनि त्यसले हुने पर्यटन आवागमनले अन्य क्षेत्रबाट गर्ने आम्दानी तीन–चार गुणा बढी हुन्छ । 
अन्य देशका राष्ट्रिय ध्वजावाहकहरू पनि घाटामै चलिरहेका छन् । पर्यटकको प्रवाहले अन्य धेरै क्षेत्रमा आम्दानी जेनेरेट गर्ने भएकाले राष्ट्रिय ध्वजावाहक सक्दो धेरै गन्तव्यमा जानुपर्छ । 
हामीसँग गन्तव्यहरू पनि धेरै छन् । विश्वका मिडिया तथा अन्य संस्थाहरूले गर्ने रेटिङमा नेपाल उत्कृष्ट ५, उत्कृष्ट १० मा परि नै रहेको हुन्छ । यति हुँदाहुँदै पनि हामी अघि बढ्न नसक्नुको कारण पूर्वाधारको कमी नै हो । 
जस्तो हवाई, बाटोघाटो, एक्सप्रेस वे तथा कनेक्टिभिटीको कमी छ हामीकहाँ । विश्वमा धेरै दातृ निकाय छन्, सरकारले टनेल, एक्प्रेस वेजस्ता पूर्वाधार बनाउनुपर्‍यो । अन्य मुलुकहरूले बनाउन सक्ने नेपालले किन नसक्ने ?
कनेक्टिभिटी नभएरै पर्यटक संख्या नबढेको हो ?
ठीक कुरा उठाउनुभयो । देशभित्र पर्यटकलाई विभिन्न गन्तव्यमा पु¥याउन राष्ट्रिय कनेक्टिभिटी चाहिन्छ भने राष्ट्रिय ध्वजावाहकमार्फत अन्तरराष्ट्रिय कनेक्टिभिटी बढाउनुपर्छ । बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी महत्वपूर्ण गन्तव्य हो । 
श्रीलंकामा ७० प्रतिशत बौद्ध धर्मावलम्बी छन् । खोइ हामीले श्रीलंकासँग सिधा हवाइ सम्पर्क जोडेको ? त्यस्तै कम्बोडिया, म्यान्मारजस्ता धेरै देशका पर्यटक आकर्षित गर्न सकिन्छ । त्यसका लागि राष्ट्रिय ध्वजावाहकले आफ्नो कनेक्टिभिटी जोड्नुपर्छ । 
पर्यटक आवागमन कम हुनुको मुख्य समस्या पूर्वाधार नै हो ?
हो, पूर्वाधार नै हो । पर्यटनमा पछि पर्नुको कारण होटल नभएर होइन । होटलको क्षमताको ६० प्रतिशतभन्दा कम अकुपेन्सी छ । होटल थपिने क्रम जारी भएकाले यस्तो भएको हो । पोखरा, चितवन तथा काठमाडौंमै पनि होटलहरू थपिने क्रम जारी छ । निजी क्षेत्रले गर्ने भएको हस्पिटालिटी, होटललगायतको विकास हो । 
८ लाख पर्यटक आउने देशमा १२ सय ट्राभल एजेन्सी र २ हजार ट्रेकिङ एजेन्सी छन् । जबकि मलेसियामा ८० लाख पर्यटक भित्रिन्छन्, त्यहाँ जम्मा ३ हजारभन्दा कम ट्राभल एजेन्सी छन् । यो भन्नुको अर्थ हाम्रो देशमा सर्भिस क्यापासिटी टन्नै छ । तर, हामीसँग पर्यटक ल्याउने पूर्वाधार भएन । 
नेपालमा सीधा हवाई सम्पर्क भएको मुलुक ज्यादै थोरै छन् । पर्यटकको ओरिजन युरोपमा हालै मात्र टर्किसले हवाई सेवा सुरु गरेको हो । पाँच–सातवटा एयसलाइन्सले गरेको कनेक्टिभिटीबाट कति पर्यटकको अपेक्षा गर्ने ? युरोप÷अमेरिकाबाट सीधा आउने विमान सेवा नहुँदासम्म पर्यटक आगमनको दर ज्यादै न्यून हुन्छ । राष्ट्रिय ध्वजावाहक पूर्वाधार सम्पन्न नहुँदासम्म सरकारले विदेशी विमान कम्पनीलाई आकर्षित गर्नुपर्छ ।

हाम्रो गन्तव्य महँगो हुनुमा एयरलाइन्स मात्र हुन् कि व्यवसायीहरू पनि हुन् ? प्याकेज बिक्री गर्ने त व्यवसायी नै हुन् ?
