आर्थिक क्षेत्रका विशेष गतिविधी

Thursday, January 12, 2017

पाइलटले लाइसेन्स नवीकरण नगर्दा

 राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग रहेको एकमात्र बोइङ जहाज उडाउन १८ जना क्याप्टेन छन् । तर, निगमका एक पाइलटले समयमै आफ्नो उडान अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगर्दा उडान रद्द भइ लाखौंको नोक्सानी बेहोर्नु परेको छ ।
निगम व्यवस्थापनकै कमजोरीका कारण मंगलबार निगमकै उड्डयन इतिहासमा पहिलोपटक आइपरेको समस्याले उडान नै रद्द भएको हो । पाइलटको लाइसेन्स नवीकरण नभएको जानकारी पाइएपछि मंगलबार मध्यरातमा उडान स्थगित गरिएको हो ।  रातको ११ः३० मा कतारको दोहा उड्न ठिक्क परेको जहाज बोइङ–७५७ जहाज प्राविधिक कारण भन्दै मध्यरातमा उडान स्थगित गरिएको थियो ।  
जहाज उडानका लागि अपरेसन विभागले अघिल्लो दिन नै सम्बद्ध कर्मचारी (क्रु)लाई जानकारी गराएको हुन्छ । सवै क्याप्टेनहरूलाई अघिल्लो दिन नै कुन उडानमा जाने भन्ने फोन अपरेसनबाट पनि गइसकेको हुन्छ । तर, मंगलबार क्याप्टेन ओम गुरुङले उडाउन ठिक्क पारेको जहाज मध्यरातमा रद्द गर्नुपरेको निगम स्रोतले बतायोे ।  गुरुङले समयमा लाइसेन्स नवीकरण नगर्दा उडान रद्द भएको हो । 
एक जना पाइलटले आफ्नो लाइसेन्स नै  समयमा नवीकरण नगर्दा १ सय ९० भन्दा बढी यात्रु बोडिङ पास भएर जहाजमा चढ्नको लागि ठिक्क परेको वेला रोकेर होटलतर्फ लैजान बाध्य भएका हुन् । 
उडान रद्द भएपछि सवै यात्रुलाई सोल्टी होटलमा राखिएको थियो भने विहान ८ बजे मात्र दोहाको लागि पुनः उडान गरिएको निगम स्रोतले जानकारी दिएको छ । औसतमा एक जना क्याप्टेन तहका पाइलटको तलब भत्ताबाहेक करिब २ लाख रुपैयाँ हुन्छ भने प्रत्येक उडानमा थप भत्ता पाउँछन् ।
“लाइसेन्स नवीकरण नभएर उडान रद्द भएको भन्ने कुरा आएको छ, यो विषयमा मैले छानविन गरिरहेको छु,” निगमका प्रवन्ध निर्देशक सुगरत्न कंसाकारले भने । यो विषयमा विस्तृतमा कुनै जानकारी आइनसकेकोले अहिले सवैकुरा भन्न नसक्ने उनको भनाइ थियो ।
निगम स्रोतका अनुसार पाइलटको लाइसेन्स प्रत्येक वर्ष नवीकरण गर्नु पर्दछ । नवीकरणका लागि समय सकिनु १५ दिन अगावै नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिनुपर्दछ । प्राधिकरणमा आफ्नो स्वास्थ्य रिपोर्ट, तालिमको प्रमाणपत्र तथा कार्यरत संस्थाको चिठी बुझाएको केही दिनमै आफैं उपस्थित भएपछि लाइसेन्स प्राप्त गर्न सकिन्छ ।

Monday, January 9, 2017

जाडो पर्यटन

काठमाडौंः जाडो मौसमलाई विगतका वर्षमा जस्तो पर्यटनको बेमौसम भन्ने परम्परा पछिल्लो समय विस्तारै तोडिँदै गएको छ । नेपालमा पछिल्लो समय हुने पर्यटन मेला तथा गतिविधिले पनि जाडो मौसममा पर्यटनका सम्भावना जोड्दै लगेको पाइन्छ । जाडो पर्यटनमा सेवाको विशिष्टता र गुणस्तर बढेसँगै विविधता थपिँदै गएको पाइन्छ । 
प्राकृतिक सौन्दर्यमा रमाउने, सांस्कृतिक अनुभव सँगाल्ने र साहसिक गतिविधिमा संलग्न हुने सीमितताबाट पर्यटन र पर्यटकीय गतिविधि धेरै फराकिलो भएको छ । सम्भावना देखेर नै हुनसक्छ, पछिल्लो समय पर्यटन व्यवसायीदेखि सरकारी संस्थाहरूले जाडो मौमसलाई केन्द्रित विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन् ।   
नेपालको पर्यटन खासगरी असोज, कात्तिक र मंसिर तथा मध्य फागुन चैत, वैशाख र जेठमा हुने गतिविधिले धान्दै आएको छ । पछिल्लो समयको चर्चा गर्दा जाडो याम पनि विशेष पर्यटन मौसम बन्दै गएको छ । “नेपालको पर्यटनमा अब समय परिवर्तन भएको छ, प्रवद्र्धन गर्न सकेमा पर्यटन मौसम भनेर कुर्नु पर्दैन,” नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी भन्छन् । 
पर्यटनमा संलग्न हुने धेरैजसो खर्चयोग्य आम्दानी र घुम्न समय भएकाहरू नै हुन् । त्यसमा पनि सरकारी, गैरसरकारी, वित्तीय, व्यापारिक तथा अन्य संस्थामा कार्यरत कर्मचारी, उद्योगी, व्यवसायी, व्यापारी र पेसाकर्मी पर्छन् । 
विशेषतः जाडो मौसम व्यापार व्यवसायका हिसाबले सुस्त समय हो । त्यसो हुँदा स्वभावैले ती संस्थामा कार्यरत कर्मचारीमाथि कामको चाप कम हुन जान्छ । त्यसैले यस क्षेत्रका सम्बन्धितलाई घुम्न जाने समय मिल्छ । जाडोको समय राजधानीलगायत चिसो पहाडी ठाउँका स्कुले बच्चादेखि कलेजका विद्यार्थीसम्म र शिक्षक–शिक्षिकादेखि प्राध्यापकसम्मले लामो समय जाडो बिदा पाउँछन् । 
विद्यार्थीहरू समूह बनाई घुमघाममा निस्कन्छन् । बच्चाबच्चीले पनि बाबुआमालाई घुमाउन जोड गर्छन् । धेरैजसो सरकारी र ‘क’ वर्गका वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई सरकारले ‘पे लिभ’को समेत व्यवस्था गरेकाले सपरिवार घुम्न जान जाडो मौसमले प्राथमिकता पाउँछ । जाडोको समयमा ‘मास प्याकेज’ दिएर आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई नेपालका विभिन्न गन्तव्यमा लैजान सकिने सीईओ जोशी बताउँछन् । 
पश्चिमा युरोप र अमेरिकी देशमा यो समय अत्यन्त जाडो हुने, हिउँले सेताम्मे हुने, घाम महिनौं नदेखिने र जीवन कष्टकर हुने हुन्छ । त्यसैले त्यता बसोबास गरिरहेका गैरआवासीय नेपाली पनि त्यहाँको जाडो छल्न नेपाल आउँछन् । उनीहरू परिवार वा साथीको समूह बनाई घुम्न निस्कन्छन् । 
“नेपालमा पर्यटन सिजन भन्ने नै नहनुपर्ने हो, तर प्रवद्र्धन गर्नमा हामी चुकेकाले समस्या भएको हो,” नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्य भन्छन् । जाडो र गर्मीमा सोही अनुसारका प्रवद्र्धनमा जोड दिन सकेमा नेपालमा सदाबहार मौसम पर्यटन हुने आचार्यको बुझाइ छ । 
जाडोमा संसारभर भव्य रूपमा मनाइने क्रिसमस र अंग्रेजी नयाँ वर्ष पर्छन् । नेपालमा पनि अचेल राम्रैसँग मनाइन्छ यी चाड । सांस्कृतिक विविधताले भरिएको नेपालमा थारु समुदायको नयाँ वर्ष माघी, हिन्दूको माघे संक्रान्ति, शेर्पाको सोनाम ल्होसारजस्ता जाडो मौसममा मनाइन्छ । माघी महोत्सव तराईका थारु बस्तीमा मनाइन्छ । त्यसैले चितवन र बर्दिया उत्कृष्ट गन्तव्य हुन सक्छन् जाडोमा घुम्न । 
अंग्रेजी नयाँ वर्ष आगमनका बेला पोखरामा हुने सडक महोत्सव नेपालमा हुने सबैभन्दा भव्य महोत्सव हो, यस मौसमको । त्यसैगरी बर्दियामा हुने हात्ती पोलो र सौराहामा हुने हात्ती महोत्सव अर्को विशिष्ट पर्यटकीय गतिविधि हो । जाडोमा पसिना नआउने भएकाले साइक्लिङ पनि नयाँ र विशिष्ट गतिविधि हो । स्वास्थ्य र पर्यटन दुवैका हिसाबले । काठमाडौं उपत्यका वरपर शिवपुरी, कीर्तिपुर, चोभार, दक्षिणकाली, साँखु, नगरकोट, चाँगुनारायण, लप्सीफेदी, लाँकुरी भन्ज्याङ, हात्तीवन, पोखरा वरपर र धुलिखेलजस्ता ठाउँमा साइक्लिङ गर्न सकिन्छ । 
अचेल होमस्टे (घरबास) पर्यटनमा पनि चहलपहल हुन थालेको छ । होमस्टे नयाँ संस्कृति, नयाँ घरबास, नयाँ खानपिन, नयाँ पारिवारिक वातावरण अनुभव गर्न पाइने उत्कृष्ट र ज्ञानवद्र्धक पर्यटकीय गतिविधि हो । मंसिरमा ठड्याइएका परालका थाकमा खेल्न, आगोमा भुटेका मकै र पोलेको आलु तथा सखरखण्ड खान बालबालिका धेरै रमाउँछन् । तराईमा शीतलहर सुरु हुने, घाम नदेखिने र चिसो बढ्ने हुँदा पारिलो घामको मज्जा लिँदै आराम गर्न र रमाउन सकिन्छ मध्य पहाडी क्षेत्रमा । 
डडेलधुरा, सुर्खेत, दाङ, पाल्पा, पोखरा, बन्दीपुर, गोरखा, दोलखा, जिरी, सिन्धुली, धरान, धनकुटा, इलाम आदि क्षेत्रमा जाडो मौसममा पनि पारिलो घामको मज्जा लिन सकिन्छ । ‘सन बाथिङ’का रूपमा पश्चिमाले गर्ने एक मुख्य पर्यटकीय गतिविधि हो घाम ताप्नु । 
जाडोमा हिउँमा खेल्न पाइन्छ । अलिअलि पानी पर्दा उच्च पहाडी क्षेत्रमा सेता हिउँका डल्ला खेल्दै रमाउन सकिन्छ । डडेल्धुरा, खप्तड, रारा, डोल्पा, मुस्ताङ, मनाङ, लमजुङ, माथिल्लो गोरखा, दामन, रसुवा, फुल्चोकी, दोलखा, सगरमाथा, ताप्लेजुङजस्ता क्षेत्रमा हिउँको मज्जा लिन सकिन्छ ।
कहाँ–कहाँ घुम्ने 
काठमाडौं वरपर नगरकोट, धुलिखेल, लाँकुरीभन्ज्याङ, फूलचोकी, लप्सीफेदी, भोटेचौर, सुन्दरीजल, शिवपुरी, ककनी, थानकोट, खोकना, बुङमती, साँखु, चाँगु, कीर्तिपुर, चम्पादेवी, चोभार, दक्षिणकाली आदि ।  
पोखरावरपर, ढोरपाटन, चितवन, बर्दिया, इलाम, कोशी टप्पु, धरान, धनकुटा, भेडेटार, जनकपुर, दोलखा, जिरी, दामन, बन्दीपुर, गोरखा, पाल्पा, लुम्बिनी, दाङ, बर्दिया, सुर्खेत, खप्तड, डडेल्धुरा, शुक्लाफाँटा आदि । 
के-के गर्ने
साइक्लिङ, हाइकिङ, भिलेज टुर, जंगल सफारी, स्नो वाक, क्याम्प फायर पार्टी, धार्मिक यात्रा, सन बाथिङ, होमस्टे, स्थानीय संस्कृति अवलोकन । 
खानेकुरा
सुप तथा तातो झोल पदार्थ, मकै, अन्डा, मासु, गेडागुडी, रोटी, दूध, मौसमी फलफूल आदि ।
के लाउने ?
कटनको भित्री लुगा (थर्मकोट आदि), हाइनेक, स्वेटर, ज्याकेट, टोपी, गलबन्दी, जुत्ता, बाक्लो मोजा, हिउँ पर्ने ठाउँ भए लामकाने टोपी, पञ्न्जा, कालो चस्मा आदि ।
के बोक्ने ?
टाउको दुखेको, रुघा तथा ज्वरोको औषधि, टर्च लाइट, स्क्रयाप ब्यान्डेज, बदाम वा अन्य सुख्खा फलफूल, पानी तातो रहने भाँडा (थर्मस, मेगास्लिम बोटल आदि), कोल्ड क्रिम, क्यामेरा, मोबाइल, धेरै जाडो हुने गन्तव्य भए स्लिपिङ ब्याग, बाक्लो सल र यी सबै सामान अट्ने एउटा बलियो र बोक्न सजिलो झोला । 
ध्यान दिनुपर्ने कुरा
पहाडी क्षेत्रमा हवाई यात्रा गर्नुहुन्छ भने फर्कनका लागि वैकल्पिक बाटोबारे पनि विचार पु¥याउनुपर्छ । अन्यथा मौसम गडबडी भई फ्लाइट नहुँदा गाह्रो हुन सक्छ । स्वास्थ्य हेरविचार गर्नुपर्छ । आरामदायी सुताइ र गुणस्तरीय खानपिनमा जोड दिनुपर्छ । बच्चाबच्चीलाई चिसोबाट बचाउनुपर्छ । जान लागेको गन्तव्यमा औषधि–उपचार वा स्वास्थ्य चौकीको व्यवस्थाबारे जानकारी राख्नुपर्छ । 
आफैँ गाडी हाँकेर जाने हो भने कुहिरो र हुस्सु लागेको समयमा ध्यानपूर्वक चलाउनुपर्छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनै हुँदैन । 
स्थानीय रक्सी वा अन्य मादक पदार्थको सेवन गर्दा त्यसको गुणस्तर र असरबारे हेक्का राख्नुपर्छ ।  
जाने र सुनेका कुराबारे नयाँ ठाउँमा ज्ञान फैलाएर चेतना फैलाउन सहयोग पु¥याई उत्तरदायी पर्यटकको पहिचान दिनुपर्छ ।

