आर्थिक क्षेत्रका विशेष गतिविधी

Monday, June 26, 2017

निगमका पाइलटले मासिक ६ लाखसम्म पाउने



काठमाडौं : नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ । निजी क्षेत्रका एयरलाइन्सहरूले आकर्षक तलब भत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब थियो ।
निजी क्षेत्रका एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसकेपछि निगमबाट पाइलटहरू बाहिरिने क्रम बढेको थियो । निगमले लामो समयदेखि पाइलटको तलब बढाउने प्रक्रिया अगाडि बढा पनि अर्थ मन्त्रालयले स्वीकृति नदिँदा कार्यान्वयनमा आउन सकेको थिएन । 
अर्थले गत बिहीबार पाइलटको तलबभत्ता बढाउन सहमति दिएसँगै अब निगमका जहाज उडाउने क्याप्टेनहरूको तलब ६ लाख ८ हजार रुपैयाँ पुग्नेछ । “अर्थ मन्त्रालयले सहमति दिएपछि पाइलटहरूको करबाहेक बैंक खातामा ४ लाख ५० हजार रुपैयाँ जानेछ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले भने ।
निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आकर्षक तलब सुविधा दिएपछि निगममा पाइलट टिकाउन हम्मे परेको लामिछानेले बताए । अब तलबभत्ता बढेसँगै निगमलाई केही सहज हुने मन्त्रालयको बुझाइ छ ।
स्वीकृत भएको प्रस्तावअनुसार वरिष्ट पाइलटको ६ लाख ८ हजार रुपैयाँ छ  भने जुनियर पाइलटको पनि करसहित ४ देखि ५ लाख रुपैयाँसम्म हुने छ । यसैगरी क्याबिन क्रुको पनि भत्ता बढ्ने भएको छ । 
निगमका पाइलटहरूले भत्ता तथा तलब गरी मासिक करिब १ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म बुझ्दै आएका थिए । तर निजी क्षेत्रका एयरलाइन्स कम्पनीहरूले ५ लाखसम्म दिने गरेका छन । यता निगमले विदेशी पाइलटको लागि भने मासिक ११ हजार डलर तिर्दै आएको छ ।
 अर्थमन्त्रालयले पछिल्लो समय भने  निर्वाचन आयोगसंग सहमती ल्याउनु पर्ने भन्दै पर्यटन मन्त्रालयमा उक्त प्रस्ताव फिर्ता गरेको थियो । सरकारले स्थानीय निर्वाचन घोषणा गरेलगत्तै निर्वाचन आयोग आचारसंहिता लागेको पाइलटको तलबभत्ता बढाउन मिल्ने वा नमिल्ने भन्ने विषयमा सहमतिमा ल्याउन अर्थले पर्यटन मन्त्रालयलाई पत्र काटेको थियो । निर्वाचन अयोगले पाइलटको तलबभत्ता बढाउन आचारसंहिताले नछेक्ने जवाफ दिएसँगै अर्थमन्त्रालयले सहमति दिएको हो । 
निगमले पाइलटको तलब तथा सुविधा नवढाएमा जनशक्ति अभाव हुने भन्दै तालुक निकाय पर्यटन मन्त्रालय गुहारेको थियो । फागुनको पहिलो साता पर्यटनले स्वीकृतिको लागि अर्थ मन्त्रालय पठाएको थियो । विगतमा पठाएको प्रस्तावमा केही बाझिएको भन्दै अर्थले पर्यटन मन्त्रालय फर्काइदिएको थियो । अर्थले उठाएका विषयमा सम्बोधन गरेर पुनः प्रस्ताव अर्थमै पठाईएको थियो । 
निगमले जहाज थप गर्न लागेकोले दक्ष जनशक्ती भिœयाउन पनि सुविधा बढाउनुको विकल्प नभएको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकार बताउँछन् ।   पाइलटले मासिक ५० देखि ६० घन्टा भन्दा बढी उडाउन नपाइने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ो मापदन्ड छ ।
निगमले नियमित उडानका लागि पाइलट पूर्ती गर्नुपर्ने बाध्य भएकोले यतिवेला निगम भत्ता बढाएरै भए पनि थप पाइलट लिने पक्षमा रहेको छ ।    
तीन महिनाअगाडि काठमाडौं ल्याइएका दुईथान चिनियाँ जहाज उडान गर्न निगमसंग तीनजना मात्र पाइलट छन् । यता अन्तर्राष्ट्रिय उडान भरिरहेका तीन थान जहाजमा पनि पाइलट अभावकै समस्या  छ । 
निगमले प्रत्येक महिनाजसो पाइलटको लागि आवेदन माग्ने गरेको छ ।  “जबजब निगमले पाइलटको लागि पदपूर्तिको लागि माग हुन्छ, तबतब निजी क्षेत्रका वायुसेवा सञ्चालकहरूले पाइलट र इन्जिनियरहरूको तलब सुविधा बढाउने गरेका छन्,” कंसाकारले भने  ।
निगम दुई थान वाइड बडी जहाज खरिदका लागि अन्तिम चरणमा प्रवेश गरेको छ । अहिले निगमसँग ७४ जना पाइलटहरू रहेका छन । वाइड बडी आएपश्चात निगमलाई १०४ जना आवश्यकता पर्ने देखिन्छ ।  

Friday, March 31, 2017

जहाज खरिद सम्झौता दुई सातापछि

एएआर कर्पोरेसन टोली नेपाल आउँदै 

काठमाडौंः नेपाल वायुसेवा निगमले वाइड बडी जहाज खरिदका लागि अन्तिम सम्झौता चैतको अन्तिम साता गर्ने भएको छ ।

निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनसँग एयरबस ३३०–२०० सिरिजको दुई थान वाईड बडी जहाज खरिद सम्झौता चैत अन्तिम साता हुने भएको हो । कर्पोरेसनको टोली चैत २४ गते नेपाल आउँदै छ । 
निगमले जहाज खरिदको लागि बैना रकम १० करोड ७० लाख रुपैयाँ माघ दोस्रो साता नै पठाइसकेको छ । “कर्पोरेसनको टोली खरिद सम्झौताको लागि नेपाल आउँदैछ, सोही समयमा खरिद सम्झौता हुनेछ,” निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने ।  
निगमले हिमालयन बैंकबाट पोर्चुगलको ‘हाइफ्लाई एयरलाइन्स’लाई बैना रकम पठाइसकेको छ । अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेसनले हाइफ्लाई एयरलाइन्सको लागि दुई वर्ष अगाडि नै एयरबस कम्पनीमा अर्डर गरेको थियो ।
 “कम्पनीले टेन्डर हाल्दा सबैभन्दा बढी सस्तोमा हालेकोले अव मूल्यमा नेगोसिएसन हँुदैन,” कंसाकारले भने । अहिले आएको टोलीसँग खरिद सम्झौता मात्र हुने र पाइलट इन्जिनियर लगायत विषयमा पछिल्ला वार्ताहरूमा छलफल हुने कंसाकारले जानकारी दिए । 
निगमलाई २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्ब ६३ करोड रुपैयाँमा दुईवटा जहाज दिने प्रस्ताव कर्पोरेसनले पेश गरेको थियो । पहिलो जहाज २०७४ असोजभित्रै र दोस्रो जहाज २०७४ को चैतभित्रै ल्याइसक्ने योजना निगमकोे छ ।
 निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाइरहेको छ । जसमा निगमले उडान गन्तव्यहरू तय गर्नको लागि कार्यसमेत सुरु गरिसकेको छ ।    
जमानी बस्ने निर्णय भएन
निगम जहाज खरिद सम्झौताको तयारी गरिरहेका बेला संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने सरकार जमानी बस्ने निर्णयको फाइल अझै मन्त्रिपरिषद् लगेको छैन ।
तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको कार्यकालमै तयारी भइसकेको फाइल वर्तमान मन्त्री दिलनाथ गिरीले अझै लगेका छैनन् । खरिद गर्ने तयारीमा रहेको वाइड बडी जहाज खरिदको लागि आवश्यक ऋणको जोहो गर्न मन्त्रिपरिषद्बाटै जमानी बस्ने निर्णय हुनुपर्ने संचयकोषले अडान राखेको थियो ।
यसअघि अर्थ मन्त्रालयले सरकार जमानी बस्ने निर्णय गरे पनि संचयकोषले मन्त्रिपरिषद्को निर्णय माग गरेको छ । जहाजको लागि आवश्यक २५ अर्ब रुपैयाँ ऋण संचयकोष एक्लैले दिने भएपछि मन्त्रिपरिषद्बाटै निर्णय गरेपश्चात ऋण सम्झौता हुनेछ ।
 

