आर्थिक क्षेत्रका विशेष गतिविधी

Wednesday, July 5, 2017

हवाई सुरक्षामा सुधार

नेपाल केही वर्षयता युरोपेली युनियन (ईयू) को उड्डयन कालोसूचीमा रहँदै आएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को स्थलगत अनुगमन र अध्ययन प्रतिवेदनलाई आधार मान्दै ईयूले २०७० मंसिरमा आफ्ना सदस्य मुलुकभित्र नेपाली वायुसेवालाई निषेध गर्दै हवाई सुरक्षा सूचीमा राख्दै आएको छ ।

अहिलेसम्म यो कालोसूचीको प्रत्यक्ष ठूलो असर नपरेको भए पनि यसबाट अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा नेपालप्रति नकारात्मक सन्देश प्रवाह भइरहेको छ । नेपालको हवाई आकाशमा बारम्बार दोहोरिरहने दुर्घटनाहरूले पनि यहाँको उड्डयन क्षेत्र असुरक्षित नै हो कि भन्ने सन्देश प्रवाह भइरहेको छ ।

नेपालको भौगोलिक अवस्थाअनुसार सोलुखुम्बुको लुक्ला विमानस्थललाई विश्वकै जोखिमयुक्त विमानस्थलको सूचीमा राखिएको छ नै, अन्यत्रका विमानस्थल पनि जोखिमयुक्त छन् भन्ने सन्देश यहाँका हवाई दुर्घटनाले दिने गरेका छन् ।

खास गरी हवाई दुर्घटनाको अनुसन्धान प्रभावकारी हुन नसक्नु नै नेपालको हकमा सबैभन्दा फितलो पक्ष देखिएको छ । हवाई दुर्घटना भएपश्चात् हुने जाँचबुझतर्फ भने सुधार हुन नसकेको तथ्यांक छ, विश्वमा सरदर ५५.५४ प्रतिशतको अनुपात रहेकोमा नेपालको अवस्थामा २०.४१ प्रतिशतमात्र रहेको छ । जुन तथ्यांक आइकाओको मापदण्डभन्दा निकै खराब हो ।

हरेक पटक विमान दुर्घटना भएपछि जाँचबुझ आयोगहरू बनाइने गरिएको भए पनि तिनले गर्ने अनुसन्धानहरू प्रायःजसो कोठे हुने र सधैं एकै प्रकारका प्रतिवेदन दिने प्रवृत्तिले नेपाली अनुसन्धानप्रति विश्वास नजागेको हो ।

हवाई सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुसार कम्तीमा पनि ३९ प्रतिशत सुरक्षा उपाय अवलम्बन हुनैपर्छ, तर नेपालको अवस्था कमजोर देखिएकै कारण आईकाओको सन् २००९ को स्थलगत अध्ययन–प्रतिवेदन र सन् २०१३ को फलोअप अडिटले सुधारका धेरै पक्ष औंल्याएको हो ।

ईयूकै कालोसूचीमा परेर मुलुककै बदनाम भएपछि भने नेपाल नागरिक उड्डयन प्राधिकरण र सरकारले हवाई सुरक्षा सुधारमा निकै सक्रियता देखाउँदै आएका छन् । आईकाओले सार्वजनिक गरेको आठवटा सूचकमध्ये केहीमा सुधार गरेको तथ्यांक सार्वजनिक भएकोे छ ।

यसअनुसार पछिल्लो चार वर्षमा नेपालले हवाई कानुन कार्यान्वयनमा सबैभन्दा बढी सुधार गरेको छ । आइकाओले सार्वजनिक गरेको तथ्यांकमा विश्वमा कार्यान्वयनको दर ७०.१२ प्रतिशत रहेकोमा नेपालले सुधार गर्दै ६९.५७ प्रतिशत पु¥याएको छ ।

सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने हाम्रो अवस्था सन् २०१३ मा ४३ प्रतिशत रहेकोमा अहिले ५८.१ प्रतिशत पुगेको छ । विश्वव्यापी लक्ष्य ६० प्रतिशत छ । नेपाल पछिल्लो हवाई सुरक्षा अडिटपछि त्यो सूचक हासिल गर्ने अवस्थामा पुग्ने सरकारी अधिकारीहरूको विश्वास छ ।

विश्वकै नागरिक उड्डन क्षेत्रको नियमन गर्दै आएको आईकाओले विश्वका १ सय ९० देशको उड्डयन सुरक्षाको अडिट गर्दै आएको छ । उसले सार्वजनिक गर्ने प्रत्येक सूचकको विशेष रणनीतिक अर्थ रहन्छ । यसले जमिनमाथि उड्ने प्रत्येक व्यक्तिको जीउधनको सुरक्षा मात्रै गर्दैन, विश्वभरि नै सुरक्षित हवाई यात्राको प्रत्याभूतिसमेत गराउँछ ।

त्यसैले पनि नेपालले आईकाओद्वारा यसअघि दिएका हरेक सुझावको अक्षरशः पालना गर्नैपर्ने अवस्था थियो र अझै पनि छँदै छ । पछिल्लो हवाई सुरक्षा अडिटको नतिजाले नेपालको अवस्थामा सुधार भएको देखिए आईकाओको सिग्निफिकेन्स सेफ्टी कन्सर्न (एसएससी) सूचीबाट हट्नेछ । यो सूचीबाट हट्नुको अर्थ ईयूको कालोसूचीबाट पनि हट्नका लागि आधार सिर्जना हुनु हो । 

एयर काष्ठमण्डपको एओसी खारेज



काठमाडौंः नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर काष्ठमण्डपको उडान अनुमति (एओसी) खारेज गरेको छ । काष्ठमण्डपले सन् २००९ मा दुई जहाजमार्फत उडानको लागि अनुमति पाएको थियो ।

नेपालगन्ज र सुर्खेतबाट कर्णाली क्षेत्रमा चार्टर उडान गर्दै कार्गो तथा यात्रुलाईसमेत सेवा दिँदै आएको काष्ठमण्डपको एओसी जेठ २६ मा खारेज भएको हो । प्राधिकरणले अमुमति खारेजीको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि गराइएको जनाएको छ । 

प्राधिकरणका अनुसार गत चैत १२ मा एयर काष्ठमण्डपलाई पत्र लेख्दै दुई महिनाभित्र कम्पनीको अडिट पास गराउन भन्दै पत्र काटेको थियो । काष्ठमण्डपले अडिट पेश गर्न अटेर गरेपछि एओसी खारेजीको निर्णय भएको प्राधिकरण स्रोतले जानकारी दियो । २०७२ फागनुमा  नेपालगन्ज विमानस्थलबाट जुम्लाका लागि उडेको ९ एन–एजेबी पीएसी ७५० एक्स एल कलसाइन भएको काष्ठमण्डपको जहाज दुर्घटनामा परेपछि एउटा जहाजमा सीमित भएको छ ।  

