आर्थिक क्षेत्रका विशेष गतिविधी

Friday, September 23, 2016

वाइड बडीका दुई जहाज खरिदका लागि ग्लोबल टेन्डर हुँदै


राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आगामी साता दुई वाइड बडी जहाज खरिदका लागि विश्वव्यापी प्रतिस्पर्धा (ग्लोबल टेन्डर) आह्वान गर्ने भएको छ ।

निगमको जहाज खरिदका लागि आवश्यक ऋणका निमित्त जमानी बस्ने अर्थ मन्त्रालयको निर्णयपछि ग्लोबल टेन्डर सुरु गर्न लागिएको हो । कर्मचारी सञ्चय कोषले गतसाता नै २५ अर्ब ऋण दिने आशयसहितको पत्र पठाइसकेको छ । 
नागरिक लगानी कोष तथा अन्य वित्तीय संस्थाहरूले पनि सस्तो व्याजदरमा लगानी गर्न निगमलाई प्रस्ताव पठाएका छन् ।
“निगमलाई जहाज किन्नका लागि सबै प्रक्रिया पूरा भएकाले अब टेन्डर आह्वान गर्दैछौं,  एक साताभित्रमा निर्णय हुनेछ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई महाशाखाका सहसचिव तथा नेपाल वायुसेवा निगम सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछानेले भने ।
अर्थ मन्त्रालयबाट जमानी बस्ने पत्र मन्त्रालयमा आइसकेकाले अब जहाज खरिदका लागि लगानीको कुनै समस्या नहुने लामिछानेको भनाइ छ ।
“सञ्चयकोषले प्रस्ताव गर्नु सकारात्मक भए पनि अब पहिलेको जस्तो महँगो व्याजमा निगमले ऋण लिँदैन,” लामिछानेले भने । निगमलाई यसअघि पनि न्यारो बडी जहाज खरिदका लागि कोषले १० अर्ब रुपैयाँ प्रदान गरेको थियो । 
निगमले २ सय ६० सिट क्षमताका एयरबस ३३०–२०० सिरिजका दुईवटा जहाज खरिदको लागि ग्लोबल टेन्डर आह्वान गर्नेछ । जसमा अन्तरराष्ट्रिय लिज कम्पनी तथा एयरबस कम्पनीले पनि भाग लिनसक्ने निगम प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।
निगमका न्यारो बडी जहाजसमेत एयरबस कम्पनीकै भएकाले बोइङका जहाज विस्थापन हुनेछन् । निगमले गत वर्ष खरिद गरेका न्यारो बडी जहाज एयरबस र अहिले खरिद गर्न लागिएको एयरबस ३३० को सिरिज एउटै भएकाले सोही जहाज निगमको लागि उपयुक्त हुने प्रवक्ता शर्माले बताए । 
निगमजस्तो सानो संस्थामा धेरै कम्पनीमा निर्माण भएका जहाज चलाउनुभन्दा एकै किसिमको जहाज चलाउँदा लागत सस्तो पर्ने उनको दाबी छ । 
मन्त्रिपरिषद् नपठाइने  
जहाज खरिदसम्बन्धी निर्णयको लागि यसपटक निगम सञ्चालक समितिले फाइल मन्त्रिपरिषद् नपठाउने भएको छ ।  जहाज खरिदमा विगतमा विवाद भएकाले  मात्रै मन्त्रिपरिषद् लगिएको उल्लेख गर्दै उनले यसपटक सञ्चालक समितिले नै निर्णय गरेर प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

Wednesday, September 21, 2016

निगमलाई २५ अर्ब ऋण दिन सञ्चय कोष तयार



दुई वाइड बडी जहाज खरिद

काठमाडौंः राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुई वाइड बडी जहाज खरिदका लागि कर्मचारी सञ्चय कोषले २५ अर्ब रुपैयाँ ऋण दिने भएको छ । निगमलाई यसअघि पनि न्यारो बडी जहाज खरिदका लागि १० अर्ब रुपैयाँ प्रदान गरेको सञ्चय कोषले सरकार जमानी बस्ने भएपछि थप ऋण प्रदान गर्ने भएको हो । 
सञ्चय कोषले नेपालको वित्तीय इतिहासमै यति ठूलो परिमाणमा कर्जा प्रवाह गर्न लागेको हो । “निगमलाई २५ अर्ब ऋण दिनका लागि तयार भएको पत्र पठाएका छौं,” कोषका प्रमुख प्रशासक कृष्णप्रसाद आचार्यले भने, “यसअघि पनि हामीले न्यारो बडीमा लगानी गरेका थियौं, अहिले सरकार जमानी बस्ने भएसँगै ऋण लगानीका लागि पत्र पठाएका छौं ।” 
यसै साता निगम अधिकारीसहित पर्यटन र अर्थमन्त्रीबीचको छलफलमा ऋणका लागि सरकार जमानी बस्ने सहमति भएको थियो ।  निगमलाई कति प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने भन्ने टुंगो लागिसकेको छैन । “हामीले ऋण दिने प्रस्ताव मात्रै गरेका हौं, व्याजदरको विषय भने आपसी छलफलबाटै टुंग्याउनेछौं,” आचार्यले भने, “उहाँहरू हाम्रोमा महँगो भयो, अन्यत्रैबाट ऋण लिन्छौं भन्नुहुन्छ भने पनि स्वतन्त्र हुनुहुन्छ ।” 
सरकार ग्यारेन्टी बस्ने सहमतिसँगै निगम व्यवस्थापन र सञ्चय कोषबीच पटक–पटक वार्ता भएको थियो । निगम प्रवक्ता रामहरि शर्माका अनुसार अब निगमलाई जहाज किन्ने बाटो खुला भएकाले केही दिनभित्रै प्रक्रिया सुरु हुनेछ । 
निगमले पर्यटनमन्त्री जीवनबहादुर शाही र अर्थमन्त्री कृष्णबहादुर महरालाई वाइड बडी जहाज खरिदपछिको आफ्नो ‘बिजनेस प्लान’का विषयमा जानकारी गराएको थियो । प्रस्तावमा अर्थमन्त्रीले समेत सहमति जनाएपछि अर्थ र पर्यटन मन्त्रलयले जहाज खरिद प्रक्रिया अघि बढाउन निगमलाई निर्देशन दिएका थिए । “सरकार नै जमानी बसेपछि निगमलाई जहाज खरिद गर्नका लागि ऋण दिन हामीलाई अब कुनै समस्या छैन,” कोषका प्रशासक आचार्यले बताए । 
हामीले ऋण दिन तयार रहेको पत्र पठाएका छौं, व्याजदरको विषय भने आपसी छलफलबाट पछि टुंग्याउनेछौं ।
कृष्णप्रसाद आचार्य
प्रमुख प्रशासक, संचय कोष
निगमलाई प्राप्त हुने यो ऋणबाट २ सय ६० सिट क्षमताका एयरबस ३३०–२०० सिरिजका दुईवटा जहाज खरिद गरिनेछ । निगमका न्यारो बडी जहाजसमेत एयरबस कम्पनीकै भएकाले बोइङका जहाज विस्थापन हुनेछन् । बोइङको एक जहाज मर्मत हुन नसक्ने अवस्थामा रहे पनि अर्को जहाज भने चालू अवस्थामा नै छ । पहिलो जहाज एक वर्षमा र दोस्रो अर्को वर्ष खरिद गर्ने लक्ष्य छ । 
निगमको जहाज खरिद अध्ययन समितिले तयार पारेको प्रस्तावअनुसार सञ्चालक समितिले नयाँ जहाज खरिदको योजना सर्वसम्मत पास गरेको छ । यसअघि तत्कालीन बोर्ड बैठकमा अर्थ मन्त्रालयका प्रतिनिधि टंकमणि शर्माले हस्ताक्षर नगरेपछि न्यारो बडी जहाज खरिद प्रक्रिया विवादमा तानिएको थियो । अर्थ मन्त्रालयको असहमति र संसदको सार्वजनिक लेखा समितिले समेत छानबिन गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो । 
निगमले गत वर्ष खरिद गरेका न्यारो बडी जहाज एयरबस र अहिले खरिद गर्न लागिएको एयरबस ३३० को सिरिज एउटै भएकाले सोही जहाज निगमको लागि उपयुक्त हुने प्रवक्ता शर्माले बताए । 
निगमजस्तो सानो संस्थामा धेरै कम्पनीमा निर्माण भएका जहाज चलाउनुभन्दा एकै किसिमको जहाज चलाउँदा लागत सस्तो पर्ने उनको दाबी छ । हाल निगमसँग अन्तरराष्ट्रिय उडानको लागि न्यारो बडी बोइङ–७५७ को एकसहित एयरबस–३२० का दुई जहाज छन् । 