५० वर्षपछि धावनमार्गको कालोपत्रे फेरिँदै



काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा ५० वर्ष पुरानो कालोपत्रे विस्थापनको प्रक्रिया अघि बढेको छ । नयाँ धावनमार्ग निर्माणका लागि आह्वान भएको ग्लोबल टेन्डरबाट ५ कम्पनी प्राविधिक छनोटमा परेका छन् ।
छनोटमा परेका पाँचमध्ये चार चिनियाँ कम्पनी छन् । नयाँ कालोपत्रे गरिएपछि विमानस्थललाई २४ सै घन्टा संचालन गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ ।   
पुरानो कालोपत्रेका कारण विगतका वर्षहरूमा पटकपटक धावनमार्ग भत्किँदा समस्या हँुदै आएको थियो ।  अब नयाँ कालोपत्रे राखेपछि समस्या हट्ने विमानस्थल कार्यालयले जनाएको छ ।
गएको पुसबाटै निर्माण सुरु गर्ने लक्ष्य राखिएको भए पनि कम्पनी छनोट चरणमै केही ढिला हँुदा समस्या उत्पन्न भएको विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायले जानकारी दिए । धावनमार्ग निर्माण कार्य दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जसका लागि झन्डै २ अर्ब ८० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।   
प्रारम्भिक छनोट चरणमा चाईना यरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन, चाइना हरबर इन्जिनियरिङ, बेइजिङ च्याङ्दो म्युनिसिपल इन्जिनियरिङ ग्रुप तथा चाइना जेभी अफ रेलवे नम्बर ५ इन्जिनियरिङ ग्रुप रहेका छन् । नेपालकै स्वच्छन्द निर्माण सेवा कम्पनी पनि प्राविधिक मुल्यांकनमा उत्तीर्ण भएको छ ।
“यी कम्पनीहरूमध्ये अब जुन कम्पनीले सस्तो रकममा बनाउन टेन्डर दिन्छन्, सोही कम्पनीले जिम्मा पाउने हो,” उपाध्यायाले भने । विमानस्थलले गत असोजमा टेन्डर प्रकाशित गरेको थियो । जसमा दर्जनभन्दा बढीले टेन्डर हालेका थिए ।  
मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुरानो र कमसल खालको हुँदा ठूला जहाजको उडान तथा अवतरणमा नै समस्या हँुदै आएको छ । नयाँ धावनमार्ग वैशाखको दोस्रो साताबाट निर्माण सुरु गरेर दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यो धावनमार्ग ३ हजार ५० मिटर लामो रहेको छ । जसको ट्याक्सीमार्ग र धावनमार्ग दुवैमा नयाँ कालोपत्रे गरिने महाप्रवन्धक उपाध्यायले बताए । नागरिक उड्डयन प्राधिकरणले सन् २०१४ देखि विमानस्थल सुधार कोष बनाउँदै प्रत्येक हवाई यात्रुमार्फत १ हजार रुपैयाँ शुल्क संकलन गर्दै आएको छ । सोही कोषको रकम खर्च गरेर विमानस्थल कार्यलयले धावनमार्ग बनाउन लागेको हो । 
कोषको रकम विमानस्थल सुधारका लागि मात्र खर्च गर्ने प्राधिकरणको लक्ष्य रहेको छ । विमानस्थल कार्यालयले रात्रिकालीन समयमा मात्र कालोपत्रे गर्ने योजना बनाएको छ ।
“कुनै पनि उडान तथा अवतरणमा समस्या नपार्ने गरी काम अगाडि बढाउँदै छौं,” उपाध्यायले भने । विमानस्थल हाल १८ घन्टामात्र सञ्चालन हँुदै आएको छ ।
रातको १२ बजेदेखि विहान ६ बजेसम्ममा मात्र काम गराउने योजना रहेको उनले बताए । हाल विमानस्थलले वार्षिक ३५ लाखभन्दा बढी हवाई यात्रुलाई सेवा दिँदै आएको छ भने २७ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले दैनिक रुपमा ६५ उडान तथा अवतरण गर्दै आएका छन् ।
प्राधिकरणले विगत लामो सयमदेखि धावनमार्गको कालोपत्रे फेर्ने योजना बनाए पनि काम काम भने अगाडि बढ्न सकेको थिएन । कालोपत्रे निर्माणपश्चात आगामी २० वर्षसम्मका लागि ठूला वाईड बडी जहाज उडान तथा अवतरण गराउन कुनै समस्या नहुने महाप्रवन्धक उपाध्ययले बताए ।
कालोपत्रे परिवर्तनको तयारी भइरहेका बेला अन्य सुधार कार्यको सुस्तताले हवाई यात्रुले अझै कम्तीमा आधा दशकसम्म सास्ती बेहोर्नुपर्ने देखिएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि नबढ्दा बढ्दो यात्रु चाप कम्तीमा आधा दशक अझै यही विमानस्थलले धान्नुपर्ने अवस्था छ ।
यसकारण पनि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारलाई उच्च प्राथमिकतामा राखेको थियो । तर, विमानस्थल निर्माणको ४ दशकपछि सुरु भएको स्तरोन्नतिले समेत गति लिन सकेको छैन ।
त्रिभुवन विमानस्थल सुधार आयोजनाले विमानस्थल सुधारको जिम्मा पाएको स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्होसेसँग गत मंसिरमा ठेक्का रद्द गरिएको छ भने दुई साता अगाडि प्राधिकरणले पुनः टेन्डर आह्वान समेत गरिसकेको छ । 
योजनाअनुसार विमानस्थलको उत्तर र दक्षिण दुवैतर्फ धावनमार्ग विस्तार गर्न लागिएको छ । दक्षिणतर्फ कोटेश्वर र उत्तरतर्फ गुह्येश्वरी फाँटतर्फ धावनमार्ग विस्तारको काम अहिले पनि भइरहेको छ ।
दुवै भागमा ३/३ सय मिटर विस्तार गर्ने लक्ष्य छ । विस्तारपछि धावनमार्गको लम्बाइ ३ हजार ६ सय ५० मिटर हुनेछ । हालको लम्बाई भने ३ हजार ५० मिटर र चौडाई ६० मिटर रहेको छ ।
एसियाली विकास बैंक (एडीबी)को १० करोड अमेरिकी डलर (करिब १० अर्ब रुपैयाँ)को सहयोगमा विमानस्थल सुधार गुरुयोजनाअनुसार धावनमार्ग तथा पार्किङ विस्तारको काम थालिएको हो । गुरुयोजना अनुसार ६० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ

Saturday, March 4, 2017

अटो लोनमा गरिएको कडाइले अर्थतन्त्रमै समस्या आउँछ


युवा उद्यमी अञ्जन श्रेष्ठ नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष हुन् । पोखराबाट उदाएको लक्ष्मी समूहका कार्यकारी निर्देशक श्रेष्ठ मुलुकको चेम्बर आन्दोलनमा पनि उत्तिकै सक्रिय छन् ।