Wednesday, January 4, 2017

हिमालयन हवाई रुट–२ खोल्न भारत सहमत

म्यानमार र चीनको सहमति आवश्यक

भारतले हिमालयन हवाई रुट–२ प्रयोगका लागि अनुमति दिने भएको छ । गत साता भारतमा भएको द्विपक्षीय वार्तामा भारतले नेपाललाई हिमालयन हवाई रुट–२ खोल्न सहमति दिएको हो । 
भारतले अनुमति दिए पनि नेपाली पक्षले चीन र म्यानमारसँग सहमति लिन आवश्यक छ । नेपालले यी दुई देशबीच सहमति लिन सके नेपालको आकाश धेरै एयरलाइन्सहरूले प्रयोग गर्नेछन् । जसका कारण नेपालले आकाश प्रयोग गर्न दिएबापत धेरै रकम आम्दानी गर्न 
 सक्नेछ भने नेपालबाट हुने उडानलाई पनि रुट छोटो पर्नेछ । 

“हिमालयन रुट दिने विषयमा भारतले सहमति जनाएको छ, अब म्यानमार र चीनसँग सहमति गरेमा रुट खुल्नेछ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव हरिबहादुर खड्काले भने । खड्का गत साता भएको द्विपक्षीय वार्तामा समेत सहभागी थिए । 
हिमालयन रुट–२ सञ्चालनमा आएपश्चात् काठमाडौं, बागडोरा, गुहाटी, सिलचर, इम्फाल, कुन्मिङ हुँदै हङकङ जोड्ने हवाई रुट खुला हुनेछ । अहिले नेपालबाट हङकङ जान बंगलादेश हुँदै जानुपर्ने लामो दूरीलाई हिमालयन रुटको अनुमतिले एक सय नटिकल माइल तथा करिब २० मिनेटको हवाई दूरी छोटो हुनेछ ।  
हिमालयन  रुट–२ सञ्चालनमा ल्याउनसके युरोप जाने रुटसमेत छोटो हुनेछ ।  यो अनुमतिले नेपालबाट अन्तरराष्ट्रिय उडान गर्ने वायुसेवाले प्रत्यक्ष लाभ लिन पाउने तथा अन्तरराष्ट्रिय उडानका अन्य विदेशी वायुसेवाले हिमालयन रुट प्रयोग गर्ने भएकाले नेपालले आर्थिक लाभसमेत पाउने उपसचिव खड्का बताउँछन् । 
हिमालयन रुटका कारण टोकियोबाट लन्डन जाने जहाजले पनि छोटो हवाई रुटका कारण नेपालको आकाश प्रयोग गर्नसक्ने भएकाले हवाई क्षेत्रको राजस्व बढ्नेछ । उड्डयन नियमअनुसार कुनै पनि देशमाथिको आकाशमा जहाज उडान हुँदा फ्लाइओभर शुल्क तिर्नुपर्ने हुन्छ । 
निगमलाई फाइदै फाइदा 
हिमालयन रुटले सबैभन्दा बढी फाइदा नेपाल वायुसेवा निगमलाई हुनेछ । काठमाडौंबाट हङकङ जाँदा बंगलादेश हुँदै जाने गरिएको हिमालय रुट–२ प्रयोग गर्दा करिब २० मिनेटको दूरी छोटो पर्नेछ । यो दूरी घटेपछि निगमलाई १ हजार ३ सय लिटर इन्धन बचत, एकतर्फी उडानमै १ सय डलर फ्लाइओभर शुल्क घट्ने भएकाले हरेक उडानमा ३ लाख ६४ हजार रुपैयाँ फाइदा हुनेछ । निगम व्यवस्थापनले यसअघि नै सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो रुटले समय, जहाजको इन्जिन आवर, इन्धन तथा नगद खर्च सबै कम हुने उल्लेख छ ।  
निगमले हरेक अन्तरराष्ट्रिय उडानमा नेपाली आकाशको प्रयोग गरेबापत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बाहिरिँदा र भित्रँदा ३ सय ४५ अमेरिकी डलर बुझाउने गरेको छ । फ्लाइओभर शुल्कबापत सम्बन्धित मुलुकले लिने यस्तो रकममा भारत जाँदा २ सय ७० डलर, फर्कंदा ३ सय ११ डलर, बंगलादेश जाँदा ४ सय २० डलर, फर्कंदा ४ सय २० डलर नै तिर्दै आएको छ । निगमले चीन जाँदा ३ सय २ र फर्कंदा २ सय ७० डलर, हङकङ जाँदा र फर्कंदा  १ सय ४२ डलर, म्यानमार जाँदा÷आउँदा २ सय ३८ डलर तिर्दै आएको छ । 
नेपालगन्ज रुट अर्को वार्तामा 
नेपाल आउन भारतले थप दुई रुट दिने र बाँकी रुटको विषयमा माघ महिनामा हुने वार्तामा सहमति दिने भएको छ । गत साता भएको वार्तामा जनकपुर र महेन्द्रनगर रुट प्रयोग गर्न दिने सहमति भएको छ । जसमा आउन र जान दुवैमा भारतले सहमति दिएको उपसचिव खड्काले जानकारी दिए । 
“नेपालका लागि मुख्य रुट नेपालगन्ज हो, माघमा हुने वार्तामा सहमति हुनेछ,” खड्काले भने । नेपालगन्ज नखुलेमा भैरहवा र पोखराको विमानस्थलमा उडान भर्न समस्या आउनेछ । नेपालका लागि भारतले हालसम्म सिमरा रुटमा मात्र अनुमति दिँदै आएको छ ।