हाल काष्ठमण्डपसँग एक थानमात्र छ । जहाज उडान गर्ने पाइलटको साथै इन्जिनियहरूको समेत अभाव खेपेको एयरलाइन्सले लामो समयदेखि उडान भर्न सकेको थिएन । प्राधिकरणले पटकपटक ताकेता गर्दा पनि उडान सुचारु गर्न नसकेको तथा अडिटमा फेल भएको भन्दै उडान अनुमति खारेज गरेको हो । काष्ठमण्डपले पुनः सञ्चालन गर्न चाहेमा नयाँ प्रक्रियाअनुसार एओसी अनुमति लिनुपर्ने व्यवस्था छ । 

पछिल्ला केही वर्षदेखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपाललाई ‘सिग्निफिकान्ट ‘सेफ्टी कन्सर्न’ (एसएससी) मा राखेपछि उडान अनुमति र नवीकरणमा कडाइ गर्दै आएको छ ।

आइकाओको टोलीले ४ वर्षपछि नेपालको उड्डयन क्षेत्र मंगलबारदेखि अडिटसमेत थालेको छ । नेपालमा सिंगल इन्जिनयुक्त काष्ठमण्डपको एक, गोमाको दुई र मकालु एयरको एक गरी चारथान जहाज छन् । सरकारले यीनमा यात्रु बोक्न प्रतिबन्ध लगाउँदै आएको छ । 

काष्ठमन्डपको एओसी खारेजीमा परेसँगै अब नेपालमा एओसी अनुमति पाएर उडान भर्ने एयरलाइन्सको संख्या १९ मा झरेको छ । नयाँ एयरलाइन्स कम्पनीहरू आक्रामक बजार विस्तारमा लागिरहेका वेला पुराना एयरलाइन्सहरूले भने सञ्चालन गर्न नसकेर खारेजीमा परेको छ । 

कतारलाई पछि पार्दै नेपाल एयरलाइन्स पहिलो


Image result for nepal air lines


काठमाडौं: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम यात्रु संख्याका आधारमा नेपालमा उडान गर्ने एयरलाइन्समध्ये पहिलो भएको छ । गत वर्ष (सन् २०१६) मा नेपाल एयरलाइन्सले कतार एयरलाई उछिन्दै सबैभन्दा बढी यात्रुलाई सेवा दिएको हो ।

यस वर्ष निगमले अन्तर्राष्ट्रिय उडानतर्फ ३ लाख ८४ हजार ३ सय २७ यात्रुलाई सेवा दिएको छ । यस वर्ष निगमपछि कतार एयरवेजले ३ लाख ४१ हजार ७ सय ६४ यात्रुलाई सेवा दिएको तथ्यांक छ ।

निगमले नयाँ जहाज थप्दै सेवाको गुणस्तर सुधार गरेसँगै पछिल्लो ५ वर्षमा यात्रु संख्या दोब्बरले बढेको छ । निगमका अनुसार सन् २०१२ मा अन्तर्राष्ट्रियतर्फ निगमले २ लाख ९ सय ७६ यात्रुलाई सेवा दिएकोमा सन् २०१६ सम्ममा योसंख्या बढेर ३ लाख ८४ हजार ३ सय २७ पुगेको छ ।

निगमका जहाजमा यात्रा गर्नेको संख्या बर्सेनि १७.६ प्रतिशतले वृद्धि भएको जनाइएको छ । यो वृद्धि ५ वर्षको अवधिमा झन्डै दोब्बर अर्थात ९१ प्रतिशत हो । निगमसँग जहाज नहँुदा एक दशकसम्म २ लाख हाराहारी यात्रुलाई सेवा दिइरहेको निगममा विगतमा कर्मचारीलाई तलब खुवाउन समेत हम्मे पर्दै आएको थियो । 

५ वर्षमा निगमका यात्रु दोब्बर
प्रत्येक वर्ष नयाँ जहाज थप्ने घोषणा
“हामी सन् २०१६ मा कतार एयरवेजलाई समेत पछि पार्दै पहिलो भएका छौं, अब दुई वाइड बडी जहाज थपेपछि बजार हिस्सा झनै बढाउने छौं,” निगम ५९ वर्ष पूरा गरेको अवसरका अयोजित कार्यक्रममा प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने ।

सन् २०१५ मा निगमले एयबरस ३२०–२०० सिरिजका दुई थान न्यारो बडी जहाज खरिद गरेर उडान सुरुगरेसँगै यात्रु सेवामा सन् २०१६ मा पहिलो भएको कंसाकारले बताए । कंसाकारले जहाज भएपछि निगमले पनि प्रगति गर्ने रहेछ भन्ने उदारण सन् २०१६ को यात्रु संख्याले दिएको समेत दावी गरे । निगमले हाल बोइङ ७५७ एक थान, एयरबस ३२०–२०० सिरिजका दुईथान गरी तीनवटा न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।  

निगमले बजार हिस्सा ५ प्रतिशतबाट १२ प्रतिशत समेत यसैवर्ष पुगेकोले वाइड बडी जहाजपछि १७ प्रतिशत पुग्ने दावी गर्दै कंसाकारले यात्रुको सेवाका कुनै पनि कसर बाँकी नराख्न वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूलाई आग्रह समेत गरेका थिए ।

 विगतमा जहाज नहुँदा एक दशकसम्म निगमले वार्षिक २ लाखभन्दा बढी यात्रुलाई सेवा दिन सकेको थिएन । निगमसँग अर्को वार्षिकोत्सव मनाउँदा थप दुईथान एयरबस ३३०–२०० सिरिजका वाइड बडी जहाज हुने बताउँदै कंसाकारले अबको एक वर्षमा एक जहाज भाडामा अथवा खरिद गर्दै जानुपर्ने बताए । कंसाकारले कार्यक्रममा निगमका कर्मचारीले नाक खुम्च्याउनुपर्ने अवस्था पार गरेकोले परिस्कृत ढंगले काम गर्दै संस्थालाई बलियो बनाउन आग्रह गरे ।     

जहाज थपेपछिको सूचक 
सूचक     विगत     अहिले
यात्रुसंख्या    २,००,९७६    ३,८४,३२७
बजार हिस्सा (प्रतिशतमा)    ५     १२ 
वार्षिक वृद्धिदर (प्रतिशतमा)    ०     १७.६ 
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले निगमको छवि विगतमाभन्दा सुधँ्रदै गएकोले अझै पनि सुधारमै केन्द्रित हुनुपर्नेमा जोड दिए । सरकारले २० अर्ब रुपैयाँ सेयरको रुपमा निगममा लगानी गर्नुपर्ने व्यवस्थापनको मागलाई मन्त्रालयले अर्थ मन्त्रालयसँग छलफल जारी राखेको उनले बताए ।   