उत्पादनमूलक, कृषि, ट्रेडिङलगायतका भिन्न व्यवसायमा संलग्न लक्ष्मी समूह पर्यटन तथा सेवामूलक व्यवसायमा पनि प्रवेश गर्दैछ । आफ्नो व्यवसायसँगै समग्र आर्थिक तथा व्यावसायिक क्षेत्रको विषयमा आवाज उठाउने श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारणसभामा नेतृत्वको दाबी गरिरहेका छन् ।
गत साता राष्ट्र बैंकको मध्यावधी समीक्षामा अटोक्षेत्रको लोनमा कडाइ गर्ने घोषणापछि श्रेष्ठकै नेतृत्वमा व्यवसायीहरू यतिबेला निर्णय सच्याउने लबिङमा छन् । विभिन्न नाकामा गाडीहरू थुप्रिएर बसेको भन्दै व्यवसायीहरू कहिले राष्ट्र बैंक त कहिले अर्थमन्त्रालयको ढोका ढकढकाउन पुगेका छन् ।
नेपालमा सवारीको परिभाषा नै गलत गरेको बताउने नाडा अध्यक्ष अन्जन अहिलेको अवस्थाले नेपालको अर्थतन्त्र नै खुम्चने दाबी गर्छन् । हाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य तथा राजस्व समितिका सहसभापतिसमेत रहेका श्रेष्ठसँग अटो लोनमा गरिएको कडाइ, मुलुकको औद्योगिक तथा व्यावसायिक अवस्था एवं उद्योग वाणिज्य महासंघको आसन्न साधारणसभालगायतका विषयमा कारोबारकर्मी केदार दाहालले गरेको कुराकानी :
तरलता अभाव भन्दै अटो लोनमा सम्भवतः पहिलो पटक यति धेरै कडाइ गरिएको छ । यस विषयमा नाडाको आधिकारिक धारणा के हो ?
नाडाको आधिकारिक धारणा यसअघि नै पनि सार्वजनिक गरिसकेका छौं । अहिले पनि सवारीलाई अनुत्पादक र विलासी वस्तु भनिँदै आएको छ । म जिम्मेवार निकायलाई प्रश्न सोध्न चाहन्छु, अटोक्षेत्र कसरी अनुत्पादक क्षेत्र हो ? यसले अर्को एक उत्पादनले अर्को उत्पादनलाई जोड्ने काम गर्छ ।
उत्पादनलाई एउटा साइकलमा ल्याउने काम अटोक्षेत्रले गर्छ । अटोक्षेत्र नभई कसरी उत्पादन उद्योग सञ्चालन हुन्छन् ? यसले त मोबिलिटी दिएको छ । उत्पादन भएर मात्रै हुन्छ । त्यसको चेन नै अटोमा गएर ठोकिन्छ ।
अर्को कुरा, अटोक्षेत्रलाई त विकासको संवाहक भन्ने गरिन्छ । उत्पादनको पनि सम्भावना छ । यसले व्यक्ति, समाज, अर्थतन्त्र र देशलाई चलायमान बनाउँछ भने कसरी अटोक्षेत्र अनुत्पादन भयो ?
राष्ट्र बैंकले अहिले अनुत्पादक क्षेत्रमा लगानी बढ्यो भन्दै अटो लोनमा क्याप सिस्टम लगाइ दिएको छ । जुन खारेज हुनुपर्छ । यो गलत छ । अब अर्को पक्षतर्फ एउटा व्यक्तिले कार्यक्षमता दक्षता हासिल गर्न प्रयोग गरिने सवारी साधन हो ।
मानिसले सवारी साधन किन चहियो भने कार्य क्षमता र दक्षता वृद्धि गर्न प्रयोग गर्ने हो । यसले व्यक्तिगत आर्थिक वृद्धि हासिल गर्न सहयोग गरेको छ भने यो कसरी अनुत्पादक हुन्छ । अब अटोक्षेत्रले अर्थतन्त्रको वृद्धिमा पु-याएको टेवाको यहाँ चर्चा गरिरहन आवश्यकजस्तो लाग्दैन ।
यसको असर कस्तो परेको छ ?
असर त व्यापक सुरु भइसकेको छ । अहिले गाडीका शोरुमहरू खाली भइसकेका छन् । नाकामा हजारौं सवारी साधन लाइन लागेर बसेका छन् । अब यसको व्यापारमा ७५ प्रतिशत गिरावट आउँछ, जसले देशको ढुकुटीमा जम्मा हुने रकममा प्रभाव पार्ने राजस्व घट्नेछ ।
त्यो अब सुरु हुन्छ । यहाँ बुझ्नुपर्ने कुरा के छ भने सवारी भनेको भविष्यमा योजना बनाएर लिने हो । ७०/८० प्रतिशत लोनमा हो । तर, यहाँ केही दिनअगाडि राष्ट्र बैंकले गरेको मध्यवधि समीक्षामा १ सय २७ अर्ब लगानीयोग्य रकम रहेको घोषणा गरिएको थियो ।
खै आज अन्य उद्योगले लगानीका लागि ऋण पाएको ? हामीले अटो मोबाइलमा मात्र लगानी गरेका होइनौं, अन्य उद्योग र क्षेत्रमा समेत ऋण प्रवाह रोकिएको छ । रोग एउटा तर उपचार अर्को गर्ने प्रयास भएको छ, यसले समस्या समाधान हुँदैन । 
बैंकहरूको अटो कर्जामा जोखिम छ कि छैन ?
बैंकहरूको सबैभन्दा सुरक्षित लगानी भनेकै अटो लोनमा हो । अर्को शून्य रिक्स भएको क्षेत्र भनेकै अटो लोन हो । बैंकहरू उत्साहित हुनुको कारण पनि हो ।
योचाहिँ आम्दानी भएकाले मात्र भविष्यको प्लान गरेर सवारी खरिद गर्ने हो । अहिले यसमा ५० प्रतिशतको क्याप लगाउन मिल्दैन, यसले समग्र अर्थतन्त्रमा समस्या सिर्जना हुन्छ ।
अहिले विश्वको ध्यान इलेक्ट्रिक तथा हाईब्रिड गाडीमा गएको छ । नेपालले सोच्ने बेला भएन ?
नेपालको इलेक्ट्रिक भेइकल भनेको भविष्य हो भनेर राज्यले बुझ्नुपर्छ । बल्ल अहिले लोडसेडिङ हट्ने प्रक्रियामा गएको छ । पहिले त बिजुलीको कुरा आउने गरेको छ । विश्वमा अहिले पनि मास प्रोडक्सन हुन सकेको छैन ।
त्यसैले उक्त गाडी महँगो भएको छ । अहिले हरेक कम्पनीले हाइब्रिड गाडी उत्पादन गरिरहेका छन् । विस्तारै विकास हुने चरणमा छ । नेपालमा पनि उत्पादनको प्रक्रियामा जाने सोचमा जानुपर्छ । वातावरणले विश्वको ध्यान केन्द्रित गरेकाले भोलिको भविष्य भनेकै इलेक्ट्रिक भेइकलको हो । 
तर पनि जति सवारी साधन भित्रिरहेका छन, यसले देशको भुक्तानी सन्तुलन रकम (बीओपी) लाई प्रभाव पारेको त छ नि ? 
त्यो त हो, तर भुक्तानी सन्तुलन रकम (बीओपी) लाई प्रभाव पा-यो भन्दा पनि खै त नेपालमा उत्पादन त हुँदैन । बीओपीको कुरा गर्ने हो भने हाम्रो देशमा उद्योग गर्ने वातावरण छ त ? प्रश्न त त्यहाँ निर हो नि ।
हाम्रो मुलुक उपभोग्य मुलुक बन्दै गएको छ । के निजी क्षेत्रका कारण उद्योगधन्दा नखुल्ने भएको र बन्द हुँदै गएका हुन् त ? अनि सरकारका जिम्मेवार मानिसले गत वर्ष चार महिना नाकाबन्दीमा व्यवसायीको औकात त नाकाबन्दीमा देखियो भनेर आरोप लगाएर हुन्छ ?
के परिस्थितिमा भएका उद्योगधन्दा बचिरहेका छन्, कसरी चलेका छन् भनेर कुनै निकायलाई चासो छ ? २०४८ सालको खुला अर्थतन्त्र घोषणापछिका दिनको प्रत्यक्षदर्शी भएको नाताले त्यतिबेलाका उद्योग जोगाउनुपर्छ भनेर तत्कालीन नीति–निर्माताले सोचेनन् ।
त्यसलाई मोडलका रूपमा जोगाएको भएर आज देशैभर उद्योगको विकास हुने थियो । त्यतिबेलाका नीति–निर्माताले अहिले भन्ने गरेका छन्— हामी डब्लूटीओमा प्रवेश गरेर विश्व बजारमा जाने बाटो खुल्यो भनेर पन्छिने काम गर्नुभएको छ ।
त्यो बेलाका निर्मातालाई हामीले प्रश्न गर्दा अब यहाँ विदेशी लगानी आउँछ, सस्तोमा उत्पादन हुन्छ भने तपाईंहरूलाई के टाउको दुखाइ भनेर प्रश्न गर्ने गरिन्थ्यो । भनेपछि यो मुलुकमा उद्योगका लागि परिकल्पना गरिएकै थिएन । हामी उद्योगीलाई संरक्षण गर्ने नीति किन लिइएन ? 
भारतकै कुरा गर्ने हो भने त्यहाँ बिस्तारै फुकुवा गरिएको थियो । अहिले अमेरिकाका राष्ट्रपति डोनाल्ट ट्रमले लिएको नीति हेर्नुस् । अन्य देशको उत्पादनलाई बढी कर लिने घोषणा गरेका छन्, जसले डब्लूटीओको परिकल्पना गरेको मुलुक हो ।
दोस्रो कुरा, खुला अर्थतन्त्रपछिको द्वन्द्वको कुरा गर्नुस् । यहाँ उद्योगधन्दा चलाउनेलाई ज्यानको बाजी मार्नुपर्ने अवस्था छ । उद्योगी कसरी बाँचे, कसरी धाने भन्ने कुरा कुनै निकायले बुझ्ने कोसिस नै भएन ।
अब अहिलेको कुरा गर्नुस्, राजनीतिक निकास खै ? लगानीकै वातावरण तयार नगरी कसरी बीओपीलाई प्रभाव पर्छ ? हाम्रो उद्योगले अर्थतन्त्रमा १५ प्रतिशत योगदान गरेको थियो । अहिले ६ प्रतिशतमा झरेको छ । अटोमा क्याप लगाउने भनेको चाहिँ अर्थतन्त्र खुम्च्याउने खेलभन्दा अरू होइन । 
त्यसो भए भोलिको भुक्तानी सन्तुलनको अवस्था सुधार गर्न आजैदेखि प्रयास सुरु गर्नुपर्ने हो ?
अवश्य पनि हो । सरकारी निकायले अहिले आएर उद्योगीको क्षमता जाँच्ने हो भने यो के कारणले भयो भन्नेतर्फ जानु पर्दैन र ? अर्को कुरा, आज विश्व एउटै घर भनिन्छ । खुला अर्थतन्त्र अंगीकार गरेको मुलुकको नीति खै ?
अब यो देश कुन प्रकारको क्षेत्रमा केन्द्रित हुने हो ? अहिले झन् संघीयताको कुरा आएको छ । यसमा कुन प्रदेशमा कुनलाई केन्द्रित गर्ने हो, नीति आवश्यक छैन र ? व्यवसायीले आफूले जानेर गरेको लगानीबाहेक राज्यले कुनै यो क्षेत्रमा लगानी गर्ने, अबको बाटो हाम्रो यो हो भनेर कुनै कुरा ल्याउन सकेको छैन । 
राज्यले लगानी सम्मेलनको कुरा गरिरहेका बेला तपाईं यस्तो कुरा गर्दै हुनुहुन्छ, के राज्यले कुनै क्षेत्र नै पहिचान गरेको छैन र ?
मैले त त्यहाँ यो कुरा उठाउने नै छु । जुनसुकै मुलुकमा राज्यले आफ्नो नीति लिएको हुन्छ । कुनमा केन्द्रित हुने भन्ने कुरा त दिनुपर्छ नि । सात प्रदेशमा परिकल्पना गर्न अवश्यक छ । प्रदेशले कुन क्षेत्रको विकासले अर्थतन्त्र छानिन आवश्यक छ ।
आज त केन्द्रीय लगानी सम्मेलन हो । यो त अब सातै प्रदेशमा हुने गर्छ । यति हुँदाहुँदै पनि २०४८ सालयता राज्यले लिएको खुला अर्थतन्त्रकै कारण आज मुलुकको अर्थतन्त्र फैलिएको हो । खालि उद्योगमा लिइनुपर्ने नीतिचाहिँ खराब भयो भन्ने हो मेरो आशय ।