विमानस्थल र ध्वजावाहक जहाज नै पर्यटनका मुख्य पूर्वाधार हुन्

 नेपालको पर्यटन भूकम्प र भारतीय नाकाबन्दीका कारण थला नै परेको थियो । सन् २०१६ को पर्यटक आगमन हेर्ने हो भने ३३ प्रतिशतले बृद्धि भएको छ, जुन पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत हो । निजी क्षेत्रले पर्यटक भित्र्याउनका लागि पूर्वाधार तयार पारे पनि सरकार भने अझै तयार नभएको आरोप व्यवसायीले लगाउँदै आएका छन् । 
निजी क्षेत्रले तयार पारेको पूर्वाधार हिसाब गर्ने हो भने यतिबेला २० लाख पर्यटक धान्ने पूर्वाधार तयार भइसकेको दाबी गरिएको छ । तर, सरकारले निर्माण गर्ने विमानस्थलको कुरा गर्दा १० लाख पनि धान्न नसक्ने अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल रहेको छ भने पर्यटकका मुख्य हवहरूमा नेपाल वायुसेवा निगमले उडान गर्न नसक्दा पर्यटक आगमन सोचेजस्तो बढ्न सकेको छैन । 
नेपालको पर्यटन क्षेत्रको अवस्था र आगामी दिनमा सरकार र निजी क्षेत्रले गर्नुपर्ने विषयमा केन्द्रित रहेर नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसूदन आचार्यसँग कारोबारले गरेको कुराकानीः

नेपालमा पर्यटनको इतिहास लामै भइसक्यो । जुन ठाउँमा थियौं त्यही छौं, किन ?
हामी पुरानै ठाउँमा होइन, त्योभन्दा अझ पछाडि नै छौं । सन् २०११ लाई पर्यटन वर्ष घोषणा गर्दाको अवस्थाको तुलनामा अहिले कम्तीमा १५ लाख पर्यटन आगमन हुनुपर्ने हो । २०१६ को अन्त्यतिर आइपुग्दा हाम्रो देशमा पर्यटन आगमन अहिले पनि ८ लाखमै सीमित छ । 
यो आँकडाले हामी अगाडि जाने त कुरै नगरौं, पछाडि नै रहेका छौं । यसका धेरै कारण छन् । पर्यटन व्यवसायलाई सरकारले आर्थिक विकासको मेरुदण्डका रूपमा लिएकै छैन । अन्य उत्पादनमूलक उद्योगजस्तो होइन, पर्यटन व्यवसाय । विश्वभरका पर्यटक आवागमन दर हेर्ने हो भने बर्सेनि यो बढ्दै छ । 
सन् २०१२ को अन्तिममा विश्वभर १ अर्ब पर्यटक आवागमन भएकोमा २०१५ मा यो संख्या १ अर्ब २० करोड पुगिसकेको छ । २०३० सम्ममा विश्वभर १ अर्ब ८० करोड पर्यटको आवागमन हुने अनुमान गरिएको छ ।
पर्यटन व्यवसाय सधैं अघि बढ्ने व्यवसाय हो । तर, नेपालमा भने यसलाई न त राज्यले न त हामी व्यवसायी कसैले पनि त्यो रूपमा लिएनौं । केही पक्ष निजी क्षेत्रको पनि छ, तर मुख्य जिम्मेवार राज्य नै हो । पर्यटनको विकास पूर्वाधारको विकाससँग टड्कारो रूपमा जोडिएको छ । विश्वका अन्य मुलुकले त्यही कुरा बुझेर त्यहीअनुरूप अगाडि बढेर कति प्रगति गरिसके । तर, हाम्रो देशमा त्यतातर्फ सोच्दै सोचिएन भन्दा पनि हुन्छ ।
पूर्वाधारकै अभावले पर्यटन व्यवसाय पछाडि परेको हो ? 
पूर्वाधारको विकास नागरिकको जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । त्योसँगै यसको विकासले पर्यटन क्षेत्रलाई समेत ठूलो टेवा पुग्छ । जस्तै, खाडी मुलुकको उदाहरण लिन सकिन्छ । त्यहाँ न कुनै पूर्वाधार थियो, न त प्राकृतिक सौन्दर्य नै । तर, केही वर्षमा उनीहरूले यसरी पूर्वाधारको विकास गरे त्यसले तिनीहरू विश्वका धेरै पर्यटक भित्र्याउने मुलुकमध्येमा पर्छन् । 
यसको उदाहरणमा यूएई, कतार र साउदी अरब हुन् । यसको तात्पर्य के हो भने पूर्वाधारको विकासबिना पर्यटनको विकास सम्भव छैन । 
जुन ठाउँमा जस्तो पूर्वाधार छ त्यहाँ त्यस्तै पर्यटक जाने हुन् । नेपालमा प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा छ भनेका छौं । यसको लिमिट क्षमता हुन्छ । सबै मानिसलाई प्रकृति वा संस्कृतिसँग चासो नहुन सक्छ तर घुम्ने इच्छा त सबैलाई हुन्छ । भौतिक विकास पनि पर्यटक आकर्षण अर्ने आधार हो भन्ने प्रमाणित भइसकेको छ । 
हामीले अब पनि नेपाल प्राकृतिक रूपले उत्कृष्ट गन्तव्य हो भनेर बस्ने अवस्था छैन । यस्तो पर्यटकको प्रवाह परिवर्तन हुन सक्छ । यसरी आउने पर्यटकको संख्या पनि न्यून छ । अधिकांश पर्यटक विलासी, रिक्रिएसन, एक्युजमेन्टतर्फ आकर्षित हुन थालेका छन् । पूर्वाधारलाई केन्द्रमा राखेनौं भने हामीसँग भएका अन्य पूर्वाधार पनि ओझेलमा पर्न सक्छन् । 
यस्तो हुनुमा सरकार र व्यवसायी कहाँ चुके ?
व्यवसायीहरू आफ्नो व्यवसायमा मात्र केन्द्रित भए । पर्यटन क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेकाहरूले त्यति चासो दिएको पाइएन । व्यवसाय हुन्जेल गरौं, नभए ठीकै छ भन्ने खालको कुरा गर्दा समस्या भएको हो । विगतमा सबैभन्दा धेरै पर्यटक भित्र्याउने कम्पनी अहिले निष्क्रिय प्रायः छन् । 
त्यसो भन्दैमा अरूले केही गरेनन् भन्ने होइन । यसले पनि समस्या पर्छ । सरकारले अहिले पनि पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छैन । प्राथमिकता दिने भनेर पर्यटनका लागि छुट्टै पूर्वाधार चाहिने होइन । तर, सरकारको नीति निर्माण गर्दा सबै निकायले पर्यटन क्षेत्र पनि हाम्रो प्राथमिकताको क्षेत्र भने काम गर्नुपर्‍यो ।
पर्यटन आगमन बढाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्छ । एउटा निकायले काम गर्दा अर्काे निकायले सहयोग गर्नुपर्नेमा त्यस्तो देखिन्न । नेपालमा निकासी गरेर आम्दानी गर्ने त्यस्ता कुनै उद्योगको सम्भावना नै देखिन्न । 
विश्वका ठूला देशहरूले गरेका उत्पादनसँग हामीले प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । यो अवस्थामा हामी पर्यटन क्षेत्रमा मात्र प्रतिस्पर्धा गर्ने स्थितिमा छौं । 
यसका लागि हाम्रो राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको २८ वर्षसम्म नयाँ जहाज नआउनु दुःखद हो । हामीले गर्न सक्दैनौं भने विदेशी कम्पनीहरूलाई पनि आकर्षण गर्न सक्नुपर्ने हो, त्यो पनि भएको छैन । यहाँ जति पनि अन्तरराष्ट्रिय विमान कम्पनीहरू आएका छन् तिनीहरू पनि सन्तुष्ट छैनन् । त्यस्ता कम्पनीहरू व्यवसाय गर्न बाध्य छन्, उनीहरू खुसीका साथ काम गरिरहेका होइनन् । 
राष्ट्रिय ध्वजावाहकलाई अपग्रेड गर्नैपर्छ । पाँच–पाँच वर्षको योजना बनाएर हुन्छ वा अन्य योजनामार्फत एनएसीलाई विमान दिलाउनुपर्छ । नेपालजस्तो देशमा राष्ट्रिय ध्वजावाहकसँग कम्तीमा १५/२० वटा जहाज हुनुपर्छ । यस्ता विमान कम्पनीहरूले नाफा कमाउनुपर्छ भन्ने होइन । 
अन्य सरकारी कम्पनीहरू घाटामै चल्दा हुने तर एनएसी भने नाफामै जानुपर्छ भन्ने किन ? यसको अर्थ एनएसी घाटामा जाओस् भन्ने होइन । एनएसीसँग १० वटा जहाज हुने र उसले १० अर्ब घाटा खाए पनि त्यसले हुने पर्यटन आवागमनले अन्य क्षेत्रबाट गर्ने आम्दानी तीन–चार गुणा बढी हुन्छ । 
अन्य देशका राष्ट्रिय ध्वजावाहकहरू पनि घाटामै चलिरहेका छन् । पर्यटकको प्रवाहले अन्य धेरै क्षेत्रमा आम्दानी जेनेरेट गर्ने भएकाले राष्ट्रिय ध्वजावाहक सक्दो धेरै गन्तव्यमा जानुपर्छ । 
हामीसँग गन्तव्यहरू पनि धेरै छन् । विश्वका मिडिया तथा अन्य संस्थाहरूले गर्ने रेटिङमा नेपाल उत्कृष्ट ५, उत्कृष्ट १० मा परि नै रहेको हुन्छ । यति हुँदाहुँदै पनि हामी अघि बढ्न नसक्नुको कारण पूर्वाधारको कमी नै हो । 
जस्तो हवाई, बाटोघाटो, एक्सप्रेस वे तथा कनेक्टिभिटीको कमी छ हामीकहाँ । विश्वमा धेरै दातृ निकाय छन्, सरकारले टनेल, एक्प्रेस वेजस्ता पूर्वाधार बनाउनुपर्‍यो । अन्य मुलुकहरूले बनाउन सक्ने नेपालले किन नसक्ने ?
कनेक्टिभिटी नभएरै पर्यटक संख्या नबढेको हो ?
ठीक कुरा उठाउनुभयो । देशभित्र पर्यटकलाई विभिन्न गन्तव्यमा पु¥याउन राष्ट्रिय कनेक्टिभिटी चाहिन्छ भने राष्ट्रिय ध्वजावाहकमार्फत अन्तरराष्ट्रिय कनेक्टिभिटी बढाउनुपर्छ । बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी महत्वपूर्ण गन्तव्य हो । 
श्रीलंकामा ७० प्रतिशत बौद्ध धर्मावलम्बी छन् । खोइ हामीले श्रीलंकासँग सिधा हवाइ सम्पर्क जोडेको ? त्यस्तै कम्बोडिया, म्यान्मारजस्ता धेरै देशका पर्यटक आकर्षित गर्न सकिन्छ । त्यसका लागि राष्ट्रिय ध्वजावाहकले आफ्नो कनेक्टिभिटी जोड्नुपर्छ । 
पर्यटक आवागमन कम हुनुको मुख्य समस्या पूर्वाधार नै हो ?
हो, पूर्वाधार नै हो । पर्यटनमा पछि पर्नुको कारण होटल नभएर होइन । होटलको क्षमताको ६० प्रतिशतभन्दा कम अकुपेन्सी छ । होटल थपिने क्रम जारी भएकाले यस्तो भएको हो । पोखरा, चितवन तथा काठमाडौंमै पनि होटलहरू थपिने क्रम जारी छ । निजी क्षेत्रले गर्ने भएको हस्पिटालिटी, होटललगायतको विकास हो । 
८ लाख पर्यटक आउने देशमा १२ सय ट्राभल एजेन्सी र २ हजार ट्रेकिङ एजेन्सी छन् । जबकि मलेसियामा ८० लाख पर्यटक भित्रिन्छन्, त्यहाँ जम्मा ३ हजारभन्दा कम ट्राभल एजेन्सी छन् । यो भन्नुको अर्थ हाम्रो देशमा सर्भिस क्यापासिटी टन्नै छ । तर, हामीसँग पर्यटक ल्याउने पूर्वाधार भएन । 
नेपालमा सीधा हवाई सम्पर्क भएको मुलुक ज्यादै थोरै छन् । पर्यटकको ओरिजन युरोपमा हालै मात्र टर्किसले हवाई सेवा सुरु गरेको हो । पाँच–सातवटा एयसलाइन्सले गरेको कनेक्टिभिटीबाट कति पर्यटकको अपेक्षा गर्ने ? युरोप÷अमेरिकाबाट सीधा आउने विमान सेवा नहुँदासम्म पर्यटक आगमनको दर ज्यादै न्यून हुन्छ । राष्ट्रिय ध्वजावाहक पूर्वाधार सम्पन्न नहुँदासम्म सरकारले विदेशी विमान कम्पनीलाई आकर्षित गर्नुपर्छ ।