सरकारले अनुमति दिए ६ महिनाभित्र क्षेत्रीय उडान गर्नेछौं

सुधीर मित्तल
अध्यक्ष, श्री एयरलाइन्स 
१७ वर्षअघि  हेलिकप्टरका माध्यमले हवाईसेवा दिँदै आएको श्री एयरलाइन्स अब हवाईजहाजमार्फत आन्तरिक र अन्तरराष्ट्रिय उडान थाल्ने तयारीमा जुटेको छ । नेपालको सबैभन्दा ठूलो हेलिकप्टर कम्पनी श्री एयरलाइन्सले आगामी तीन महिनाभित्र तीनवटा जहाजमार्फत आन्तरिक उडान गर्नेगरी उडान अनुमति (एओसी) लिने प्रक्रिया सुरु गरिसकेको छ ।
श्री एयरलाइन्सको लक्ष्य आन्तरिकमा मात्र सीमित छैन । आगामी वर्षदेखि नै अन्तरराष्ट्रिय उडानसमेत थाल्ने गरी गृहकार्य अघि बढाइसकिएको छ । एयरलाइन्सले ५० सिट क्षमताको क्यानेडियन कम्पनी बम्बाडियरको जेट सिआरजे–२०० सिरिजको जहाज खरिद गर्दैछ । जसबाट सुगम क्षेत्रमा उडान गर्ने योजना बनाएको छ भने अन्तरराष्ट्रियतर्फ क्षेत्रीय रुटहरूमा उडान गर्ने बताएको छ ।
नेपालमा निजी क्षेत्रबाट अन्तरराष्ट्रिय उडान गर्ने कम्पनीहरू स्थापनासँगै बन्द हुने क्रम रहेका बेला श्री एयरलाइन्स भने व्यवस्थित कार्य योजनाका साथ उडान गर्नेगरी लगानी गर्ने तयारीमा जुटेको छ । एमआई–१७ सिरिजका ठूला हेलिकप्टर धेरै भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्पनी हो । यसले विश्व खाद्य कार्यक्रम र अन्य अन्तरराष्ट्रिय संस्थाका कामसहित प्राकृतिक प्रकोप, उद्धार, खाद्यान्न ढुवानी, यात्रु ओसारपसारमा विश्वसनीयता कमाएको छ ।
त्यसबाहेक संयुक्त राष्ट्रसंघका लागि हेलिकप्टर उडान गर्ने एयरलाइन्स दक्षिण एसिया र पूर्वी एसियाकै एकमात्र कम्पनी पनि हो । पिता स्व. वनवरीलाल मित्तलको निधनसँगै कम्पनीको नेतृत्व गरिरहेका छोरा सुधीर मित्तल आफैं पनि विश्व बैंकअन्तर्गतको अन्तरराष्ट्रिय फाइनान्स कर्पोरेसनको दक्षिण एसिया प्रमुख रहेर काम गरिसकेका छन् । मित्तलसँग कारोबारकर्मी केदार दाहालले गरेको कुराकानी :
नेपालमा सञ्चालनमा रहेका धेरै एयरलाइन्सहरूको वित्तीय अवस्था कमजोर छ र यिनीहरू फाइदामा छैनन् । तपाइँहरू भने नाफा कमाइरहेको हेलिकप्टरबाट किन हवाईजहाजमा लगानी गर्न उत्साहित हुनुभएको ?
हामीले यसलाई ‘सट टर्म’मा सोचेका छैनौं । अल्पकालीन विश्लेषण गर्ने हो भने उनीहरूले भनेका ठीकै हो जस्तो लाग्दछ । पछिल्लो समय यात्रु संख्यासमेत अपेक्षित वृद्धि हुन नसकेको बेला त्यो स्वाभाविक पनि लाग्न सक्छ । त्यसमा पनि नयाँ खेलाडी आउँदा अनौठो लाग्न सक्छ ।
लुक्लालगायतको फ्लाइटमा आउँदासम्म स्वाभाविक लाग्न सक्छ तर हामी ट्रंक रुटमा जाने हो । अहिले नै यसमा जाँदा फाइदा छैन । हाम्रो सोचाइ भने दीर्घकालीन छ । हामीले अहिले विस्तार गर्न लागेको सेवा आन्तरिक त छँदैछ योसँगै मुख्य लक्ष्य अन्तरराष्ट्रिय उडान गर्ने हो ।
सुरुमा क्षेत्रीय उडान भारत, म्यानमार, भुटान नै होला । त्यससँगै ठूला जहाज थप्दै अन्य गन्तव्यसम्म जाने नै हो । हाम्रो देशबाट अहिले यतिका कामदार खाडी मुलुक, मलेशियामा कामका लागि गहिरहेका छन् । उनीहरूलाई विदेशी एयरलाइन्सले बोकिरहेका छन्, हामीले किन नबोक्ने ?
हाम्रो सोचाइ यो हो तर यसमा जान समय लाग्छ । कतार एयरवेजले सातामा २० वटासम्म फ्लाइट गरिरहेको छ, एनएसीले सातामा सात वटा र अहिले हिमालय एयरले पनि फ्लाइट सुरु गरेको छ । खाडी मुलुकका एयरलाइन्सहरूले धमाधम फ्लाइट गरिरहँदा यसमा अवसर छ भन्ने लाग्छ ।
सस्तोमा सेवा दिनु प¥यो, सस्तोमा सेवा दिन नसकिने होइन, सकिन्छ । यसलाई अवसरका रूपमा लिन सकिन्छ । त्यसका लागि राम्रो नीति हुनु प¥यो नीति राम्रा भएर मात्र पनि भएन कार्यान्वयन अझ राम्रो हुनुपर्छ । 
दीर्घकालीन योजना छ भन्नुभयो । आन्तरिक सेवा कहिलेबाट र अन्तरराष्ट्रिय कहिलेदेखि सुरु गर्ने योजना बनाउनु भएको छ ?
आन्तरिक उडानका लागि हामीले इजाजत पाइसकेका छौं । मन्त्रालयले दिएको इजाजतमा नागरिक उड्डयन प्राधिकरणले थप गरिदिने मात्रै हो । प्राधिकरणका लागि हामी नयाँ एयरलाइन्स नै होइनौ । हामीले अन्तरराष्ट्रिय उडान गरेको १७/१८ वर्ष भइसक्यो ।
वास्तवमा नेपाल एयरलाइन्सपछि हामी नै हौं अन्तरराष्ट्रिय उडान गर्ने नेपाली कम्पनी । हामीले अफ्रिकाका दुर्गम क्षेत्रमा ७ वर्ष  उडान ग¥यौं । त्यसमा यूएनले हरेक ३÷३ महिनामा गर्ने मूल्यांकनमा हामी ‘एक्सिलेन्ट’मा पथ्र्यौ ।
तर दुर्भाग्यवश नेपाल नागरिक उड्डयन प्राधिकरणको कमजोरीका कारण सेफ्टी कन्सर्न देखाएर आईकाओले ब्ल्याक लिस्टेड गरेपछि यूएनले ठेक्का तोड्यो । अन्तरराष्ट्रिय उडान गर्नेमा बुद्ध पनि पर्छ तर उसको फ्लाइट थोरै छ । त्योबाहेक हिमालयले हालैमात्र सुरु गरेको छ । यो सन्दर्भमा हामीलाई नयाँ हो भनेर ट्रिट गर्न भएन ।
हामीसँग त्यतिका वर्षदेखिको अनुभव छ । हामीलाई पुरानो, एक्सपेरियन्स एयरलाइन्स हो भनेर एओसी थप्नु पर्ने हो । एओसीमा ५ वटा स्टेज पार गर्नुपर्छ । हामी त्यो सबै पूरा गर्न तयार छौं तर नयाँ एयरलाइन्सलाई जस्तै नभई सहज र छरितो रूपमा दिइनु प¥यो भन्ने हो । 
मुलुकको यो अवस्थामा ठूलो लगानी तपाइँहरूको दुस्साहस नै हैन र ? 
देशमा राजनीतिक अस्थिरता छ, लगानीमैत्री वातावरण छैन । यत्रो ठूलो लगानी किन गर्न लागेको भनेर मलाई धेरैले गाली गरे । तर मेरो प्रतिप्रश्न के हो भने आफ्नै देशमा लगानी किन नगर्ने ? हेलिकप्टरमै लगानी गर्दा यूएनले नलिएको अवस्था छ ।
नागरिक उडयन प्राधिकरणसमेत आईकाओको लिस्टबाट बाहिरिन नसक्दासम्म यो सम्भव छैन । त्यसपछि दीर्घकालीन सोच बनाएर के गर्नेभन्दा आन्तरिक हुँदै अन्तरराष्ट्रिय उडान गर्ने योजना बनाएको हो । 
प्राधिकरणले छिटो एओसी थपेको खण्डमा हामी ३/४ महिनामा आन्तरिक उडानमा जाने र त्यो भएपछि मन्त्रालयमा अन्तरराष्ट्रिय उडानको अनुमतिका लागि निवेदन दिन्छौं । मन्त्रालयले अन्तरराष्ट्रिय अनुमति दिएपछि भारतसँग ‘सेक्युरिटी क्लियरेन्स’का लागि ६ महिना लाग्छ ।
त्यसपछि विदेशमा भएर व्यवस्थापन गर्नुप¥यो । मन्त्रालयले जति ढिलो ग¥यो त्यति नै ढिलो हुन्छ सेवा सञ्चालन गर्न । मन्त्रालयले आन्तरिकको पाएपछि अन्तरराष्ट्रियमा जानुस् भनेको छ । हामीसँगै अन्तरराष्ट्रियको एओसी त छ नि त्यसमा जहाज थप गर्नुुपर्ने हो । सरकारले अहिले अनुमतिपत्र दियो भने ६ महिनाभित्र क्षेत्रीय उडान गर्न हामी सक्छौं ।
आन्तरिक उडान कतिवटा जहाजमार्फत गर्दै हुनुहुन्छ ?
अहिले हामी २ वटा जहाजमार्फत सुरु गर्दैछौं । हाम्रो टार्गेट चाहिँ कम्तीमा ३ वटा जहाज राख्ने हो । त्यो नरहँदा विश्वसनीयता नै हुँदैन । एउटा जहाज राख्दा प्राविधिक समस्या आउँदा त्यो फ्लाइट स्थगित हुँदा प्यासेन्जरमा त्यसको रिलायबिलिटि हुँदैन । 