उक्त समयमा त लाइसेन्स राज थियो । उद्योग गर्न पहुँचवाला व्यक्तिले मात्र उद्योग चलाउने अवस्था आएको हो । २०४८ सालपछि बैंकिङ, स्वास्थ्य, शिक्षा, हवाई क्षेत्रको विकास अत्यन्तै राम्रो छ ।
उद्योग खोल्न फेरि राज्य मात्रै होइन, यहाँ त समाज नै उद्योगमैत्री भएन । कतै उद्योग खोलिने कुरा आउनेबित्तिकै समाज जुरुक्क उचालिने परम्परा छ । उद्योगीलाई नाफा खाने वर्ग भनेर हेर्ने दृष्टिकोण छ । व्यवसाय भनेकै नाफा कमाउन गरिने हो । नाफा कति लियो र उचित लियो कि लिएन भन्ने कुरा मात्रै हो ।
तपाईं त चेम्बर आन्दोलनमा पनि लागिरहनुभएको छ । यी विषयलाई राष्ट्रिय बहसको मुद्दा बनाउन के भूमिका खेल्नुभयो त ?
हामीले जुनसुकै फोरममा पनि यी कुरा राख्ने गरेका छौं । अहिले पनि बारम्बार राख्दै आएका छौं । नेपालमा समस्या के भने राजनीतिक अस्थिरता छ, केही समयपछि संविधान जारी हुन्छ भनियो । हामी धैर्य गरेर बसिरहेका थियौं ।
संविधान पनि जारी भयो । तर पनि बल्ल स्थानीय चुनाव घोषणा भएको छ । तीनैवटा चुनाव भएर एउटा ट्र्याकमा हिँडेमा अर्थतन्त्र चलायमान हुनेछ । चुनावले नै हो राजनीतिक निकास पाउने ।
हिजोको दिनमा स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा अस्थिरता बढेको छ । चुनाव सबै तहको छिटोभन्दा छिटो हुनु आवश्यक छ । आर्थिक, सामाजिक विकास नयाँ रूपमा आउनेछ । व्यवसायीको पनि मुख्य उद्देश्य आर्थिक–सामाजिक रूपान्तरण नै हो । राजनीतिक समस्या समाधान भए हामीले उठाएका एजेन्डा स्थापित हुनेमा आशावादी छौं ।
मुलुक स्थानीय तहको चुनावको तयारीमा लागेका बेला तपाईंहरूको साझा संस्था उद्योग वाणिज्य महासंघको पनि चुनाव आउँदै छ, तपाईंको उम्मेदवारी केमा हो ? 
महासंघको अहिलेको तीनवर्षे कार्यकाल सकिएर अबको नेतृत्वका लागि चुनाव हुँदैछ । हामी त कम्तीमा समयमा चुनाव गर्छौं, तर राजनीतिमा त २० वर्ष रोकियो । द्वन्द्वकालमा समेत हामीले नियमित चुनाव गरेर लोकतान्त्रिक प्रक्रियालाई निरन्तरता दिइरहेका छौं । मैले पनि यस पटक वस्तुगततर्फ उम्मेदवारी दिने तयारी गरेको छु ।
तपाईं एसोसिएटबाट चुनाव लडिरहेको व्यक्ति यसपटक किन वस्तुगततर्फ जान खोज्नुभएको हो ?
पहिले दुई कार्यकाल उद्योग समितिमा रहेर काम गरिसकेको छु । मैले राजस्व समितिमा समेत बसेर काम गरेको छु । त्यस्तै रोजगारदाता परिषद्मा विगत १२ वर्षदेखि सदस्य छु ।
विगतमा एसोसिएटतर्फ लागेको थिएँ । वस्तुगत क्षेत्र वाणिज्य महासंघमा सशक्त क्षेत्र हो । वस्तुगतमा म उपाध्यक्ष भएँ भने चेम्बर मुभमेन्टलाई अझै अगाडि बढाउनेछु ।
मेरो व्यावसायिक क्षेत्र परिवर्तन पनि हुँदै छ । पर्यटन क्षेत्रमा लगानी सुरु गरेको छु । निर्माण सामग्रीको क्षेत्रमा लगानी सुरु गर्ने तयारीमा छु । वाणिज्य क्षेत्रमा युवा जोस–जाँगरलाई अब आउने चुनौतीसँग जुध्न सक्ने क्षमता राख्छु ।
तपाईंले चुनाव जित्ने आधार के ?
अहिलेको समय परिवर्तन हुँदै गएको छ । अहिलेको समय भनेको हाम्रा होइन, राम्रा मानिस खोज्ने समय हो । त्यसैले मैले वस्तुगत संघका सदस्यहरूले विवेकपूर्ण निर्णय लिनुहुनेछ भन्ने विश्वास गरेको छु । 
महासंघको राजनीतिमा हार्नेले जित्ने पक्षलाई अप्ठ्यारो पार्ने परम्परा विगतदेखि नै छ । तपाईंले जित्नुभए पनि काम गर्न सक्नुहुन्छ ?
हार्ने पक्षले जित्ने पक्षलाई अप्ठ्यारो पार्यो कि पारेन भन्दा पनि जित्ने पक्षले हार्नेलाई समेटेका छन् कि छैनन् भन्ने महŒवपूर्ण कुरा हो । दुई पक्षबाट हेर्नुपर्छ । हाम्रो आन्दोलनलाई अगाडि बढाउनुपर्छ । नेतृत्वमा आउने भनेको सबै क्षेत्रलाई समेट्न आउने हो । 
अध्यक्षमा अस्वस्थ प्रतिस्पर्धा भयो भनेर वरिष्ठ उपाध्यक्षमा चुनाव गर्न विधान संशोधन गरियो, तर पनि अवस्था त उस्तै छ भनिन्छ नि ? 
निश्चय पनि परिकल्पना एकदमै राम्रो गरेको हो । कसैले नसोचेको निर्वाचन हुन थाल्यो भनेर हामीले विधान संशोधन गराएका हौं । यो परिकल्पना कुशकुमार जोशीको कार्यकालमै गरिएको थियो, तर संविधान जारी नभएकाले हामीले रोकेका थियौं ।
अहिले आएर मात्र संशोधन गरेका हौं । यसले महासंघमा विकृति बढ्दै गएको थियो, त्यसलाई रोक्नका लागि परिकल्पना गरिएको हो । तर यो किसिमले देखिएको छैन । यसका लागि सबै जना संयमित हुनु आवश्यक छ ।
राजस्वको प्रमुख स्रोत अटो मोबाइल्स
सवारी तथा सवारीजन्य पार्टपुर्जाको आयातबाट सरकारी खातामा जम्मा हुने राजस्व पछिल्लो चार वर्षमा दोब्बर पुगेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०१२/१३ मा यस क्षेत्रबाट ३२ अर्ब ३० करोड ७ लाख ७३ हजार रुपैयाँ राजस्व उठेकोमा २०१५/१६ सम्ममा आइपुग्दा यो परिमाण बढेर ६० अर्ब ४६ करोड ४४ लाख २८ हजार रुपैयाँ पुगेको छ । नाडा अटोमोबाइल डिलर्स एसोसिएसनका अनुसार यो तथ्यांकमा सवारी र तिनका पार्टपुर्जाको राजस्व मात्र समावेश गरिएको छ ।
सवारी साधनमा प्रयोग हुने टायर तथा लुब्रिकेन्टको राजस्व छुट्टै हुने भएकाले यो रकमसमेत जोड्ने हो भने यो परिमाण अझै बढी हुनेछ । सन् २०१२÷१३ मा ३२ अर्ब ३० करोड ७ लाख ७३ हजार रुपैयाँ राजस्व उठेकोमा २०१३/१४ मा सरकारले अटोमोबाइल क्षेत्रबाट ४० अर्ब ३० करोड ३ लाख ७६ हजार रुपैयाँ संकलन गरेको थियो ।
त्यस्तै २०१४/१५ मा यो क्षेत्रको राजस्व अघिल्लो वर्षको तुलनामा ९ अर्ब रुपैयाँले बढेर ४९ अर्ब ३८ करोड ६० लाख १५ हजार रुपैयाँ पुगेको थियो । सवारी साधन आयातका क्रममा सरकारले भन्सार बिन्दुमा लिने सडक मर्मत तथा सम्भार दस्तुर यसमा समावेश गरिएको छैन । सडक मर्मत तथा सम्भार दस्तुरमा सरकारले निजी सवारी साधनबाट सवारी मूल्यको ७ प्रतिशतका दरले रकम असुल्ने गरेको छ ।
आव २०१५/१६ मा सरकारले सडक मर्मत तथा सम्भार दस्तुर शीर्षकमा सवारी साधनबाट ७ अर्ब रुपैयाँ संकलन गरेको थियो । अघिल्लो वर्ष यो रकम कम भए पनि चालू वर्षमा बढ्ने अनुमान गरिएको छ ।
अन्य सवारीजन्य सामानहरू लुब्रिकेन्ट तथा टायरबाट आउने राजस्वसमेत जोड्दा अटोमोबाइल क्षेत्रले गत आर्थिक वर्षमा ८० अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाएको व्यवसायीको भनाइ छ ।
अटोमोबाइल क्षेत्रले गएको आर्थिक वर्षमा सरकारलाई प्रत्यक्ष रूपमा ८० अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाएको छ । चालू आर्थिक वर्षमा अटोमोबाइल राजस्व १ खर्ब पुग्ने अनुमान छ । 
अर्थतन्त्रमा अटोमोबाइल क्षेत्र राजस्व बुझाउने सबैभन्दा ठूलो र संगठित क्षेत्र हो । तर, सरकारले यसलाई अनुत्पादक र विलासीको परिभाषामा राखेको भन्दै व्यवसायीहरू रुष्ट छन् ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले हायरपर्चेजमा कडाइ गर्ने चर्चाले व्यवसायीहरू रुष्ट छन् । देशको समग्र अर्थतन्त्रलाई नै चलायमान बनाउने यातायात क्षेत्र कसरी अनुत्पादक हुन सक्छ ? भन्दै व्यवसायीहरूले अहिले राष्ट्र बैंकले अटोलोनमा गरेको कडाइमा आपत्ति जनाउँदै आएका छन् ।
चेम्बर आन्दोलन व्यवस्थित गर्न महासंघको भूमिका
आगामी चैत २८ गते नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा हुँदै छ । उक्त साधारणसभाले तीन वर्षका लागि महासंघको नयाँ नेतृत्व छान्दै छ । त्यसका लागि देशैभर उद्योगी व्यवसायीहरू चुनावी माहोलमा होमिएका छन् ।
गत कात्तिकमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभाले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ, जसका कारण अब भवानी राणा महासंघको आगामी नेतृत्वमा आउने निश्चत भइसकेको छ ।
विधान संशोधनले महासंघमा विगत लामो समयदेखिको विकृति अन्त्य भएको छ, तर पनि पछिल्लो समय फेरि वरिष्ठ उपाध्यक्षमा उस्तै अवस्था सुरु भएको छ । यो सुधार्नुपर्नेमा स्वयं व्यवसायी नै लागेका छन् ।
महासंघका सदस्यहरू चुनावी माहोलमा मात्र केन्द्रित हुने परम्पराको अन्त्य हुनु जरुरी भइसकेको छ । २०४८ सालदेखि नेपालले खुला बजार अर्थतन्त्रलाई स्विकार गर्ने नीति लिए पनि उद्योगक्षेत्रमा सोचेजस्तो लगानी भित्रिन सकेको छैन । नेपालमा अझै पनि लगानीमैत्री वातावरण सिर्जन हुन सकेको छैन ।
नेपालको अर्थतन्त्र अझै पनि नेपालको राजनीतिक नेतृत्वमा घुमिरहेको छ । राजनीतिले अझै पनि अर्थनीति अँगाल्न सकेको छैन, जसका कारण भएका केही उद्योग पनि धराशायी हुँदै गएका छन् । वैदेशिक लगानी भित्राउन सकिएको छैन ।
यस्तो अवस्थामा महासंघको आगामी नेतृत्वले राजनीतिक नेतृत्वलाई पाठ सिकाउनुपर्ने जरुरी भइसकेको छ । अझै संघीयता कार्यान्वयमा महासंघको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले पनि आगामी नेतृत्वले ध्यान दिनु जरुरी छ । 