निगममा रणनीतिक साझेदार भिœयाएर आमूल परिवर्तन गर्नमा सरकारको ध्यान गएकोले सहयोग गर्न आग्रहसमेत अधिकारीले गरे । विगतमा नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंकमासमेत रणनीतिक साझेदार भिœयाएपछि अहिले अन्य निजी क्षेत्रका बैंकसंग प्रतिस्पर्धा गरिरहेकोले निगममा पनि यसबाट सुधार हुने उनले बताए ।  

Tuesday, July 4, 2017

चार वर्षपछि नेपाली आकाशको अडिट हुँदै


Image result for icao 
नेपाललले हवाई सुरक्षाको क्षेत्रमा पछिल्लो उल्लेख्य सुधार गरेको दावी गरिरहेका बेला अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले वृहत् अध्ययन तथा मूल्यांकन (अडिट) गर्ने भएको छ । आइकाओको दुई सदस्यीय टोलीले मंगलबार (आज)देखि नेपाली आकाशको अडिट सुरु गर्नेछ ।


टोलीले मंगलबारदेखि असार २७ सम्म नागरिक उड्डयन प्राधिकरणसहित केही एयरलाइन्सहरूको अडिट गर्ने कार्यक्रम छ । 
आइकाओका क्याप्टेन भोउड्री युजेनी र एरोनटिकल इञ्जिनियर एडमन्ड बोहल्यान्ड अडिटका लागि नेपाल आएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

पछिल्ला केही वर्षदेखि आइकाओले नेपाललाई ‘सिग्निफिकेन्ट सेफ्टी कन्सर्न’ (एसएससी) सूचिमा राखेको छ । नेपाल आएको टोलीको अडिटपछि एसएससी हट्यो भने प्राधिकरणले युरोपेली आयोगलाई उनीहरूको ‘हवाई सुरक्षा सूची’बाट नेपाललाई हटाउन आग्रह गर्नेछ ।

एसएससीबाट हटाउने वा राखिने भन्ने कुरा अडिटरहरूको हातमा रहेकाले उनीहरूले दिने प्रतिवेदनको आधारमा आइकाओले निर्णय गर्ने श्रेष्ठले जानकारी दिए । “नेपालको सूचकहरूमा सुधार भएकोले आगामी तीन महिनामा नेपाल एसएससीको सूचीबाट बाहिरिने हाम्रो अपेक्षा छ,” श्रेष्ठले भने । 

 आइकाओले विश्वभरका मापन गर्ने ८ वटा सूचकांकमा नेपाल पनि पुग्न लागेको क्यानले दावी गरेको छ । यसअघि २००९ मा पनि यस्तै अडिट गर्न आइकाओको टोली आएको थियो ।

मंगलवारदेखि एक सातासम्म अडिट हुने
तीन महिनाभित्रमा कालो सूचिबाट बाहिरिने अपेक्षा 
टोलीको प्रतिवेदनका आधारमा आइकाओले ८ वटा सुझाव दिँदै तत्काल सुधार गर्न प्राधिकरणलाई चेतावानी दिएको थियो । सोही अडिटलाई आधार मान्दै २०१२ अक्टोवरमा प्राधिकरणका तत्कालिन महानिर्देशकलाई पत्र लेख्दै आइकाओले औंल्याएका कमजोरीको बारेमा सुधार कति भइरहेको छ भन्ने प्रश्न सोधेको थियो ।  

आइकाओको टोली २००९ कै अडिटको ‘फलोअप’ भन्दै २०१३ को जुलाइमा नेपाल आएको थियो । अघिल्लो पटकको अडिटमा सुधारका लागि दिइएको सुझाव कार्यान्वयन नभएको भन्दै नेपाललाई त्यसपछि आइकाओको एसएससी लिस्टमा राखेको थियो । सन् २००९ मा सुधारको सुझाव दिनु र नेपालमा हवाई दुर्घटना दरमा वृद्धि हुनु एकैपटक भएको देखिन्छ ।

२०१० देखि २०१२ भित्रमा अग्नी एयरका दुई, सीता एयर, तारा एयर र बुद्ध एयर दुर्घटनामा ठूलो मानवीय क्षति भएको थियो । आइकाओले नेपाललाई २०१३ मा राखेको एसएससी लिस्टको आधारमा युरोपेली आयोगले नेपाली हवाई आकाशलाई ‘हवाई सुरक्षा सूची’मा राख्दै आएको छ ।

चार वर्षमा सुधार
आइकाओले विश्वका १ सय ९० देशको अडिट गर्दै आएको छ भने प्रत्येक देशको हवाई सुरक्षा सूचकहरू सार्वजनिक गर्दै आएको छ । नेपालले पनि आइकाओले सार्वजनिक गरेको ८ वटा सूचकमध्ये केहीमा सुधार गरेको तथ्यांक सार्वजनिक गरेको छ ।  

नेपालको अवस्थामा हवाई दुर्घटना भएपश्चात हुने जाँचबुझतर्फ भने सुधार हुन नसकेको तथ्यांक छ । जसमा विश्वमा सरदर ५५.५४ प्रतिशत रहेकोमा नेपालको अवस्थामा २०.४१ प्रतिशतमात्र रहेको छ । जुन तथ्यांक आइकाओको मापदन्ड भन्दा निकै खराव हो । 

पछिल्लो चारवर्षमा नेपालले हवाई कानुन कार्यान्वयनमा सबैभन्दा बढी सुधार गरेको छ । आइकाओले सार्वजनिक गरेको तथ्यांकमा विश्वमा कार्यान्वयनको दर ७०.१२ प्रतिशत रहेकोमा नेपालले सुधार गर्दै ६९.५७ प्रतिशत पु¥याएको छ । 

हवाई सुरक्षामा नेपालको अवस्था (प्रतिशतमा)   
सूचकांक                   नेपाल                  विश्व 
कानुन कार्यान्वयन        ६९.५७                ७०.१२
सांगठनिक संरचना      ४५.४५                  ६८.६९
तालिम व्यवस्थापन      ६९.०५                   ७२.६२
अपरेसन                   ५४.७०                   ६६.६७
एयरओर्दिनेस             ७७.२७                   ६७.०७
दुर्घटना जाँच             २०.४१                      ५५.५४
एयर नेभिगेसन          ५५.९६                     ६०.२२
एरोड्रम्स                  ६९.५७                      ५७.४१
प्राधिकरण नेतृत्व सयरमा    
आइकाओको टोलीलाई अडिटको लागि नेपाल बोलाएर प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम भने म्यानमार गएको भन्दै आलोचना भएको छ ।