एयरलाइन्समा प्राविधिकदेखि पाइलट अभावसम्मका विभिन्न समस्या देखिने गरेका छन् । यसमा तपाइँहरूको तयारी के छ ?
यसमा हामीले राम्रो या सवल पक्ष हामीले ल्याउन लागेको जहाज जेट हो । नेपालमा सौर्य एयरलाइन्सबाहेक अरुसँग यस्तो जेट जहाज नै छैन । त्यसो हुँदा अरु जहाज उडाउनेलाई जेट उडाउने रहर पनि हुन्छ । उनीहरूको क्यारियरको कुरा पनि हुन्छ ।
जेट उडाएपछि पाइलटका लागि एयरबस ३२० उडाउने बाटो पनि खुल्छ । पाइलटका लागि हामीलाई कुनै समस्या छैन त्यसका लागि हामीले दर्खास्त नै मागिसकेका छौं । त्यसमा हामीलाई चाहिएको र खोजेको भन्दा बढी आवेदन आएको छ । 
तपाईहरू १७ वर्ष हेलिकप्टर सञ्चालन गरेर जहाज उडानमा जाँदै हुनुहुन्छ, अब हेलिकप्टर सेवाचाहिँ के गर्नु हुन्छ ? 
हामीले हेलिकप्टर पनि चालू राख्छौं । चलिरहेको व्यवसाय बन्द गर्ने कुरै छैन । एउटा कम्पनीभित्र विभिन्न विङहरू सञ्चालन गर्दैछौ । हामीसँग अब हेलिकप्टरको साथै जहाजको पनि आन्तरिक र अन्तरराष्ट्रिय उडानका दुवै विङहरू रहने छन् । अर्को कुरा हेलिकप्टरमा अन्तरराष्ट्रिय उडान गर्ने पहिलो कम्पनी हामी हौं ।
अहिले आईकाओले नेपाललाई सेफ्टी लिस्ट ब्ल्याक लिस्टेड गरेपछि भने संयुक्त राष्ट्रसंघले हामीले राम्रो सेवा दिँदादिँदै पनि हाम्रो हेलिकप्टर प्रयोग नगरेको हो ।
नेपालमा एमआई हेलिकप्टर सञ्चालन गर्ने कम्पनी हामी मात्रै छौ । नेपालमा कि त सेनासँग छ कि हामीसँग छ । अहिले पनि हेलिकप्टर बिजनेस एकदमै राम्रो रहेको छ । त्यसैले अहिले बिजनेश दिइरहेको सेवा बन्द गर्दैनौ ।
नेपालमा धेरै एयरलान्सहरू अन्तरराष्ट्रिय सेवा दिनको लागि भन्दै आउने र छिट्टै जाने भइरहेको छ । तपाईंहरू टिकिरहन सक्नुहुन्छ ? 
मैले केही कुरा माथि पनि भनिसकें । हामीले हेलिकप्टर सेवा सुरु गर्दा एमआई १७ मार्फत गरेका थियौ । त्यो समयमा उक्त कुरा ठूलो जोखिम रहेको थियो । तर पनि सुहजै सञ्चालन गर्न सक्यौं ।
एयरलाइन्स बिजनेस भनेको आज लगानी गरेर भोलि प्रतिफल खान मिल्ने व्यवसाय हैन । यो विशुद्ध सेवा गरेर पैसा कमाउने व्यवसाय भएकाले जोखिम हुन्छ । तर, व्यवस्थापन, लगानी र योजना तीनवटा कुराले नै एयरलाइन्स बिजनेसलाई अगाडि बढाउने हो ।
यसमा एउटामात्र कुरा पनि तलमाथि भयो भने एयरलाइन्स अगाडि बढ्न सक्दैन । हवाईजहाज मर्मतमा ठूलो खर्च हुन्छ । तर लगानीकर्ता डुब्नुको कारण के हो भने कमाएको बेला बाँडफाँट गरिहाल्ने अनि मर्मतमा खर्च हुनेबेला लोन लिने गरेपछि बिजनेस त अगाडि जाँदैन ।
मैले देखेको अधिकांश बन्द भएका एयरलाइन्समा त्यही नै समस्या पाएको छु । पहिले नै सबै कुरा थाहा भएको हुन्छ । कुन बेला के गर्ने भन्ने एयरलाइन्स बिजनेसमा पहिले नै थाहा हुन्छ, मात्रै व्यवस्थापन कसरी गर्दछ र योजना कसरी कार्यान्वयन गर्दछ भन्ने हो ।
अरु किन सफल भएनन् भन्ने तर्फ जानुभन्दा पनि हामी किन सफल हुन्छौ भने हामीसँग योजना र योजना कार्यान्वयन गर्ने सक्ने जनशक्ति र व्यवस्थापन छ । 
एयरलाइन्स बिजनेसमा मुख्य कुरा व्यवस्थापन मात्रै हो र ? 
सबै क्षेत्रको बिजनेसमा व्यवस्थापन मुख्य कुरा हो । तर कहिलेकाहीँ योजना व्यवस्थापन हुृँदाहुृँदै पनि सफल हुृँदैन । किनभने म एउटा उदाहरण दिन्छु, हामीले संयुक्त राष्ट्रसंघमा राम्रो गरी उडान गरिरहेका थियौं ।
तर नेपाल नागरिक उड्डयन प्राधिकरणका कमजोरीका कारण हामीले उडान रोक्नुृ प¥यो । भनेपछि हाम्रो कमजोरी त हैन । एयरलाइन्स बिजनेसलाई नेपालको कानुनभन्दा पनि अन्तरराष्ट्रिय कानुनले समातेको हुन्छ । यसको लागि नीतिगत कुराहरूले पनि धेरै असर पार्ने गर्दछ । 
धेरै व्यवसायीहरू ट्रेडिङ बिजनेस गरेर पैसा कमाइरहेका बेला तपाईहरू चाहिँ हरेक पटक जोखिम मोल्दै हुनुहुन्छ किन ? 
हो, हामी पनि मोटरसाइकल, गाडी ल्याएर बिक्री गरेर धेरै पैसा कमाउन सक्थ्यौ होला । तर, कुरा के हो भने सेवा पनि गर्ने र सोहीबाट थोरै आर्जन पनि गर्ने भन्ने मेरो बुबाको सिद्धान्त भएकाले मैले पनि अलिकति जोखिम मोलेको हो । एयरलाइन्स भनेको विशुद्ध सेवा गरेर थोरै कमाउने क्षेत्र हो । यसैले नै मलाई आत्मसन्तुष्टि दिएको छ । 
नेपालमा धेरै निजी क्षेत्रका एयरलाइन्सहरू आउन खोजे पनि सफल नहुनुमा सरकारको नीतिगत समस्या हुन् र ?  
धेरै समस्याहरू छन । म सानो उदाहरण दिन्छु । नेपालमा ट्राभल्स चलाउनेहरूलाई गाडीमा भन्सार छुट दिइन्छ । मैलै त्यसको विरोध गरेको हैन । उनीहरूलाई डलर कमाउने भनेर विषेश छुट दिइएको छ । त्यसो भए नेपालका एयरलाइन्सहरूले चाहिँ डलर आम्दानी गर्दैनन् ?
सबैभन्दा ठूलो डलर कमाउने सेक्टर त एयरलाइन्स नै हो । त्यसलै हामीलाई के सहुलियत दिन सकिन्छ सरकारले दिन आवश्यक छ । अर्को कुरा नेपाल नागरिक उड्डयन प्राधिकरण नियामक निकाय हो । यसलाई नै बलियो बनाउन पर्दछ ।
तर प्राधिकरणले एयरलाइन्सैपिच्छे फरक व्यवहार गर्नु भएन । सबैलाई कानुन कार्यान्वयन गर्दा एकै किसिमको हुनु पर्दछ । अर्को कुरा विमान दुर्घटना हुन्छ । जुन संसारभर भइरहने कुरा हो । तर छानबिन प्रतिवेदनले औंल्याएका कुराहरूमा प्राधिकरण कतिपय विषयहरूमा मौन बस्दै आएको छ ।
यसरी नेपालको हवाई उड्डयन माथि उठ्न सक्दैन । अर्को मुख्य कुरा नेपालमा प्राविधिकको धेरै समस्याहरू छन् । पाइलटको अभाव हुन्छ । पाइलट नेपालमा विदेशबाट ल्याउन यति धेरै झन्झट रहेको छ । यो विषयमा हामीले बारम्बार कुरा उठाउँदा पनि सुनुवाइ भएको छैन ।
एउटा कामदार नेपाल ल्याउन दर्जनौं पटक फाइल घुमाउने प्रचलन रहेको छ । अझैभन्दा यही उनीहरूलाई कामदारको प्रवेश गरेको पार्सपोट बुझाउनु पर्दछ । यहाँ महिनौसम्म हामीले काम नसक्दा लामो समय पाइलटहरू पाल्नु पर्दछ । यो सानो विषय पनि अहिले सम्म सुनुवाइ भएको छैन । 
स्पेयर्स पार्ट्सका भन्सारमा पनि विभिन्न समस्या उठाउँदै आउनु भएको थियो नि ? 
भन्सारमा पनि हामीलाई भन्सार छली गर्ने जस्तो सोच्न भएन । एयरलाइन्समा एओजी भन्ने सिस्टम हुन्छ । जसले कुनै पनि जहाजको कुनै पार्ट्सको समय हुन्छ । सो समयभन्दा अगाडि नै बिग्रियो भने केही पैसा थपेर जहाज उत्पादक कम्पनीहरूले सट्टा पट्टा गर्ने परम्परा रहेको छ ।
तर यहाँ त्यसरी ल्याउँदा पहिले ल्याउँदाको रकम र अहिले ल्याउँदाको रकम मिलेन भन्सार छली भयो भनेर आरोप लगाइन्छ । यसमा प्राविधिक विषयहरू भन्सार स्पेयर्स पार्ट्समा रहेको छ । यसमा हामीले सम्बोधन हुनु प¥यो भनेर पटक–पटक कुरा उठाइरहेका छौ तर सुनुवाइ भएको छैन  ।
युरोपेली युनिययनको आयोगले नेपालका एयरलाइन्सहरूलाई कालोसूचीमा राखेको छ । यसको मार सबैभन्दा बढी तपाईंहरूलाई भयो समस्या कहाँ हो ? नियामक निकायमा हो कि एयरलाइन्समा ? 
