म्यानमार र चीनको सहमति आवश्यक
भारतले
हिमालयन हवाई रुट–२ प्रयोगका लागि अनुमति दिने भएको छ । गत साता भारतमा
भएको द्विपक्षीय वार्तामा भारतले नेपाललाई हिमालयन हवाई रुट–२ खोल्न सहमति
दिएको हो ।
भारतले अनुमति दिए पनि नेपाली पक्षले चीन र
म्यानमारसँग सहमति लिन आवश्यक छ । नेपालले यी दुई देशबीच सहमति लिन सके
नेपालको आकाश धेरै एयरलाइन्सहरूले प्रयोग गर्नेछन् । जसका कारण नेपालले
आकाश प्रयोग गर्न दिएबापत धेरै रकम आम्दानी गर्न
सक्नेछ भने नेपालबाट हुने
उडानलाई पनि रुट छोटो पर्नेछ ।
“हिमालयन रुट दिने विषयमा भारतले सहमति
जनाएको छ, अब म्यानमार र चीनसँग सहमति गरेमा रुट खुल्नेछ,” संस्कृति,
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव हरिबहादुर खड्काले भने ।
खड्का गत साता भएको द्विपक्षीय वार्तामा समेत सहभागी थिए ।
हिमालयन रुट–२ सञ्चालनमा आएपश्चात्
काठमाडौं, बागडोरा, गुहाटी, सिलचर, इम्फाल, कुन्मिङ हुँदै हङकङ जोड्ने हवाई
रुट खुला हुनेछ । अहिले नेपालबाट हङकङ जान बंगलादेश हुँदै जानुपर्ने लामो
दूरीलाई हिमालयन रुटको अनुमतिले एक सय नटिकल माइल तथा करिब २० मिनेटको हवाई
दूरी छोटो हुनेछ ।
हिमालयन रुट–२ सञ्चालनमा ल्याउनसके युरोप
जाने रुटसमेत छोटो हुनेछ । यो अनुमतिले नेपालबाट अन्तरराष्ट्रिय उडान
गर्ने वायुसेवाले प्रत्यक्ष लाभ लिन पाउने तथा अन्तरराष्ट्रिय उडानका अन्य
विदेशी वायुसेवाले हिमालयन रुट प्रयोग गर्ने भएकाले नेपालले आर्थिक लाभसमेत
पाउने उपसचिव खड्का बताउँछन् ।
हिमालयन रुटका कारण टोकियोबाट लन्डन जाने
जहाजले पनि छोटो हवाई रुटका कारण नेपालको आकाश प्रयोग गर्नसक्ने भएकाले
हवाई क्षेत्रको राजस्व बढ्नेछ । उड्डयन नियमअनुसार कुनै पनि देशमाथिको
आकाशमा जहाज उडान हुँदा फ्लाइओभर शुल्क तिर्नुपर्ने हुन्छ ।
निगमलाई फाइदै फाइदा
हिमालयन रुटले सबैभन्दा बढी फाइदा नेपाल
वायुसेवा निगमलाई हुनेछ । काठमाडौंबाट हङकङ जाँदा बंगलादेश हुँदै जाने
गरिएको हिमालय रुट–२ प्रयोग गर्दा करिब २० मिनेटको दूरी छोटो पर्नेछ । यो
दूरी घटेपछि निगमलाई १ हजार ३ सय लिटर इन्धन बचत, एकतर्फी उडानमै १ सय डलर
फ्लाइओभर शुल्क घट्ने भएकाले हरेक उडानमा ३ लाख ६४ हजार रुपैयाँ फाइदा
हुनेछ । निगम व्यवस्थापनले यसअघि नै सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो
रुटले समय, जहाजको इन्जिन आवर, इन्धन तथा नगद खर्च सबै कम हुने उल्लेख छ ।
निगमले हरेक अन्तरराष्ट्रिय उडानमा नेपाली
आकाशको प्रयोग गरेबापत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बाहिरिँदा र
भित्रँदा ३ सय ४५ अमेरिकी डलर बुझाउने गरेको छ । फ्लाइओभर शुल्कबापत
सम्बन्धित मुलुकले लिने यस्तो रकममा भारत जाँदा २ सय ७० डलर, फर्कंदा ३ सय
११ डलर, बंगलादेश जाँदा ४ सय २० डलर, फर्कंदा ४ सय २० डलर नै तिर्दै आएको छ
। निगमले चीन जाँदा ३ सय २ र फर्कंदा २ सय ७० डलर, हङकङ जाँदा र फर्कंदा
१ सय ४२ डलर, म्यानमार जाँदा÷आउँदा २ सय ३८ डलर तिर्दै आएको छ ।
नेपालगन्ज रुट अर्को वार्तामा
नेपाल आउन भारतले थप दुई रुट दिने र बाँकी
रुटको विषयमा माघ महिनामा हुने वार्तामा सहमति दिने भएको छ । गत साता भएको
वार्तामा जनकपुर र महेन्द्रनगर रुट प्रयोग गर्न दिने सहमति भएको छ । जसमा
आउन र जान दुवैमा भारतले सहमति दिएको उपसचिव खड्काले जानकारी दिए ।
“नेपालका लागि मुख्य रुट नेपालगन्ज हो,
माघमा हुने वार्तामा सहमति हुनेछ,” खड्काले भने । नेपालगन्ज नखुलेमा भैरहवा
र पोखराको विमानस्थलमा उडान भर्न समस्या आउनेछ । नेपालका लागि भारतले
हालसम्म सिमरा रुटमा मात्र अनुमति दिँदै आएको छ ।
No comments:
Post a Comment