गौतमले अडिटको बेला चासो दिएर नेपाललाई कालो सूचीबाट हटाउन विशेष पहल गर्नुपर्नेमा शनिवार नै म्यानमार उडेको कर्मचारीहरू बताउँछन् । नेतृत्व गैरजिम्मेवार भएको भन्दै प्राधिकरणकै उच्च अधिकारी असन्तुष्ट छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्रीसमेत नभएका बेला सचिवले नेतृत्व गर्नुपर्नेमा सचिव शंकरप्रसाद अधिकारीसमेत मंगलबार राती नै कतार एयरवेजमार्फत पोल्यान्ड जाँदैछन् । 

Wednesday, June 28, 2017

वाइडबडी जहाजपछि बजार हिस्सा १७ प्रतिशत पुग्छ



राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकार सधैं चर्चामा आइरहन्छन् । सरकारका महत्वपूर्ण संस्थानको नेतृत्व खाली हुनेबित्तिकै उनकै नाम चर्चामा आउँछ । ३ वर्ष दूरसञ्चार सञ्चालक समिति सदस्य र २ कार्यकाल प्रबन्ध निर्देशक भई टेलिकमलाई सफलताको उचाइमा पुर्याएका कंसाकार वायुसेवा निगममा पुगेपछि २७ वर्षपछि जहाज खरिद प्रक्रिया सुरु गरेका कारण पनि पछिल्लो समयमा पुनः चर्चामा आएका छन् । दोस्रोपटक निगम नेतृत्वमा पुगेका कंसाकार यतिबेला इतिहासमै पहिलो पटक वाईडबडी जहाज खरिद प्रक्रियालाई अन्तिम चरणमा पुर्याउँदै छन् । निगममा प्रत्येक वर्ष कम्तिमा एकथान जहाज थप्ने योजनाका साथ अगाडि बढेका कंसाकार हाल १० प्रतिशत रहेको निगमको बजार हिस्सा २०७६ सालसम्ममा १७ प्रतिशत पुग्ने दाबी गर्दछन । निगमको अबको बाटो, सुधारका योजना तथा अनुभवका विषयमा कंसाकारसँग कारोबारकर्मी केदार दाहालले गरेको कुराकानी:

नेपाल वायु सेवा निगमले पहिलो पटक वाइडबडी जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पु-याएको छ । जहाज खरिदमा मात्र चासो भयो, तर व्यवस्थापन सुधारमा ध्यान पुगेन भन्ने आरोप छ । निगमको व्यवस्थापन सुधार गर्न के गर्दै हुनुहुन्छ ?

आरोपमा आधा सत्यचाहिँ हो । मैले जहाज खरिदमा पहलकदमी लिएरै अब वाइडबडी जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तर, व्यवस्थापन सुधारमा चासो नदिएको भन्ने आरोपचाहिँ बिल्कुलै गलत हो । मैले सधैं भन्दै आएको छु– जहाज किन्न सजिलो छ, तर जहाज ल्याएर व्यवस्थापन गर्नुचाहिँ चुनौतीपूर्ण हुन्छ ।

म २३ महिना पहिले आउँदा नयाँ जहाज तीन–चार घण्टा मात्र चलिरहेको थियो । अहिले ११ घण्टा बढी दैनिक रूपमा जहाज चलिरहेको छ । म आउँदा सधैं जहाज केही न केही प्राविधिक कारण ग्राउन्डेड भइरहेको थियो । म आएपछि त्यो समस्या हटेको छ । बाहिर प्रस्ट देखिएको छ । सुधार भनेकै दैनिक धेरै समय भरी सिट उडाएर नाफामा लैजानु हैन र ? म आएपछि त्यो गरिरहेको छु नि । 


निगमले अहिले पनि २६ वटा एयरलाइन्ससँग प्रतिस्पर्धा गरिरहेको छ । हिमालय थपिएर २७ वटा भएको हो । खास चुनौती छैन । खाली कुरा के मात्रै हो भने स्वच्छ प्रतिस्पर्धा गर्न खास समस्या हँुदैन । प्रतिस्पर्धी बजार हुनु त यात्रुका लागि फाइदाको विषय हो । 


तपाईं आएपछि देखिने गरी निगमका संरचनागत तथा नीतिगत के–के सुधार गर्नुभयो ?
पहिलोचाहिँ निगमका सबै कामलाई कम्प्युटर सिस्टममा ल्याउने कामको थालनी भइरहेको छ । त्यो भयो भने धेरै समस्याको समाधान हुन्छ । हामीलाई सधैं आरोप लाग्ने गरेको धेरै स्पेयर्स पार्ट्स किनेर थुपारेको भन्ने हो । त्यो भएपछि कुन पार्ट्स कति छ, सबै सिस्टममा आउनेछ । कम किने पनि गाली खाने धेरै किने पनि गाली खाने अवस्थाको अन्त्य हुन्छ ।

अर्को महŒवपूर्ण कुरा, अनलाइन टिकेटिङ कार्यान्वयन हुँदैछ । अब एक महिनामा लागू हुनेछ । अहिले परीक्षण भइरहेको छ । त्यसैगरी अहिले विशेषज्ञहरू राखेर कुन विभागमा के गर्ने भन्ने कुराको पनि थालनी भइरहेको छ । अर्को महत्वपूर्ण कुरा, कर्मचारीको बानी–बेहोरा सुधार गर्नु चुनौतीपूर्ण छ ।

अहिले त्यो परिवर्तन गर्न सबै कर्मचारीलाई तालिम दिने प्रक्रिया जारी रहेको छ । धेरै कुराको सुधार गरिरहेका छौं, यो विषय भनेको प्रचार गर्ने विषय होइन । आरोपचाहिँ जहाज किन्ने मात्र लगाउँछन्, तर हामीले ३ सय पृष्ठको व्यापारिक योजना बनाएर जहाज खरिद प्रक्रिया अगाडि बढाएका हौं । हामी अहिले योजनाका साथ अगाडि बढिरहेका छौं । 

तपाईंकै पहलमा यसअघि दुई जहाज आए, फेरि वाइडबडी जहाज खरिद गर्दै हुनुहुन्छ । निगममा २८ वर्षसम्म जहाज नै खरिद गर्न नसक्नुको कारण के रहेछ ?
नेपालमा २८ वर्षसम्म जहाज अन्तर्राष्ट्रियतर्फको खरिद भएन । आन्तरिकतर्फको त ४५ वर्षसम्म खरिद भएन । झन्डै आधा शताब्दीपछि चिनियाँ जहाज आएको थियो । म ८ वर्षअगाडि निगममा आएपछि यही विषय खोजी गरे । के कारण होला, जहाज खरिद हुन सकेन । मलाई लागेको चाहिँ यतिका विदेशी एयरलाइन्स आइरहेकै छन् ।