यसमा दुईवटा कुराहरू रहेका छन् । युरोपेली युनियनले कालोसूचीमा किन राख्यो भन्ने कुरा अहिले बाहिर आएको छैन । मुख्य कुरा युरोपमा कुनै पनि एयरलाइन्स (नेपालबाट) जाँदैन त्यसको अर्थ के हो ? अर्को कुरा भनेको आईकाओले नेपालमा सन् २००९ देखि नै समस्या रहेको कुरा नियामक निकायलाई भन्दै आएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सो विषयमा सुधार गर्न सकेन, सेफ्टी लिस्टमा राख्यो । जसको मार हामीले भोग्नु परेको हो । नियामक निकाय प्राविधिक रूपमा दक्ष भएन । हवाई सुरक्षाको मामालामा गम्भीर देखिएन, आईकाओले यति धेरै कुरा उठाएको थियो । जुन सुधार गर्न सकेन । त्यसैले समस्या आएको हो ।
आईकाओले भनेबमोजिम प्राधिकरणको जनशक्ति, कार्यशैली र नीतिगत सुधारहरू गर्न नसक्नु हो । आईकाओले नेपालका केही एयरलाइन्सबाहेक अन्यत्रमा समस्या देखाएको छैन ।
अहिले बल्ल नागरिक उड्डयन प्राधिकरणले अहिले आएर सुधारको काम थालनी गरेको छ । आशा गरौ छिट्टै नेपाल आईकाओको सुरक्षा लिस्टबाट हट्ने छ । 
एयरलाइन्स बिजनेसबाहेक अन्य क्षेत्रमा लगानी सोच्नु भएको छ कि छैन ?
तत्काल एयरलाइन्सबाहेक अन्यत्रमा जाने अवस्थामा छैनौ । किनभने भर्खर आन्तरिकको तयारी गरेका छौं । केही समयपछि अन्तररराष्ट्रिय उडान गर्ने तयारी गरेकाले अहिले नगए पनि निकट भविष्यमा सेवामूलक उद्योगमै लगानी गर्ने सोच छ ।   
अन्तरराष्ट्रिय उडानको तीतो अनुभव 
एयरलाइन्स आफैंमा जोखिमपूर्ण व्यवसाय हो । संसारभरका राज्यले सञ्चालन गरेका एयरलाइन्सहरू पनि टाट पल्टिएर गएका उदाहरण छन् भने सानो लगानी गरेर खोलिएका एयरलाइन्स कम्पनीहरूले ठूलो मार्केट बनाएका सफल उदाहरण पनि छन् ।
भारतमा भीपी गोपीनाथ पाइलटले सञ्चालनमा ल्याएको डेकन एयरले यसरी बजार विस्तार ग¥यो जसलाई पछि जेट एयरवेजले लिन बाध्य भयो । बेलायतमा रिचर्ज बेडसनले दुईबाट एयरक्रफटमार्फत सञ्चालनमा ल्याइएको भर्जिन एयरलाइन्स आज युरोपको उत्कृष्ट एयरलाइन्स भएको छ ।
त्यसकारण एयरलाइन्सका सफल र असफल दुवैका धेरै उदाहरण छन् । नेपालमा आन्तरिक र बाह्यमा आएका मध्ये कति बन्द भए कतिले राम्रो गरिरहेका छन् । 
एयरलाइन्समा सबैभन्दा महत्वपूर्ण पाटो भनेकै लगानी हो । लगानी भनेको एयरलाइन्स सञ्चालनमा आएपछि बिजनेस गरेर केही फाइदा जाने बेलासम्म भन्ने बुझिन्छ । त्यो हुन सकेन भने एयरलाइन्स टिक्दैन । बन्द हुनुको कारण पनि यही हो । अर्को कुरा असाध्यै दक्ष जनशक्ति महत्वपूर्ण कुरा हो ।
स्पेयर्स पार्ट्सदेखि व्यवस्थापनमा पनि दक्षजनशक्ति आवस्यक पर्दछ । विगतमा आएका केही एयरलाइन्स कम्पनीहरू सञ्चालनको दिनसम्म मात्र टिक्ने हिसाबले आए जुन एकदमै नकारात्मक कुरा हो । यसको पहिले नै सबै तयारी गरेर आउनु पर्दछ । उडान सुरु गरेर दक्षजनशक्ति खोजेर हुँदैन ।
एयरलाइन्सको लागि दक्षजनशक्ति चाहियो, तालिम चाहियो, प्राविधिक दक्षता चाहियो र सदैव स्पेर्यसपार्ट्स सप्लाई हुनुपर्दछ । अर्को कुरा लगानी चाहियो । मुख्य कुरा मार्केटिङ पनि मुख्य भूमिका रहन्छ ।  
नेपाल वायुसेवा निगम विश्वास गुमेको अवस्था छ । कुनै जमनामा बजार हिस्सा ६५ प्रतिशत रहेकोमा अहिले खुम्चिएर ७ प्रतिशतमा झरेको छ । 
विदेशी पर्यटकको पहिलो रोजाइ भनेको राष्ट्रिय ध्वजावाहक भएकाले पनि निगम बलियो हुनुपर्ने हो । नेपालमा विभिन्न कारण हुन नसकेका बेला निजी क्षेत्रले अन्तरराष्ट्रिय एयरलाइन्समा लगानी आउनु सकारात्मक हो ।
 अर्को भनेको आजको दिनमा लाखौ नेपाली विदेश गइरहेका छन् । त्यसको २० प्रतिशत मात्र पनि नेपालका एयरलाइन्सहरूले लिन सकेमा एयरलाइन्स टिक्ने अर्को कारण बन्छ । अर्को कुरा ग्लोबल भिलेजको रूपमा विश्व अगाडि बढिरहेका बेला यसले पनि सहयोग गर्दछ ।
आज नेपाल भने फिप्थ फ्रिडममा अड्एिको अवस्था छ । विदेशी कम्पनी नेपाल आएर अन्य मुलुकमा उडान गर्न दिनु चाहिँ फिप्थ फ्रिडम हो तर नेपाल त्यसमा गएको छैन ।
आज आज विश्वमा एड्थ फ्रिडमका कुरा आइसकेको विदेशी एयरलाइन्सहरू त्यस देशको आन्तरिक उडानसमेत गर्न पाउने व्यवस्था खुल्ला गरिसकेको छ तर नेपालमा त्यो हुन सकेको छैन । यसरी सारा संसारको मार्केट ओपन भइरहेका बेला नेपालीले राम्रो गर्दैनन् भन्ने कुरा मान्न गलत हुनेछ । 
अवसर पनि छ अन्तरराष्ट्रिय उडानमा 
नेपाल वायुसेवा निगमले बजार हिस्सा गुमाउँदै गएको बेला नेपालमा निजी लगानीकर्तालाई लगानी गर्ने उपयुक्त अवसर हो । नेपालमा २७ वटा एयरलाइन्सहरूले उडान भर्दै आएका छन् जसले वार्षिक ७५ अर्बभन्दा बढी रकम लैजाने गरेका छन् । 
भूकम्प र नाकाबन्दीका कारण नेपालमा गत वर्ष अन्तरराष्ट्रिय आगमनदरमा केही कमी आए तापनि नेपालमा पछिल्ला वर्षहरू हवाई यात्रुको संख्या बढ्दै गएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०१५ को हवाई यात्रुदर १३ वर्ष यताकै ठूलो गिरावट थियो ।
सन् २०१५ मा नेपाल उडान भर्ने एयरलाइन्स कम्पनीहरूले २६ हजार ५ सय ६३ उडान भएका छन् । सन् २०१५ मा ३.२१ मिलियन अर्थात् ३२ लाख १० हजार अन्तरराष्ट्रिय हवाई यात्रु रहेका थिए ।   
नेपालमा उडान भर्ने कतार एयरवेजले सबैभन्दा बढी यात्रु बोकेको छ । एयरवेजले ३ लाख २५ हजार ८ सय ९७ यात्रु बोकेको छ । कतार एयरवेजको उक्त यात्रुसंख्या भने गत वर्षभन्दा १.२१ प्रतिशतले बढी हो ।  जेट एयरेजवले ३ लाख ११ हजार ६ सय ६६ यात्रुलाई सेवा दिएको छ ।
एयर अरेबियाको भने ८.५८ प्रतिशतले बढी यात्रुलाई सेवा दिएको छ । अरेबियाले २ लाख ९२ हजार ३३ यात्रुलाई सेवा दिएको छ । त्यस्तैगरी फ्लाई दुबईले ८.६९ प्रतिशतले बढाउँदै २ लाख ६७ हजार ४ सय ३८ यात्रुलाई सेवा दिएको थियो ।
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भने २२.८७ प्रतिशतले यात्रुसंख्या बढाएको छ । निगमले सन् २०१५ मा २ लाख ५३ हजार ६ सय ५८ यात्रु बोकेको छ । जुनसंख्या गत वर्षभन्दा ४७ हजारले बढी हो ।  
भारतबाट नेपाल उडान गर्ने इन्डियन एयरलाइन्सले २ लाख २४ हजार १ सय ६८ यात्रुलाई सेवा दिएको छ । त्यस्तैगरी इत्तेहाद एयरवेजको सन् २०१५ मा १ लाख ६२ हजार ९ सय ९९ यात्रु रहेका छन् ।
त्यस्तैगरी मलेसिया सेक्टरमा उडान गर्ने एयर एसिया एक्स र मलेसियन एयरलाइन्सको १ लाख ६० हजार ४ सय २६ यात्रुलाई सेवा दिएको थियो ।
एयर एसिया एयरलाइन्सले १ लाख ५३ हजार ९ सय ६४ यात्रुलाई सेवा दिएको छ । त्यसैगरी मालिन्दो एयरले ५३ हजार ६ सय ७९ यात्रु बोकेको थियो ।  ओमन एयरले १ लाख ५८ हजार ६ सय ५३ यात्रुलाई सेवा दिएको छ ।
टर्किस एयरलाइन्सले १ लाख १ हजार ३ सय ३० यात्रुलाई सेवा दिएको छ । हङकङबाट उडान भर्ने ड्रागन एयरले १ लाख ८ सय ५८ यात्रुलाई सेवा दिएको छ ।   