Thursday, February 23, 2017

बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ,११ हजार बिघाका ६ लाख रुख काट्नुपर्ने


 

काठमाडौंः बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १० हजार ९ सय १५ बिघा क्षेत्रफलमा  रहेको जंगलका करिब ६ लाख रुख काट्नुपर्ने भएको छ ।
 तर, वन ऐनअनुसार आयोजना स्थलमा वन फडानी गरेका एक रुख बराबर अन्य स्थानमा २५ वटा रुख रोप्नु पर्ने व्यवस्थाका कारण रुख काट्नै समस्या देखिएको छ । जसअनुसार ६ लाख रुख काटेर नजिकैको अर्को स्थानमा १ करोड ५० लाख विरुवा रोप्नुपनर्छ ।
वातावरण मन्त्रालय र वन मन्त्रालयका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा यो शर्त पूरा गर्नैपर्ने अडान राखेपछि विमानस्थल निर्माण कसरी अघि बढाउने भन्ने चिन्ता थपिएको छ । 
विमानस्थल निर्माणको लागि आवश्यक ११ हजार ७ सय ७५ बिघा जग्गामध्ये ७ सय ५० बिघा जग्गामा १ हजार ४ सय घरधुरी सुकुम्बासी बस्ती छ । यस्तै, १ सय १० बिघा क्षेत्रफलको जग्गा व्यक्तिको नाममा छ ।
बाँकी १० हजार ९ सय १५ बिघा क्षेत्रफलमा ६ लाख ठूला रुखसहितको घना जंगल छ । “पुराना ऐननियमअनुसार आयोजना बनाउन समस्या उत्पन्न भएकाले यसको गाँठो माथिल्लो निकायले फुकाउनु पर्ने भएको छ,” मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने ।
  • ११ हजार बिघाका ६ लाख रुख काट्नुपर्ने  
  • सट्टामा १ करोड ५० लाख विरुवा रोप्नुपर्ने
  • परामर्शदाता नियुक्तिका लागि ग्लोबल टेन्डर
  • रुख कटान गर्न सेना परिचालन गरिने
  • ल्यान्डमार्कको प्रतिवेदन अध्ययन हुने
१८ वर्षदेखि विमानस्थल निर्माणको चर्चा भए पनि गत वर्षबाट मात्र विमानस्थल निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा यसका लागि १ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ । मन्त्रालयमा वन र वातावरणका प्रतिनिधिसँग छलफल गरिए पनि ऐनले छेकबार गर्ने धारणा पटकपटक राखेको लामिछानेले जानकारी दिए । 
प्राधिकरणले विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउन परामर्शदाताका लागि गतसाता ग्लोबल टेन्डर आह्वान गरेको छ । टेन्डरमार्फत प्राधिकरणले परामर्शदाता नियुक्त गर्नेछ ।
विस्तृत अध्ययन गर्नुपर्ने कि नपर्ने तथा सन् २०११ मा कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड कम्पनीको प्रतिवेदनसमेत अध्ययन गरिने आयोजनाका उपप्रवन्धक जगन्नाथ निरौलाले जानकारी दिए । 
सरकारले रुख कटान गर्न सेना खटाउने निर्णय गर्दै रायको लागि रक्षा मन्त्रालय पठाएको छ । पर्यटन मन्त्रालयले भन्डै ६ लाख रुख कटान गर्नुपर्ने भएकोले सेना आवश्यक परेको भन्दै रायको लागि मन्त्रालयले रक्षा मन्त्रालय पठाएको हो ।
रक्षाको जवाफ आएपछि प्रारम्भिक पूर्वाधार निर्माणको काम सेनालाई जिम्मा दिने तयारी मन्त्रालयले गरेको छ ।
 

