आर्थिक क्षेत्रका विशेष गतिविधी

Thursday, January 26, 2017

निगममा रणनीति साझेदार भित्राउने प्रक्रिया सुरु

ग्लोबल टेन्डरमार्फत साझेदारको टुंगो लाग

+ -
  
काठमाडौं: नेपाल वायुसेवा निगम संचालक समितिले रणनीतिक साझेदार भित्राउन प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । निगम संचालक समितिको गत पुस १९ मा बसेको बैठकले यससम्बन्धी निर्णय गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रक्रिया अगाडी बढाउन सहज गरिदिन आग्रह समेत गरेको छ । 
निगम व्यवस्थापन सुधार्न भन्दै बिगत लामो समयदेखि रणनीतिक साझेदार भित्राउने पहल हँुदै आए पनि हालसम्म ठोस कदम भने अगाडि बढेको थिएन । निगमले हाल दुई ठूला वाईड बडी जहाज खरिद प्रक्रिया अगाडि बढाउनुका साथै अन्य जहाज पनि खरिद प्रक्रिया अगाडी बढाउनुपर्ने भएकोले व्यवस्थापन चुस्त बनाउनका लागि भन्दै निगमले रणनीतिक साझेदार भित्राउने प्रक्रिया सुरु गरेको हो । 
निगमले हाल दुई थान वाईड बडी एयरबस ३३०–२०० सिरिजको जहाज खरिद प्रक्रिया अगाडी बढाएको छ । जसको टेन्डर अमेरिकी कम्पनी एएआरआर कर्पोरेसनले जितिसकेको छ । हाल भने निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि तीनवटा जहाज मात्रै रहेका छन् । 
सरकारले चालू आर्थिक वर्ष २०७३÷७४ को बजेटमा निगममा जहाज थप्ने र रणनीतिक साझेदार भित्राउने घोषणा गरेको थियो । कुन मोडलमा साझेदार भिœयाउने भन्ने विषयमा भने संचालक समितिको ठोस खाका भने तयार नगरेको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए । सरकारले यसअघि वायुसेवाको व्यवस्थापन जर्मनीको लुफ्थान्सा कन्सल्टिङलाई दिन निगम संचालक समिति, पर्यटन मन्त्रालयदेखि अर्थ मन्त्रालयसम्म सकारात्मक देखिएका थिए । 
संचालक समितिले निर्णय गरेर मन्त्रालय पठाएसँगै मन्त्रालय र निगमका अधिकारीहरूले नै कुन मोडलमा कसरी रणनीतिक साझेदार भिœयाउने भन्ने छलफल गरेर टुंग्याउने कंसाकारले बताए । “रणनीतिक साझेदार भिœयाउन कम्पनी ऐनमार्फत अघि बढ्नुपर्ने भएकाले पनि गाँठो फुकाउन पर्ने देखिन्छ, अहिले कसरी जाने भन्ने सरकारी धारणा समेत मागेका छौ,” कंसाकारले भने ।  
विगतमा निगम व्यवस्थापन सुधारका लागि गठन गरिएका एक दर्जनभन्दा बढी समितिहरूले आफ्नो प्रतिवेदनमा राणनीतिक साझेदार भिœयाउनु पर्नेमा जोड दिँदै आएका थिए । तत्कालीन पर्यटनमन्त्री दिपक अमात्यले आफ्नो कार्यकालमा लुफ्थान्सा कन्सल्टिङलाई पत्र लेखेरै प्रस्ताव मागेका थिए ।
कन्सल्टिङले व्यवस्थापन संचालन गर्न इच्छुक रहेको आशयसहितको ८१ पृष्ठ लामो प्रस्ताव मन्त्रालयलाई पठाएको थियो । तत्कालीन समयमा मुख्य व्यवस्थापनमा नेपाली हुने या लुफ्थान्साकै हुने भन्नेमा सहमति हुन सकेको थिएन । “लुफ्थान्साको उक्त प्रस्ताव सिधै आएको र निर्णय गर्न कठिन हुने भएकोले अब भने ग्लोबल टेन्डरमार्फत जानेछौं,” कंसाकारले भने । 
निगममा रणनीतिक साझेदार आवश्यक छ । जसका कारण व्यवस्थापनमा व्यापक सुधार गर्न सकिने भएकोले ठूलै विदेशी एयरलाइन्ससँग साझेदारी कसरी गर्ने भन्ने विषयनै अहिले छलफल चलिरहेको कंसाकारले जानकारी दिए । 

Tuesday, January 24, 2017

पर्यटक साढे ७ लाख



अघिल्लो वर्षभन्दा २ लाख १४ हजार बढी 
काठमाडौं: भूकम्प र नाकाबन्दीका कारण खस्किएको पर्यटक आगमनमा गत वर्ष भने उल्लेख्य सुधार देखिएको छ । सन् २०१६ मा पर्यटक आगमन अघिल्लो वर्षभन्दा ४० प्रतिशतले वृद्धि भएको छ । सन् २०१६ मा हवाई र स्थलमार्ग हँुदै ७ लाख ५३ हजार २ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ छ । यो संख्या सन् २०१५ को भन्दा २ लाख १४ हजार ३२ ले बढी रहेको विभागले जनाएको छ । भूकम्प र नाकाबन्दीको चरम प्रभावका कारण सो वर्ष ५ लाख ३८ हजार ९ सय ७० पर्यटक नेपाल भित्रिएका थिए । पर्यटक आगमनको लहर हेर्दा भूकम्प र पाँच महिनाको लामो नाकाबन्दीले थला परेको पर्यटन व्यवसाय फेरि लयमा फर्कने संकेत देखिएको व्यवसायीहरू बताउँछन् । सन् २०१४ मा नै ७ लाख ९० हजार १ सय १८ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । चालू सिजनको आगमन अघिल्लो वर्षको तुलनामा उत्साहजनक रहे पन िनेपालको आवश्यकता र सम्भावनाभन्दा निकै कम रहेको पर्यटन व्यवसायी योगेन्द्र शाक्य बताउँछन् । “नेपालमा हामीले जति पर्यटक भित्राउन सक्छौं त्यसको अनुपातमा यो केही पनि होइन,” शाक्य भन्छन्, “२०१७ मा पर्यटक आगमनदरमा उल्लेख्य सुधार त आउँछ तर पूर्वाधारको अभावले एकै वर्ष लाखौंलाख वृद्धि हुने अनुमान गर्न भने सकिंदैन, ।” गत वर्ष अक्टोबर महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएका छन् । यस महिना ८७ हजार ३ सय २६ पर्यटकले नेपाल भ्रमण गरेको अध्यगमन विभागको तथ्यांकमा उल्लेख छ । सबैभन्दा कम पर्यटक जुन महिनामा आएका छन् । यस महिना जम्मा ३६ हजार ८ सय ९७ मात्र पर्यटक आएका छन् । विभागले तथ्यांक संकलन प्रणालीलाई समेत सुधार गर्दै लगेको छ । “रसुवा नाकाबाहेक अन्य सबै नाकाहरूमा सफ्टवेयर जडान भएकोले तुरुन्तै तथ्यांक आउने गरेको छ,” विभागका अधिकृत कृष्ण सापकोटाले भने । २०१६ मा पनि नेपाल भ्रमणमा आउने पर्यटकमा भारतीय नै अग्रस्थानमा छन् । एक वर्षमा स्थल र हवाई मार्गबाट कुल १ लाख १८ हजार २ सय ४९ भारतीय पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । यस्तै, दोस्रो स्थानमा रहेका चिनियाँ पर्यटकको संख्या १ लाख ३ हजार ९ सय ८५ रहेको छ । तेस्रो स्रोत मुलुक श्रीलंकाबाट ५७ हजार ५ सय २१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै, अमेरिकी पर्यटकको संख्या ५३ हजार ६ सय ४५ छ भने बेलायतबाट ४६ हजार २ सय ९५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । “सन् २०१६ मा भारतीय र चिनियाँ दुवै पर्यटक आगमनमा उच्च बृद्धि भएकाले हाम्रो पर्यटन क्षेत्र अब दिगो विकासतर्फ पाइला चाल्दैछ भन्ने देखिन्छ,” नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदी भन्छन्, “सन् २०१७ मा यो संख्या अझै बढ्नेछ र यसले मुलुकको पर्यटन क्षेत्रलाई नै महत्वपूर्ण टेवा दिनेछ ।” सन् २०१६ मा पर्यटक आगमन विवरण महिना संख्या जनवरी ४०,२६० फेब्रुवरी ५८,८७१ मार्च ७४,४९४ अप्रिल ५८,२६२ मे ४४,७२८ जुन ३६,८९७ जुलाई ४६,१६० अगष्ट ६४,३८६ सेप्टेम्बर ७२,७२० अक्टोवर ८७,३२६ नोभेम्बर ७१,०४० डिसेम्बर ७४,४०६ स्रोतः अध्यागमन विभाग

Monday, January 23, 2017

‘वाइल्डलाइफ टुरिजम’


अमलटारी (नवलपरासी) । मानिसहरू प्रकृतिसँग रमाउन र प्रकृतिमा रहेका अनेक जीवजन्तुलाई नजिकबाट हेर्ने चाहना राख्छन् । यस्तो गतिवधि विश्वमा सुरु भएको धेरै लामो समय भइसकेको छ । नेपालमा समेत यस्तो पर्यटकीय गतिविधि हुन थालेको करिब आधा शताब्दी भइसक्यो ।