Wednesday, September 7, 2016

श्री एयरलाइन्सलाई आन्तरिक उडानको अनुमति, तीन महिनाभित्र उडान सुरु गर्ने


 
काठमाडौं : सत्र वर्ष अघिदेखि हेलिकप्टरबाट सेवा दिँदै आएको नेपालको सबैभन्दा ठूलो हेलिकप्टर कम्पनी श्री एयरलाइन्सले अब जहाजमार्फत आन्तरिक उडान थाल्ने भएको छ ।

कम्पनीले तीन महिनाभित्र तीनवटा जहाजमार्फत आन्तरिक उडान गर्ने जनाएको छ । कम्पनीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट एयरलाइन्स इजाजत पत्रसमेत पाएको छ । 
एयरलाइन्सले ५० सिट क्षमताको क्यानडियन कम्पनी बम्बाडियरको जेट सीआरजे–२०० सिरिजको जहाज खरिद गरेर नेपाल ल्याउने तयारी गरेको छ । कम्पनीले झन्डै १ अर्ब रुपैयाँ लगानी थप गर्दै आन्तरिक उडान भर्ने तय गरेको छ । एयरलाइन्सले निकट भविष्यमा अन्तरराष्ट्रिय उडानसमेत थाल्ने बताएको छ ।
“अब इजाजत पाएकाले नागरिक उड्डयन प्राधिकरणका उडान अनुमति (एओसी) को लागि निवेदन दिँदै छौं,” श्री एयरलाइन्स कम्पनीका निर्देशक अनिल मानन्धरले भने ।
नागरिक उड्डयन प्राधिकरणले पाँच चरण पार गरेपछि एओसी जारी गर्छ । इजाजत पाएकाले अब प्राधिकरणले नो अब्जेक्सन लेटर दिएपछि दोस्रो चरणमा प्रवेश पाउनेछ ।
कम्पनीले पहिले चरणमा ५० सिटका जहाजमार्फत उडान सुरु गरे पनि दोस्रो चरणमा भने १०० सिट क्षमताका जहाजमार्फत उडान थाल्ने मानन्धरले जानकारी दिए ।  
एयरलाइन्सले मुख्य गरी माउन्टेन फ्लाइट र ट्रंक रुटहरूमा उडान गर्ने लक्ष्य राखेको छ । भद्रपुर, विराटनगर, नेपालगन्ज, धनगढीलगायत क्षेत्रमा उडान गर्ने योजना कम्पनीको छ । यसपछि नेपालमा ट्रंक रुटमा उडान भर्नेमा अब झनै प्रतिस्पर्धा बढ्ने भएको छ । हाल यती एयरलाइन्स र बुद्ध एयरले यस्तो उडान भर्दै आएका छन् ।
नेपालमा हवाई क्षेत्रमा लगानी अझै आवश्यकता रहेकाले श्री एयरलाइन्सले आन्तरिक उडान थाल्न लागेको मानन्धरले बताए । नेपालमा हाल हेलिकप्टर र जहाजमार्फत उडान गर्ने १८ वटा कम्पनी छन् । 
कम्पनीले हाल एमआई–१७ का ६ वटा र युरोपियक कम्पनी एस–३५० बि३ई ४ वटा हेलिकप्टरमार्फत उडान गरिएको छ । कम्पनीले हेलिकप्टरतर्फ अन्तरराष्ट्रिय उडानसमेत भर्दै आएको छ । १७ वर्ष अगाडि कम्पनीले एयर अनन्नयबाट हेलिकप्टर सेवा सुरु गरेको थियो । 
श्रीले आन्तरिक उडान सुरुगरे लगत्तै अन्तरराष्ट्रिय उडान गर्न ब्राजिली जहाज निर्माता कम्पनी एम्ब्रेयरमा निर्मित ११० सिट क्षमतायुक्त ईआरजे–१९० सिरिजका तीनथान जहाज पहिलो चरणमा ल्याउने तयारीसमेत गरेको छ ।  
प्राधिकरणको नियमअनुसार आन्तरिक र अन्तरराष्ट्रिय उडान गर्न न्यूनतम दुई/दुई थान जहाज चाहिने भएकाले दुइटै सेवाका लागि ३/३ थान जहाज ल्याउन लागेको हो ।
एयरलाइन्सले पहिले काठमाडौंबाट भारतका प्रमुख सहर नयाँदिल्ली, मुम्बई, बैंगलोर, कोलकाता, हैदरावाद र बनारस उडान गर्ने लक्ष्य राखेको छ । दोस्रो चरणमा दुबई, साउदी अरब, बैंकक, क्वालालम्पुरलगायत गन्तव्यमा उडान गर्ने लक्ष्य एयरलाइन्सको छ । 
हेलिकप्टर राख्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रीको आफ्नै ह्यांगर पनि छ । श्री एमआई–१७ सिरिजका ठूला हेलिकोप्टर धेरै भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्पनी हो ।
अर्बौं लगानी गरिसकेको श्रीसँग करिब ५० लाख अमेरिकी डलर मूल्यको जगेडा इन्जिन पनि छ । यसले विश्व खाद्य कार्यक्रम र अन्य अन्तरराष्ट्रिय संस्थाका कामसहित प्राकृतिक प्रकोप, उद्धार, खाद्यान्न ढुवानी, यात्रु ओसारपसारमा विश्वसनीयता कमाएको छ ।
त्यसबाहेक संयुक्त राष्ट्रसंघका लागि हेलिकप्टर उडान गर्ने श्री दक्षिण एसिया र पूर्वी एसियाकै एकमात्र कम्पनी पनि हो ।
 