ती एयरलाइन्सले नेपाली पनि लगेकै छन् । पर्यटक पनि ल्याउँछन् । निगम किन आवश्यक पर्छ र भन्ने मानसिकताको हाबी भएको रहेछ । अझ त्यो समयमा सायद निगमको महत्व र भिजनबारेमा बुझाउन कोसिस नभएको पनि पाएँ । अब नराम्रो नियतले पनि हुन सक्छ र थाहा नभएर पनि हुन सक्छ ।

अहिले सबै पर्यटक व्यवसायीहरूले पनि भन्न थालेका छन् । २ सय मुलुकमध्ये एउटा मात्र मुलुक पनि राष्ट्रिय ध्वजावाहक बलियो नभएको ठाउँमा पर्यटन बलियो छैन । थाइल्यान्डमा थाई एयर बलियो भएपछि नै वार्षिक ३ करोड पर्यटन जान थालेका हुन् । सिंगापुरमा पनि त्यहाँका एयरलाइन्स बलियो भएपछि अहिले वार्षिक सवा करोड पर्यटक जान थालेका छन् ।

यी विषयको बोध नहुनु गलत हो  । मैले यही विषय खोजे सबै कर्मचारीलाई पनि सोधे जहाज नकिन्नुको कारण कसैलाई पनि थाहा छैन । अहिलेचाहिँ सकारात्मक पक्ष के हो भने सबै राजनीतिक नेतृत्व अहिले निगम बलियो बनाउनुपर्छ भन्नेमा एकमत भएका छन् ।

अहिले त तपाईंको पहलमा सबै कुरा भए । तपाईंले छाडेपछि पनि जहाज खरिद प्रक्रिया सरल रूपमा अगाडि बढाउन के वातावरण बनाउनुभएको छ ? 

महत्वपूर्ण विषय नै यही हो । अहिले जहाज किन्ने र पुनः ३० वर्षसम्म जहाज नकिन्ने आवस्था आउन नदिनु नै महत्वपूर्ण विषय हो । त्यही भएर अहिले मैले सके वार्षिक रूपमा दुईवटा नसके पनि कम्तीमा एउटा जहाज थप्दै जानुपर्छ भनेर योजनाहरू अगाडि बढाउने काम गरिरहेको छु ।

त्यो विषयलाई कार्यान्वयनमा लैजान अहिले विशेषज्ञहरू राखेर अध्ययन गरी जहाज खरिद र व्यवस्थापन कसरी सुधार गर्दै लैजाने भन्ने विषयमा कसरी अगाडि बढाउने भन्नेमा अध्ययन गरिरहेका छांै ।

अहिलेचाहिँ कुल आम्दानी बढाउने अभियान चलाउने हो । निगममा तीनवटा जहाज चलाउने कर्मचारीले अरू ३÷४ वटा जहाज थपेमा चलाउन सक्छन् । त्यसैले के गर्छ भने आम्दानी बढाउँछ, खर्च त्यहीले धान्छ । यी विषय अध्ययन गर्र्दै अगाडि बढ्ने हो । यो विकास–निर्माणको महŒवपूर्ण पाटो हो । पर्यटन क्षेत्रमाथि आउन निगम बलियो बनाउनुको विकल्प छैन । यो भनेको रोजगारी र प्रतिव्यक्ति आय बढाउने कुरा हो ।

अब वाइडबडी जहाजबाट नेपालीहरू सिधै लन्डन, जापान कहिले उड्न पाउँछन् ?
जहाज खरिद प्रक्रिया अन्तिम चरणमा प्रवेश गरिसकेको छ । सरकारले जमानी बस्ने निर्णय गरेपछि ऋण सम्झौता अब अन्तिम चरणमा रहेको छ । सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋण लिएर अर्को साता हामीले ८ अर्ब रूपैयाँ पठाउनेछौं, जसका लागि राष्ट्र बैंकसँग पनि कुरा अगाडि बढाएका छौं ।

पहिलो किस्ताको रकम पठाउनेछौं र अर्को किस्ता भनेको जहाज आउने बेलामा पठाउनेछौं । अहिलेको स्थितिमा अर्को वैशाखसम्ममा लामो दूरीमा उडान सुरु गर्नेछौं । जापान, अस्ट्रेलिया गन्तव्यमा उडान सुरु गरिसक्छौं । 

२०७६ मा निगमको बजार हिस्सा कति पुग्छ ?
अहिले बजार हिस्सा १० प्रतिशत पु-याइसकेका छौं । दुई थान वाइडबडीको उडानपछि १७ प्रतिशत बजार हिस्सा पुग्छ । हामीले दक्षिण कोरिया, युरोप उडान थालेपछि पक्कै पनि बजार हिस्सा बढ्नेछ ।

युरोपमा उडान गर्न त नेपाल कालो सूचीमा छ, कसरी उड्छ ? 
सायद हामीले उडान थाल्ने बेलासम्म नेपाल सुरक्षा लिस्टबाट हट्छ भन्ने विश्वास छ । यसमा निगमलाई मात्र पनि उडान भर्न दिन सक्ने गरी फुकुवा हुन सक्छ । 

अब सबै देशमा सिधा उडान गर्न सम्भव छैन । जहाजको पनि अभाव हुन्छ । त्यसका लागि ‘कोड सेयर’ चाहिँ निगमले किन गर्न नसकेको ?
एयरलाइन्स सेक्टरको सबैभन्दा महŒवपूर्ण विषय ‘कोड सेयर’ हो, तर हामीसँग २८ वर्ष पुराना दुई जहाजमार्फत उडान गरिरहेका थियौं । त्यो भएपछि एयरलाइन्स कम्पनीहरूले त्यो सम्झौता गर्न मानेका थिएनन् । अब वाइडबडी जहाजले उडान थालेपछि धेरै एयरलाइन्स कम्पनीसँग निगमले ‘कोड सेयर’ सम्झौता गर्नेछ ।

निजी एयरलाइन्स कम्पनी हिमालय पनि आक्रामक बजार विस्तारमा लागेको छ । निगमसँग त अब प्रतिस्पर्धा थपियो नि ? 
निगमले अहिले पनि २६ वटा एयरलाइन्ससँग प्रतिस्पर्धा गरिरहेको छ । हिमालय थपिएर २७ वटा भएको हो । खास चुनौती छैन । खाली कुरा के मात्रै हो भने स्वच्छ प्रतिस्पर्धा गर्न खास समस्या हँुदैन । प्रतिस्पर्धी बजार हुनु त यात्रुका लागि फाइदाको विषय हो । 

