राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग रहेको एकमात्र बोइङ जहाज उडाउन १८ जना क्याप्टेन छन् । तर, निगमका एक पाइलटले समयमै आफ्नो उडान अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगर्दा उडान रद्द भइ लाखौंको नोक्सानी बेहोर्नु परेको छ ।
निगम व्यवस्थापनकै कमजोरीका कारण मंगलबार निगमकै उड्डयन इतिहासमा पहिलोपटक आइपरेको समस्याले उडान नै रद्द भएको हो । पाइलटको लाइसेन्स नवीकरण नभएको जानकारी पाइएपछि मंगलबार मध्यरातमा उडान स्थगित गरिएको हो । रातको ११ः३० मा कतारको दोहा उड्न ठिक्क परेको जहाज बोइङ–७५७ जहाज प्राविधिक कारण भन्दै मध्यरातमा उडान स्थगित गरिएको थियो ।
जहाज उडानका लागि अपरेसन विभागले अघिल्लो दिन नै सम्बद्ध कर्मचारी (क्रु)लाई जानकारी गराएको हुन्छ । सवै क्याप्टेनहरूलाई अघिल्लो दिन नै कुन उडानमा जाने भन्ने फोन अपरेसनबाट पनि गइसकेको हुन्छ । तर, मंगलबार क्याप्टेन ओम गुरुङले उडाउन ठिक्क पारेको जहाज मध्यरातमा रद्द गर्नुपरेको निगम स्रोतले बतायोे । गुरुङले समयमा लाइसेन्स नवीकरण नगर्दा उडान रद्द भएको हो ।
एक जना पाइलटले आफ्नो लाइसेन्स नै समयमा नवीकरण नगर्दा १ सय ९० भन्दा बढी यात्रु बोडिङ पास भएर जहाजमा चढ्नको लागि ठिक्क परेको वेला रोकेर होटलतर्फ लैजान बाध्य भएका हुन् ।
उडान रद्द भएपछि सवै यात्रुलाई सोल्टी होटलमा राखिएको थियो भने विहान ८ बजे मात्र दोहाको लागि पुनः उडान गरिएको निगम स्रोतले जानकारी दिएको छ । औसतमा एक जना क्याप्टेन तहका पाइलटको तलब भत्ताबाहेक करिब २ लाख रुपैयाँ हुन्छ भने प्रत्येक उडानमा थप भत्ता पाउँछन् ।
“लाइसेन्स नवीकरण नभएर उडान रद्द भएको भन्ने कुरा आएको छ, यो विषयमा मैले छानविन गरिरहेको छु,” निगमका प्रवन्ध निर्देशक सुगरत्न कंसाकारले भने । यो विषयमा विस्तृतमा कुनै जानकारी आइनसकेकोले अहिले सवैकुरा भन्न नसक्ने उनको भनाइ थियो ।
निगम स्रोतका अनुसार पाइलटको लाइसेन्स प्रत्येक वर्ष नवीकरण गर्नु पर्दछ । नवीकरणका लागि समय सकिनु १५ दिन अगावै नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिनुपर्दछ । प्राधिकरणमा आफ्नो स्वास्थ्य रिपोर्ट, तालिमको प्रमाणपत्र तथा कार्यरत संस्थाको चिठी बुझाएको केही दिनमै आफैं उपस्थित भएपछि लाइसेन्स प्राप्त गर्न सकिन्छ ।
No comments:
Post a Comment