वन्यजन्तुको बासस्थान वरपर गएर तिनलाई हेरेर आनन्द लिनु नै ‘वाइल्डलाइफ टुरिजम’ हो । विगतमा अफ्रिकामा मात्र हुने यो पर्यटन नेपालमा पनि स्थापित भइसकेको छ । नेपालको चितवन राष्ट्रिय निकुञ्जको वाइल्डलाइफ पर्यटन विश्वमा नै अब्बल रहेको प्रमाणित भइसकेको छ ।
धेरै अन्तर्राष्ट्रिय संस्थाहरूले यसलाई ‘एसियाको अफ्रिका’को रूपमा वर्णन गर्ने गरेका छन् । वाइल्डलाइफ टुरिजम वातावरण तथा जंगली जीवजन्तुमैत्री टुरिजम हो, जसमा पर्यटकलाई जीवजन्तुको यथार्थ गतिविधिको अवलोकन गराइन्छ ।टेम्पल टाइगरले सुरुवातदेखि नै नेपालमा वाइल्डलाइफ पर्यटनलाई प्रवद्र्धन गर्दै आएको छ ।
वाइल्डलाइफ टुरिजम अफ्रिकासँगै क्यानडा, अष्ट्रेलिया तथा दक्षिण एसियाली मुलुक भारत, बंगलादेश र श्रीलंकामा समेत प्रचलित छ । पछिल्लो समय विश्वभर वाइल्डलाइफ टुरिजम व्यापक रूपमा विस्तार भइरहेको छ । 
तर, नेपालमा चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालनमा रही वाइल्डलाइफ पर्यटन प्रवद्र्धन गर्दै आएका रिसोर्टहरू बन्द भएपछि नेपाल आउने गुणस्तरीय पर्यटकको संख्यामा कमी आएको पर्यटन व्यवसायीहरूको भनाइ छ । ०६९ असार मसान्तदेखि चितवनका ७ वटा होटलहरू बन्द छन् । 
४८ वर्ष पुराना होटलहरूको सरकारले ०६९ असार मसान्तमा नवीकरण नगरेपछि होटल बन्द भएका हुन् । सर्वोच्च अदालतले हाललाई उक्त होटलहरू नवीकरण प्रक्रिया रोक्न अन्तरिम आदेश दिएपछि होटलहरू पूर्ण रूपमा बन्द छन् । निकुञ्जभित्र टेम्पल टाइगर जंगल रिसोर्ट, चितवन जंगल लज, गैंडा वाइल्ड लाइफ क्याम्प, मचान वाइल्ड लाइफ रिसोर्ट, आइल्यान्ड जंगल रिसोर्ट र टाइगर टप्स होटलहरू सञ्चालनमा रहेका थिए । 
नेपालको वाइल्डलाइफ पर्यटनमा चितवन राष्ट्रिय निकुञ्जले दक्षिण एसियासँगै विश्वभर नै ख्याति दिलाएको टेम्पल टाइगर जंगल रिसोर्टका कार्यकारी अध्यक्ष वसन्तराज मिश्रले बताए ।
“राज्यको नियम मानेर सबै प्रक्रिया पूरा गरेर होटल सञ्चालन गरेको र सरकारले दिएमा आगामी दिनमा समेत चितवनलाई ब्रान्डिङ गर्नमा सहयोग पुग्छ,” मिश्रले भने । नेपालको वाइल्डलाइफ टुरिजमलाई हेरेर भारत लगायत दक्षिण एसियामा नै जंगलभित्रका होटल खोलेका हुन् तर नेपालमा भने बन्द गराइए यसले पर्यटन क्षेत्रमा असर पारेको मिश्रको भनाइ छ । 
वाइल्डलाइफ टुरिजम भन्नेबित्तिकै अफ्रिका बुझिन्थ्यो । लामो र अथक प्रयासपछि नेपालमा पनि यो स्थापित भएको हो । वाइल्डलाइफ टुरिजममा नेपाल एसियाको ‘पायोनियर’ हो । यो टुरिजम वातावरण, कन्जरभेसन र टुरिजममा ब्यालेन्सड हुने गरेको छ । वाइल्डलाइफ टुरिजमलाई सिंगल बिजनेसको रूपमा मात्र हेर्न नहुने मिश्रले बताए ।
वाइल्डलाइफ टुरिजममा मुख्य गरी ६० वर्ष कटेका पर्यटक आउने गरेका छन् । यस्ता पर्यटकलाई देशमा हुने मन्दीलगायत कुनै समस्याले पनि छुँदैन । किनकि यस्ता पर्यटक रिटायर्ड लाइफ बिताइरहेका हुन्छन् । सरकारले यस्तो क्षेत्रमा लगानी गरेकै छैन ।
व्यवसायीको पहलमा भएको कदमलाई समेत सरकारले संरक्षण नगर्दा समस्या देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका होटल बन्द हुँदा नेपाल आउने ‘हाइ इन्ड टुरिस्ट’को संख्यामा नै कमी आएको छ । ती होटलहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ३ हजारले रोजगारी पाइरहेको तथा प्रत्येक वर्ष सरकरलाई ३० करोड रुपैयाँभन्दा बढी राजस्व बुझाउँदै आएका थिए । 
महँगा पर्यटक वाइल्डलाइफमा 
अफ्रिकामा वाइल्ड लज तथा होटलले प्रतिरात १५ सयदेखि २ हजार डलरसम्ममा कोठा बिक्री गर्छन् । अन्य मुलुकमा खुलेका स्तरीय होटेल–लजले पनि महँगा पर्यटकमात्र भित्र्याउने गरेका छन् । नेपालमा पनि ४ सयदेखि ८ सय डलरसम्ममा पनि बिक्री भएका थिए ।
तर, जब निकुञ्जभित्रबाट होटल हटाइयो, पर्यटक अहिले अन्यत्र गएका छन् । नेपालमा पनि राष्ट्रिय निकुञ्जभित्र सञ्चालनमा रहुन्जेल सबैभन्दा महँगा कोठा तिनै रिसोर्ट र होटलमा थियो । काठमाडौं उपत्यकासहित स्तरीय होटेललाई पर्यटकको खाँचो छ । 
बफरजोनमा ग्रिन जंगल रिसोर्ट
टेम्पल टाइगर ग्रुपले २०१२ मा चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको रिसोर्ट बन्द भएपछि त्यही स्वरूपमा नवलपरासीको अमलटारीस्थित बफर जोनमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट सञ्चालनमा ल्याएको छ । टेम्पल टाइगरले बफर जोनमा सञ्चालनमा ल्याएको नयाँ रिसोर्टमा सुविधाभन्दा प्रकृतिसँग रम्ने विषयमा बढी केन्द्रित रहेको छ ।
उक्त रिसोर्ट स्थानीय रूपमा उपलब्ध सामग्रीहरूकै प्रयोग गरी निर्माण गरिएको छ । त्यहाँ काम गर्नेहरू ९५ प्रतिशत स्थानीय नै रहेका छन् । रिसोर्टमा जानेहरूले स्थानीय उत्पादनहरूकै स्वाद लिन पाउनेछन् । रिसोर्टमा जानेहरूले हात्ती सफारी, जीप सफारी, नारायणीमा बोटिङलगायत गतिविधि गर्न सक्छन् । 
नारायणीमा बोटिङका क्रममा घडियाल गोहीहरू देख्न सकिन्छ । चिसो याममा घोहीहरू घाम ताप्न नदी किनारमा निस्कने हुँदा दिउँसोको समयमा किनारमा दर्जनौंको संख्यामा देख्न पाइन्छ ।
त्यस्तै, जीप तथा हात्ती सफारी गरी चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका बाघ, एकसिंगे गैँडादेखि विभिन्न जीवजन्तु देख्न सकिन्छ । निकुञ्जमा दुई सय प्रजातिका पुतली तथा विभिन्न प्रजातिका चराचुरुंगीको आवाज र अवलोकन गर्न सकिन्छ ।
“रिसोर्टमा जाने पाहुनाको लागि थारु नाचसमेत देखाइने गरिएको छ, जसलाई पर्यटकहरूले आकर्षित गर्दै लगेको छ,” मिश्रले भने । रिसोर्ट निकुञ्ज भित्रको संरचना जस्तो थियो, सोहीअनुरूप सञ्चालन गरेको मिश्रले जानकारी दिए । 

Saturday, January 21, 2017

दुर्गम क्षेत्र हवाई सेवा कोष ब्युँताउने तयारी



काठमाडौंः नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘दुर्गम क्षेत्र हवाई सेवा कोष’ ब्युँताउने तयारी गरेको छ । आन्तरिक वायुसेवा कम्पनीहरूलाई दुर्गम भेगको उडानमा हुने घाटा पूर्ति गर्ने उद्देश्यले पुनः कोष सञ्चालनको तयारी थालिएको हो । प्राधिकरणले डेढ दशकअघि कोष सुरुवात गरी डेढ वर्षसम्म रकम जम्मा गरेको थियो ।
प्राधिकरणको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुगम तथा पर्यटन गन्तव्यका विमानस्थलमा उडान गर्दा २४ प्रतिशतसम्म हवाई भाडा वृद्धि गर्न अनुमती दिएको थियो । जसअनुसार विमान कम्पनीहरूले भाडासमेत बढाइसकेका छन् ।
तर, दुर्गम क्षेत्रमा उडान गर्ने एयरलाइन्सहरूलाई भाडा बढाउन अनुमति नदिएपछि सरकारले घाटा पूर्तिका लागि कोष सञ्चालनमा ल्याउन लागेको हो । “विगतमा कार्यबिधि नहुँदा कोष सञ्चालनमा समस्या आएको हो, अव स्पष्ट खाका बनाएर  दुर्गम क्षेत्र हवाई सेवा कोष बनाउन खोजेका छौ,” प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले भने ।
प्राधिकरणले विमान कम्पनीहरूसँग छलफल गरिरहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार एयरलाइन्सहरूले सैद्धान्तिक सहमति दिइसकेका छन । प्राधिकरण नियमावली २०५८ मा दुर्गम क्षेत्र हवाई सेवा कोषको व्यवस्था छ ।
  • वार्षिक ५० करोड रूपैयाँ उठ्ने अनुमान
  • चार्टर उडान गर्नेले नियमित उडान गर्नुपर्ने 
 जहाजबाट माउन्टेन फ्लाइट गर्दा एक विदेशी यात्रुबराबर ४ अमेरिकी डलर, अन्य गन्तव्यका उडानमा एक विदेशी यात्रुबराबर २ डलर तथा हेलिकप्टर सेवातर्फ प्रत्येक ‘चार्टर’ उडान गर्दा हुने कुल आम्दानीको २ प्रतिशत कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । 
नेपाल भ्रमण गर्ने वार्षिक ७ लाख पर्यटकमध्ये आधिकांशले एकपटक आन्तरिक उडानमा यात्रा गर्ने तथ्यांक छ । नेपालीसहित आन्तरिकतर्फका हवाई यात्रु वार्षिक १६ लाखभन्दा बढी हुने गरेका छन् । कोष सञ्चालनमा आएमा वार्षिक ५० करोड रूपैयाँभन्दा बढी रकम जम्मा हुने अनुमान छ ।
२०५८ चैतबाट डेढ वर्षसम्म उडान गरिरहेका वायुसेवा कम्पनीले कोषमा रकम जम्मा गरेका थिए । तर, स्पष्ट कार्यविधि नहँुदा बीचैमा बन्द गरिएको उनको भनाइ थियो ।
आन्तरिकतर्फ हेलिकप्टर र हवाई जहाजमार्फत उडान गर्ने एक दर्जन कम्पनीहरू संचालनमा छन् ।
कोष संचालनमा आएमा दुर्गममा चार्टर उडान गरिरहेका एयरलाइन्सहरूले नियमित उडान गर्ने र स्थानीयले लाभ लिन पाउने प्राधिकरणको बुझाई छ । हाल नेपाल वायुसेवा निगम, एयर काष्ठमण्डप, गोमा, मकालु र तारा एयरले दुर्गममा उडान गरिरहेका छन् ।  