Sunday, September 4, 2016

हवाई सिट तीन वर्षमा ३६ लाखबाट ८० लाख पुर्याउने सरकारको लक्ष्य


काठमाडौं : पर्यटन प्रवद्र्धनका लागि हवाई यातायातलाई प्राथमिकतामा राखेको सरकारले आगामी तीन वर्षमा हवाई सिट विस्तार गर्दै वार्षिक ८० लाख पु¥याउने भएको छ । चौधौं योजनामा साविकको ३६ लाख १३ हजार सिट क्षमतामा दोब्बरभन्दा बढी विस्तार गर्दै सरकारले ८० लाख पुर्याउने लक्ष्य राखेको हो । 

नेपाल उडान गर्ने तथा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसहित विदेशी एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त गरेको वार्षिक सिट उपयोगसमेत गर्न सकेका छैनन् ।
प्रदान गरिएका ३६ लाख १३ हजार सिटमध्ये झन्डै ४ लाख कम अर्थात् ३२ लाख १७ हजार सिट क्षमता मात्रै उपयोग गरेको तथ्यांकले देखाउँछ । नेपालमा हाल २७ अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरूले उडान गर्दै आएका छन् ।
नेपालमा हाल उडान गरिरहेका सबै वायुसेवालाई साताको एकदेखि २१ वटासम्म उडान अनुमति दिइएको छ । नेपाल आउने विदेशी वायुसेवाले आफ्नो उडान क्षमता र यात्रु संख्याका आधारमा मागेको उडान तालिका अनुसार प्राधिकरणले अनुमति दिने गरेको छ ।
सरकारले चौधौं योजनामा लिएका लक्ष्यहरू पूरा गर्नका लागि सबै कार्यहरू प्रारम्भ गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले दाबी गरे । “अन्तरराष्ट्रिय विमानस्थलहरू निर्माण कार्य जारी रहेकाले निर्माण पश्चात हाम्रा सबै लक्ष्य पूरा हुने छन्,” प्रवक्ता उपाध्यायले भने । 
नेपालमा उडान गर्ने अन्तरराष्ट्रिय वायुसेवामा भुटान एयरलाइन्सले सातामा एउटा मात्रै भुटान–काठमाडौं सीधा उडान गर्ने गरेको छ । यो वायुसेवाले सातामा चारवटा उडान अनुमति पाए पनि बाँकी तीनवटा उडान भने भुटानबाट दिल्ली हुँदै काठमाडौं आउने गरेका छन् ।
यसरी एउटा गन्तव्यमा जाँदा यात्रु अर्को गन्तव्यमा झार्ने र ओराल्ने विधिलाई उड्डयन भाषामा पाँचौं ट्राफिक स्वतन्त्रता भनिन्छ । नेपालमा हाल यो अधिकार प्रयोग गरेर उडान गर्नेमा भुटानी वायुसेवा मात्रै छ ।  
नेपालमा धेरै उडान गर्ने र सिट क्षमता उपयोग गर्ने देशमा भारत, चीन, यूएई, मलेसियालगायतका मुलुक भए पनि व्यावहारिक रूपमा भने निकै कम मात्रै उडान हुने गरेको छ ।
चौधौं योजनामा  आन्तरिक उडान गर्ने वायुसेवाहरूको संख्या १८ बाट २५ पु¥याउने लक्ष्यसमेत राखिएको छ । नेपाल आउने विदेशी विमान कम्पनीहरूको संख्या २७ बाट ३१ पुगेको पुग्ने लक्ष्यसमेत राखिएको छ । चौधौं योजनामा द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशहरूको संख्या ३८ बाट ४२ पु¥याउने लक्ष्य राखिएकोे छ ।  
अन्तरराष्ट्रिय तथा क्षेत्रीय विमानस्थललाई अन्तरराष्ट्रिय ट्रान्जिटका रूपमा प्रयोग हुने गरी विकास गरिने लक्ष्यमा राखिएको छ । योजनामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसक्ने लक्ष्यमा राखिएको छ ।
यस्तै, बारामा निर्माण हुने दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रारम्भ भएको हुने लक्ष्य राखिएको छ । 
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि समेत भइसक्ने लक्ष्यमा राखिएको छ । त्यस्तैगरी सबै मौसममा सञ्चालन हुने आन्तरिक विमानस्थलहरूको  ३० पुगेको पुर्याउने लक्ष्यमा राखिएको छ ।
हाल ५६ वटा आन्तरिक विमानस्थल भए पनि सञ्चालनमा २६ वटा मात्र विमास्थल छन् । प्रत्येक गाविसमा एक हेलिप्याड भएको हुने र प्रत्येक प्रादेशिक राजधानीमा एक स्तरीय विमानस्थल निर्माण गरिने लक्ष्यमा राखिएको छ ।  