प्याकेजमा त्यस्तो महँगो भन्ने कुरै छैन । २ सय रुपैयाँको अत्यन्त मीठो चिया पाइन्छ कुनै ठाउँमा । तपाईं त्यो चिया खान कति रुपैयाँसम्म खर्च गरेर जानु हुन्छ ? २ सय रुपैयाँ नै खर्च गरेर त तपाईं त्यो चिया खान जानुहुन्न । हामीले अहिले नेपाल आउन १ साताको प्याकेज औसतमा ५ देखि ७ सय अमेरिकी डलरको हो । 
७ सय डलरको प्याकेज लिन १५ सय डलर खर्च गरेर पर्यटकहरू आइरहेका छन् । हुनुपथ्र्यो के भने हाम्रो प्याकेज २ हजार डलरको, आउने हवाई खर्च १ हजार डलरको । यसमा सरकारले हेर्नैपर्छ । हामी किन महँगो भइरहेका छौं । विमान कम्पनीहरू नेपालमा ल्यान्डिङ, पार्किङ महँगो भयो भनेर कम्प्लेन गरिरहेका छन् । 
हामीलाई पर्यटक चाहिएको छ, त्यसैले आवश्यक खर्चको लागत कम गर्नुप¥यो । त्यस्तै नेपालमा हवाई इन्धन पनि महँगो भयो भन्ने कम्प्लेन आउने गरेको छ । यसले गर्दा हाम्रोमा आगमन महँगो भएको हो । यसमा सरकारले केही दिनमै निर्णय गर्न सक्छ । 
एयरपोर्टमै पनि हाम्रो पूर्वाधार राम्रो हुन सकेका छैन । त्यसलाई पनि व्यवस्थित बनाउनुपर्छ । एयरपोर्टमा ओर्लनेबित्तिकै नेपालका आकृतिहरू हुनुपर्छ ।
व्यक्तिगत रूपमा आउने पर्यटकले देशमा आउने पर्यटकको संख्या पुग्नै सक्दैन । त्यसका लागि सामूहिक पर्यटक नै आउनुपर्छ । नेपालमा पूर्वाधार लगायतको विकास नहुँदा सामूहिक रूपमा आउने पर्यटक निकै कम भइसकेका छन् । विश्वका विभिन्न प्याकेज 
बिक्रेता कम्पनीले आफ्नो कार्यालयबाट नेपाल डेक्स नै हटाइसकेका छन् । हामीले त्यस्ता पर्यटकलाई आकर्षित गर्न सक्नुपर्छ । जुनसकै देशको पनि कुल पर्यटक आवागमनमा व्यक्तिगत रूपमा आउने पर्यटकको संख्या २०÷२५ प्रतिशत मात्र हो । हामीले अर्गनाइज पर्यटक आवागमन बढाउनमै केन्द्रित हुनुपर्छ । 
अब नेपालको पर्यटन बजार कुन हो ?
मैले जहाँसुकै भ्रमण गर्दा भेटेका मान्छेहरूलाई सोध्दा आफू नेपाल भ्रमणमा जाने इच्छामा सदैव रहेका बताउने गरेका छन् । एकपटक आएकाले र आउँदै नआएकाले पनि नेपाल भ्रमणको चासो देखाएको पाउँछु । नेपालका लागि यो फाइदाको विषय हो । हामीकहाँ पर्यटकीय विविधता छ । 
युवाहरू लागि एडभेन्चर पनि छ, मध्यम उमेरका लागि एक्सपिडिसन, अलि पाको उमेरका लागि सांस्कृतिक सम्पदादेखि जंगल सफारीसम्म छ । अफ्रिकापछि नेपाल नै जंगल सफारीका लागि उत्कृष्ट छ । 
नेपालमा सबैका लागि उपयोगी पर्यटन छ । जापान, युरोप, अमेरिकी तथा एसियन सबैका लागि उपयोगी छ । सुरक्षा, पूर्वाधारजस्ता आवश्यक कुरा भयो भने सबैका लागि नेपाल आकर्षक गन्तव्य हुन्छ । 
चीन र भारतमा प्रवद्र्धनको कार्यक्रम गर्ने भन्छौं, तर केन्द्रित हुन सकेका छैनौं नि ?