Thursday, January 12, 2017

पाइलटले लाइसेन्स नवीकरण नगर्दा

 राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग रहेको एकमात्र बोइङ जहाज उडाउन १८ जना क्याप्टेन छन् । तर, निगमका एक पाइलटले समयमै आफ्नो उडान अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगर्दा उडान रद्द भइ लाखौंको नोक्सानी बेहोर्नु परेको छ ।
निगम व्यवस्थापनकै कमजोरीका कारण मंगलबार निगमकै उड्डयन इतिहासमा पहिलोपटक आइपरेको समस्याले उडान नै रद्द भएको हो । पाइलटको लाइसेन्स नवीकरण नभएको जानकारी पाइएपछि मंगलबार मध्यरातमा उडान स्थगित गरिएको हो ।  रातको ११ः३० मा कतारको दोहा उड्न ठिक्क परेको जहाज बोइङ–७५७ जहाज प्राविधिक कारण भन्दै मध्यरातमा उडान स्थगित गरिएको थियो ।  
जहाज उडानका लागि अपरेसन विभागले अघिल्लो दिन नै सम्बद्ध कर्मचारी (क्रु)लाई जानकारी गराएको हुन्छ । सवै क्याप्टेनहरूलाई अघिल्लो दिन नै कुन उडानमा जाने भन्ने फोन अपरेसनबाट पनि गइसकेको हुन्छ । तर, मंगलबार क्याप्टेन ओम गुरुङले उडाउन ठिक्क पारेको जहाज मध्यरातमा रद्द गर्नुपरेको निगम स्रोतले बतायोे ।  गुरुङले समयमा लाइसेन्स नवीकरण नगर्दा उडान रद्द भएको हो । 
एक जना पाइलटले आफ्नो लाइसेन्स नै  समयमा नवीकरण नगर्दा १ सय ९० भन्दा बढी यात्रु बोडिङ पास भएर जहाजमा चढ्नको लागि ठिक्क परेको वेला रोकेर होटलतर्फ लैजान बाध्य भएका हुन् । 
उडान रद्द भएपछि सवै यात्रुलाई सोल्टी होटलमा राखिएको थियो भने विहान ८ बजे मात्र दोहाको लागि पुनः उडान गरिएको निगम स्रोतले जानकारी दिएको छ । औसतमा एक जना क्याप्टेन तहका पाइलटको तलब भत्ताबाहेक करिब २ लाख रुपैयाँ हुन्छ भने प्रत्येक उडानमा थप भत्ता पाउँछन् ।
“लाइसेन्स नवीकरण नभएर उडान रद्द भएको भन्ने कुरा आएको छ, यो विषयमा मैले छानविन गरिरहेको छु,” निगमका प्रवन्ध निर्देशक सुगरत्न कंसाकारले भने । यो विषयमा विस्तृतमा कुनै जानकारी आइनसकेकोले अहिले सवैकुरा भन्न नसक्ने उनको भनाइ थियो ।
निगम स्रोतका अनुसार पाइलटको लाइसेन्स प्रत्येक वर्ष नवीकरण गर्नु पर्दछ । नवीकरणका लागि समय सकिनु १५ दिन अगावै नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिनुपर्दछ । प्राधिकरणमा आफ्नो स्वास्थ्य रिपोर्ट, तालिमको प्रमाणपत्र तथा कार्यरत संस्थाको चिठी बुझाएको केही दिनमै आफैं उपस्थित भएपछि लाइसेन्स प्राप्त गर्न सकिन्छ ।

Monday, January 9, 2017

जाडो पर्यटन

काठमाडौंः जाडो मौसमलाई विगतका वर्षमा जस्तो पर्यटनको बेमौसम भन्ने परम्परा पछिल्लो समय विस्तारै तोडिँदै गएको छ । नेपालमा पछिल्लो समय हुने पर्यटन मेला तथा गतिविधिले पनि जाडो मौसममा पर्यटनका सम्भावना जोड्दै लगेको पाइन्छ । जाडो पर्यटनमा सेवाको विशिष्टता र गुणस्तर बढेसँगै विविधता थपिँदै गएको पाइन्छ । 
प्राकृतिक सौन्दर्यमा रमाउने, सांस्कृतिक अनुभव सँगाल्ने र साहसिक गतिविधिमा संलग्न हुने सीमितताबाट पर्यटन र पर्यटकीय गतिविधि धेरै फराकिलो भएको छ । सम्भावना देखेर नै हुनसक्छ, पछिल्लो समय पर्यटन व्यवसायीदेखि सरकारी संस्थाहरूले जाडो मौमसलाई केन्द्रित विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन् ।   
नेपालको पर्यटन खासगरी असोज, कात्तिक र मंसिर तथा मध्य फागुन चैत, वैशाख र जेठमा हुने गतिविधिले धान्दै आएको छ । पछिल्लो समयको चर्चा गर्दा जाडो याम पनि विशेष पर्यटन मौसम बन्दै गएको छ । “नेपालको पर्यटनमा अब समय परिवर्तन भएको छ, प्रवद्र्धन गर्न सकेमा पर्यटन मौसम भनेर कुर्नु पर्दैन,” नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी भन्छन् । 
पर्यटनमा संलग्न हुने धेरैजसो खर्चयोग्य आम्दानी र घुम्न समय भएकाहरू नै हुन् । त्यसमा पनि सरकारी, गैरसरकारी, वित्तीय, व्यापारिक तथा अन्य संस्थामा कार्यरत कर्मचारी, उद्योगी, व्यवसायी, व्यापारी र पेसाकर्मी पर्छन् । 
विशेषतः जाडो मौसम व्यापार व्यवसायका हिसाबले सुस्त समय हो । त्यसो हुँदा स्वभावैले ती संस्थामा कार्यरत कर्मचारीमाथि कामको चाप कम हुन जान्छ । त्यसैले यस क्षेत्रका सम्बन्धितलाई घुम्न जाने समय मिल्छ । जाडोको समय राजधानीलगायत चिसो पहाडी ठाउँका स्कुले बच्चादेखि कलेजका विद्यार्थीसम्म र शिक्षक–शिक्षिकादेखि प्राध्यापकसम्मले लामो समय जाडो बिदा पाउँछन् । 
विद्यार्थीहरू समूह बनाई घुमघाममा निस्कन्छन् । बच्चाबच्चीले पनि बाबुआमालाई घुमाउन जोड गर्छन् । धेरैजसो सरकारी र ‘क’ वर्गका वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई सरकारले ‘पे लिभ’को समेत व्यवस्था गरेकाले सपरिवार घुम्न जान जाडो मौसमले प्राथमिकता पाउँछ । जाडोको समयमा ‘मास प्याकेज’ दिएर आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई नेपालका विभिन्न गन्तव्यमा लैजान सकिने सीईओ जोशी बताउँछन् । 
पश्चिमा युरोप र अमेरिकी देशमा यो समय अत्यन्त जाडो हुने, हिउँले सेताम्मे हुने, घाम महिनौं नदेखिने र जीवन कष्टकर हुने हुन्छ । त्यसैले त्यता बसोबास गरिरहेका गैरआवासीय नेपाली पनि त्यहाँको जाडो छल्न नेपाल आउँछन् । उनीहरू परिवार वा साथीको समूह बनाई घुम्न निस्कन्छन् । 
“नेपालमा पर्यटन सिजन भन्ने नै नहनुपर्ने हो, तर प्रवद्र्धन गर्नमा हामी चुकेकाले समस्या भएको हो,” नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्य भन्छन् । जाडो र गर्मीमा सोही अनुसारका प्रवद्र्धनमा जोड दिन सकेमा नेपालमा सदाबहार मौसम पर्यटन हुने आचार्यको बुझाइ छ । 
जाडोमा संसारभर भव्य रूपमा मनाइने क्रिसमस र अंग्रेजी नयाँ वर्ष पर्छन् । नेपालमा पनि अचेल राम्रैसँग मनाइन्छ यी चाड । सांस्कृतिक विविधताले भरिएको नेपालमा थारु समुदायको नयाँ वर्ष माघी, हिन्दूको माघे संक्रान्ति, शेर्पाको सोनाम ल्होसारजस्ता जाडो मौसममा मनाइन्छ । माघी महोत्सव तराईका थारु बस्तीमा मनाइन्छ । त्यसैले चितवन र बर्दिया उत्कृष्ट गन्तव्य हुन सक्छन् जाडोमा घुम्न । 
अंग्रेजी नयाँ वर्ष आगमनका बेला पोखरामा हुने सडक महोत्सव नेपालमा हुने सबैभन्दा भव्य महोत्सव हो, यस मौसमको । त्यसैगरी बर्दियामा हुने हात्ती पोलो र सौराहामा हुने हात्ती महोत्सव अर्को विशिष्ट पर्यटकीय गतिविधि हो । जाडोमा पसिना नआउने भएकाले साइक्लिङ पनि नयाँ र विशिष्ट गतिविधि हो । स्वास्थ्य र पर्यटन दुवैका हिसाबले । काठमाडौं उपत्यका वरपर शिवपुरी, कीर्तिपुर, चोभार, दक्षिणकाली, साँखु, नगरकोट, चाँगुनारायण, लप्सीफेदी, लाँकुरी भन्ज्याङ, हात्तीवन, पोखरा वरपर र धुलिखेलजस्ता ठाउँमा साइक्लिङ गर्न सकिन्छ । 
अचेल होमस्टे (घरबास) पर्यटनमा पनि चहलपहल हुन थालेको छ । होमस्टे नयाँ संस्कृति, नयाँ घरबास, नयाँ खानपिन, नयाँ पारिवारिक वातावरण अनुभव गर्न पाइने उत्कृष्ट र ज्ञानवद्र्धक पर्यटकीय गतिविधि हो । मंसिरमा ठड्याइएका परालका थाकमा खेल्न, आगोमा भुटेका मकै र पोलेको आलु तथा सखरखण्ड खान बालबालिका धेरै रमाउँछन् । तराईमा शीतलहर सुरु हुने, घाम नदेखिने र चिसो बढ्ने हुँदा पारिलो घामको मज्जा लिँदै आराम गर्न र रमाउन सकिन्छ मध्य पहाडी क्षेत्रमा । 
डडेलधुरा, सुर्खेत, दाङ, पाल्पा, पोखरा, बन्दीपुर, गोरखा, दोलखा, जिरी, सिन्धुली, धरान, धनकुटा, इलाम आदि क्षेत्रमा जाडो मौसममा पनि पारिलो घामको मज्जा लिन सकिन्छ । ‘सन बाथिङ’का रूपमा पश्चिमाले गर्ने एक मुख्य पर्यटकीय गतिविधि हो घाम ताप्नु । 
जाडोमा हिउँमा खेल्न पाइन्छ । अलिअलि पानी पर्दा उच्च पहाडी क्षेत्रमा सेता हिउँका डल्ला खेल्दै रमाउन सकिन्छ । डडेल्धुरा, खप्तड, रारा, डोल्पा, मुस्ताङ, मनाङ, लमजुङ, माथिल्लो गोरखा, दामन, रसुवा, फुल्चोकी, दोलखा, सगरमाथा, ताप्लेजुङजस्ता क्षेत्रमा हिउँको मज्जा लिन सकिन्छ ।
कहाँ–कहाँ घुम्ने 
काठमाडौं वरपर नगरकोट, धुलिखेल, लाँकुरीभन्ज्याङ, फूलचोकी, लप्सीफेदी, भोटेचौर, सुन्दरीजल, शिवपुरी, ककनी, थानकोट, खोकना, बुङमती, साँखु, चाँगु, कीर्तिपुर, चम्पादेवी, चोभार, दक्षिणकाली आदि ।  
पोखरावरपर, ढोरपाटन, चितवन, बर्दिया, इलाम, कोशी टप्पु, धरान, धनकुटा, भेडेटार, जनकपुर, दोलखा, जिरी, दामन, बन्दीपुर, गोरखा, पाल्पा, लुम्बिनी, दाङ, बर्दिया, सुर्खेत, खप्तड, डडेल्धुरा, शुक्लाफाँटा आदि । 
के-के गर्ने
साइक्लिङ, हाइकिङ, भिलेज टुर, जंगल सफारी, स्नो वाक, क्याम्प फायर पार्टी, धार्मिक यात्रा, सन बाथिङ, होमस्टे, स्थानीय संस्कृति अवलोकन । 
खानेकुरा
सुप तथा तातो झोल पदार्थ, मकै, अन्डा, मासु, गेडागुडी, रोटी, दूध, मौसमी फलफूल आदि ।
के लाउने ?
कटनको भित्री लुगा (थर्मकोट आदि), हाइनेक, स्वेटर, ज्याकेट, टोपी, गलबन्दी, जुत्ता, बाक्लो मोजा, हिउँ पर्ने ठाउँ भए लामकाने टोपी, पञ्न्जा, कालो चस्मा आदि ।
के बोक्ने ?
टाउको दुखेको, रुघा तथा ज्वरोको औषधि, टर्च लाइट, स्क्रयाप ब्यान्डेज, बदाम वा अन्य सुख्खा फलफूल, पानी तातो रहने भाँडा (थर्मस, मेगास्लिम बोटल आदि), कोल्ड क्रिम, क्यामेरा, मोबाइल, धेरै जाडो हुने गन्तव्य भए स्लिपिङ ब्याग, बाक्लो सल र यी सबै सामान अट्ने एउटा बलियो र बोक्न सजिलो झोला । 
ध्यान दिनुपर्ने कुरा
पहाडी क्षेत्रमा हवाई यात्रा गर्नुहुन्छ भने फर्कनका लागि वैकल्पिक बाटोबारे पनि विचार पु¥याउनुपर्छ । अन्यथा मौसम गडबडी भई फ्लाइट नहुँदा गाह्रो हुन सक्छ । स्वास्थ्य हेरविचार गर्नुपर्छ । आरामदायी सुताइ र गुणस्तरीय खानपिनमा जोड दिनुपर्छ । बच्चाबच्चीलाई चिसोबाट बचाउनुपर्छ । जान लागेको गन्तव्यमा औषधि–उपचार वा स्वास्थ्य चौकीको व्यवस्थाबारे जानकारी राख्नुपर्छ । 
आफैँ गाडी हाँकेर जाने हो भने कुहिरो र हुस्सु लागेको समयमा ध्यानपूर्वक चलाउनुपर्छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनै हुँदैन । 
स्थानीय रक्सी वा अन्य मादक पदार्थको सेवन गर्दा त्यसको गुणस्तर र असरबारे हेक्का राख्नुपर्छ ।  
जाने र सुनेका कुराबारे नयाँ ठाउँमा ज्ञान फैलाएर चेतना फैलाउन सहयोग पु¥याई उत्तरदायी पर्यटकको पहिचान दिनुपर्छ ।