Thursday, February 16, 2017

तत्काल सेवाशुल्क खारेज गर्ने पक्षमा छैनौं

सृजना राणा
कार्यकारी निर्देशक 
होटल डेला अन्नपूर्ण प्रालि
प्रथम उपाध्यक्ष, होटल संघ नेपाल (हान) 
पाँचतारे होटल ‘होटल डेला अन्नपूर्ण प्रालि’ को कार्यकारी निर्देशक रहेर व्यवस्थापन सम्हाल्दै आएकी सृजना राणा नेपालको पर्यटन उद्योगमा सम्भावना अत्यधिक भए पनि सरकारले लगानीको वातावरण नबनाउँदा सकारात्मक दिशामा अघि नबढेको गुनासो गर्छिन् ।
एक दशकदेखि अन्नपूर्ण होटलको व्यवस्थापन सम्हालेकी राणा लगानी गर्नका लागि धेरै ठाउँ पहिचान गरेर पनि राजनीतिक वातावरणले गर्दा पर्ख र हेरको अवस्थामा रहेको बताउँछिन् ।
पर्यटन उद्योगमा लगानी गर्दा बढी जोखिम हुने भएकाले सबैतिर वातावरण बनाउनु आवश्यक रहेको उनी औंल्याउँछिन् । नेपालमा पर्यटन उद्योगलाई ट्रेड युनियनको नाममा हुने राजनीतिले पनि असर पारेको महसुस गरेकी राणा मजदुर र मालिकबीच सुमधुर सम्बन्ध हुनुपर्ने भएकाले सबै निकायलाई मिलेर जान सुझाव दिन्छिन् ।
होटल संघ नेपाल (हान) की प्रथम उपाध्यक्षसमेत रहेकी राणा नेपालमा होटलमा लगानी बढेको तर पर्यटक बढ्न नसकेको भन्दै आगामी दिनमा थपिन लागेको ४ हजार कोठाले झनै प्रतिस्पर्धा बढाउने दाबी गर्छिन् । नेपालको पर्यटन व्यवसाय, लगानीलगायतका विषयमा केन्द्रित रहेर राणासँग कारोबारकर्मी केदार दाहालले गरेको कुराकानी :
हाल निकै चर्चा र विवादमा रहेका होटलहरूले लिने १० प्रतिशत सेवाशुल्कका विषयमा होटल व्यवसायीको धारणा के हो ?
१० प्रतिशत सेवाशुल्कको विषयमा व्यवसायीको धारणा बुझ्नुभन्दा पहिला यसको पृष्ठभूमि के हो ? सुरुवात कसरी भयो ? भन्ने बुझ्नु जरुरी छ । हामीले सन् २००६ मा राष्ट्रिय स्तरका ट्रेड युनियन संघहरूसँग गहन छलफल गरेका थियौं ।
त्यो समयमा कामदार र कर्मचारीको सुरु पारिश्रमिक र अन्य सुविधा कम थियो । सोही विषयलाई ध्यानमा राखेर दीर्घकालीन रूपमा यसलाई निरन्तरता दिँदै जाने भनी सर्भिस चार्ज लगाई सोको उच्च हिस्सा (६८ प्रतिशत) कामदार र कर्मचारीलाई उपलब्ध गराउने सम्झौता भएको हो ।
उक्त सम्झौताको बुँदा नं. ५ मा अब उप्रान्त तलब, भत्ता, गे्रडमा माग दाबी छलफल नहुने गरी अन्य विषयमा सामूहिक सम्झौता गरिने, सामूहिक सौदाबाजीको समयावधि दुई वर्षबाट बढाई तीन वर्ष कायम गरिने र यदि कुनै प्रतिष्ठानलाई आर्थिक रूपले मर्का परेमा मात्र हान र केन्द्रीय युनियन महासंघहरूसँग छलफल गरी सहमति गर्ने भन्ने छ ।
त्यो सहमति कायम गरेर मात्र अन्य विषयमा स्थानीय युनियन र व्यवस्थापनको आपसी समझदारीबाट हुने कुराको सहमति स्पष्ट रूपमा भए पनि अदालतको आदेशअनुसार स्थानीय युनियनहरूले हरेक दुई–दुई वर्षमा सामूहिक सौदाबाजीका लागी माग दाबी राख्ने गरेका छन् भने व्यवस्थापन पक्षले पनि दुई–दुई वर्षमा सामूहिक सौदाबाजीको सम्झौता गर्दै आएको उदाहरण देशभर पाउन सकिन्छ । यसरी राखिने मागदाबीमा पनि आर्थिक माग दाबीहरू नै धेरै हुने गरेका छन् । 
एकपटक गरिने सामूहिक सौदाबाजीको सम्झौताबाट हरेक प्रतिष्ठानलाई आर्थिक भार थप हुँदै जाने गरेको सत्य तथ्यलाई सबैले बुझ्नैपर्छ । त्यसबाहेक कामदार र कर्मचारीले नियमित रूपमा पाउने सर्भिस चार्जको रकम आफ्नै ठाउँमा छ ।
हाल आएर अन्य विदेशी मुलुकको उदाहरण हेर्ने हो भने भारतमा सर्भिस चार्जलाई पूर्णतः खारेज गरिएको छ । यस्तो अवस्थामा हामी चुप लागेरै बसेका थियौं । तर, अचानक यस प्रकारको माग आउँदा हामी आश्चर्यचकित भएका छौं ।
कुनै पनि सम्झौता भनेको सम्झौताका हस्ताक्षरकर्ता सबै पक्षले अक्षरशः पालना गर्नुपर्छ कि पर्र्दैन ? सबै समयमा व्यवस्थापनलाई मात्रै आर्थिक भार पारेर आफू लाभान्वित हुन खोज्नु जायज हुन सक्दैन ।