हाम्रो गन्तव्य महँगो हुनुमा एयरलाइन्स मात्र हुन् कि व्यवसायीहरू पनि हुन् ? प्याकेज बिक्री गर्ने त व्यवसायी नै हुन् ?
प्याकेजमा त्यस्तो महँगो भन्ने कुरै छैन । २ सय रुपैयाँको अत्यन्त मीठो चिया पाइन्छ कुनै ठाउँमा । तपाईं त्यो चिया खान कति रुपैयाँसम्म खर्च गरेर जानु हुन्छ ? २ सय रुपैयाँ नै खर्च गरेर त तपाईं त्यो चिया खान जानुहुन्न । हामीले अहिले नेपाल आउन १ साताको प्याकेज औसतमा ५ देखि ७ सय अमेरिकी डलरको हो । 
७ सय डलरको प्याकेज लिन १५ सय डलर खर्च गरेर पर्यटकहरू आइरहेका छन् । हुनुपथ्र्यो के भने हाम्रो प्याकेज २ हजार डलरको, आउने हवाई खर्च १ हजार डलरको । यसमा सरकारले हेर्नैपर्छ । हामी किन महँगो भइरहेका छौं । विमान कम्पनीहरू नेपालमा ल्यान्डिङ, पार्किङ महँगो भयो भनेर कम्प्लेन गरिरहेका छन् । 
हामीलाई पर्यटक चाहिएको छ, त्यसैले आवश्यक खर्चको लागत कम गर्नुप¥यो । त्यस्तै नेपालमा हवाई इन्धन पनि महँगो भयो भन्ने कम्प्लेन आउने गरेको छ । यसले गर्दा हाम्रोमा आगमन महँगो भएको हो । यसमा सरकारले केही दिनमै निर्णय गर्न सक्छ । 
एयरपोर्टमै पनि हाम्रो पूर्वाधार राम्रो हुन सकेका छैन । त्यसलाई पनि व्यवस्थित बनाउनुपर्छ । एयरपोर्टमा ओर्लनेबित्तिकै नेपालका आकृतिहरू हुनुपर्छ ।
व्यक्तिगत रूपमा आउने पर्यटकले देशमा आउने पर्यटकको संख्या पुग्नै सक्दैन । त्यसका लागि सामूहिक पर्यटक नै आउनुपर्छ । नेपालमा पूर्वाधार लगायतको विकास नहुँदा सामूहिक रूपमा आउने पर्यटक निकै कम भइसकेका छन् । विश्वका विभिन्न प्याकेज 
बिक्रेता कम्पनीले आफ्नो कार्यालयबाट नेपाल डेक्स नै हटाइसकेका छन् । हामीले त्यस्ता पर्यटकलाई आकर्षित गर्न सक्नुपर्छ । जुनसकै देशको पनि कुल पर्यटक आवागमनमा व्यक्तिगत रूपमा आउने पर्यटकको संख्या २०÷२५ प्रतिशत मात्र हो । हामीले अर्गनाइज पर्यटक आवागमन बढाउनमै केन्द्रित हुनुपर्छ । 
अब नेपालको पर्यटन बजार कुन हो ?
मैले जहाँसुकै भ्रमण गर्दा भेटेका मान्छेहरूलाई सोध्दा आफू नेपाल भ्रमणमा जाने इच्छामा सदैव रहेका बताउने गरेका छन् । एकपटक आएकाले र आउँदै नआएकाले पनि नेपाल भ्रमणको चासो देखाएको पाउँछु । नेपालका लागि यो फाइदाको विषय हो । हामीकहाँ पर्यटकीय विविधता छ । 
युवाहरू लागि एडभेन्चर पनि छ, मध्यम उमेरका लागि एक्सपिडिसन, अलि पाको उमेरका लागि सांस्कृतिक सम्पदादेखि जंगल सफारीसम्म छ । अफ्रिकापछि नेपाल नै जंगल सफारीका लागि उत्कृष्ट छ । 
नेपालमा सबैका लागि उपयोगी पर्यटन छ । जापान, युरोप, अमेरिकी तथा एसियन सबैका लागि उपयोगी छ । सुरक्षा, पूर्वाधारजस्ता आवश्यक कुरा भयो भने सबैका लागि नेपाल आकर्षक गन्तव्य हुन्छ । 
चीन र भारतमा प्रवद्र्धनको कार्यक्रम गर्ने भन्छौं, तर केन्द्रित हुन सकेका छैनौं नि ?
मुख्य कुरा यसका लागि पहुँच नै हो । जबसम्म हामी त्यहाँ पुग्दैनांै उनीहरू यहाँ आउँदैनन् । चीन तथा भारतका मुख्य सहरमा हामीले फोकस गर्न सकेका छैनौं । प्रवद्र्धन गर्ने भनेको नेपाल वायुसेवा निगमले उडान गर्ने हो । 
चीन र भारतका मुख्य सहरमा उडान सुरु हुनेबित्तिकै प्रतिस्पर्धा बढ्छ, हवाई भाडा घट्छ, त्यसपछि पर्यटक आगमनदरमा वृद्धि हुन्छ । चीनबाट आउने सबै एयरलाइन्सहरू बिजनेसलाई केन्द्रित गरेर आएका छन् । त्यहाँ टिकेटिङ गर्ने कम्पनीले पहिल्यै सिट होल्ड गरेर बस्नुपर्ने अवस्था छ । 
नत्रभने यति मनोपोली गर्छन् त्यहाँबाट काठमाडौं आउने एयरलाइन्सले एक घण्टामै हवाई भाडा परिवर्तन गर्छन्, जसले गर्दा प्याकेज बनाउन त्यहाँ सेल्स एजेन्टलाई धेरै समस्या रहेको छ । त्यसैले दुवै देशमा उडान नेपाल वायुसेवाले गर्न आवश्यक छ । 
एउटा उदाहरण दिन चाहन्छु, दिल्लीबाट काठमाडौं आउन एकतर्फी भाडा ४३ हजार रुपैयाँसम्म पुग्यो, तर पछि निगमले उडान थालेपछि अहिले सहज भएको छ । यसैले केन्द्रित भनेको पहुँच नै हो । त्यसपछि छिमेकी मुलुकका पर्यटक नेपाल आउनेछन् । हामीले निगमलाई भनेका छौं, सन् २०२० सम्ममा कम्तिमा १० वटा जहाज निगमसँग हुनुपर्छ । 
नेपालको पर्यटनमा वैदेशिक लगानी आवश्यक छ कि छैन ? अहिलेसम्म पनि किन वैदेशिक लगानी आकर्षित भएको छैन ?
नेपालमा वैदेशिक लगानी आउन पहिले सोही अनुसारको पर्यटक संख्या आउनु आवश्यक छ । यहाँका व्यवसायीले ह्यान्डिल गर्न नसकेपछि आफैं लगानीकर्ता आउनेछन् । अहिले त यहाँकै व्यवसायीले नै चलाइरहेका छन् । ट्राभल क्षेत्रमा त अहिले वैदेशिक लगानी असम्भवजस्तै छ । 
उनीहरूले पहिले लगानीको सुरक्षा खोज्छन् अनि मात्र आउँछन् । हाम्रो मुलुकमा ५० लाख पर्यटन आउने स्थिति भयो भने अवश्य पनि वैदेशिक लगानी स्वतः भित्रिनेछ । अर्को, होटल, एयरलाइन्सतर्फ भने अहिले पनि वैदेशिक लगानी आवश्यक छ । कतिमा आइ पनि रहेका छन् । अहिले कति नयाँ होटलहरूमा चेन होटलहरू पनि आउँदैछन्, जुन सकारात्मक हो । 
पर्यटन व्यवसायीहरू नयाँ गन्तव्यमा जान अझै किन डराइरहेका छन् ?
पर्यटन भनेको साइकल चलाएजस्तै हो । साइकल गुडिरहेसम्म मान्छे लड्दैन, जब गुडाउन छोड्छ ऊ लडिहाल्छ । पर्यटन व्यवसाय पनि स्थिर भएर बस्ने व्यवसाय होइन । कि अगाडि बढ्छ कि पछाडि हट्छ । पर्यटक त नेपाल आउन खोज्छ, आउने स्थिति भएन भने अर्को देश जान्छ । 
त्यसैले यही गन्तव्यमा बसिराख्यौं भने पछाडि फर्कन्र्छौं । सन् २०३० एउटा प्रक्षेपण भएको छ । अहिले उडिरहेका जहाजभन्दा आकाशमा दोब्बर उड्नेछन् । एयरबस र बोइङको बुकिङ हेर्ने हो भने पनि दोब्बर पुग्ने देखिन्छ । सन् २०३० मा १ अर्ब ८० करोड पर्यटक आगमन पुग्छ भन्ने प्रक्षेपण छ ।
भन्नुको अर्थ जुन हिसाबले विकास भइरहेको छ, हामीले आफू सक्षम भएनौं भने पर्यटक अन्यत्र जान्छन् । त्यसैले पहिलो भनेको पूर्वाधार नै हो । कनेक्टिभिटी नै हो । सुदूरपश्चिम जान जहाज भाडामा मात्र ४ सय डलर खर्च हुन्छ । 
पर्यटकलाई भार थपिन्छ र त्यसैले सडक मार्ग, द्रुत मार्ग खै जोडिने संकेत नै छैन । एउटा पर्यटकको आगमनले ११ वटा अवसर प्रदान गर्छ ।
३० लाख पर्यटक भित्र्याउने हो, खाडी जान पर्दैन नेपालीले । सरकारले पूर्वाधार निर्माण गर्ने भनेको जनतालाई त सहज भइहाल्छ नै, पर्यटक आगमन नै बढाउँछ र नयाँ–नयाँ गन्तव्यको विकास हुन्छ । 
विमानस्थल निर्माण कार्य सुरु हुनु राम्रो हो । तर, भैरहवा र पोखरा जोड्ने नेटवर्क पनि चहियो नि । काठमाडौं–पोखरा जोड्ने फास्टट्र्याकको खै कल्पना ? पर्यटकले सबै समय हिसाब गरेर भ्रमणमा निस्कने हो । एउटा मात्रै काम गरेर भएन, त्यसले जोड्ने सबै लिंक रोडको कल्पना आवश्यक छ । 
भूकम्पपछि अब हामी रिकभरको चरणमा प्रवेश गरेका हौं ?
भूकम्पभन्दा पनि अन्तरराष्ट्रिय मिडियाले गलत प्रचार गर्दा समस्या भएको हो । नत्र काठमाडौंमा कहाँ के भएको छ । खालि पहिले जीर्णोद्धार नभएका भवन भत्किएका हुन्, तर पनि पर्यटनमा प्रभाव परेको थियो । यस विषयमा सरकारले प्रचार गर्न कमजोरी गर्दा समस्या भएको हो । 
अहिले आगमनदर बढ्दै गएको छ । सन् २०१७ का लागि आएको बुकिङ हेर्दा आगामी वर्ष ९ लाख हाराहारी पर्यटक आउने देखिन्छ । प्राकृतिक प्रकोपभन्दा पनि राजनीतिक अस्थिरताले चाहिँ पर्यटक आगमनमा असर पार्ने रहेछ । 
आन्तरिक पर्यटकको दरमा कत्तिको वृद्धि हुँदै गएको पाउनुभएको छ ?
आन्तरिक भ्रमण गर्ने नेपालीको संस्कृतिमा वृद्धि भएको छ । अधिकांश बैंकका म्यानेजर, सीईओ, सरकारी कर्मचारीदेखि निजी क्षेत्रमा कार्यरत कर्मचारी सबै घुम्न जाने ट्रेन्ड बढेको छ । सरकारले घोषणा गरेको घुमफिर वर्षले यसलाई झनै ब्रान्डिङ गरेको छ । 
पहिले आफूखुसी घुम्न जाने, जात्रा गएझंै जाने प्रचलन पनि तोडिँदै गएको छ । नेपालीहरू पनि ट्राभल एजेन्सीसँगको प्याकेज लिएर जान थालेका छन् । नेपालको पर्यटन क्षेत्र अहिले ४० प्रतिशतभन्दा बढी बजार आन्तरिकले धानेको छ ।