Wednesday, January 4, 2017

हिमालयन हवाई रुट–२ खोल्न भारत सहमत

म्यानमार र चीनको सहमति आवश्यक

भारतले हिमालयन हवाई रुट–२ प्रयोगका लागि अनुमति दिने भएको छ । गत साता भारतमा भएको द्विपक्षीय वार्तामा भारतले नेपाललाई हिमालयन हवाई रुट–२ खोल्न सहमति दिएको हो । 
भारतले अनुमति दिए पनि नेपाली पक्षले चीन र म्यानमारसँग सहमति लिन आवश्यक छ । नेपालले यी दुई देशबीच सहमति लिन सके नेपालको आकाश धेरै एयरलाइन्सहरूले प्रयोग गर्नेछन् । जसका कारण नेपालले आकाश प्रयोग गर्न दिएबापत धेरै रकम आम्दानी गर्न 
 सक्नेछ भने नेपालबाट हुने उडानलाई पनि रुट छोटो पर्नेछ । 

“हिमालयन रुट दिने विषयमा भारतले सहमति जनाएको छ, अब म्यानमार र चीनसँग सहमति गरेमा रुट खुल्नेछ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव हरिबहादुर खड्काले भने । खड्का गत साता भएको द्विपक्षीय वार्तामा समेत सहभागी थिए । 
हिमालयन रुट–२ सञ्चालनमा आएपश्चात् काठमाडौं, बागडोरा, गुहाटी, सिलचर, इम्फाल, कुन्मिङ हुँदै हङकङ जोड्ने हवाई रुट खुला हुनेछ । अहिले नेपालबाट हङकङ जान बंगलादेश हुँदै जानुपर्ने लामो दूरीलाई हिमालयन रुटको अनुमतिले एक सय नटिकल माइल तथा करिब २० मिनेटको हवाई दूरी छोटो हुनेछ ।  
हिमालयन  रुट–२ सञ्चालनमा ल्याउनसके युरोप जाने रुटसमेत छोटो हुनेछ ।  यो अनुमतिले नेपालबाट अन्तरराष्ट्रिय उडान गर्ने वायुसेवाले प्रत्यक्ष लाभ लिन पाउने तथा अन्तरराष्ट्रिय उडानका अन्य विदेशी वायुसेवाले हिमालयन रुट प्रयोग गर्ने भएकाले नेपालले आर्थिक लाभसमेत पाउने उपसचिव खड्का बताउँछन् । 
हिमालयन रुटका कारण टोकियोबाट लन्डन जाने जहाजले पनि छोटो हवाई रुटका कारण नेपालको आकाश प्रयोग गर्नसक्ने भएकाले हवाई क्षेत्रको राजस्व बढ्नेछ । उड्डयन नियमअनुसार कुनै पनि देशमाथिको आकाशमा जहाज उडान हुँदा फ्लाइओभर शुल्क तिर्नुपर्ने हुन्छ । 
निगमलाई फाइदै फाइदा 
हिमालयन रुटले सबैभन्दा बढी फाइदा नेपाल वायुसेवा निगमलाई हुनेछ । काठमाडौंबाट हङकङ जाँदा बंगलादेश हुँदै जाने गरिएको हिमालय रुट–२ प्रयोग गर्दा करिब २० मिनेटको दूरी छोटो पर्नेछ । यो दूरी घटेपछि निगमलाई १ हजार ३ सय लिटर इन्धन बचत, एकतर्फी उडानमै १ सय डलर फ्लाइओभर शुल्क घट्ने भएकाले हरेक उडानमा ३ लाख ६४ हजार रुपैयाँ फाइदा हुनेछ । निगम व्यवस्थापनले यसअघि नै सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो रुटले समय, जहाजको इन्जिन आवर, इन्धन तथा नगद खर्च सबै कम हुने उल्लेख छ ।  
निगमले हरेक अन्तरराष्ट्रिय उडानमा नेपाली आकाशको प्रयोग गरेबापत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बाहिरिँदा र भित्रँदा ३ सय ४५ अमेरिकी डलर बुझाउने गरेको छ । फ्लाइओभर शुल्कबापत सम्बन्धित मुलुकले लिने यस्तो रकममा भारत जाँदा २ सय ७० डलर, फर्कंदा ३ सय ११ डलर, बंगलादेश जाँदा ४ सय २० डलर, फर्कंदा ४ सय २० डलर नै तिर्दै आएको छ । निगमले चीन जाँदा ३ सय २ र फर्कंदा २ सय ७० डलर, हङकङ जाँदा र फर्कंदा  १ सय ४२ डलर, म्यानमार जाँदा÷आउँदा २ सय ३८ डलर तिर्दै आएको छ । 
नेपालगन्ज रुट अर्को वार्तामा 
नेपाल आउन भारतले थप दुई रुट दिने र बाँकी रुटको विषयमा माघ महिनामा हुने वार्तामा सहमति दिने भएको छ । गत साता भएको वार्तामा जनकपुर र महेन्द्रनगर रुट प्रयोग गर्न दिने सहमति भएको छ । जसमा आउन र जान दुवैमा भारतले सहमति दिएको उपसचिव खड्काले जानकारी दिए । 
“नेपालका लागि मुख्य रुट नेपालगन्ज हो, माघमा हुने वार्तामा सहमति हुनेछ,” खड्काले भने । नेपालगन्ज नखुलेमा भैरहवा र पोखराको विमानस्थलमा उडान भर्न समस्या आउनेछ । नेपालका लागि भारतले हालसम्म सिमरा रुटमा मात्र अनुमति दिँदै आएको छ ।