मुख्य कुरा यसका लागि पहुँच नै हो । जबसम्म हामी त्यहाँ पुग्दैनांै उनीहरू यहाँ आउँदैनन् । चीन तथा भारतका मुख्य सहरमा हामीले फोकस गर्न सकेका छैनौं । प्रवद्र्धन गर्ने भनेको नेपाल वायुसेवा निगमले उडान गर्ने हो । 
चीन र भारतका मुख्य सहरमा उडान सुरु हुनेबित्तिकै प्रतिस्पर्धा बढ्छ, हवाई भाडा घट्छ, त्यसपछि पर्यटक आगमनदरमा वृद्धि हुन्छ । चीनबाट आउने सबै एयरलाइन्सहरू बिजनेसलाई केन्द्रित गरेर आएका छन् । त्यहाँ टिकेटिङ गर्ने कम्पनीले पहिल्यै सिट होल्ड गरेर बस्नुपर्ने अवस्था छ । 
नत्रभने यति मनोपोली गर्छन् त्यहाँबाट काठमाडौं आउने एयरलाइन्सले एक घण्टामै हवाई भाडा परिवर्तन गर्छन्, जसले गर्दा प्याकेज बनाउन त्यहाँ सेल्स एजेन्टलाई धेरै समस्या रहेको छ । त्यसैले दुवै देशमा उडान नेपाल वायुसेवाले गर्न आवश्यक छ । 
एउटा उदाहरण दिन चाहन्छु, दिल्लीबाट काठमाडौं आउन एकतर्फी भाडा ४३ हजार रुपैयाँसम्म पुग्यो, तर पछि निगमले उडान थालेपछि अहिले सहज भएको छ । यसैले केन्द्रित भनेको पहुँच नै हो । त्यसपछि छिमेकी मुलुकका पर्यटक नेपाल आउनेछन् । हामीले निगमलाई भनेका छौं, सन् २०२० सम्ममा कम्तिमा १० वटा जहाज निगमसँग हुनुपर्छ । 
नेपालको पर्यटनमा वैदेशिक लगानी आवश्यक छ कि छैन ? अहिलेसम्म पनि किन वैदेशिक लगानी आकर्षित भएको छैन ?
नेपालमा वैदेशिक लगानी आउन पहिले सोही अनुसारको पर्यटक संख्या आउनु आवश्यक छ । यहाँका व्यवसायीले ह्यान्डिल गर्न नसकेपछि आफैं लगानीकर्ता आउनेछन् । अहिले त यहाँकै व्यवसायीले नै चलाइरहेका छन् । ट्राभल क्षेत्रमा त अहिले वैदेशिक लगानी असम्भवजस्तै छ । 
उनीहरूले पहिले लगानीको सुरक्षा खोज्छन् अनि मात्र आउँछन् । हाम्रो मुलुकमा ५० लाख पर्यटन आउने स्थिति भयो भने अवश्य पनि वैदेशिक लगानी स्वतः भित्रिनेछ । अर्को, होटल, एयरलाइन्सतर्फ भने अहिले पनि वैदेशिक लगानी आवश्यक छ । कतिमा आइ पनि रहेका छन् । अहिले कति नयाँ होटलहरूमा चेन होटलहरू पनि आउँदैछन्, जुन सकारात्मक हो । 
पर्यटन व्यवसायीहरू नयाँ गन्तव्यमा जान अझै किन डराइरहेका छन् ?