कुनै पनि सम्झौता भनेको सम्झौताका हस्ताक्षरकर्ता सबै पक्षले अक्षरशः पालना गर्नुपर्छ कि पर्र्दैन ? सबै समयमा व्यवस्थापनलाई मात्रै आर्थिक भार पारेर आफू लाभान्वित हुन खोज्नु जायज हुन सक्दैन । हालको अवस्थामा अन्य क्षेत्रहरूको तुलनामा होटल, रेस्टुराँमा काम गर्ने कामदार र कर्मचारीले पारिश्रमिक, महँगी भत्ता, सर्भिस चार्जलगायत पाउने अन्य सुविधाले गर्दा मासिक रूपमा ठूलै रकम आर्जन गर्ने गरेका छन् ।
उनीहरूको आर्थिक अवस्था पनि राम्रो भएको छ । तर, व्यवस्थापकलाई भारतको दाँजोमा बिजनेस कम्पिटिसन गर्न दैनिक रूपमा गाह्रो पर्दै गएको छ । यस्तो परिस्थितिमा सर्भिस चार्जकै विषयमा अनावश्यक विवाद भइरहने हो भने पाउँदै आएको सर्भिस चार्जलाई नै खारेज गर्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न ।
सेवाशुल्कका विषयमा अन्तर्राष्ट्रिय अभ्यास कस्तो छ ? शुल्क हटाउँदा मजदुरलाई अतिरिक्त सुविधा दिनुपर्ने भएकाले तपाईंहरूले बढी दबाब महसुस गर्नुभएको हो ?
सेवाशुल्कलाई कानुनी रूपमा वा कुनै सम्झौताका माध्यमले बाध्यात्मक गरिने वा गर्नैपर्ने अन्तर्राष्ट्रिय अभ्यास छैन । भारतमा हालसालै सेवाशुल्क (सर्भिस चार्ज) दिने वा नदिने भन्ने विषय ग्राहक (कस्टमर) को निजी विषय भएकाले यसलाई बाध्यात्मक भन्न वा मान्न नमिल्ने भनी सरकारी स्तरबाटै घोषणा गरिएको छ ।
नेपालको सन्दर्भमा सेवाशुल्क (सर्भिस चार्ज) लगाउने भनी हान र युनियन संघहरूबीच सम्झौता भएपछि केही उपभोक्ता संरक्षणवादी संस्थाहरूले सम्झौताको वैधतामाथि प्रश्न उठाई यो सम्झौता खारेज हुनुपर्छ भन्दै आएका छन् ।
त्यस्तै दुई पक्ष (युनियन र व्यवस्थापन) मिलेर तेस्रो पक्ष (कस्टमर) माथि जबरजस्ती सेवाशुल्क थोपार्न मिल्दैन भनी सम्झौता खारेज गर्न माग गर्दै अदालतसमेत गएका थिए । तर, अदालतले सो सम्झौतालाई खारेज गर्न मानेन र सेवाशुल्कले निरन्तरता पाएको हो ।
जहाँसम्म सेवाशुल्क हटाउँदा अतिरिक्त सुविधा दिनुपर्ने भन्ने प्रश्न छ, त्यस्तो कुनै कानुनी व्यवस्था छैन । अतिरिक्त सुविधा दिनु पर्दैन । मैले माथि नै भनिसकें, नेपालमा होटल, रेस्टुराँमा काम गर्ने कामदार, कर्मचारीले मात्रै सेवाशुल्कको नाममा एकमुस्ट अतिरिक्त रकम पाउने गरेका छन् । अन्य क्षेत्रका कामदार, कर्मचारीले यस्तो सुविधा पाउने गरेका छैनन् ।
होटल उद्योगमा लगानीको लहर चलेको छ, तर सेवा उपयोग गर्ने पर्यटकको संख्या भने बढ्न सकेको छैन । लगानी जोखिममा पर्ने सम्भावना कतिको देख्नुहुन्छ ? 
हालका दिनमा थुप्रै स्वेदशी तथा विदेशी लगानीकर्ताले होटल उद्योगमा लगानी गरिरहेको कुरा सत्य हो । थुप्रै विदेशी ब्रान्डका होटल नेपालका विभिन्न स्थानमा खुल्दै छन् । यो पक्कै पनि खुसीको कुरा हो ।
किनभने एकातिर यसले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्छ भने अर्कातिर यसले विदेशी मुद्रा आर्जन गर्छ, जसले देशको अर्थतन्त्रमा राम्रै टेवा पु¥याउँछ । तर, विदेशी पर्यटकको संख्या नबढ्नुमा होटल व्यवसायीलाई दोष दिन मिल्दैन ।
सेवाशुल्कलाई कानुनी रूपमा वा कुनै सम्झौताका माध्यमले बाध्यात्मक गरिने वा गर्नैपर्ने अन्तर्राष्ट्रिय अभ्यास छैन ।
विदेशी पर्यटकलाई नेपाल भिœयाउन नेपाल सरकार, सरोकारवाला मन्त्रालय, पर्यटक प्रवद्र्धन बोर्ड र अन्य सरोकारवालाहरूको हात हुन्छ । नेपालमा धार्मिक पर्यटन, रोमाञ्चक पर्यटन, हिमाल आरोेहण, ट्रेकिङ टुर्सको प्रचुर सम्भावना हुँदाहुँदै पनि यसको फाइदा लिन नसक्नुमा नीति निर्माताकै बढी दोष देखिन्छ ।
पर्यटकमैत्री नीति निर्माण गर्न नसक्नु, अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रचार–प्रसार गर्न नसक्नु, शान्तिसुरक्षाको प्रत्याभूति दिन नसक्नु, गैरकानुनी बन्द–हड्ताललाई निरुत्साहित गर्न नसक्नुलगायतका मुख्य कमी–कमजोरी देखिन्छ ।
अधिकांश ठूला होटल काठमाडौंकेन्द्रित छन् । तर, पर्यटक हिजोआज काठमाडौं बस्नै रुचाउँदैनन् । काठमाडौंबाहिर ठूला होटलको आवश्यकता महसुस गर्नुभएको छैन ?
हो, हिजोका दिनमा पक्कै पनि ठूला होटल पूर्वाधार तथा अन्य कारणले काठमाडौंमा मात्र केन्द्रित थिए । तर, आज पर्यटकको मनोभावनालाई मध्यनजर गर्दै काठमाडौंबाहिर जस्तै— चितवन, पोखरा, भैरहवा, विराटनगर, नेपालगन्ज, धनगढी तथा अन्य पर्यटकीय गन्तव्यस्थलमा पनि तारे होटल खुलिसकेका छन् । अझै थुप्रै होटल खुल्ने क्रममा छन् ।
नेपालको पर्यटन क्षेत्र अपेक्षाकृत रूपमा विकास हुन नसक्नुको खास कारण के हो ? यसमा सरकारको नीति बाधक छ कि निजी क्षेत्रले गर्न नसकेको हो ?
बढी धनराशि खर्च गरेर स्थापना गरिएका पर्यटन उद्योग विशेष गरी होटल उद्योगलाई सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगका रूपमा वर्गीकरण गरे पनि व्यवहारमा त्यसको अनुभूति गर्न नपाउनु दुःखद पक्ष हो ।
अन्य प्राथमिकताप्राप्त उद्योगसरह होटल उद्योगलाई पनि सरकारले व्यवहारमा उतारे पर्यटन क्षेत्रले अपेक्षाकृत अगाडि बढ्ने मौका पाउँथ्यो । नेपालमा पर्यटन क्षेत्रको विकास हुन नसक्नुको अर्को मुख्य कारण भनेकै समयसापेक्ष सम्बन्धित ऐन–नियम परिमार्जन हुन नसक्नु तथा कामदार तथा मजदुरले बेलाबखत गरिरहने विरोधका कार्यक्रम नै हुन् ।
पर्यटन व्यवसायी बढी नाफामुखी भए, अन्तर्राष्ट्रिय जगत्मा नेपालको राम्रो ब्रान्डिङ नै गर्न सकेनन् भनिन्छ नि ? 
जहाँसम्म अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनको कुरा छ, यसमा नेपाल पर्यटन प्रवद्र्धनको मुख्य दायित्व भनेकै नेपाल पर्यटन बोर्डको हो भन्ने होटल संघ नेपालको ठम्याइ छ ।
नेपाल पर्यटन बोर्डले आयोजना गर्ने विभिन्न प्रवद्र्धनात्मक कार्यक्रममा होटल संघ नेपाल तथा संघसँग आबद्ध सदस्य होटलको उल्लेख्य सहभागिता रहँदै आएको छ र रहनुपर्छ भन्ने पनि हाम्रो मान्यता हो ।
नेपालमा पर्यटकको प्रचुर सम्भावना हुँदाहुँदै पनि यसको फाइदा लिन नसक्नुमा नीति निर्माताकै बढी दोष देखिन्छ ।
त्यसका बाबजुद पनि होटल संघ नेपालले आफ्नै अगुवाइमा दुबई, मलेसिया, श्रीलंका, चीन, थाइल्यान्डजस्ता विभिन्न मुलुकमा प्रवद्र्धनात्मक कार्यक्रम गरिसकेको र आगामी दिनमा पनि कम्तीमा वर्षमा एकपटक अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रवद्र्धन गर्ने कार्यक्रम होटल संघ नेपालको वार्षिक कार्यतालिकाभित्र पर्छ । 
पाँचतारे होटलको सहायक प्रडक्टका रूपमा रहेको क्यासिनो क्षेत्र विवादमा पर्दै आएको छ । नेपालमा किन सधैैं क्यासिनो विवादमा पर्ने गरेको हो ?
इतिहासलाई नियाल्दा नेपालको हकमा क्यासिनो एउटा स्थापित पर्यटकीय प्रडक्टका रूपमा रहेको स्पष्ट रहन्छ । यदाकदा क्यासिनोसम्बन्धी विवाद रहे पनि नियमनकारी निकायको निष्क्रियताले क्षेत्रलाई अझै विवादित बनाएको देखिन्छ ।
साथै आगामी दिनमा परिमार्जित क्यासिनो नियमावलीले यस क्षेत्रलाई व्यवस्थित गर्दै अगाडि बढ्छ भन्ने हाम्रो विश्वास छ ।
अन्य उद्योगको तुलनामा होटलहरूमा व्यवस्थापन र मजदुरबीच किन बढी विवाद हुने गरेको हो ?
मैले माथि नै उल्लेख गरिसकें कि होटल उद्योगमा एकपछि अर्को विवाद आउने गरेको कुरा बताउनुपर्दा दुःख लाग्छ । अन्य उद्योगभन्दा होटल उद्योगमा कामदार कर्मचारीको संख्या उल्लेख्य मात्रामा रहेको र पार्टीगत युनियनहरूको संख्या पनि धेरै भएकाले प्रायःजसो व्यवस्थापन र मजदुरहरूबीच विवाद रहेको देखिन्छ । अहिले पनि १० प्रतिशत सेवाशुल्कसम्बन्धी विवाद कायमै छ ।
नेपालको पर्यटन विकासका लागि स्थापित होटल व्यवसायीको नाताले सरकार र निजी क्षेत्रलाई के सुझाव दिनुहुन्छ ?
सरकारले लगानीको सुनिश्चितताका लागि लगानीमैत्री वातावरणको सिर्जना गर्नु आवश्यक देखिन्छ । साथै, सरकारले पूर्वाधार विकासमा बढी जोड दिनुपर्ने पनि देखिन्छ ।
निजी क्षेत्रले पनि स्थापित पर्यटकीय स्थलबाहेकका गन्तव्यमा लगानी गरी त्यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पु-याउनुपर्ने हुन्छ । माथि उल्लेख गरेझैं स्थापित ठूला होटलले अन्य गन्तव्यस्थलमा पनि आफ्नो उद्योग विस्तार गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।
नेपालका सञ्चालित होटलमध्ये बाह्य व्यवस्थापनले सम्हालेका होटलको सेवा तुलनात्मक रूपमा राम्रो भनिन्छ, तपाईंहरू पनि बाह्य साझेदारको खोजीमा हुनुहुन्छ कि ?
नेपालको सन्दर्भमा आजभोलि विदेशी व्यवस्थापनका होटलहरू खुल्ने क्रम बढेको छ र यसबाट सन् २०१९ सम्म झन्डै ४ हजार तारे कोठा थपिने देखिन्छ । अवश्य पनि विदेशी व्यवस्थापनले सम्हालेका होटलले पु-याउँदै आएका सेवासुविधा अन्तर्राष्ट्रिय स्तरका हुनुपर्छ, तर स्वदेशी तारे होटलको सेवा पनि सो भन्दा कम नरहेको र नेपाल सरकारको होटलसम्बन्धी मापदण्डका आधारमा सञ्चालित स्वदेशी व्यवस्थापन रहेका होटलले पु-याउँदै आएका सेवासुविधा पनि अन्तर्राष्ट्रिय स्तरकै छ, जसको सुपरिवेक्षण नेपाल सरकारले नै गर्ने गरेको छ । यदि कुनै प्रतिष्ठित विदेशी चेन व्यवस्थापनले इच्छुक देखिएमा त्यसतर्फ पनि विचार गर्न सकिने स्पष्ट पार्न चाहन्छु ।
नेपालका होटलहरूले प्रदान गर्ने सेवा अन्य मुलुकका होटलको तुलनामा महँगो र कम गुणस्तरीय रहेको भन्ने आरोप छ नि ?
यो सरासर असत्य आरोप हो । अन्य मुलुकको तुलनामा नेपालका होटलले प्रदान गर्ने सेवा सस्तो र गुणस्तरीय छ । यो म दावाका साथ भन्न सक्छु । 
तपाईं त पोखराको फिस्टेल लजको पनि नेतृत्वमा हुनुहुन्छ, यसको सञ्चालन मोडालिटी तथा नाफाको व्यवस्थापन भने कस्तो छ ?
पोखरास्थित फिस्टेल लजको सम्पूर्ण व्यवस्थापनसँग सम्बन्धित काम हाम्रो होटल डेला अन्नपूर्णले गर्छ । स्वर्गीय शाहज्यादी जयन्ती शाहका नाममा स्थापना भएको ‘जयन्ती मेमोरियल ट्रस्ट’ फिस्टेल लजको एक्लो सेयरधनी हो ।
फिस्टेल लजबाट भएको आम्दानी, नाफालगायत सम्पूर्ण कुरा जयन्ती मेमोरियल ट्रस्टको नाममा जाने गर्छ । जयन्ती मेमोरियल ट्रस्टले उक्त आम्दानी ‘मनमोहन मेमोरियल हस्पिटल’ र पोखरास्थित ‘गण्डकी हस्पिटल’ मा मुटुरोगका बिरामीको उपचारका लागि सहयोगका रूपमा दिने गर्छ ।
साथै, जयन्ती मेमोरियल ट्रस्टले अन्य विपन्न परिवारका मुटुरोगीका लागि औषधी–उपचार र मुटुसम्बन्धी शल्यक्रियाका लागि सहयोग रकम उपलब्ध गराउने गर्छ ।
अन्य लगानी विस्तार गर्ने योजना छैन ?
विगत लामो समयदेखि पर्यटन उद्योगमा लगानी गर्दै आएका छौं । अहिले पनि हामी लगानी विस्तारको विषयमा पर्ख र हेरको अवस्थामा छौं । केही सहज वातावरण हुनेबित्तिकै लगानी विस्तार गर्ने छौं । यही अवस्थामा अहिले लगानी बढाउने पक्षमा छैनौं ।