विमानस्थल र ध्वजावाहक जहाज नै पर्यटनका मुख्य पूर्वाधार हुन्

 नेपालको पर्यटन भूकम्प र भारतीय नाकाबन्दीका कारण थला नै परेको थियो । सन् २०१६ को पर्यटक आगमन हेर्ने हो भने ३३ प्रतिशतले बृद्धि भएको छ, जुन पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत हो । निजी क्षेत्रले पर्यटक भित्र्याउनका लागि पूर्वाधार तयार पारे पनि सरकार भने अझै तयार नभएको आरोप व्यवसायीले लगाउँदै आएका छन् । 
निजी क्षेत्रले तयार पारेको पूर्वाधार हिसाब गर्ने हो भने यतिबेला २० लाख पर्यटक धान्ने पूर्वाधार तयार भइसकेको दाबी गरिएको छ । तर, सरकारले निर्माण गर्ने विमानस्थलको कुरा गर्दा १० लाख पनि धान्न नसक्ने अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल रहेको छ भने पर्यटकका मुख्य हवहरूमा नेपाल वायुसेवा निगमले उडान गर्न नसक्दा पर्यटक आगमन सोचेजस्तो बढ्न सकेको छैन । 
नेपालको पर्यटन क्षेत्रको अवस्था र आगामी दिनमा सरकार र निजी क्षेत्रले गर्नुपर्ने विषयमा केन्द्रित रहेर नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसूदन आचार्यसँग कारोबारले गरेको कुराकानीः

नेपालमा पर्यटनको इतिहास लामै भइसक्यो । जुन ठाउँमा थियौं त्यही छौं, किन ?
हामी पुरानै ठाउँमा होइन, त्योभन्दा अझ पछाडि नै छौं । सन् २०११ लाई पर्यटन वर्ष घोषणा गर्दाको अवस्थाको तुलनामा अहिले कम्तीमा १५ लाख पर्यटन आगमन हुनुपर्ने हो । २०१६ को अन्त्यतिर आइपुग्दा हाम्रो देशमा पर्यटन आगमन अहिले पनि ८ लाखमै सीमित छ । 
यो आँकडाले हामी अगाडि जाने त कुरै नगरौं, पछाडि नै रहेका छौं । यसका धेरै कारण छन् । पर्यटन व्यवसायलाई सरकारले आर्थिक विकासको मेरुदण्डका रूपमा लिएकै छैन । अन्य उत्पादनमूलक उद्योगजस्तो होइन, पर्यटन व्यवसाय । विश्वभरका पर्यटक आवागमन दर हेर्ने हो भने बर्सेनि यो बढ्दै छ । 
सन् २०१२ को अन्तिममा विश्वभर १ अर्ब पर्यटक आवागमन भएकोमा २०१५ मा यो संख्या १ अर्ब २० करोड पुगिसकेको छ । २०३० सम्ममा विश्वभर १ अर्ब ८० करोड पर्यटको आवागमन हुने अनुमान गरिएको छ ।
पर्यटन व्यवसाय सधैं अघि बढ्ने व्यवसाय हो । तर, नेपालमा भने यसलाई न त राज्यले न त हामी व्यवसायी कसैले पनि त्यो रूपमा लिएनौं । केही पक्ष निजी क्षेत्रको पनि छ, तर मुख्य जिम्मेवार राज्य नै हो । पर्यटनको विकास पूर्वाधारको विकाससँग टड्कारो रूपमा जोडिएको छ । विश्वका अन्य मुलुकले त्यही कुरा बुझेर त्यहीअनुरूप अगाडि बढेर कति प्रगति गरिसके । तर, हाम्रो देशमा त्यतातर्फ सोच्दै सोचिएन भन्दा पनि हुन्छ ।
पूर्वाधारकै अभावले पर्यटन व्यवसाय पछाडि परेको हो ? 
पूर्वाधारको विकास नागरिकको जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । त्योसँगै यसको विकासले पर्यटन क्षेत्रलाई समेत ठूलो टेवा पुग्छ । जस्तै, खाडी मुलुकको उदाहरण लिन सकिन्छ । त्यहाँ न कुनै पूर्वाधार थियो, न त प्राकृतिक सौन्दर्य नै । तर, केही वर्षमा उनीहरूले यसरी पूर्वाधारको विकास गरे त्यसले तिनीहरू विश्वका धेरै पर्यटक भित्र्याउने मुलुकमध्येमा पर्छन् । 
यसको उदाहरणमा यूएई, कतार र साउदी अरब हुन् । यसको तात्पर्य के हो भने पूर्वाधारको विकासबिना पर्यटनको विकास सम्भव छैन । 
जुन ठाउँमा जस्तो पूर्वाधार छ त्यहाँ त्यस्तै पर्यटक जाने हुन् । नेपालमा प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा छ भनेका छौं । यसको लिमिट क्षमता हुन्छ । सबै मानिसलाई प्रकृति वा संस्कृतिसँग चासो नहुन सक्छ तर घुम्ने इच्छा त सबैलाई हुन्छ । भौतिक विकास पनि पर्यटक आकर्षण अर्ने आधार हो भन्ने प्रमाणित भइसकेको छ । 
हामीले अब पनि नेपाल प्राकृतिक रूपले उत्कृष्ट गन्तव्य हो भनेर बस्ने अवस्था छैन । यस्तो पर्यटकको प्रवाह परिवर्तन हुन सक्छ । यसरी आउने पर्यटकको संख्या पनि न्यून छ । अधिकांश पर्यटक विलासी, रिक्रिएसन, एक्युजमेन्टतर्फ आकर्षित हुन थालेका छन् । पूर्वाधारलाई केन्द्रमा राखेनौं भने हामीसँग भएका अन्य पूर्वाधार पनि ओझेलमा पर्न सक्छन् । 
यस्तो हुनुमा सरकार र व्यवसायी कहाँ चुके ?
व्यवसायीहरू आफ्नो व्यवसायमा मात्र केन्द्रित भए । पर्यटन क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेकाहरूले त्यति चासो दिएको पाइएन । व्यवसाय हुन्जेल गरौं, नभए ठीकै छ भन्ने खालको कुरा गर्दा समस्या भएको हो । विगतमा सबैभन्दा धेरै पर्यटक भित्र्याउने कम्पनी अहिले निष्क्रिय प्रायः छन् । 
त्यसो भन्दैमा अरूले केही गरेनन् भन्ने होइन । यसले पनि समस्या पर्छ । सरकारले अहिले पनि पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छैन । प्राथमिकता दिने भनेर पर्यटनका लागि छुट्टै पूर्वाधार चाहिने होइन । तर, सरकारको नीति निर्माण गर्दा सबै निकायले पर्यटन क्षेत्र पनि हाम्रो प्राथमिकताको क्षेत्र भने काम गर्नुपर्‍यो ।
पर्यटन आगमन बढाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्छ । एउटा निकायले काम गर्दा अर्काे निकायले सहयोग गर्नुपर्नेमा त्यस्तो देखिन्न । नेपालमा निकासी गरेर आम्दानी गर्ने त्यस्ता कुनै उद्योगको सम्भावना नै देखिन्न । 
विश्वका ठूला देशहरूले गरेका उत्पादनसँग हामीले प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । यो अवस्थामा हामी पर्यटन क्षेत्रमा मात्र प्रतिस्पर्धा गर्ने स्थितिमा छौं । 
यसका लागि हाम्रो राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको २८ वर्षसम्म नयाँ जहाज नआउनु दुःखद हो । हामीले गर्न सक्दैनौं भने विदेशी कम्पनीहरूलाई पनि आकर्षण गर्न सक्नुपर्ने हो, त्यो पनि भएको छैन । यहाँ जति पनि अन्तरराष्ट्रिय विमान कम्पनीहरू आएका छन् तिनीहरू पनि सन्तुष्ट छैनन् । त्यस्ता कम्पनीहरू व्यवसाय गर्न बाध्य छन्, उनीहरू खुसीका साथ काम गरिरहेका होइनन् । 
राष्ट्रिय ध्वजावाहकलाई अपग्रेड गर्नैपर्छ । पाँच–पाँच वर्षको योजना बनाएर हुन्छ वा अन्य योजनामार्फत एनएसीलाई विमान दिलाउनुपर्छ । नेपालजस्तो देशमा राष्ट्रिय ध्वजावाहकसँग कम्तीमा १५/२० वटा जहाज हुनुपर्छ । यस्ता विमान कम्पनीहरूले नाफा कमाउनुपर्छ भन्ने होइन । 
अन्य सरकारी कम्पनीहरू घाटामै चल्दा हुने तर एनएसी भने नाफामै जानुपर्छ भन्ने किन ? यसको अर्थ एनएसी घाटामा जाओस् भन्ने होइन । एनएसीसँग १० वटा जहाज हुने र उसले १० अर्ब घाटा खाए पनि त्यसले हुने पर्यटन आवागमनले अन्य क्षेत्रबाट गर्ने आम्दानी तीन–चार गुणा बढी हुन्छ । 
अन्य देशका राष्ट्रिय ध्वजावाहकहरू पनि घाटामै चलिरहेका छन् । पर्यटकको प्रवाहले अन्य धेरै क्षेत्रमा आम्दानी जेनेरेट गर्ने भएकाले राष्ट्रिय ध्वजावाहक सक्दो धेरै गन्तव्यमा जानुपर्छ । 
हामीसँग गन्तव्यहरू पनि धेरै छन् । विश्वका मिडिया तथा अन्य संस्थाहरूले गर्ने रेटिङमा नेपाल उत्कृष्ट ५, उत्कृष्ट १० मा परि नै रहेको हुन्छ । यति हुँदाहुँदै पनि हामी अघि बढ्न नसक्नुको कारण पूर्वाधारको कमी नै हो । 
जस्तो हवाई, बाटोघाटो, एक्सप्रेस वे तथा कनेक्टिभिटीको कमी छ हामीकहाँ । विश्वमा धेरै दातृ निकाय छन्, सरकारले टनेल, एक्प्रेस वेजस्ता पूर्वाधार बनाउनुपर्‍यो । अन्य मुलुकहरूले बनाउन सक्ने नेपालले किन नसक्ने ?
कनेक्टिभिटी नभएरै पर्यटक संख्या नबढेको हो ?
ठीक कुरा उठाउनुभयो । देशभित्र पर्यटकलाई विभिन्न गन्तव्यमा पु¥याउन राष्ट्रिय कनेक्टिभिटी चाहिन्छ भने राष्ट्रिय ध्वजावाहकमार्फत अन्तरराष्ट्रिय कनेक्टिभिटी बढाउनुपर्छ । बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी महत्वपूर्ण गन्तव्य हो । 
श्रीलंकामा ७० प्रतिशत बौद्ध धर्मावलम्बी छन् । खोइ हामीले श्रीलंकासँग सिधा हवाइ सम्पर्क जोडेको ? त्यस्तै कम्बोडिया, म्यान्मारजस्ता धेरै देशका पर्यटक आकर्षित गर्न सकिन्छ । त्यसका लागि राष्ट्रिय ध्वजावाहकले आफ्नो कनेक्टिभिटी जोड्नुपर्छ । 
पर्यटक आवागमन कम हुनुको मुख्य समस्या पूर्वाधार नै हो ?
हो, पूर्वाधार नै हो । पर्यटनमा पछि पर्नुको कारण होटल नभएर होइन । होटलको क्षमताको ६० प्रतिशतभन्दा कम अकुपेन्सी छ । होटल थपिने क्रम जारी भएकाले यस्तो भएको हो । पोखरा, चितवन तथा काठमाडौंमै पनि होटलहरू थपिने क्रम जारी छ । निजी क्षेत्रले गर्ने भएको हस्पिटालिटी, होटललगायतको विकास हो । 
८ लाख पर्यटक आउने देशमा १२ सय ट्राभल एजेन्सी र २ हजार ट्रेकिङ एजेन्सी छन् । जबकि मलेसियामा ८० लाख पर्यटक भित्रिन्छन्, त्यहाँ जम्मा ३ हजारभन्दा कम ट्राभल एजेन्सी छन् । यो भन्नुको अर्थ हाम्रो देशमा सर्भिस क्यापासिटी टन्नै छ । तर, हामीसँग पर्यटक ल्याउने पूर्वाधार भएन । 
नेपालमा सीधा हवाई सम्पर्क भएको मुलुक ज्यादै थोरै छन् । पर्यटकको ओरिजन युरोपमा हालै मात्र टर्किसले हवाई सेवा सुरु गरेको हो । पाँच–सातवटा एयसलाइन्सले गरेको कनेक्टिभिटीबाट कति पर्यटकको अपेक्षा गर्ने ? युरोप÷अमेरिकाबाट सीधा आउने विमान सेवा नहुँदासम्म पर्यटक आगमनको दर ज्यादै न्यून हुन्छ । राष्ट्रिय ध्वजावाहक पूर्वाधार सम्पन्न नहुँदासम्म सरकारले विदेशी विमान कम्पनीलाई आकर्षित गर्नुपर्छ ।