Thursday, September 1, 2016

पर्यटक भित्र्याउन सरकारले पूर्वाधारमा लगानी गर्नुपर्छ

अमरमान शाक्य
प्रथम उपाध्यक्ष, हान  
साढे तीन दशकदेखि पर्यटन उद्योगअन्तर्गत होटल क्षेत्रमा लगानी गर्दै आएका अमरमान शाक्य होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष हुन् । हानको अहिले ५० औं वार्षिकोत्सव चलिरहेको छ । उनले हान कार्य समितिमा रहेर हालसम्म १९ वर्ष सेवा गरिसकेका छन् ।
नेपालमा पुरानो होटल अमरको समेत सञ्चालक रहेका शाक्य नयाँ होटल खोल्ने तयारीमा जुटेका छन् । उनलाई हानको नेतृत्व गर्न पनि दबाब आइरहेको छ । नेपालमा होटल क्षेत्रमा बढ्दै गएको लगानी तथा नेपालको पर्यटन क्षेत्रको आगामी बाटोका विषयमा केन्द्रित रहेर शाक्यसँग कारोबारकर्मी केदार दाहालले गरेको कुराकानी :
पछिल्लो ६ महिनामा नेपालमा पर्यटक आगमन दरमा राम्रो वृद्धि भइरहेको देखिन्छ । सन् २०१६ भित्रै भूकम्पअघिको अवस्थामा पर्यटन व्यवसाय पुग्ला ?
भूकम्पका कारण सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको हो । किनभने भूकम्पअघि नेपालमा पर्यटक आगमन दर वार्षिक ८ लाखभन्दा माथि पुगेको थियो । भूकम्पका कारण सबै होटल रित्तिए भने पर्यटन क्षेत्र प्रभावित भयो ।
हामीले भिजन २०२० मार्फत सन् २०२० सम्ममा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य अघि सारेर मार्केटिङ गर्नेदेखि पूर्वाधारमा लगानी गर्न निजी क्षेत्र र सरकारी निकायलाई घच्घच्याइरहेका थियौं । तर गत वर्षको भूकम्पले यसमा असर पारेको छ, तैपनि हामी निराश भने भएका छैनौं ।
पर्यटन क्षेत्रमा अहिले सकारात्मक संकेत देखिन थालेका छन् । सन् २०१४ मा ७ लाख पर्यटक नेपाल आएका थिए । अहिले घटेर ५ लाखमा सीमित भएको छ । अब यो अवस्था लामो समयसम्म रहँदैन । पर्यटक घट्नुमा भूकम्पबाहेक अन्य कारण थिएन ।
पछिल्लो समयमा पर्यटन आगमन दरमा १६ प्रतिशतले मात्र वृद्धि भएको छ । त्यसैले सन् २०१६ मै भूकम्पअघिको अवस्थामा पुग्ने देखिँदैन । अहिलेको आगमनदर हेर्दा सन् २०१७ मा मात्र भूकम्पअघिको अवस्थामा पुग्ने देखिन्छ । 
नेपालमा पर्यटकीय मुख्य सिजन सुरु भइरहेको छ । व्यवसायीहरूले पर्यटक व्यवस्थापनको तयारी कसरी गरिरहेका छन् ?
आगामी सिजनलाई हामीले गर्नुपर्ने सबै तयारी गरिसकेका छौं । जुन अघिल्ला वर्षहरूमा समेत गर्ने गरेका थियौं । फेरि पर्यटन क्षेत्र भनेको सिजनमा मात्र तयारी गरेर पुग्दैन । पर्यटन व्यवसायीहरूले ३६५ दिनै पर्यटक राख्न र ल्याउन सक्ने भएर तयारी गरिरहेका छन् ।
सन् २०१५ मा भूकम्पका कारण पर्यटन क्षेत्रमा ठूलो असर पारेकाले सन् २०१६ विशेष महत्वपूर्ण वर्ष हो । सन् २०१५ मा हामीले सोचेजस्तो पर्यटक नआए पनि सन् २०१६ को सुरुवातदेखि नै नेपालमा पर्यटक आगमन दरले राम्रो संकेत गरेको छ ।
नेपालमा पर्यटक आगमन दर घटिरहेको छ । तर होटलमा लगानी बढेको बढ्यै छ, तपाईंहरूले लगानीलाई कसरी सुरक्षित गर्नुहुन्छ ?
सन् २०११ यता बैंकहरूले होटल क्षेत्रमा लगानी गर्दै आएका छन् । पर्यटक संख्या बढेपछि लगानीकर्ताहरू उत्साहित भएर आए । होटलमा लगानी आउनु सकारात्मक हो । अब पर्यटक भित्र्याउनु पर्ने आवश्यकता छ । चिन्ता लगानीकर्ताको मात्र हैन बैंक, सरकार सबै चिन्तित हुनुप¥यो ।
अहिले ठूला घरानाहरू पनि लगानीकर्ता भएर पर्यटन व्यवसायमा आएका छन् । बैंक डुब्दै गर्दा सर्वसाधारणको पनि पैसा डुब्ने भएकाले यसमा सरकारदेखि आमसर्वसाधारणमा चिन्ता हुनुपर्छ, त्यसपछि पर्यटक आगमन बढ्ने छ ।
पर्यटक आगमन बढ्यो भने लगानीकर्ता पनि सुरक्षित हुनेछन्, जसबाट रोजगारी सिर्जना हुनुका साथै राज्यको आम्दानीमा समेत वृद्धि हुने देखिन्छ ।
पर्यटक धान्न सक्ने नेपालको क्षमता कति हो ? 
पछिल्लो समयमा विभिन्न होटलमा गरी ३ हजार कोठा थपिएका छन् ।
नेपालका होटलहरूको क्षमता वार्षिक १५ लाख पर्यटकलाई धान्न सक्ने छ । यसरी हेर्दा अब वर्षको १५ लाख पर्यटक चाहिन्छ । सन् २००४ मा होटलहरूले २५ डलरमा रुम बिक्री गर्ने गरेका थिए । अहिले बढेर ७० देखि ९० डलरमा पुगेको छ ।
पर्यटक नआएको अवस्थामा फेरि पुरानै अवस्थामा फर्किने छ, जुन सबैको लागि दुर्भाग्य हुनेछ ।
नेपालमा २५ वर्षसम्म पर्यटन क्षेत्र स्थिर हुनुको कारण के हो ?
नेपालमा पर्यटन आगमन दर वृद्धि हुन नसक्नुको मुख्य कारण पूर्वाधारको अभाव हो । सरकारले पर्यटकका लागि पूर्वाधार निर्माण गर्न सकेको छैन । नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवाको हालत अहिले पनि राम्रो छैन ।
पर्यटक भित्र्याउनका लागि एयरलाइन्सको ठूलो भूमिका हुन्छ, तर नेपाल एयरलाइन्सको भूमिका खै ? पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दुई प्रतिशत मात्र योगदान छ । अन्य मुलुकहरूमा राष्ट्रिय ध्वजावाहकको भूमिका २५ प्रतिशतसम्म हुन्छ । नेपालमा २ प्रतिशत छ । 
अहिले सरकारले न्यारोबडीका २ वटा नयाँ जहाज दिएको छ र तर हामीलाई वाइड बडी भएको जहाज चाहिन्छ । जति सक्दो छिटो जहाज किन्ने र व्यवस्थापन सुधारमा लाग्नुपर्ने अवस्था देखिन्छ ।
सरकारले नै विमान किनेर एयरलाइन्सलाई बिजनेस गर्न दिनुपर्छ । त्यसपछि मात्र नेपालको पर्यटन क्षेत्रले गति लिनेछ । 
पर्यटकीय गन्तव्य हामी कहाँ नभएका होइनन् । धार्मिक कुरा गर्ने हो भने बुद्धको जन्म थलो लुम्बिनी नेपालमै छ । साहसिक पर्यटकको कुरा गर्ने हो भने विश्वकै अग्लो सगरमाथा नेपालमै छ ।
पर्यटकलाई आकर्षित गर्न र उनीहरूलाई देखाउन हामीसँग धेरै कुरा छन् । तर हामीले ती कुरा बेच्न सकेका छैनौं । बेच्न नसक्नुको कारण नै पूर्वाधारको अभाव हो ।
सन् २००१ देखि २००७ सम्ममा पर्यटन क्षेत्र संकटमा थियो । सन् २०११ मा हामीले राम्रो काम ग¥यौं त्यसैको प्रतिफल सन् २०१४ सम्म लिइरहेका थियौं । तर, पर्यटक आगमनदर भने पर्याप्त छैन ।
पूर्वाधार भनेको एयरलाइन्स मात्र हो ? 
होइन । एयरलाइन्सपछि दोस्रो प्राथमिकता विमानस्थललाई दिनुपर्छ । त्यसैगरी  तेस्रो प्राथमिकता होटललाई र चौथो प्राथमिकता कन्भेन्सन सुविधालाई दिनुपर्छ । हामीकहाँ होटल मात्र छन् । विमान र विमानस्थल नहुँदा नै पर्यटन क्षेत्रमा धेरै प्रभाव परिरहेको छ । पर्यटकका लागि चाहिने अन्य धेरै कुरा हामीसँग छन् ।
होटलमा भएको लगानी हेर्ने हो भने आगामी सन् २०१८ सम्म २ हजार ५ सयभन्दा बढी रुम थपिँदै छन् । त्यो ठूलो पूर्वाधार हो । त्यसैले अब नेपालले पर्यटक भित्र्याउनका लागि मार्केटिङलाई प्राथमिकता दिनुपर्छ ।
अहिले वार्षिक ८ लाख पर्यटक आगमन दर रहेको छ । अब २५ सय थपिँदा थप त्यति नै पर्यटक नेपाल भित्र्याउन आवश्यक छ ।
अहिलेको पूर्वाधार हेर्दा कति पर्यटक धान्न सक्ने क्षमता नेपालको छ ? 
अहिले पनि १२ लाखभन्दा बढी पर्यटक धान्न सक्ने पूर्वाधार नेपालमा छन् । नेपालमा पर्यटक भित्र्याउन मार्केटिङकै कमी देखिएको छ । सबै वस्तु नेपालमै उपलब्ध छन्, तर त्यस्ता वस्तु हामीले बिक्री गर्न सकेका छैनौं ।
पूर्व–मेचीदेखि पश्चिम–महाकालीसम्म पर्यटकलाई देखाउने हामीसँग असीमित क्षेत्र छन् । कतिपय पर्यटकीय स्थल हामीले खोलेकै छैनौं । कर्णालीमा पर्यटक लैजान कठिन छ । त्यहाँ पूर्वाधार निर्माण नै हुन सकेको छैन ।
त्यहाँ पर्यटक लैजान ठूलो अप्ठ्यारो छ । हामीले प्रत्येक वर्ष १५ प्रतिशतले पर्यटक आगमनदर बढाउन सक्यौं भने सजिलै २० लाख पर्यटक ल्याउन सक्छौ । सन् २०२२ सम्म २० लाखभन्दा बढी पर्यटक धान्ने पूर्वाधार खडा भइसक्छन् । 
पर्यटक भित्र्याउन विमान र विमानस्थल नै छन् भने अन्य पूर्वाधार कसरी निर्माण गर्न सकिन्छ त ?
हो, हामीले यही विषयलाई प्राथमिकताका साथ उठाइरहेका छौं । सरकारलाई पटक–पटक सुझाव दिइसकेका छौं । भैरहवा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरेर तत्काल सञ्चालन गर्नुपर्छ भनिरहेका छौं ।
त्यसैगरी पोखरा विमानस्थलको निर्माण कार्य चाँडै सक्न र निजगढ विमानस्थल निर्माणको काम तत्काल सुरु गर्न दबाब दिइरहेका छौं ।
त्यसैगरी काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुधार चाँडोभन्दा चाँडो सम्पन्न गर्न दबाब दिइसकेका छौं, तर सरकारले एकदमै ढिला काम गरिरहेको छ ।
पर्यटन क्षेत्र सानो कुराले पनि ध्वस्त हुन्छ, तर पनि लगानीकर्ताहरू किन उत्साहित भइरहेका हुन् त ?
नेपाल एउटा यस्तो देश हो, जहाँ प्रकृतिले नै सबै कुरा बनाइदिएको छ । अन्य मुलुकमा पर्यटकले हेर्ने थोरै कुरा छन्, ती पनि मानिसले बनाएका हुन् । जस्तै सिंगापुरको कुरा गर्ने हो भने देश सानो छ, तर मार्केटिङ राम्रो छ ।
पर्यटकलाई दिने सेवा सुविधा राम्रो छ । जसका कारण त्यहाँ करोडौं पर्यटक जाने गरेका छन् । पर्यटन भनेको प्रवद्र्धन, पूर्वाधार र सुविधा हो ।
प्रकृतिको धनी देश नेपालमा थोरै मार्केटिङ भए पर्यटक आगमन दरमा भारी वृद्धि गर्न सकिन्छ भन्ने विश्वासका साथ नै लगानीकर्ताले लगानी वृद्धि गरिरहेका हुन् ।
अन्य क्षेत्रमा वार्षिक अर्बौं रुपैयाँ आम्दानी गर्न सकिने अवस्था रहँदारहँदै पनि व्यवसायीले करोड र लाखमा मात्र आम्दानी गर्न सकिने होटल क्षेत्रमा किन लगानी गर्न उत्साह देखाएका हुन् ?
म त अहिले पनि भन्छु, लगानीकर्ताहरू अझै उत्साहित भएका छैनन् । एउटा पाँच तारे होटल बनाउन नेपालमा १५ वर्ष कुर्नुपर्ने अवस्था छ । काठमाडौंमा आठ वटा मात्र पाँच तारे होटल छन् । अब चेन होटलहरू आउन खोजिरहेका छन् ।
त्यस्ता होटल आएमा पर्यटन क्षेत्रको मार्केटिङमा समेत सहयोग पुग्छ । जसको फाइदा नेपालले लिनेछ । एउटा पर्यटक आउँदा १२ जनाभन्दा बढीले रोजगारी पाउने तथ्य छ भने पर्यटन क्षेत्रले कृषिलाई समेत फाइदा पु¥याउँदै आएको छ ।
प्रत्येक होटलमा चाहिने शतप्रतिशत उत्पादन कृषिबाट आउन सक्यो भने कृषि क्षेत्र धेरै राम्रो हुनेछ । जति धेरै चेन होटलहरू नेपालमा आउँछन्, पर्यटन क्षेत्रलाई त्यति नै बढी फाइदा हुन्छ ।
नेपालको पर्यटन क्षेत्रको भविष्य कस्तो देख्नुभएको छ ?
नेपालको भविष्य नै पर्यटन क्षेत्रमा रहेको छ । हामीले यस क्षेत्रलाई व्यवस्थित गरेर लैजान सक्यौं भने नेपाली अर्थतन्त्रमा कायपलट हुनेछ । अहिले लाखौं मानिस रोजगारी खोज्दै विदेशिन बाध्य छन् । रोजगारीको सिर्जना गर्न पनि पर्यटन क्षेत्रको सुधार र विस्तार गर्नु जरुरी छ ।
हामीले वार्षिक २० लाख पर्यटक भित्र्याउन सक्यौं भने कसैले पनि बेरोजगार भएर बस्नु पर्दैन । सबैलाई पर्यटन क्षेत्रबाटै रोजगारीका अवस्था सिर्जना हुनेछन् ।
बढी प्रतिस्पर्धा भएकै कारण तुलनात्मक रुपले नेपालका होटलहरूको रेट नै सस्तो भएको हो भनिन्छ नि ?
होटलको रुम रेटमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो । बजारको भाऊ माग र आपूर्तिले निर्धारण गर्ने हो । यो सबैलाई थाहा भएकै कुरा हो । अन्य उद्योगमा होटलमा हुँदैन । आज बिक्री भएन भने महिनौंसम्म राख्न सकिने क्षेत्र होटल व्यवसाय होइन । यो आजको आजै बिक्री गर्नुपर्ने हुन्छ ।
त्यसैले सबैले आफ्नो होटललाई भरिभराउ नै राख्न चाहन्छन् । प्रतिस्र्धा बढी भए पनि मूल्य घट्नु स्वाभाविक नै हो ।
पर्यटन क्षेत्रका नयाँ गन्तव्य विकास गर्न होटल व्यवसायीले चाहेनन् भन्ने आरोप छ नि ? 
पहिले सरकारले पर्यटन पूर्वाधार खडा गरेपछि हामी गएनौं भने मात्र आरोप लगाउन मिल्छ । सरकारले पूर्वाधार निर्माण गरे हामी पनि संघीय मोडलअनुसार प्रत्येक प्रदेशमा लगानी गर्न तयार छौं । पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न र लगानी गराउन हामीले छलफल गरिरहेका छौं ।
हानको आगामी अधिवेशनबाट तपाईं नेतृत्वमा आउनुभयो भने यो क्षेत्रलाई कसरी अघि बढाउनुहुन्छ ? 
हानको उपस्थित अहिले देशभर पुगिसकेको छ । प्रत्येक क्षेत्रमा च्याप्टरसमेत गठन गरिसकेका छौं । नयाँ होटलमा लगानी गर्नेहरूलाई प्रोत्साहन गरिरहेका छौं भने नयाँ लगानीकर्तालाई प्रवद्र्धन गर्न सघाइरहेका छौं । अहिले पनि भैरहवामा पाँच तारे होटल खुल्न लागेका छन् ।
नेपालगन्ज र धनगढीमा होटल खुल्दै छन् । अन्य नगरपालिका, जिल्लाका सदरमुकाममा पनि तारे होटलहरू खुल्ने क्रममा छन् । हामीले ती सबैलाई सहयोग गर्नेछौं । नेपालमा थपिँदै गरेका होटलका २ हजार ५ सय रुमलाई सधैं भरिभराउ पार्न मार्केटिङमा समेत सहयोग गर्नेछौं ।