Tuesday, February 14, 2017

विमानस्थलभित्रै तस्करीको छुट्टै बाटो


काठमाडौंः मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करीका लागि चेकजाँच नै नहुने छुट्टै बाटो रहेको एक अध्ययनले फेला पारेको छ ।

विमानस्थलबाट बारम्बार अवैध सुनलगायतका प्रतिवन्धित वस्तुहरू सजिलै भित्रिने गरेपछि भएको अध्ययनबाट यही बाटो प्रयोग हुने गरेको खुलासा भएको हो । गत महिना ३३ केजी अवैध सुन विमानस्थलबाटै बाहिरिएपछि सरकारकै एक निकायले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो ।
ठूलो परिमाणमा सुन तस्करीको घटना सार्वजनिक भएपछि अर्थ मन्त्रालयले मातहतका निकायमार्फत गरेको अध्ययनमा यो तथ्य सार्वजनिक भएको स्रोतले जनाएको छ । 
“बिमानबाट यात्रु बाहिर निस्कँदा सबै एउटै बाटो भएर निस्कनुपर्ने हो, तर वैकल्पिक बाटो पनि प्रयोगमा आएको रहेछ,” भन्सार बिभागलाई उधृत गर्दै स्रोतले भन्यो ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन आन्तरिक टर्मिनल भवन हँुदै सहजै बाहिर आउने गरेको रिपोर्टमा उल्लेख छ । आन्तरिक विमानस्थलमा ब्यागेज चेकिङ नहुने भएकाले तस्करहरूका लागि सजिलो भएको देखिन्छ ।
यसरी गोप्य बाटो भेटिएपछि अर्थ मन्त्रालयले सुधारका लागि छलफल सुरु गरेको छ । अबैध सुन बाहिर आएपछि भन्सार बिभागले समेत अनुगमन तीव्र बनाएको छ ।
अनुगमनका क्रममा यात्रुहरूको आवागमन हुने ठाउँबाटै वैकल्पिक बाटो भेटिएपछि निगरानी बढाइएको बिभागको दाबी छ । त्रिभुवन विमानस्थलमा अर्थ मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय मातहतका कार्यालयलगायत चार दर्जनभन्दा बढी एजेन्सीहरू छन् ।
जसका कारण पनि विमानस्थलभित्रको गतिविधी नियन्त्रणमा समस्या भएको विमानस्थल कार्यालयले जनाउँदै आएको छ । तस्करीका लागि विमानस्थलभित्रै अर्को बाटो रहेको बाह्य एजेन्सीलाई थाहा नभएको स्रोतले जनाएको छ ।
पुुस २२ मा बरमद भएको ३३ केजी सुन पनि त्यही बाटो भएर बाहिरिएको हुनसक्ने बताइएको छ । “यो घटनाले हाम्रो संरचना र सुरक्षालाई चुनौती दिएको छ,” स्रोतले भन्यो, “अहिलेसम्म भित्रै यस्तो बाटो छ भन्ने कसैले सुर्इंको समेत पाएको थिएन, अहिले थाहा पाएपछि उक्त वेमा निगरानी बढाइएको छ ।”
सामानहरू जाँचपास भएर आउने ठाउँमै वैकल्पिक बाटोको समेत ब्यवस्था भएको र त्यो बाटो आन्तरिक टर्मिनल हुँदै बाहिर आवागमनमा सहज भएको स्रोतको दाबी छ ।
भन्सार कार्यालयका अनुसार उक्त बाटोमा भन्सारका कर्मचारीलाई समेत प्रवेश गर्न दिइँदैन ।
सुरक्षाकर्मी मात्रै तैनाथ हुने भएकोले पनि सामानहरू ओसारपसारमा सहज हुने देखिएको छ । सुन तस्करीको विषयमा बिभिन्नखाले अध्ययन अनुसन्धान भए पनि निष्कर्ष भने बाहिर आउन सकेको छैन ।
गत साता बसेको संसदको अर्थ समितिले पनि विमानस्थल भन्सार कर्मचारीको लापरवाही र सुरक्षा चेकजाँचमा कमजोरी रहेको भन्दै सुधार्न निर्देशन दिएको छ ।
विमानस्थलबाटै ठूलो परिमाणमा अवैध सुन बाहिरिएपछि समितिले बिभिन्न सरोकार निकायसँग छलफल गरेर चेक जाँचमा कडाई गर्न निर्देशन दिएको हो । समितिका सभापति प्रकाश ज्वालाले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा हुने राजस्व चुहावट र सुन तस्करीको छानविन तथा जाँचबुझ गर्न अधिकार सम्पन्न छानविन समिति गठन गर्न निर्देशन दिएको बताए ।
विमानस्थलसँग हाल प्रतिघन्टा १ हजार ३ सय ४० यात्रुको मात्र हेन्डल गर्नसक्ने क्षमता छ । विमानस्थलका महाप्रवन्धक देबानन्द उपाध्यायले भने, “यात्रुको चाप बढ्दा हाल प्रतिघन्टा २ हजार ४६ जना यात्रुको हेन्डल गर्नुपर्ने अवस्थामा पुगेको छ ।”
उनका अनुसार एक सिफ्टमा ३ हजारभन्दा बढी कर्मचारीहरू विमानस्थलमा खटिने गरेका छन् । जुन तीन सिफ्ट संचालन हुन्छ । दैनिक विमानस्थलमा १२ हजार कर्मचारीहरू खटिने गरेकोले व्यवस्थापनमा चुनौति रहेको उनको भनाइ छ ।
“विमानस्थलभित्र प्रविधिमैत्रीको विकास तथा विस्तार हुन सकेको छैन, जसका कारण पनि कारोबारीहरू सजिलै विमानस्थलबाट उम्कँदै आएका छन्,” उनले भने । १ हजार ३ सय ४० प्रतिघण्टा यात्रु ह्याण्डलिङ गर्नेगरी सन् २००२ सम्मका लागि विमानस्थल निर्माण गरिएको थियो ।
सन् २०१३ मा निमार्ण सम्पन्न हुने र २ हजार ४६ यात्रु प्रति पिकआवर ह्यान्डल गर्ने क्षमताको निमार्ण गर्ने भनिएको योजना २०१८ मा सम्पन्न हुने देखिएको छैन । जसका कारण पनि विमानस्थलमा सुविधा सम्पन्न गरी प्रविधीमैत्री हुन नसक्दा गिरोहरूले सजिलै गलत काम गर्ने गरेको विमानस्थल कार्यलयको भनाइ छ ।