हाम्रो गन्तव्य महँगो हुनुमा एयरलाइन्स मात्र हुन् कि व्यवसायीहरू पनि हुन् ? प्याकेज बिक्री गर्ने त व्यवसायी नै हुन् ?
प्याकेजमा त्यस्तो महँगो भन्ने कुरै छैन । २ सय रुपैयाँको अत्यन्त मीठो चिया पाइन्छ कुनै ठाउँमा । तपाईं त्यो चिया खान कति रुपैयाँसम्म खर्च गरेर जानु हुन्छ ? २ सय रुपैयाँ नै खर्च गरेर त तपाईं त्यो चिया खान जानुहुन्न । हामीले अहिले नेपाल आउन १ साताको प्याकेज औसतमा ५ देखि ७ सय अमेरिकी डलरको हो । 
७ सय डलरको प्याकेज लिन १५ सय डलर खर्च गरेर पर्यटकहरू आइरहेका छन् । हुनुपथ्र्यो के भने हाम्रो प्याकेज २ हजार डलरको, आउने हवाई खर्च १ हजार डलरको । यसमा सरकारले हेर्नैपर्छ । हामी किन महँगो भइरहेका छौं । विमान कम्पनीहरू नेपालमा ल्यान्डिङ, पार्किङ महँगो भयो भनेर कम्प्लेन गरिरहेका छन् । 
हामीलाई पर्यटक चाहिएको छ, त्यसैले आवश्यक खर्चको लागत कम गर्नुप¥यो । त्यस्तै नेपालमा हवाई इन्धन पनि महँगो भयो भन्ने कम्प्लेन आउने गरेको छ । यसले गर्दा हाम्रोमा आगमन महँगो भएको हो । यसमा सरकारले केही दिनमै निर्णय गर्न सक्छ । 
एयरपोर्टमै पनि हाम्रो पूर्वाधार राम्रो हुन सकेका छैन । त्यसलाई पनि व्यवस्थित बनाउनुपर्छ । एयरपोर्टमा ओर्लनेबित्तिकै नेपालका आकृतिहरू हुनुपर्छ ।
व्यक्तिगत रूपमा आउने पर्यटकले देशमा आउने पर्यटकको संख्या पुग्नै सक्दैन । त्यसका लागि सामूहिक पर्यटक नै आउनुपर्छ । नेपालमा पूर्वाधार लगायतको विकास नहुँदा सामूहिक रूपमा आउने पर्यटक निकै कम भइसकेका छन् । विश्वका विभिन्न प्याकेज 
बिक्रेता कम्पनीले आफ्नो कार्यालयबाट नेपाल डेक्स नै हटाइसकेका छन् । हामीले त्यस्ता पर्यटकलाई आकर्षित गर्न सक्नुपर्छ । जुनसकै देशको पनि कुल पर्यटक आवागमनमा व्यक्तिगत रूपमा आउने पर्यटकको संख्या २०÷२५ प्रतिशत मात्र हो । हामीले अर्गनाइज पर्यटक आवागमन बढाउनमै केन्द्रित हुनुपर्छ । 
अब नेपालको पर्यटन बजार कुन हो ?
मैले जहाँसुकै भ्रमण गर्दा भेटेका मान्छेहरूलाई सोध्दा आफू नेपाल भ्रमणमा जाने इच्छामा सदैव रहेका बताउने गरेका छन् । एकपटक आएकाले र आउँदै नआएकाले पनि नेपाल भ्रमणको चासो देखाएको पाउँछु । नेपालका लागि यो फाइदाको विषय हो । हामीकहाँ पर्यटकीय विविधता छ । 
युवाहरू लागि एडभेन्चर पनि छ, मध्यम उमेरका लागि एक्सपिडिसन, अलि पाको उमेरका लागि सांस्कृतिक सम्पदादेखि जंगल सफारीसम्म छ । अफ्रिकापछि नेपाल नै जंगल सफारीका लागि उत्कृष्ट छ । 
नेपालमा सबैका लागि उपयोगी पर्यटन छ । जापान, युरोप, अमेरिकी तथा एसियन सबैका लागि उपयोगी छ । सुरक्षा, पूर्वाधारजस्ता आवश्यक कुरा भयो भने सबैका लागि नेपाल आकर्षक गन्तव्य हुन्छ । 
चीन र भारतमा प्रवद्र्धनको कार्यक्रम गर्ने भन्छौं, तर केन्द्रित हुन सकेका छैनौं नि ?
मुख्य कुरा यसका लागि पहुँच नै हो । जबसम्म हामी त्यहाँ पुग्दैनांै उनीहरू यहाँ आउँदैनन् । चीन तथा भारतका मुख्य सहरमा हामीले फोकस गर्न सकेका छैनौं । प्रवद्र्धन गर्ने भनेको नेपाल वायुसेवा निगमले उडान गर्ने हो । 
चीन र भारतका मुख्य सहरमा उडान सुरु हुनेबित्तिकै प्रतिस्पर्धा बढ्छ, हवाई भाडा घट्छ, त्यसपछि पर्यटक आगमनदरमा वृद्धि हुन्छ । चीनबाट आउने सबै एयरलाइन्सहरू बिजनेसलाई केन्द्रित गरेर आएका छन् । त्यहाँ टिकेटिङ गर्ने कम्पनीले पहिल्यै सिट होल्ड गरेर बस्नुपर्ने अवस्था छ । 
नत्रभने यति मनोपोली गर्छन् त्यहाँबाट काठमाडौं आउने एयरलाइन्सले एक घण्टामै हवाई भाडा परिवर्तन गर्छन्, जसले गर्दा प्याकेज बनाउन त्यहाँ सेल्स एजेन्टलाई धेरै समस्या रहेको छ । त्यसैले दुवै देशमा उडान नेपाल वायुसेवाले गर्न आवश्यक छ । 
एउटा उदाहरण दिन चाहन्छु, दिल्लीबाट काठमाडौं आउन एकतर्फी भाडा ४३ हजार रुपैयाँसम्म पुग्यो, तर पछि निगमले उडान थालेपछि अहिले सहज भएको छ । यसैले केन्द्रित भनेको पहुँच नै हो । त्यसपछि छिमेकी मुलुकका पर्यटक नेपाल आउनेछन् । हामीले निगमलाई भनेका छौं, सन् २०२० सम्ममा कम्तिमा १० वटा जहाज निगमसँग हुनुपर्छ । 
नेपालको पर्यटनमा वैदेशिक लगानी आवश्यक छ कि छैन ? अहिलेसम्म पनि किन वैदेशिक लगानी आकर्षित भएको छैन ?
नेपालमा वैदेशिक लगानी आउन पहिले सोही अनुसारको पर्यटक संख्या आउनु आवश्यक छ । यहाँका व्यवसायीले ह्यान्डिल गर्न नसकेपछि आफैं लगानीकर्ता आउनेछन् । अहिले त यहाँकै व्यवसायीले नै चलाइरहेका छन् । ट्राभल क्षेत्रमा त अहिले वैदेशिक लगानी असम्भवजस्तै छ । 
उनीहरूले पहिले लगानीको सुरक्षा खोज्छन् अनि मात्र आउँछन् । हाम्रो मुलुकमा ५० लाख पर्यटन आउने स्थिति भयो भने अवश्य पनि वैदेशिक लगानी स्वतः भित्रिनेछ । अर्को, होटल, एयरलाइन्सतर्फ भने अहिले पनि वैदेशिक लगानी आवश्यक छ । कतिमा आइ पनि रहेका छन् । अहिले कति नयाँ होटलहरूमा चेन होटलहरू पनि आउँदैछन्, जुन सकारात्मक हो । 
पर्यटन व्यवसायीहरू नयाँ गन्तव्यमा जान अझै किन डराइरहेका छन् ?
पर्यटन भनेको साइकल चलाएजस्तै हो । साइकल गुडिरहेसम्म मान्छे लड्दैन, जब गुडाउन छोड्छ ऊ लडिहाल्छ । पर्यटन व्यवसाय पनि स्थिर भएर बस्ने व्यवसाय होइन । कि अगाडि बढ्छ कि पछाडि हट्छ । पर्यटक त नेपाल आउन खोज्छ, आउने स्थिति भएन भने अर्को देश जान्छ । 
त्यसैले यही गन्तव्यमा बसिराख्यौं भने पछाडि फर्कन्र्छौं । सन् २०३० एउटा प्रक्षेपण भएको छ । अहिले उडिरहेका जहाजभन्दा आकाशमा दोब्बर उड्नेछन् । एयरबस र बोइङको बुकिङ हेर्ने हो भने पनि दोब्बर पुग्ने देखिन्छ । सन् २०३० मा १ अर्ब ८० करोड पर्यटक आगमन पुग्छ भन्ने प्रक्षेपण छ ।
भन्नुको अर्थ जुन हिसाबले विकास भइरहेको छ, हामीले आफू सक्षम भएनौं भने पर्यटक अन्यत्र जान्छन् । त्यसैले पहिलो भनेको पूर्वाधार नै हो । कनेक्टिभिटी नै हो । सुदूरपश्चिम जान जहाज भाडामा मात्र ४ सय डलर खर्च हुन्छ । 
पर्यटकलाई भार थपिन्छ र त्यसैले सडक मार्ग, द्रुत मार्ग खै जोडिने संकेत नै छैन । एउटा पर्यटकको आगमनले ११ वटा अवसर प्रदान गर्छ ।
३० लाख पर्यटक भित्र्याउने हो, खाडी जान पर्दैन नेपालीले । सरकारले पूर्वाधार निर्माण गर्ने भनेको जनतालाई त सहज भइहाल्छ नै, पर्यटक आगमन नै बढाउँछ र नयाँ–नयाँ गन्तव्यको विकास हुन्छ । 
विमानस्थल निर्माण कार्य सुरु हुनु राम्रो हो । तर, भैरहवा र पोखरा जोड्ने नेटवर्क पनि चहियो नि । काठमाडौं–पोखरा जोड्ने फास्टट्र्याकको खै कल्पना ? पर्यटकले सबै समय हिसाब गरेर भ्रमणमा निस्कने हो । एउटा मात्रै काम गरेर भएन, त्यसले जोड्ने सबै लिंक रोडको कल्पना आवश्यक छ । 
भूकम्पपछि अब हामी रिकभरको चरणमा प्रवेश गरेका हौं ?
भूकम्पभन्दा पनि अन्तरराष्ट्रिय मिडियाले गलत प्रचार गर्दा समस्या भएको हो । नत्र काठमाडौंमा कहाँ के भएको छ । खालि पहिले जीर्णोद्धार नभएका भवन भत्किएका हुन्, तर पनि पर्यटनमा प्रभाव परेको थियो । यस विषयमा सरकारले प्रचार गर्न कमजोरी गर्दा समस्या भएको हो । 
अहिले आगमनदर बढ्दै गएको छ । सन् २०१७ का लागि आएको बुकिङ हेर्दा आगामी वर्ष ९ लाख हाराहारी पर्यटक आउने देखिन्छ । प्राकृतिक प्रकोपभन्दा पनि राजनीतिक अस्थिरताले चाहिँ पर्यटक आगमनमा असर पार्ने रहेछ । 
आन्तरिक पर्यटकको दरमा कत्तिको वृद्धि हुँदै गएको पाउनुभएको छ ?
आन्तरिक भ्रमण गर्ने नेपालीको संस्कृतिमा वृद्धि भएको छ । अधिकांश बैंकका म्यानेजर, सीईओ, सरकारी कर्मचारीदेखि निजी क्षेत्रमा कार्यरत कर्मचारी सबै घुम्न जाने ट्रेन्ड बढेको छ । सरकारले घोषणा गरेको घुमफिर वर्षले यसलाई झनै ब्रान्डिङ गरेको छ । 
पहिले आफूखुसी घुम्न जाने, जात्रा गएझंै जाने प्रचलन पनि तोडिँदै गएको छ । नेपालीहरू पनि ट्राभल एजेन्सीसँगको प्याकेज लिएर जान थालेका छन् । नेपालको पर्यटन क्षेत्र अहिले ४० प्रतिशतभन्दा बढी बजार आन्तरिकले धानेको छ ।