निगमले वाइडबडी जहाजको प्रक्रिया टुंगेपछि अर्को जहाज खरिद प्रक्रिया अगाडि बढ्छ ? 
मैले कर्पोेरेट विभागलाई भनिसकेको छु । दुई न्यारोबडी जहाज खरिदका लागि योजना बनाउनका लागि वाइडबडीको प्रक्रिया टुंगेपछि पुनः दुई थान जहाज खरिद प्रक्रिया अगाडि बढाउनेछौं ।

अब खरिद गर्दा मोडालिटी पनि परिवर्तन भइसक्छ । नयाँ खरिद ऐनअनुसार सिधै निर्माता कम्पनीसँग जहाज किन्न सक्नेछौं । त्यसपछि जहाज खरिदमा सजिलो हुन्छ । 

एकैचोटी जहाज खरिद गर्दा निगमको वित्तीय व्यवस्थापनमा समस्या आउँदैन ?
खाली पैसाको समस्या हो । संसारमा धेरै कम एयरलाइन्सले एकैचोटी पैसा दिएर जहाज खरिद गर्ने गरेका छन् । अब हामी पनि मोडालिटी परिवर्तन गरेर लिजमा पनि जहाज ल्याउने र १० वर्ष चलाएर पुनः जहाज फिर्ता गर्ने गरी अगाडि बढाउन सजिलो हुन्छ कि भन्ने विषयमा विज्ञहरूसँग छलफल चलाइरहेका छौं । 

संसारभर एभिएसन क्षेत्रको वृद्धिदर हेर्ने हो र नेपाल एयरलाइन्सले लिएको ऋणको ब्याज हेर्ने हो भने त तालमेल देखिँदैन । यस्तो असन्तुलनले झनै जोखिम बढाएन र ?
यसमा थोरै समस्या छ । यहाँका ठूला व्यापारीलाई ७–८ प्रतिशत ब्याजमा ऋण दिने तर सरकारी संस्थानलाई १२ प्रतिशत लिने नसुहाउने भयो भनेर मैले सञ्चय कोषका कार्यकारी प्रशासकलाई भेटेरै भनेपछि अहिले घटाएर ९ प्रतिशतमा झार्नुभएको छ ।

एयरलाइन्सहरूले भनेको ४/५ प्रतिशतभन्दा बढी ब्याज तिर्न सक्दैनन् । अब जहाज खरिद प्रक्रियामा यो विषय समाधान गर्नु आवश्यक छ ।

यसपटक पनि ९ प्रतिशत ब्याजदरमा ऋण लिन हामी बाध्य छौं । यसबाहेक यहाँ अर्को नमिल्दो कुरा पनि छ कि ३६ करोड पुँजी भएको यो कम्पनीले १० अर्ब ऋण लिएको देख्दा प्लस टु पढ्ने विद्यार्थी पनि अचम्मित हुन्छन् । यसको एउटै उपाय यसमा लगानीकर्ता नेपाल सरकारले पुँजी थप्नुप¥यो ।

मैले अर्थमन्त्रीसँग पनि यो कुरा गरिसकेको छु । सरकारले १० अर्ब पुँजी थप्यो भने हामी त्यो पैसा सञ्चय कोषलाई तिर्नेछौं । यसपछि ब्याज तिर्नै पर्दैन, हामी सरकारलाई लाभांश दिनेछौं ।

राष्ट्रिय ध्वजावाहकलाई सरकारले अरू संस्थानभन्दा फरक व्यवहार गर्नैपर्छ । एयर इन्डियालाई हालै भारतले सहयोग गरेको छ, तर हामी सहयोग होइन लगानी गर्न भनिरहेका छौं । यसले एक जना पर्यटक मात्रै बढी ल्याइदियो भने नौ जनाले रोजगारी पाउँछन् । 

अन्तर्राष्ट्रिय उडानको सुधार गर्दैगर्दा आन्तरिकतर्फ त समस्यै समस्या छन् । कसरी सुधार गर्दै हुनुहुन्छ ? 
निगमले आन्तरिकतर्फ ४५ वर्षपछि चिनियाँ जहाज ल्याएको थियो । व्यवस्थापन सुधारका काम भइरहेका छन् । केही समयअघि मात्र थप दुई जहाज आएका छन् । बाँकी दुई जहाज पनि अब छिट्टै ल्याउँदै छौं । चिनियाँ जहाजमा खाली समस्या पाइलट र स्पेयर्स पाट्र्समा हो ।

पछिल्लो समय चिनियाँ जहाज निर्माता कम्पनीसँग भएको सम्झौताअनुसार अब स्पेयर्स पार्ट्सका लागि नेपालमै गोदाम राखिने भएको छ । अर्को कुृरा पाइलट तथा इन्जिनियरहरूलाई नेपालमै आएर तालिम दिएर पाइलट उत्पादन गर्ने भन्ने छ । त्यसपछि ६ वटा चिनियाँ जहाजले राम्रोसँग उडान भर्ने छन् । त्यसले आन्तरिकतर्फका यात्रुलाई सेवा दिने छौं । 

दुर्गममा सेवा दिने दायित्व पूरा गर्न त तपाईंहरूसँग पर्याप्त जहाज नै छैनन् । तपाईंहरू नाफामुखी क्षेत्र मात्रै खोज्दै हिँड्नुहुन्छ भने कसरी यो जनताको कम्पनी हुन सक्छ ?
मलाई १ जना विदेशी मित्रले भनेका थिए– नेपाल जस्तो सानो मुलुकमा ५२ वटा विमानस्थल हुनु भनेको ठूलो सम्पत्ति हो । विडम्बना– हामी २२ गन्तव्यमा सीमित छौं । चिनियाँ जहाज आउनुअघि ४५ वर्षसम्म हामीले जहाज किनेनौं । निजी क्षेत्र जान हिच्किचाउने क्षेत्रमा पब्लिक सेक्टर जानुपर्छ । नाफाघाटा हेरेर मात्र हुँदैन ।

दूरसञ्चारमा सहरी उपभोक्ताबाट पैसा कमाएर गाउँमा जाँदा घाटा नै भए पनि गाउँमा जाने भन्ने योजना त सफल भयो नि । यहाँ पनि युरोपबाट पैसा कमाएर २ जना यात्रु भए पनि दुर्गममा उडाउने हाम्रो लक्ष्य छ । सबै एयरपोर्टमा नियमित जहाज चल्ने हो भने देश साँच्चै विकास हुनेछ । कम्तिमा ६ वटा जहाज किनेर ५२ एयरपोर्टमा नियमित उडान गर्नुपर्छ ।