२०१७ मा घुम्न छुटाउन नहुने नेपालका १० गन्तव्य

 
काठमाडौं: सन् २०१७ मा घुम्नुपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल पनि परेको छ । लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षसँगै आउँदो वर्ष घुम्न विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सार्वजनिक गरेको सूचीमा  दक्षिण एसियाबाट नेपालमात्र परेको छ । 
प्लानेटले सार्वजनिक गरेको सूचीअनुसार पहिलो स्थानमा क्यानडा, दोस्रोमा कोलम्बिया, तेस्रोमा फिनल्याण्ड तथा चौथोमा डोमिनिका रहेका छन् । त्यस्तै छैटौंमा बर्मुडा, सातौंमा मंगोलिया, आठौंमा ओमान, नवौंमा म्यानमार तथा दशौंमा इथियोपिया छन् । 
लोन्ली प्लानेटले हरेक वर्ष सार्वजनिक गर्ने यो सूची भ्रमण गरेका पर्यटकको प्रतिक्रिया, भ्रमणका लागि पर्यटकले देखाएको चासो तथा विभिन्न तथ्यांकलाई आधार मानेर तयार हुन्छ । 
गएको वर्षको वैशाख १२ मा गएको भूकम्पले क्षति गरेका पदमार्गहरू पुनर्निर्माण भइसकेको समेत जनाएको छ । नेपालमा घुम्न लायक धेरै ठाउँ रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । 
पर्यटकका लागि भूकम्पपछि नेपालले के गुमायो र अझै बाँकी के के छन् तथा कहाँ–कहाँ पुनर्निर्माण भइरहेका छन् भनेर अवलोकनको लागि निकै महत्वपूर्ण हुने उल्लेख गरेको छ । सांस्कृतिक महत्वका केही सम्पदा भत्किए पनि तिनका बारेमा बुझ्न र त्यहाँ हेर्न लायक धेरै कुरा रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । 
विश्वकै उत्कृष्ट पदमार्गहरू नेपालमा रहेकाले यो घुम्नैपर्ने देश रहेको लोन्ली प्लानेटले भनेको छ । नेपालका विभिन्न गाउँ तथा त्यहाँको संस्कृतिको अवलोकन गरी नेपालको पुनर्निर्माणमा सहयोग गर्ने माध्यम बन्नका लागि लोन्ली प्लानेटले विश्वभरका पर्यटकसँग अपिल पनि गरेको छ । 
प्लानेटले तयार पारेको उत्कृष्ट गन्तव्यका सूचीहरूलाई विश्व पर्यटन संगठनले समेत अनुमोदन गरेको छ । प्लानेटले विश्वभरका पर्यटकलाई सन् २०१७ मा छुटाउन नहुने नेपालका १० गन्तव्य समेत सार्वजनिक गरेको छ । 
नेपालका उत्कृष्ट १० गन्तव्यहरू 
रारा
मुगु जिल्लामा पर्ने देशकै सबैभन्दा ठूलो ताल तथा स्वच्छ पानी भएको तालको रूपमा रारा ताललाई लिइन्छ । पछिल्लो समय गाडीमार्फत जान सकिने भएकाले पर्यटकहरूलाई जान र आउन हवाई र गाडी जुनसुकै साधन प्रयोग गर्न सक्छन् । 
पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको रारामा पर्यटकलाई जान सहज हुन थालेपछि विदेशी पर्यटकहरू पनि ठूलो संख्यामा जाने आशा गरिएको छ । रारा जानको लागि फागुनदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्म उपयुक्त हुने समेत प्लानेटले उल्लेख गरेको छ । 
पुनहिल
नेपालको मुख्य र सबैभन्दा आकर्षक पदमार्ग घान्द्रुक–घोरेपानी–पुनहिल रहेको उल्लेख गर्दै प्लानेटले पुनहिलमा पुगेर दर्जनौ हिमश्रृंखला हेर्न सकिने भएकोले उक्त क्षेत्रको भ्रमणमा जान सुझाव दिएको छ । 
म्याग्दी जिल्लामा रहेको पुनहिल ३ हजार २ सय १० मिटर उचाइमा रहेको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रको एउटा मुख्य भागको रूपमा रहेको पुनहिलमा ३० वटा होटल छन् । सो क्षेत्रमा एक रातमा ७ हजार पर्यटक राख्न सक्ने क्षमता छ । 
जोमसोम–मुक्तिनाथ 
हिन्दू र बुद्धमार्गीको समेत तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्र पर्यटकको लागि आकर्षक गन्तव्य रहेको लोन्ली प्लानेटले जनाएको छ । ३ हजार ७ सय १० मिटर उचाइमा रहेको उक्त भ्याल्लीले आन्तरिक र बाह्य पर्यटकको मुख्य गन्तव्य स्थलको रूपमा पहिचान कमाएको छ । 
खप्तड
खप्तड राष्ट्रिय निकुञ्ज नेपालको सुदूरपश्चिम क्षेत्रमा पर्ने चार जिल्लाको संगमस्थल हो । बजाङ, बाजुरा, अछाम र डोटी जिल्लामा रहेको उक्त क्षेत्र १ हजार ४ सय मिटर उचाइदेखि ३ हजार ३ सय ३० मिटर क्षेत्रमा फैलिएको छ । 
खप्तड जानको लागि चैत र वैशाख तथा असोज–कात्तिक महिना उपयुक्त हुने लोन्ली प्लानेटले जनाएको छ । पछिल्लो समय नेपाल पर्यटन बोर्ड तथा पर्यटन व्यवसायी संस्थाहरूले खप्तड जानको लागि स्वदेशी तथा विदेशीका लागि प्याकेजसमेत घोषणा गरेका छन् । 
कोशी टप्पु 
कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रलाई लोन्ली प्लानेटले चरा अवलोकनको लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरेको छ । १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ । 
सन् १९८७ रामसार सूचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातिका चरा, २१९ को संख्यामा दुर्लभ अर्ना र दुर्लभ डल्फिनसमेत पाइन्छ । सो क्षेत्र भ्रमण गर्नको लागि पनि पर्यटन व्यवसायीहरूले विभिन्न प्याकेज बिक्री गर्दै आएका छन् । 
इलाम
नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । इलाममा चिया बगानको साथै पिकनिक स्पट तथा साइट सिनको लागि आकर्षक स्थान छन् । इलाम जा असोज, कात्तिक, मंसिर तथा फागुन, चैत र वैशाख उपयुक्त मानिन्छ । 
बर्दिया राष्ट्रिय निकुञ्ज 
बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूरपश्चिममा क्षेत्रमा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्वतिरको तराई प्रदेशमा अवस्थित छ । 
सन् १९६८ मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिए पनि सन् १९६७ मा करिब ३६८ वर्गकिलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो । उक्त क्षेत्रमा जानको लागि हवाई तथा सडक दुवै मार्ग प्रयोग गर्न सकिन्छ । हवाई मार्गमार्फत जान काठमाडौंबाट नेपालगन्जको उडानमा जानुपर्ने हुन्छ । 
लाङटाङ
रसुवाको सौन्दर्य हिमाल, ताल, तातोपानी, थरीथरीका वनस्पति, हाब्रे, हिमालयन थार, लाङटाङ हिमाल (७ हजार २ सय ४५ मिटर) र गणेश हिमाल श्रृंखला अनि हिउँमा रमाउने क्षेत्र लाङटाङ हो । नेपालको तेस्रो गन्तव्यस्थलको रूपमा परिचित लाङटाङ भूकम्पपछि केही सुस्ताएको थियो । 
काठमाडौंबाट १ सय ३२ किलोमिटर बस यात्रापछि स्याफ्रुबेंसी पुगिन्छ । लाङटाङ पैदल यात्रा सोही स्थानबाट लाङटाङ पदयात्रा सुरु हुन्छ । लाङटाङ भूकम्पका कारण ध्वस्त भए पनि पछिल्लो समय बाटोहरू निर्माण भएसँगै पर्यटकहरूको चहलपहलसमेत बढ्न थालेको छ । 
नवलपरासी
जंगलसँग रमाउँदै बोट लिएर चराचुरुंगी हेर्नको लागि उत्कृष्ट गन्तव्य पछिल्लो समय नवलपरासीलाई लोन्ली प्लानेटले उल्लेख गरेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने उक्त क्षेत्रमा १ सय १४ प्रजातिका चराचुरुंगीहरूको अवलोकन गर्न पाइन्छ । 
नवलपरासी वरपर पछिल्लो समय सुविधासम्पन्न होटल तथा रिसोर्टसमेत खुलेका छन् । हात्ती सफारीमार्फत जंगली जनावरहरूको अवलोकन गर्न समेत पाइने क्षेत्रलाई प्लानेटले सन् २०१७ मा पर्यटकलाई घुम्न सुझाव दिएको छ । 
बारपाक
गोरखाको उत्तरी क्षेत्रमा पर्ने बारपाक भूकम्पको केन्द्रबिन्दू हो । त्यहाँका अधिकांश घरहरू भत्किएका थिए । विगतमा नमुना होमस्टेसमेत रहेको बारपाक अहिले पुनर्निर्माणको काम भइरहेको छ । प्रकृतिले रमणीय स्थानमा रहेको बारपाक समुद्र सतहदेखि १ हजार ९ सय मिटर उचाइमा छ ।

हवाई यात्रुको बिमा रकम ६ गुणासम्म बढाउने तयारी


 


 

 

 

 

 

 

आन्तरिकको ५० हजार डलर, अन्तरराष्ट्रियको १ लाख १३ हजार 

काठमाडौंः सरकारले ६ दशकपछि हवाई यात्रुको बिमा रकम बढाउने तयारी गरेको छ । साविकको भन्दा करीब ६ गुणासम्म रकम बढाउने गृहकार्य भइरहेको छ । हाल प्रतियात्रु २० हजार अमेरिकी डलर रहेको यात्रु बिमा रकम अन्तरराष्ट्रियतर्फ १ लाख १३ हजार र आन्तरिकतर्फ ५० हजार डलर पुर्‍याउने सरकारको तयारी छ ।
नेपालले हवाई यात्रुको बिमा रकम बढाउन सन् १९९९ मा क्यानडामा चलेको अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ‘मोेन्ट्रिल कन्भेन्सन’ मा हस्ताक्षर गरिसकेको छ । तर उक्त महासन्धि हालसम्म पनि नेपाल सरकारले अनुमोदन नगर्दा बिमा रकम बढ्न नसकेको हो । 
जसका कारण अन्तरराष्ट्रिय हवाई यात्रुले नेपालका एयरलाइन्सलाई विश्वासमा लिँदैनन् ।   
सरकारले अन्तरराष्ट्रिय समुदायलाई विश्वसमा लिनको लागि पनि आगामी एक वर्षभित्र सबै प्रक्रिया टुंग्याउने गरी प्रक्रिया अगाडि बढाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई महाशाखाका प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । बिमा रकम नबढाएमा नेपाल वायुसेवा निगमलाई अन्तरराष्ट्रिय उडानमा समस्या पर्ने भएकोले पनि नेपाललाई बिमा बढाउनु अनिवार्य छ । 
सन् १९५५ मा ‘हेग प्रोटोकल’ मा २० हजार डलर कार्यान्यवनमा गएको थियो । नेपालले हालसम्म पनि सोहीदर कार्यान्वयनमा राखेको छ । त्योभन्दा पहिला सन् १९२९ मा १० हजार डलर थियो ।  जापान, अमेरिका, युरोप तथा आईकाओका अधिकांश सदस्य राष्ट्रहरूले बिमा रकम सन् १९७७ मै  ७५ हजार डलर पुर्‍याएका थिए । 
हाल ती देशले १ लाख १३ हजार डलर कार्यान्वयनमा लगेका छन् । तर, नेपालले भने अहिले पनि सन् १९५५ को ‘हेग प्रोटोकल’ले तयार पारेको २० हजार डलर कार्यन्वयन गरिरहेको छ । “नेपालले मनोट्रियल कन्भेन्सन मात्र नभएरले केपटाउन कन्भेन्सन समेत अनुमोदन गर्नुपर्ने भएकोले बिमा रकम बढाउनुको विकल्प छैन,” लामिछानेले भने । 
विश्वका धेरै देशले  १ लाख १३ हजार डलर बिमा रकम कार्यान्वयनमा लागिसकेको उल्लेख गर्दै उनले अबव नेपालले पनि सोहीदरमा कार्यन्यनमा जानुपर्ने बताए । यो व्यवस्था कार्यान्वनयनपछि नेपालबाट अन्तरराष्ट्रिय उडान गर्ने नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई बाध्यता हुनेछ । नेपाल आउने अधिकांश एयरलाइन्समा हाल १ लाख १३ हजार डलरको हवाईयात्रु बिमा उपलब्ध छ । 
महासन्धि अनुमोदन गरेका देशबाट यात्रा गर्ने कुनै यात्रु नेपाली एयरलाइन्समा चढ्दा दुर्घटना भएको खण्डमा यही दरको बिमा दाबी क्षतिपूर्ति तिर्नुपर्छ । जबकी, नेपाली यात्रुले २० हजार डलरबराबरको मात्र बिमा दाबी गर्न पाउँछन् ।
नेपालले उक्त महासन्धि अनुमोदनको लागि प्रक्रिया सुरु गरेको लामिछानेले जानकारी दिए । मन्त्रालयले निर्णय गरेपश्चात अर्थको स्वीकृत लिएर कानुन मन्त्रालय पठाउनु पर्ने हुन्छ । कानुन मन्त्रालालयले ड्राफ्ट तयार गरेर संसदमा पठाउने छ । संसदले पास गरेपश्चात महासन्धि अनुमोदन हुने र कार्यान्वयनमा जाने सहसचिव लामिछानले बताए । 
यो अनुमोदन गराउन सन् २००८ र सन् २००९ मै छलफल चलेको भएता पनि कुनै विषय निर्णय भएको थिएन । हाल राष्ट्र बैंक, बैंकर, अर्थमन्त्रालय, बिमा समिति, एयरलाइन्स कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स लगायत सरोकारवालसँग छलफल चलिरहेको मन्त्रालयले बताएको छ ।
आन्तरिकतर्फ पनि बढाइने 
अन्तरराष्ट्रिय एयरलाइन्ससँगै आन्तरिक एयरलाइन्सहरूको पनि बिमा रकम बढाउने तयारी सरकारले गरेको छ । अन्तरराष्ट्रियको हकमा महासन्धिको अनुमोदन अनिवार्य भए पनि आन्तरिकको हकमा नेपाल आफैले बिमा रकम तय गर्ने लामिछानेले बताए । 
आन्तरिकतर्फ पनि हाल २० हजार डलर नै बिमा रकम लागू भएको छ । सरोकारवालहरूसँग छलफल गरेर कति भन्ने कुरा टुंग्याउने लामिछानेले जानकारी दिए । “अहिले ५० देखि ६० हजार डलरसम्म बनाउन सकिनेगरी छलफल चलिरहेको छ,” लामिछानेले भने । 
यता निजी वायुसेवा संचालक संघ (आयोन) का अध्यक्ष पवित्रकुमार कार्कीले अहिले नै १ लाख डलर भन्दा पनि ५० हजार डलरसम्म आन्तरिक यात्रुको बिमा हुनुपर्नेमा जोड दिए । अहिले नै धेरै रकम पुर्‍याउँदा हवाई टिकटको मूल्य महँगो पर्ने भएकोलले सोही दरमा बिमा रकम बढाउन सुझाव दिएको कार्कीले बताए ।