सन् २०१६ मा पर्यटक आगमन दर उत्साहप्रद   
नेपालमा पर्यटक आगमन दर सन् २०१६ को पहिलो ६ महिनामा १६ प्रतिशतले बढेको छ । सन् २०१५ मा पर्यटक आगमन दर ३२ प्रतिशतले घटेको थियो ।   सन् २०१६ को तथ्यांक हेर्दा आगमन दर बढ्ने देखिन्छ ।
सन् २०१५ को ६ महिनामा २ लाख ७७ हजार ९९२ पर्यटक हवाई मार्ग हुँदै भित्रिएकोमा सन् २०१६ को ६ महिनामा १६ प्रतिशतले वृद्धि भई ३ लाख १३ हजार ५५२  पर्यटकले नेपाल भ्रमण गरेका छन् । 
विश्वभर घुम्न निस्कने मानिसको संख्यामा ३.१ प्रतिशतले बढ्दा नेपालमा १६ प्रतिशतको वृद्धि हुनु सकारात्मक पक्ष हो । आगामी सिजनका लागि पनि राम्रो बुकिङ आइरहेकाले सन् २०१७ सम्म सन् २०१४ को तथ्यांक भेटिनेमा व्यवसायी आशावादी छन् ।
सन् २०१६ को पहिलो ६ महिनाको आगमन दरमा सबैभन्दा धेरै भारतीय पर्यटक भित्रिएका छन् । सन् २०१५ को पहिलो ६ महिनामा ३९ हजार ४ सय १ भारतीय पर्यटक भित्रिएकोमा सन् सन् २०१६ को ६ महिनामा ५४ हजार २२४ पर्यटक भित्रिएका छन् । जुन ३७.६२ प्रतिशतले बढी हो ।
गत वर्ष भने भारतीय पर्यटक घटेका थिए । सन् २०१५ को भन्दा सन् २०१६ को ६ महिनामा चिनियाँ पर्यटक आगमनमा भने २८.०८ प्रतिशतले कमी आएको छ । सन् २०१५ मा ४७ हजार २ सय ६८ चिनियाँ पर्यटक भित्रिएकोमा सन् २०१६ को ६ महिनामा ३३ हजार ९ सय ९१ पर्यटक भित्रिएका छन् ।
पर्यटनसम्बन्धी योजना कार्यान्वयन फितलो 
सरकारले पर्यटन क्षेत्रका लागि पटक–पटक गरेर धेरै योजना ल्याउने गरेको छ । एउटा योजना कार्यान्वयन नआउँदै अर्को योजना ल्याइँदा समस्या बढ्ने गरेका छन् । सन् २०११ को पर्यटन वर्षको दौरानमा पनि १० लाख पर्यटन नेपाल भित्र्याउन लक्ष्य राखिएको थियो ।
तर, त्यस बेला जम्मा ८ लाख पर्यटक मात्र नेपाल आएका थिए । त्यो समय