काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलको धावनमार्गमा ५० वर्ष पुरानो कालोपत्रे विस्थापनको प्रक्रिया
अघि बढेको छ । नयाँ धावनमार्ग निर्माणका लागि आह्वान भएको ग्लोबल टेन्डरबाट
५ कम्पनी प्राविधिक छनोटमा परेका छन् ।
छनोटमा परेका पाँचमध्ये चार चिनियाँ कम्पनी
छन् । नयाँ कालोपत्रे गरिएपछि विमानस्थललाई २४ सै घन्टा संचालन गर्ने
नागरिक उड्डयन प्राधिकरणको तयारी छ ।
पुरानो कालोपत्रेका कारण विगतका वर्षहरूमा
पटकपटक धावनमार्ग भत्किँदा समस्या हँुदै आएको थियो । अब नयाँ कालोपत्रे
राखेपछि समस्या हट्ने विमानस्थल कार्यालयले जनाएको छ ।
गएको पुसबाटै निर्माण सुरु गर्ने लक्ष्य
राखिएको भए पनि कम्पनी छनोट चरणमै केही ढिला हँुदा समस्या उत्पन्न भएको
विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायले जानकारी दिए । धावनमार्ग
निर्माण कार्य दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जसका लागि
झन्डै २ अर्ब ८० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रारम्भिक छनोट चरणमा चाईना यरो टेक्नोलोजी
इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन, चाइना हरबर इन्जिनियरिङ, बेइजिङ
च्याङ्दो म्युनिसिपल इन्जिनियरिङ ग्रुप तथा चाइना जेभी अफ रेलवे नम्बर ५
इन्जिनियरिङ ग्रुप रहेका छन् । नेपालकै स्वच्छन्द निर्माण सेवा कम्पनी पनि
प्राविधिक मुल्यांकनमा उत्तीर्ण भएको छ ।
“यी कम्पनीहरूमध्ये अब जुन कम्पनीले सस्तो
रकममा बनाउन टेन्डर दिन्छन्, सोही कम्पनीले जिम्मा पाउने हो,” उपाध्यायाले
भने । विमानस्थलले गत असोजमा टेन्डर प्रकाशित गरेको थियो । जसमा दर्जनभन्दा
बढीले टेन्डर हालेका थिए ।
मुलुकको एकमात्र अन्तर्राष्ट्रिय
विमानस्थलको धावनमार्ग पुरानो र कमसल खालको हुँदा ठूला जहाजको उडान तथा
अवतरणमा नै समस्या हँुदै आएको छ । नयाँ धावनमार्ग वैशाखको दोस्रो साताबाट
निर्माण सुरु गरेर दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यो धावनमार्ग ३ हजार ५० मिटर लामो रहेको छ ।
जसको ट्याक्सीमार्ग र धावनमार्ग दुवैमा नयाँ कालोपत्रे गरिने महाप्रवन्धक
उपाध्यायले बताए । नागरिक उड्डयन प्राधिकरणले सन् २०१४ देखि विमानस्थल
सुधार कोष बनाउँदै प्रत्येक हवाई यात्रुमार्फत १ हजार रुपैयाँ शुल्क संकलन
गर्दै आएको छ । सोही कोषको रकम खर्च गरेर विमानस्थल कार्यलयले धावनमार्ग
बनाउन लागेको हो ।
कोषको रकम विमानस्थल सुधारका लागि मात्र
खर्च गर्ने प्राधिकरणको लक्ष्य रहेको छ । विमानस्थल कार्यालयले रात्रिकालीन
समयमा मात्र कालोपत्रे गर्ने योजना बनाएको छ ।
“कुनै पनि उडान तथा अवतरणमा समस्या नपार्ने
गरी काम अगाडि बढाउँदै छौं,” उपाध्यायले भने । विमानस्थल हाल १८ घन्टामात्र
सञ्चालन हँुदै आएको छ ।
रातको १२ बजेदेखि विहान ६ बजेसम्ममा मात्र
काम गराउने योजना रहेको उनले बताए । हाल विमानस्थलले वार्षिक ३५ लाखभन्दा
बढी हवाई यात्रुलाई सेवा दिँदै आएको छ भने २७ वटा अन्तर्राष्ट्रिय
एयरलाइन्सहरूले दैनिक रुपमा ६५ उडान तथा अवतरण गर्दै आएका छन् ।
प्राधिकरणले विगत लामो सयमदेखि धावनमार्गको
कालोपत्रे फेर्ने योजना बनाए पनि काम काम भने अगाडि बढ्न सकेको थिएन ।
कालोपत्रे निर्माणपश्चात आगामी २० वर्षसम्मका लागि ठूला वाईड बडी जहाज उडान
तथा अवतरण गराउन कुनै समस्या नहुने महाप्रवन्धक उपाध्ययले बताए ।
कालोपत्रे परिवर्तनको तयारी भइरहेका बेला
अन्य सुधार कार्यको सुस्तताले हवाई यात्रुले अझै कम्तीमा आधा दशकसम्म
सास्ती बेहोर्नुपर्ने देखिएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल
निर्माण प्रक्रिया अघि नबढ्दा बढ्दो यात्रु चाप कम्तीमा आधा दशक अझै यही
विमानस्थलले धान्नुपर्ने अवस्था छ ।
यसकारण पनि सरकारले त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थल विस्तारलाई उच्च प्राथमिकतामा राखेको थियो । तर,
विमानस्थल निर्माणको ४ दशकपछि सुरु भएको स्तरोन्नतिले समेत गति लिन सकेको
छैन ।
त्रिभुवन विमानस्थल सुधार आयोजनाले
विमानस्थल सुधारको जिम्मा पाएको स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्होसेसँग
गत मंसिरमा ठेक्का रद्द गरिएको छ भने दुई साता अगाडि प्राधिकरणले पुनः
टेन्डर आह्वान समेत गरिसकेको छ ।
योजनाअनुसार विमानस्थलको उत्तर र दक्षिण
दुवैतर्फ धावनमार्ग विस्तार गर्न लागिएको छ । दक्षिणतर्फ कोटेश्वर र
उत्तरतर्फ गुह्येश्वरी फाँटतर्फ धावनमार्ग विस्तारको काम अहिले पनि भइरहेको
छ ।
दुवै भागमा ३/३ सय मिटर विस्तार गर्ने
लक्ष्य छ । विस्तारपछि धावनमार्गको लम्बाइ ३ हजार ६ सय ५० मिटर हुनेछ ।
हालको लम्बाई भने ३ हजार ५० मिटर र चौडाई ६० मिटर रहेको छ ।
एसियाली विकास बैंक (एडीबी)को १० करोड
अमेरिकी डलर (करिब १० अर्ब रुपैयाँ)को सहयोगमा विमानस्थल सुधार
गुरुयोजनाअनुसार धावनमार्ग तथा पार्किङ विस्तारको काम थालिएको हो ।
गुरुयोजना अनुसार ६० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ
No comments:
Post a Comment