Sunday, December 25, 2016

गौतम बुद्ध विमानस्थल नै विकल्प हुन्छ

नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल व्यवस्थापनमा चुनौतीका पहाडैपहाड छन् । प्रतिघण्टा १ हजार ३ सय ४० हवाईयात्रु धान्न सक्ने गरी निर्माण गरिएको टर्मिनल भवनले यतिबेला प्रतिघण्टा २ हजार ५ सय हवाईयात्रुलाई सेवा दिइरहेको छ । यो विमानस्थलबाट दैनिक ४० भन्दा बढी अन्तरराष्ट्रिय उडान हुने गरेका छन् । 
२ सय ५० वटाभन्दा बढी आन्तरिक उडान/अवतरण हुने गरेका छन् । विमानस्थल विस्तारको योजनाअनुसार काम थालेको स्पेनिस कम्पनी सान्जोसेले काम गर्न नसकेपछि भर्खरै मात्र ठेक्का रद्द भएको छ । बिस्तार योजना लम्बिँदै जाँदा व्यवस्थापनमा कठिनाइ पनि बढ्दै जानेछ । 
सरकारले निर्माण सुरु गरेको भैरहवाको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल समयमै सम्पन्न गरे धेरै बजेट एयरलाइन्स त्यसतर्फ उडान/अवतरण गराएर त्रिभुवन विमानस्थलको व्यवस्थापनमा सहजता ल्याउन सकिन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायसँग विमानस्थल सञ्चालनको अवस्था र व्यवस्थापनका आगामी योजनाका विषयमा केन्द्रित रहेर कारोबारले गरेको कुराकानीः
 