पर्यटन भनेको साइकल चलाएजस्तै हो । साइकल गुडिरहेसम्म मान्छे लड्दैन, जब गुडाउन छोड्छ ऊ लडिहाल्छ । पर्यटन व्यवसाय पनि स्थिर भएर बस्ने व्यवसाय होइन । कि अगाडि बढ्छ कि पछाडि हट्छ । पर्यटक त नेपाल आउन खोज्छ, आउने स्थिति भएन भने अर्को देश जान्छ । 
त्यसैले यही गन्तव्यमा बसिराख्यौं भने पछाडि फर्कन्र्छौं । सन् २०३० एउटा प्रक्षेपण भएको छ । अहिले उडिरहेका जहाजभन्दा आकाशमा दोब्बर उड्नेछन् । एयरबस र बोइङको बुकिङ हेर्ने हो भने पनि दोब्बर पुग्ने देखिन्छ । सन् २०३० मा १ अर्ब ८० करोड पर्यटक आगमन पुग्छ भन्ने प्रक्षेपण छ ।
भन्नुको अर्थ जुन हिसाबले विकास भइरहेको छ, हामीले आफू सक्षम भएनौं भने पर्यटक अन्यत्र जान्छन् । त्यसैले पहिलो भनेको पूर्वाधार नै हो । कनेक्टिभिटी नै हो । सुदूरपश्चिम जान जहाज भाडामा मात्र ४ सय डलर खर्च हुन्छ । 
पर्यटकलाई भार थपिन्छ र त्यसैले सडक मार्ग, द्रुत मार्ग खै जोडिने संकेत नै छैन । एउटा पर्यटकको आगमनले ११ वटा अवसर प्रदान गर्छ ।
३० लाख पर्यटक भित्र्याउने हो, खाडी जान पर्दैन नेपालीले । सरकारले पूर्वाधार निर्माण गर्ने भनेको जनतालाई त सहज भइहाल्छ नै, पर्यटक आगमन नै बढाउँछ र नयाँ–नयाँ गन्तव्यको विकास हुन्छ । 
विमानस्थल निर्माण कार्य सुरु हुनु राम्रो हो । तर, भैरहवा र पोखरा जोड्ने नेटवर्क पनि चहियो नि । काठमाडौं–पोखरा जोड्ने फास्टट्र्याकको खै कल्पना ? पर्यटकले सबै समय हिसाब गरेर भ्रमणमा निस्कने हो । एउटा मात्रै काम गरेर भएन, त्यसले जोड्ने सबै लिंक रोडको कल्पना आवश्यक छ । 
भूकम्पपछि अब हामी रिकभरको चरणमा प्रवेश गरेका हौं ?
भूकम्पभन्दा पनि अन्तरराष्ट्रिय मिडियाले गलत प्रचार गर्दा समस्या भएको हो । नत्र काठमाडौंमा कहाँ के भएको छ । खालि पहिले जीर्णोद्धार नभएका भवन भत्किएका हुन्, तर पनि पर्यटनमा प्रभाव परेको थियो । यस विषयमा सरकारले प्रचार गर्न कमजोरी गर्दा समस्या भएको हो । 
अहिले आगमनदर बढ्दै गएको छ । सन् २०१७ का लागि आएको बुकिङ हेर्दा आगामी वर्ष ९ लाख हाराहारी पर्यटक आउने देखिन्छ । प्राकृतिक प्रकोपभन्दा पनि राजनीतिक अस्थिरताले चाहिँ पर्यटक आगमनमा असर पार्ने रहेछ । 
आन्तरिक पर्यटकको दरमा कत्तिको वृद्धि हुँदै गएको पाउनुभएको छ ?
आन्तरिक भ्रमण गर्ने नेपालीको संस्कृतिमा वृद्धि भएको छ । अधिकांश बैंकका म्यानेजर, सीईओ, सरकारी कर्मचारीदेखि निजी क्षेत्रमा कार्यरत कर्मचारी सबै घुम्न जाने ट्रेन्ड बढेको छ । सरकारले घोषणा गरेको घुमफिर वर्षले यसलाई झनै ब्रान्डिङ गरेको छ । 
पहिले आफूखुसी घुम्न जाने, जात्रा गएझंै जाने प्रचलन पनि तोडिँदै गएको छ । नेपालीहरू पनि ट्राभल एजेन्सीसँगको प्याकेज लिएर जान थालेका छन् । नेपालको पर्यटन क्षेत्र अहिले ४० प्रतिशतभन्दा बढी बजार आन्तरिकले धानेको छ ।

No comments:

Post a Comment