धेरै ठाउँमा एयरपोर्टमा ओर्लेर २ घण्टामात्रै घुम्ने हो भने एकदमै सुन्दर ठाउँमा पुग्न सकिन्छ । चिनियाँ जहाजको वाई १२ ई जहाजले दुर्गममा नै उडान गर्ने योजना छ । 

निगमले सवै व्यवस्थापन सुधारका लागि भन्दै रणनीतिक साझेदार भिœयाउने प्रक्रिया अगाडि बढाएको छ । कुन मोडालिटीमा भिœयाउन खोजिएको हो ?  
निगम सञ्चालक समितिले निर्णय गरेर अहिले त्यसको सवै जिम्मा पर्यटन मन्त्रालयलाई दिएका छौं । मन्त्रालयले मागे अनुसारको प्रस्ताव लुफ्थान्साको मात्र परेको छ ।

मन्त्रालयले यो विषयमा अध्ययन गरिहरेको छ । यो विषयमा मोडालिटी टुंगिएको छैन । तर पनि रणनीतिक साझेदार भनेको शेयर होल्डर होइन । साझेदारले काम गरेपछि नाफाको केही प्रतिशत लैजाने गरी राख्ने हो ।

सान्जोसेले माग्यो ३ अर्ब क्षतिपूर्ति



काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको काममा ढिलासुस्ती गरेको भन्दै ठेक्का तोडिएको स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेले नागरिक उड्डयन प्राधिकरणसँग २ अर्ब ९१ करोड ८२ लाख ४१ हजार रुपैयाँ क्षतिपूर्ति मागेको छ ।

विमानस्थल सुधारको कामले अपेक्षित गति लिन नसकेपछि गत मंसिरमा प्राधिकरणले सान्जोसेसँगको ठेक्का सम्झौता भंग गरेको थियो । नेपाल मध्यस्थता परिषद्ले समेत सान्जोसेकै पक्षमा फैसला गरेपछि उसले क्षतिपूर्तिको माग गरेको हो । पूर्वसहमति विपरित सान्जोसेलाई ठेक्काबाट निकालिएको पाइएको भन्दै मध्यस्तता परिषद्ले कम्पनीको पक्षमा फैसला गरेको छ ।

सान्जोसेले सोही फैसलालाई आधार मान्दै प्राधिकरणमा १५ करोड १८ लाख ८९ हजार रुपैयाँ ब्याजसहित कुल २ अर्ब ९१ करोड ८२ लाख ४१ हजार रुपैयाँ क्षतिपूर्ति माग गरेको हो । प्राधिकरणले  ठेक्का तोडेपछि  सान्जोसेले अन्यायमा परेको भन्दै परिषद्मा उजुरी दिएको थियो ।

 प्राधिकरण, एसियाली बिकास बैंकको परामर्शदाता कम्पनी ज्याक तथा सान्जोसेबीच सन् २०१६ मार्च १० मा ४ सय ५७ दिनसम्म म्याद थप्ने सहमति भएको तर समय पूरा नहुँदै ठेक्का तोडेको आरोप लागाउँदै सान्जोसेले उजुरी दिएको थियो । सो सहमतिअनुसार समय नसकिएको तर बीचमै प्राधिकरणले ठेक्का तोडेको आरोप सान्जोसेले लगाएको छ । 

ठेक्का तोडिएपछि प्राधिकरणले दिएको अग्रिम भुक्तानी १ अर्ब ६० करोड रुपैयाँ सान्जोसेले रोक्का गरेको थियो । प्राधिकरणले उच्च अदालत पाटनमा उक्त रकम फुकुवा हुनुपर्ने मुद्दा दायर  गरेको थियो । उच्च अदालतले उक्त रकम प्राधिकरणलाई फुकुवा गर्न अन्तरिम आदेश दिएको थियो । तर अन्तिम फैसला भने अझै आएको छैन ।  

सान्जोसेले कति क्षतिपूर्ति माग दावी गरेको भन्ने आफूलाई एकीन जानकारी आइनसकेको प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए । “मध्यस्थता परिषद्को फैसलाको विषयमा प्राधिकरणले पुनः अपिल गरेर अगाडि बढ्नेछ,” श्रेष्ठले भने ।

सान्जोसेले समयमा काम नगरेपछि प्राधिकरणले बाध्य भएर ठेक्का तोडेकाले क्षतिपूर्तिको विषयमा ऐन, नियमले नै बोल्ने श्रेष्ठले बताए । सान्जोसेले तीन वर्षको अवधिमा १६ प्रतिशत काम गरेवापत करिब ९६ करोड रुपैयाँ भने भुक्तानी लगेको प्राधिकरणको भनाइ छ । 

६ करोड १० लाख अमेरिकी डलर (त्यसबेलाको सटही दरअनुुसार करिब ६ अर्ब रुपैयाँ) बराबरको काम गर्ने गरी ठेक्का पाएको सान्जोसेले योजना सक्न दिएको तीन वर्षको समयमा निकै थोरै मात्र उपलब्धि हासिल गरेको प्राधिकरणको आरोप छ ।

एसियाली विकास बैंक (एडीबी)को ८ करोड अमेरिकी डलरको ऋण सहयोगमा विमानस्थलको क्षमता विमानस्थलको काम सुरु भएको थियो । एडीबीले विमानस्थलको विस्तारका लागि ७ करोड डलर ऋण र एक करोड डलर अनुदान दिएको थियो । 

सन् २०१३ को मंसिर १७ देखि काम सुरु गरेको स्पेनिस कम्पनीले प्राधिकरणसँग गरेको सम्झौताअनुसार सन् २०१६ को मार्चभित्र काम सक्नुपर्ने भए पनि तीन वर्षमा जम्मा १६ प्रतिशत काम सम्पन्न गरेको भन्दै प्राधिकरणले मंसिरमा ठेक्का सम्झौता तोडेको थियो  ।

हाल अर्को टेन्डर गर्दै कम्पनी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । जसमा ९ कम्पनीलाई प्रारम्भिक छनोट गरेको छ । सान्जोसेलाई तीन सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ एप्रोन निर्माण, अन्तर्राष्ट्रिय उडानका यात्रुको सामान ल्याउने बेल्ट (कन्भेयर बेल्ट) निर्माणको जिम्मा पाएको भएपनि निर्धारित कामको गति निकै सुस्त रहेको गरेको थियो । 

सन् २०२८ सम्मको गुरुयोजनाअनुसार त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि २९ लाख र अन्तर्राष्ट्रियतर्फ ६३ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता विस्तार गर्ने योजना छ । योजनामा अत्याधुनिक टर्मिनल भवन, ट्याक्सी वे, ट्याक्सी पार्किङ लगायत रहेका छन ।  