नेपालमा एक मात्र अन्तरराष्ट्रिय विमानस्थल छ । उडान/अवतरणको चाप धान्न आगामी दिनमा झनै मुस्किल हुँदै छ, कसरी व्यवस्थापन गरिरहनुभएको छ ? 
नेपालको अन्तरराष्ट्रिय विमानस्थल एउटा मात्रै छ । स्वभाविक हो, समयअनुसार विस्तार गर्न नसक्दा हवाईयात्रुको चाप धान्न कठिन छ । तर पनि चुस्त व्यवस्थापनका कारण हामीले राम्रै व्यवस्थापन गरिरहेका छौं । सुरुका दिनमा यो विमानस्थल जुन क्षमतामा निर्माण भएको थियो, आज दोब्बरभन्दा बढीले चाप छ । 
त्यसैले पनि व्यवस्थापन कठिन हुँदै गएको छ । वास्तवमा दोब्बर ह्यान्डल गर्दा टर्मिनल, पार्किङमा बेलाबेलामा समस्या आउने गरेका छन् । अहिले विमानस्थल साँघुरो हुँदै जाँदा एयरलाइन्सहरूले थप उडान गर्न पाएका छैनन् । जुन हाम्रो लागि भने घाटा हो । हामीले जति उडान बढाउन सक्छौं त्यति नै नेपालमा पर्यटक बढ्ने हो । 
अहिलेको मुख्य समस्या भनेको सबै एयरलाइन्स पिक आवरमा उडान भर्ने प्रतिस्पर्धाले पनि हो । एयरलाइन्सहरूले चौबीसै घण्टा विमानस्थल खोल्न दबाब दिइरहेका छन्, तर अहिले सम्भव छैन । 
विस्तारको काम झनै लम्बिने भयो । निर्माणको जिम्मा पाएको कम्पनीले काम गर्न सकेन । अब विस्तार नगरी कसरी व्यवस्थापन गर्ने ?
तत्कालका लागि हामीले उडान/अवतरण गर्न दुई योजना ल्याउने तयारी गरिरहेका छौं, जसमा बढी चाप भएको समय र कम चाप भएको समय छुट्ट्याएर बढी चापका बेला उडान भर्नेले १५ प्रतिशत बढी शुल्क तिर्नुपर्ने व्यवस्था गरिनेछ । यस्तो गर्दा हामीसँग केही बाँकी समय हुनेछ । एयरलाइन्सहरूले त्यो समयमा उडान गरे भने केही समयका लागि व्यवस्थापन गर्न सहज हुनेछ । 
चाप समय भन्नाले बेलुका ५ देखि १० बजे र बिहान ७ देखि १० बजेसम्मको हो, जसका कारण खाली समयमा उडान गर्नेहरूको संख्या बढ्ने र अहिले बढी होल्डको समस्या हट्नेछ । अहिले बिहान ८ बजेसम्म उडान नहुने अवस्था मौसमका कारणले हुने गरेको छ । त्यस्तो हुँदा एयर ट्राफिक जाम हुने अवस्था छ । छुटको व्यवस्था कार्यान्वयनमा आएमा व्यवस्थापनमा सहज हुनेछ । 
अर्को कुरा, चारवटा पार्किङ वे निर्माणको तयारी गरिरहेका छौं । जुन प्राधिकरणको आफ्नै स्रोतमा एक वर्षभित्रमा सम्पन्न गर्नेछौं । त्यसैगरी प्राधिकरणले विमानस्थलको समस्या आउन सक्छ भनेर समयमै काम सुरु गरेर सम्पन्न गर्ने लक्ष्यका साथ विश्वकै चर्चित कम्पनी स्पेनिस सान्जेसेलाई टर्मिनल भवन निर्माणका साथै दुवैतर्फ धावन मार्ग विस्तारको कामको जिम्मा दिइएको थियो । 
तर, सन् २०१६ मार्चमा सक्नुपर्ने काम अहिले नौ महिना समय गुजार्दा पनि १६ प्रतिशत मात्र गरेकाले समस्या भएको हो । आजसम्म काम भएको भए नौवटा पार्किङ वे हुने थिए । बोइङ ७७७ र एयरबस ३३० जहाजका लागि पार्किङको समस्या हट्ने थियो । 
टर्मिनल बन्ने थियो । धावन मार्ग सम्पन्न हुने थियो । अब समस्या फेरि ग्लोबल टेन्डरमा गएर काम गर्नुपर्ने अवस्था छ । पैसा पनि ६ अर्ब रुपैयाँ खर्च गर्दै थियौं । रकम भएर कामको जिम्मा दिएपछि काम सम्पन्न हुने आशा गरेका थियौं, तर स्पेनिस कम्पनीलाई पनि नेपाली हावा लाग्यो, जुन दुर्भाग्य हो । अझै केही वर्ष हामीले समस्या बेहोर्नुपर्ने अवस्था आयो । 
विमानस्थलको क्षमता कति हो, यो अवस्थामा कहिलेसम्म धान्न सक्छौं ?
विमानस्थलको टर्मिनल भवन निर्माण सम्पन्न गर्दा प्रतिघण्टा १ हजार ३ सय ४० हवाईयात्रुलाई सेवा दिन सक्ने गरी तयार भएको हो । अहिले विमानस्थल लगभग २ हजार ५ सय यात्रुलाई प्रतिघण्टा पिक आवरमा सेवा दिइरहेका छौं । अब सबैले बुझ्नुपर्छ । कति कठिन छ यतिबेला विमानस्थल व्यवस्थापनमा । जबसम्म हामी विकल्पमा जाँदैनौ तबसम्म चाप बढ्दै जान्छ । 
विमानस्थलमा एयर ट्राफिक जाम भएर जहाज होल्ड गरेर आकाशमै घुमाइरहनुपर्ने अवस्था छ नि । यसलाई कसरी व्यवस्थापन गर्ने ?
अहिले आकाशमै जहाज होल्ड गर्नुपर्ने समस्या छ । विश्वका सबैजसो विमानस्थल व्यस्त हुन्छन् र होल्ड गर्नुपर्छ । तर, होडिल्ङ तहमा जाने भएकाले समस्या हुँदैन । नेपालमा पहाड, तराई र काठमाडौं एकै छिनमा आउने र जाने तथा यात्रुले देख्ने भएकाले डराउने परम्परा छ । नेपालको भूगोल नै यस्तै हो । 
तर, विदेशमा सम्म भएको ठाउँमा होल्ड गर्र्दा यात्रुले पत्ता पाउँदैनन । यही हो नेपाल र अन्य देशको फरक । विश्वमा दुई प्रकारका जहाज हुन्छन् । एउटा भिज्युअल उडान नियम (भीएफआर) आँखाले देखेर उडान गर्ने र अर्को आईएफआर अर्थात् प्राविधिक उडान । जहाँ पायो त्यहीँ होल्ड गर्न पनि मिल्दैन । तह–तहमा जहाज होल्ड हुन्छ । एकै पटक दर्जनौं जहाज पनि होल्ड गर्न सकिन्छ, तर पनि धेरै होल्डमा राख्ने हाम्रो योजना छैन । यसले एयरलाइन्सहरूलाई महँगो पर्छ ।
अन्तरराष्ट्रिय र आन्तरिक विमानस्थलसँगै हुँदा पनि धेरै समस्या सिर्जना भएका हुन् ?
आन्तरिक विमानस्थलसँगै हुँदा व्यवस्थापनमा कठिनाइ भएकै हो । अलग्गै गर्न सकेको भए सहज हुने थियो । भीएफआर र आईएफआर उडानले समस्या आएको छ । आन्तरिकमा धेरैजसो भीएफआर उडान गर्नुपर्ने अवस्था छ । मिक्स उडानले समस्या पारेको छ । 
विश्वमा विमानस्थलहरू भीएफआर र आईएफआर उडान गर्ने छुट्टा–छुट्टै हुन्छ । विमानस्थललाई टाढा राख्दा यात्रुको खर्च पनि हेर्नुपर्ने हुन्छ । आन्तरिकलाई टाढा राख्न पनि समस्या हुने र काठमाडौंमै अन्यत्र विमानस्थल निर्माण गर्ने स्थान पनि नहुँदा समस्या परेको छ ।