२०१७ मा घुम्न छुटाउन नहुने नेपालका १० गन्तव्य

 
काठमाडौं: सन् २०१७ मा घुम्नुपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल पनि परेको छ । लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षसँगै आउँदो वर्ष घुम्न विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सार्वजनिक गरेको सूचीमा  दक्षिण एसियाबाट नेपालमात्र परेको छ । 
प्लानेटले सार्वजनिक गरेको सूचीअनुसार पहिलो स्थानमा क्यानडा, दोस्रोमा कोलम्बिया, तेस्रोमा फिनल्याण्ड तथा चौथोमा डोमिनिका रहेका छन् । त्यस्तै छैटौंमा बर्मुडा, सातौंमा मंगोलिया, आठौंमा ओमान, नवौंमा म्यानमार तथा दशौंमा इथियोपिया छन् । 
लोन्ली प्लानेटले हरेक वर्ष सार्वजनिक गर्ने यो सूची भ्रमण गरेका पर्यटकको प्रतिक्रिया, भ्रमणका लागि पर्यटकले देखाएको चासो तथा विभिन्न तथ्यांकलाई आधार मानेर तयार हुन्छ । 
गएको वर्षको वैशाख १२ मा गएको भूकम्पले क्षति गरेका पदमार्गहरू पुनर्निर्माण भइसकेको समेत जनाएको छ । नेपालमा घुम्न लायक धेरै ठाउँ रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । 
पर्यटकका लागि भूकम्पपछि नेपालले के गुमायो र अझै बाँकी के के छन् तथा कहाँ–कहाँ पुनर्निर्माण भइरहेका छन् भनेर अवलोकनको लागि निकै महत्वपूर्ण हुने उल्लेख गरेको छ । सांस्कृतिक महत्वका केही सम्पदा भत्किए पनि तिनका बारेमा बुझ्न र त्यहाँ हेर्न लायक धेरै कुरा रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । 
विश्वकै उत्कृष्ट पदमार्गहरू नेपालमा रहेकाले यो घुम्नैपर्ने देश रहेको लोन्ली प्लानेटले भनेको छ । नेपालका विभिन्न गाउँ तथा त्यहाँको संस्कृतिको अवलोकन गरी नेपालको पुनर्निर्माणमा सहयोग गर्ने माध्यम बन्नका लागि लोन्ली प्लानेटले विश्वभरका पर्यटकसँग अपिल पनि गरेको छ । 
प्लानेटले तयार पारेको उत्कृष्ट गन्तव्यका सूचीहरूलाई विश्व पर्यटन संगठनले समेत अनुमोदन गरेको छ । प्लानेटले विश्वभरका पर्यटकलाई सन् २०१७ मा छुटाउन नहुने नेपालका १० गन्तव्य समेत सार्वजनिक गरेको छ । 
नेपालका उत्कृष्ट १० गन्तव्यहरू 
रारा
मुगु जिल्लामा पर्ने देशकै सबैभन्दा ठूलो ताल तथा स्वच्छ पानी भएको तालको रूपमा रारा ताललाई लिइन्छ । पछिल्लो समय गाडीमार्फत जान सकिने भएकाले पर्यटकहरूलाई जान र आउन हवाई र गाडी जुनसुकै साधन प्रयोग गर्न सक्छन् । 
पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको रारामा पर्यटकलाई जान सहज हुन थालेपछि विदेशी पर्यटकहरू पनि ठूलो संख्यामा जाने आशा गरिएको छ । रारा जानको लागि फागुनदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्म उपयुक्त हुने समेत प्लानेटले उल्लेख गरेको छ । 
पुनहिल
नेपालको मुख्य र सबैभन्दा आकर्षक पदमार्ग घान्द्रुक–घोरेपानी–पुनहिल रहेको उल्लेख गर्दै प्लानेटले पुनहिलमा पुगेर दर्जनौ हिमश्रृंखला हेर्न सकिने भएकोले उक्त क्षेत्रको भ्रमणमा जान सुझाव दिएको छ । 
म्याग्दी जिल्लामा रहेको पुनहिल ३ हजार २ सय १० मिटर उचाइमा रहेको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रको एउटा मुख्य भागको रूपमा रहेको पुनहिलमा ३० वटा होटल छन् । सो क्षेत्रमा एक रातमा ७ हजार पर्यटक राख्न सक्ने क्षमता छ । 
जोमसोम–मुक्तिनाथ 
हिन्दू र बुद्धमार्गीको समेत तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्र पर्यटकको लागि आकर्षक गन्तव्य रहेको लोन्ली प्लानेटले जनाएको छ । ३ हजार ७ सय १० मिटर उचाइमा रहेको उक्त भ्याल्लीले आन्तरिक र बाह्य पर्यटकको मुख्य गन्तव्य स्थलको रूपमा पहिचान कमाएको छ । 
खप्तड
खप्तड राष्ट्रिय निकुञ्ज नेपालको सुदूरपश्चिम क्षेत्रमा पर्ने चार जिल्लाको संगमस्थल हो । बजाङ, बाजुरा, अछाम र डोटी जिल्लामा रहेको उक्त क्षेत्र १ हजार ४ सय मिटर उचाइदेखि ३ हजार ३ सय ३० मिटर क्षेत्रमा फैलिएको छ । 
खप्तड जानको लागि चैत र वैशाख तथा असोज–कात्तिक महिना उपयुक्त हुने लोन्ली प्लानेटले जनाएको छ । पछिल्लो समय नेपाल पर्यटन बोर्ड तथा पर्यटन व्यवसायी संस्थाहरूले खप्तड जानको लागि स्वदेशी तथा विदेशीका लागि प्याकेजसमेत घोषणा गरेका छन् । 
कोशी टप्पु 
कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रलाई लोन्ली प्लानेटले चरा अवलोकनको लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरेको छ । १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ । 
सन् १९८७ रामसार सूचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातिका चरा, २१९ को संख्यामा दुर्लभ अर्ना र दुर्लभ डल्फिनसमेत पाइन्छ । सो क्षेत्र भ्रमण गर्नको लागि पनि पर्यटन व्यवसायीहरूले विभिन्न प्याकेज बिक्री गर्दै आएका छन् । 
इलाम
नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । इलाममा चिया बगानको साथै पिकनिक स्पट तथा साइट सिनको लागि आकर्षक स्थान छन् । इलाम जा असोज, कात्तिक, मंसिर तथा फागुन, चैत र वैशाख उपयुक्त मानिन्छ । 
बर्दिया राष्ट्रिय निकुञ्ज 
बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूरपश्चिममा क्षेत्रमा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्वतिरको तराई प्रदेशमा अवस्थित छ । 
सन् १९६८ मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिए पनि सन् १९६७ मा करिब ३६८ वर्गकिलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो । उक्त क्षेत्रमा जानको लागि हवाई तथा सडक दुवै मार्ग प्रयोग गर्न सकिन्छ । हवाई मार्गमार्फत जान काठमाडौंबाट नेपालगन्जको उडानमा जानुपर्ने हुन्छ । 
लाङटाङ
रसुवाको सौन्दर्य हिमाल, ताल, तातोपानी, थरीथरीका वनस्पति, हाब्रे, हिमालयन थार, लाङटाङ हिमाल (७ हजार २ सय ४५ मिटर) र गणेश हिमाल श्रृंखला अनि हिउँमा रमाउने क्षेत्र लाङटाङ हो । नेपालको तेस्रो गन्तव्यस्थलको रूपमा परिचित लाङटाङ भूकम्पपछि केही सुस्ताएको थियो । 
काठमाडौंबाट १ सय ३२ किलोमिटर बस यात्रापछि स्याफ्रुबेंसी पुगिन्छ । लाङटाङ पैदल यात्रा सोही स्थानबाट लाङटाङ पदयात्रा सुरु हुन्छ । लाङटाङ भूकम्पका कारण ध्वस्त भए पनि पछिल्लो समय बाटोहरू निर्माण भएसँगै पर्यटकहरूको चहलपहलसमेत बढ्न थालेको छ । 
नवलपरासी
जंगलसँग रमाउँदै बोट लिएर चराचुरुंगी हेर्नको लागि उत्कृष्ट गन्तव्य पछिल्लो समय नवलपरासीलाई लोन्ली प्लानेटले उल्लेख गरेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने उक्त क्षेत्रमा १ सय १४ प्रजातिका चराचुरुंगीहरूको अवलोकन गर्न पाइन्छ । 
नवलपरासी वरपर पछिल्लो समय सुविधासम्पन्न होटल तथा रिसोर्टसमेत खुलेका छन् । हात्ती सफारीमार्फत जंगली जनावरहरूको अवलोकन गर्न समेत पाइने क्षेत्रलाई प्लानेटले सन् २०१७ मा पर्यटकलाई घुम्न सुझाव दिएको छ । 
बारपाक
गोरखाको उत्तरी क्षेत्रमा पर्ने बारपाक भूकम्पको केन्द्रबिन्दू हो । त्यहाँका अधिकांश घरहरू भत्किएका थिए । विगतमा नमुना होमस्टेसमेत रहेको बारपाक अहिले पुनर्निर्माणको काम भइरहेको छ । प्रकृतिले रमणीय स्थानमा रहेको बारपाक समुद्र सतहदेखि १ हजार ९ सय मिटर उचाइमा छ ।