एसियाली विकास बैंक (एडीबी)को १० करोड अमेरिकी डलर (१० अर्ब रुपैयाँ)को विमानस्थल सुधार गुरुयोजनाअनुसार धावनमार्ग तथा पार्किङ विस्तारको काम थालिएको थियो । गुरुयोजना अनुसार ६० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।    

विवाद पशुपतिको माटोमा 
सान्जोसेले पशुपति क्षेत्रकै माटो चाहिनुपर्ने सर्त राखेसँगै प्राधिरकरण र ठेकदारबीच विवाद चुलिएको थियो ।  सान्जोसेले नेपाली कम्पनी तुन्दी कन्स्ट्रक्सनलाई सहायक कम्पनी नियुक्त गरेर विमानस्थल विस्तारको काम गरेको थियो ।

विमानस्थल विस्तारका लागि पशुपति विकास कोषको जग्गाबाट माटो ल्याउने सुरु गरेपछि अख्तियारको छानविनले विशेष अदातलमा मुद्दा दायर गरेको थियो । अख्तियारको छानविनपछि  कम्पनीले बच्चुराम एन्ड कम्पनीलाई माटो आपूर्ति गर्ने ठेक्का दिएको थियो ।   
  

Monday, June 26, 2017

निगमको ग्वान्झाउ उडान अलपत्र


नेपाल वायुसेवा निगमले चीनको ग्वान्झाउ उडान गर्न अनुमति लिने प्रक्रिया सुरु गरेको दुई वर्षसम्म पनि स्वीकृति पाएको छैन । चीनले स्वीकृत नदिएपछि नयाँ गन्तव्य थप्ने निगमको योजना अलपत्र परेको छ ।

चीनबाट नेपाल आउने पर्यटक संख्या बढ्दै गएको अवस्थामा निगमले उडान सुरुगरेमा वार्षिक २ लाख चिनियाँ पर्यटक नेपाल ल्याउनसक्ने सरकारी अनुमान छ ।  
नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई एयरलाइन्स अपरेटिङ सर्टिफिकेट (एओसी) एकवर्ष अगाडि नै जारी गरिसकेको छ । चीनको झन्झटिलो प्रक्रियाका साथै ग्वान्झाउको ब्यस्त विमानस्थलका कारण निगमलाई अनुमति लिन हम्मे परेको हो । 
निगमले दुबई र ग्वान्झाउ उडान एकैपटक सुरु गर्नेगरी प्रक्रिया अगाडि बढाएको थियो । तर दुबई उडान सुरु गरेको १० महिना बितिसक्दा पनि  ग्वान्झाउको भने उडान भर्ने अनुमतिसमेत आउन नसक्दा निगमको टाउको दुखाई भएको छ  । निगमको योजनाअनुसार गत वर्षको जेठबाटै ग्वान्झाउ उडान गर्ने लक्ष्य थियो ।    
चीनको हवाई उड्डयनसम्बन्धी आफ्नै प्रक्रिया रहेकोले पनि ग्वन्झाउ अनुमतिको लागि निगमलाई समस्या भएको छ । चीनले आफ्नो देशमा उडान गर्न चाहने एयरलाइन्सहरुको लागि फरम्याट २८७ नियम र फरम्याट १२९ नियम पुरा गराउँदै आएको छ । निगमले दुई  वर्षदेखि थालेको प्रक्रियामा फरम्याट २८७ हुदैं फरम्याट १२९ मा गतवर्षनै पुगेको निगमले बताउँदै आएको थियो । 
“चीनको झन्झटिलो प्रक्रियाका कारणले निगमले अनुमति पाउन सकेको छैन,” नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने । निगमले अनुमति पाएमा ग्वान्जाउमा दैनिक एउटा उडान गर्ने लक्ष्य राखेर जिएसए समेत नियुक्त गरिसकेको छ ।
चिनियाँ पक्षले मागेका सवै कागजपत्र निगमले पठाएको तर अनुमति पाउन नसकेको कंसाकारले बताए । “ग्वान्झाउ विमानस्थल एकदमै व्यस्त भएकोले अनुमति दिन ढिला भएको चिनियाँ पक्षले बताउने गरेका छन्, सायद अव छिट्टै अनुमति पाउने आशा छ,” कंसाकारले भने ।
बढ्दै छन चिनियाँ पर्यटक 
वर्ष    चिनियाँ    जम्मा

२०१०    ४६,७६०    ६,०२,८६७
२०११    ६१,९१७    ७,३६,२१५
२०१२    ७१,८६१    ८,०३,०९७
२०१३    १,१३,१७३    ७,९७,६१६
२०१४    १,२३,८०५    ७,९०,११८
२०१५    ७४,७७७    ५,३८,९७०
२०१६    १,०३,९८५    ७,५३,००२ 

  निगमलाई दक्षिण कोरियाले उडान अनुमति दिइसकेको छ । जापानसँग पनि प्र्रक्रिया अगाडि बढाइएको कंसाकारले जानकारी दिए । अन्य मुलुकसँगजस्तो सजिलो चीनसँग नहुने कंसाकारको भनाइ छ । 
निगमले नयाँ एयरबस ३२०–२०० जहाज खरिद गरेर उडान सुरुगरेसंगै ग्वान्जाउ उडान अनुमति लिने प्रक्रिया अगाडी बढाएको थियो । हाल निगमले दुई ठुला वाईडबडी जहाज खरिद प्रक्रिया अन्तिमचरणमा पु¥याईसकेको छ ।
अवको एकवर्ष भित्र निगमसंग एयरबस ३३०–२०० सिरिजका दुई थान जहाज हुनेछन ।  निगमले ४ जहाज मार्फत दिल्ली, बैंग्लोर, मुम्बई, दोहा, दुवही, मलेसिया, बैंकक र हंङकंङ उडान गरिरहेको छ । निगमसंग हाल अन्तर्राष्ट्रिय उडानको लागि बोईङ ७५७ एक थान र एयरबस ३२०–२०० दुई थान गरी ३ थान जहाज रहेका छन ।
भने भुटान एयरलाइन्सको एकथान जहाज भाडामा ल्याउने प्रक्रिया समेत अन्तिम चरणमा पु-याएको छ ।   पछिल्लो समय चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउने संख्यामा उल्लेख्य बृद्धि हुदैं गएकोले पर्यटन व्यवसायी तथा नेपालबाट पनि ठुलो संख्यामा व्यापारिक उद्देश्यले नेपालीहरु चीन जाने गरेका छन ।
सन् २०१६ मा १ लाख ३ हजार ९ सय ८५ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक रहेको छ । निगमसंग जहाज संख्याथप हुने वित्तिकै सिधा बेईजिङ उडान भर्ने लक्ष्य राखिएको कंसाकारले जानकारी दिए ।