हवाई यात्रुको बिमा रकम ६ गुणासम्म बढाउने तयारी


 


 

 

 

 

 

 

आन्तरिकको ५० हजार डलर, अन्तरराष्ट्रियको १ लाख १३ हजार 

काठमाडौंः सरकारले ६ दशकपछि हवाई यात्रुको बिमा रकम बढाउने तयारी गरेको छ । साविकको भन्दा करीब ६ गुणासम्म रकम बढाउने गृहकार्य भइरहेको छ । हाल प्रतियात्रु २० हजार अमेरिकी डलर रहेको यात्रु बिमा रकम अन्तरराष्ट्रियतर्फ १ लाख १३ हजार र आन्तरिकतर्फ ५० हजार डलर पुर्‍याउने सरकारको तयारी छ ।
नेपालले हवाई यात्रुको बिमा रकम बढाउन सन् १९९९ मा क्यानडामा चलेको अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ‘मोेन्ट्रिल कन्भेन्सन’ मा हस्ताक्षर गरिसकेको छ । तर उक्त महासन्धि हालसम्म पनि नेपाल सरकारले अनुमोदन नगर्दा बिमा रकम बढ्न नसकेको हो । 
जसका कारण अन्तरराष्ट्रिय हवाई यात्रुले नेपालका एयरलाइन्सलाई विश्वासमा लिँदैनन् ।   
सरकारले अन्तरराष्ट्रिय समुदायलाई विश्वसमा लिनको लागि पनि आगामी एक वर्षभित्र सबै प्रक्रिया टुंग्याउने गरी प्रक्रिया अगाडि बढाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई महाशाखाका प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । बिमा रकम नबढाएमा नेपाल वायुसेवा निगमलाई अन्तरराष्ट्रिय उडानमा समस्या पर्ने भएकोले पनि नेपाललाई बिमा बढाउनु अनिवार्य छ । 
सन् १९५५ मा ‘हेग प्रोटोकल’ मा २० हजार डलर कार्यान्यवनमा गएको थियो । नेपालले हालसम्म पनि सोहीदर कार्यान्वयनमा राखेको छ । त्योभन्दा पहिला सन् १९२९ मा १० हजार डलर थियो ।  जापान, अमेरिका, युरोप तथा आईकाओका अधिकांश सदस्य राष्ट्रहरूले बिमा रकम सन् १९७७ मै  ७५ हजार डलर पुर्‍याएका थिए । 
हाल ती देशले १ लाख १३ हजार डलर कार्यान्वयनमा लगेका छन् । तर, नेपालले भने अहिले पनि सन् १९५५ को ‘हेग प्रोटोकल’ले तयार पारेको २० हजार डलर कार्यन्वयन गरिरहेको छ । “नेपालले मनोट्रियल कन्भेन्सन मात्र नभएरले केपटाउन कन्भेन्सन समेत अनुमोदन गर्नुपर्ने भएकोले बिमा रकम बढाउनुको विकल्प छैन,” लामिछानेले भने । 
विश्वका धेरै देशले  १ लाख १३ हजार डलर बिमा रकम कार्यान्वयनमा लागिसकेको उल्लेख गर्दै उनले अबव नेपालले पनि सोहीदरमा कार्यन्यनमा जानुपर्ने बताए । यो व्यवस्था कार्यान्वनयनपछि नेपालबाट अन्तरराष्ट्रिय उडान गर्ने नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई बाध्यता हुनेछ । नेपाल आउने अधिकांश एयरलाइन्समा हाल १ लाख १३ हजार डलरको हवाईयात्रु बिमा उपलब्ध छ । 
महासन्धि अनुमोदन गरेका देशबाट यात्रा गर्ने कुनै यात्रु नेपाली एयरलाइन्समा चढ्दा दुर्घटना भएको खण्डमा यही दरको बिमा दाबी क्षतिपूर्ति तिर्नुपर्छ । जबकी, नेपाली यात्रुले २० हजार डलरबराबरको मात्र बिमा दाबी गर्न पाउँछन् ।
नेपालले उक्त महासन्धि अनुमोदनको लागि प्रक्रिया सुरु गरेको लामिछानेले जानकारी दिए । मन्त्रालयले निर्णय गरेपश्चात अर्थको स्वीकृत लिएर कानुन मन्त्रालय पठाउनु पर्ने हुन्छ । कानुन मन्त्रालालयले ड्राफ्ट तयार गरेर संसदमा पठाउने छ । संसदले पास गरेपश्चात महासन्धि अनुमोदन हुने र कार्यान्वयनमा जाने सहसचिव लामिछानले बताए । 
यो अनुमोदन गराउन सन् २००८ र सन् २००९ मै छलफल चलेको भएता पनि कुनै विषय निर्णय भएको थिएन । हाल राष्ट्र बैंक, बैंकर, अर्थमन्त्रालय, बिमा समिति, एयरलाइन्स कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स लगायत सरोकारवालसँग छलफल चलिरहेको मन्त्रालयले बताएको छ ।
आन्तरिकतर्फ पनि बढाइने 
अन्तरराष्ट्रिय एयरलाइन्ससँगै आन्तरिक एयरलाइन्सहरूको पनि बिमा रकम बढाउने तयारी सरकारले गरेको छ । अन्तरराष्ट्रियको हकमा महासन्धिको अनुमोदन अनिवार्य भए पनि आन्तरिकको हकमा नेपाल आफैले बिमा रकम तय गर्ने लामिछानेले बताए । 
आन्तरिकतर्फ पनि हाल २० हजार डलर नै बिमा रकम लागू भएको छ । सरोकारवालहरूसँग छलफल गरेर कति भन्ने कुरा टुंग्याउने लामिछानेले जानकारी दिए । “अहिले ५० देखि ६० हजार डलरसम्म बनाउन सकिनेगरी छलफल चलिरहेको छ,” लामिछानेले भने । 
यता निजी वायुसेवा संचालक संघ (आयोन) का अध्यक्ष पवित्रकुमार कार्कीले अहिले नै १ लाख डलर भन्दा पनि ५० हजार डलरसम्म आन्तरिक यात्रुको बिमा हुनुपर्नेमा जोड दिए । अहिले नै धेरै रकम पुर्‍याउँदा हवाई टिकटको मूल्य महँगो पर्ने भएकोलले सोही दरमा बिमा रकम बढाउन सुझाव दिएको कार्कीले बताए ।