निर्माणाधीन गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि यहाँका कति उडान कटौती हुन्छन् ? 
हाल भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि धेरै समस्या समाधान हुनेछन् । गौतमबुद्ध विमानस्थलमा काठमाडौंका भन्दा बढी सेवा सुविधा हुनेछन् । अर्को कुरा, भौगोलिक हिसाबले पनि एकदमै राम्रो स्थान हो— भैरहवा । हुन त अहिलेसम्म त्यो विमानस्थल कुन मोडलमा सञ्चालन गर्ने भन्ने कुरा नछुट्ट्याएको भए पनि केही समयका लागि बजेट एयरलाइन्सलाई छुट प्याकेज दिन सके उतै डाइभर्ट हुनेछन् भन्ने हाम्रो विश्वास छ । 
बजेट एयरलाइन्स भन्नाले अहिले उडान गरिरहेका एयर एसिया, मलेसियन एयरलाइन्स, फ्लाई दुबई, एयर अरेबियालगायतका एयरलाइन्स त्यतैतर्फ जानेछन् । अर्को कुरा, पूर्व–पश्चिमबाट आउने यात्रुका लागि सहज हुनेछ । साथै भैरहवाबाट पोखराको उडान पनि गर्न सकिन्छ । त्यसले गर्दा पर्यटकहरू त्यसतर्फ केन्द्रित हुन्छन् । लुम्बिनी आउन चाहने पर्यटक सीधै त्यसतर्फ जाने भएकाले सो क्षेत्रबाट आउने एयरलाइन्सले त्यतैतर्फ उडान गर्नेछन् ।
धावनमार्गको कालोपत्रे गर्ने समय त सकियो, कहिले निर्माण हुन्छ ? 
निर्माणको काम त सुरु भएको छैन । टेन्डर आह्वान गरेको र अहिले ११ कम्पनीले आवदेन दिएकामा अब प्राविधिक अध्ययनपछि दुई कम्पनीलाई छानेर पुनः प्रतिस्पर्धा गरेपछि मात्र टुंगो लाग्छ । काम सुरु भएको २ वर्षभन्दा अगावै सम्पन्न गर्ने लक्ष्य छ । समस्या के छ भने हामी उडान रोक्न सक्दैनौं । 
रात्रिको समयमा काम गर्नुपर्ने हुन्छ । निर्माण गर्ने कम्पनीले जति कटान गर्छ उति निर्माण गरेर बिहान उडान अवतरणका लागि हामीलाई दिनुपर्ने छ । यसैले ५ घण्टामा काम गर्नुपर्ने हुन्छ । अहिले मर्मतको काम पनि यसरी नै गरेका छांै । 
विमानस्थललाई चैबीसै घण्टा सञ्चालन गर्न समस्याचाहि के हो त ?
अहिले त २४ घण्टा सञ्चालन गर्ने सम्भावना छैन । हामीले रातिको समयमा धावनमार्ग मर्मत गरेर काम गरिरहेका छौं । अर्कोचाहिँ धावनमार्गको कालोपत्र पूरै फेर्ने गरी काम सुरु हुन लागेकाले सो काम सम्पन्न भएपछि बल्ल २४ घण्टा विमानस्थल सञ्चालन गर्ने अवस्थामा पुग्नेछौं । यसमा पनि प्राधिकरण र एयरलाइन्सहरू तयार छन् । 
दुई संस्था मात्र तयार भएर विमानस्थल सञ्चालन हुँदैन । धावनमार्ग सञ्चालनपछि अन्य निकायपछि समन्वयमा जानेछौं । अर्काे कुरा, गौतम बुद्ध विमानस्थल निर्माण र सञ्चालनपछि २४ घण्टा सञ्चालन गर्नुपर्ने आवश्यकता हुन्छ कि हुँदैन भन्नेमा पनि छलफल होला । सन् २०१८ को जनवरीदेखि विमानस्थल सञ्चालनमा आइसक्ने लक्ष्य लिइएको छ । 
अर्को कुरा, चौबीसै घण्टा चलाउन नागरिक समाजको पनि अवरोध छ । विमानस्थलको चारैतर्फ बस्ती रहेका छन् । उनीहरूले पनि विरोध गर्ने भएकाले यस विषयमा पनि सोच्नुपर्ने हुन्छ ।
विमानस्थलमा ब्यागेज ह्यान्डलिङ समस्या सधैं किन भइरहन्छ ?
पहिले ब्यागेज ह्यान्डलिङमा समस्या थियो । हामीसँग दुईवटा मात्र कन्भेयर बेल्ट थिए । त्यो समयमा डेढ–दुई घण्टा पनि लाग्ने गरेको थियो । अहिले चारवटा कन्भेयर वेल्ट छन् । अन्तरराष्ट्रिय मापदण्ड ४५ मिनेट हो । यात्रुले विमानस्थलमा हाल सोही मापदण्डभित्रै आफ्नो ब्याग पाउँदै आएका छन् ।
ब्यागेजको अर्को महत्वपूर्ण पार्टचाहिँ के भो भने विदेशका विमानस्थलको अध्यागमन तथा टर्मिनल र पार्किङ वेबीच लामो दूरी पर्छ । पार्किङ वेबाट यात्रु ओर्लिएर अध्यागमन हुँदै ब्यागेजमा आउन कम्तीमा ४० मिनेट समय लाग्छ । तर, हाम्रोमा जहाजबाट ओर्लिएको १० मिनेटमा ब्यागेजमा पुग्छौं । 
अनि एकछिन कुर्दा पनि धेरै बेर कुरेजस्तो लागेको हो । त्यही भएर सापेक्ष रूपमा पनि सोच्नुपर्छ । अहिले एकैपटक चारवटा जहाजको ब्यागेजको काम गरिरहेका छौं भने निकट भविष्यमै थप दुई कन्भेयर वेल्ट थप्ने तयारीमा छौं । 
विमानस्थलमा सयौं संस्था हुँदा समन्वय अभाव हुँदैन ? एकद्वार प्रणाली कहिले लागू हुन्छ ? 
विमानस्थलभित्र २ सय ३८ वटा एजेन्सीले काम गर्छन्, तर पनि समन्वयमा त्यस्तो समस्या छैन । दैनिक १२ हजार कर्मचारीले काम गर्छन् । विमानस्थल ३ सिफ्टमा सञ्चालन हुँदै आएको छ, जसमा एक सिफ्टमा ४ हजार कर्मचारीले काम गरिरहेका हुन्छन् । 
बिहान ६ देखि १२, दिउँसो १२ देखि ६ र साँझ ६ देखि १२ बजेसम्म सिफ्ट हुन्छ । यहाँ मुख्य एजेन्सी भनेको अध्यागमन, प्रहरी, सेना र भन्सार हुन् । यदाकदा कहिलेकाहीँ समस्याहरू आउने गर्छन् । अब एकद्वारको कुरा गने हो भने ऐनमै यी कुरा समावेश हुँदै छन् । 
विमानस्थलकै कारण ठूला एयरलाइन्स तथा पर्यटक हवबाट आउँदैनन् भन्छन् नि ? 
यसमा कुनै सत्यता छैन । हो, नेपालमा युरोप, अमेरिका तथा चीनकै बेइजिङबाट उडानहरू भएका छैनन् । पहिले नेपाल वायुसेवा निगम हुँदा उडान भएका पनि थिए । आवश्यकता नदेखेर उनीहरूले उडान नगरेका हुन् । किनभने हामीलाई जहाँबाट आए पनि केही समस्या हुँदैन । 
हाल विश्वका ठूला भनिएका बोइङ ७७७ र एयरबस ३३० अहिले पनि उडान÷अवतरण गरिरहेकै छन् । कति समय लगाएर आउँछन् भन्नेमा विमानस्थलको चासोको विषय हुँदैन । यहाँ निगम बलियो भएर उडान सुरु गरेमा उनीहरू पनि आउन थाल्छन् । 
नेपालमा हवाईयात्रुको चाप किन बढिरहेको छ ?
हवाईयात्रुको चाप अत्यधिक बढेको छ । अहिले ग्वान्झाओको उदाहरण दिनुपर्दा पहिले सातामा चारवटा उडान थिए, अहिले दैनिक दुईवटा उडान छन् । चीनबाट उडान गर्ने सबैले दैनिक दुईवटा उडान गरिरहेका छन् । यति धेरै एयरलाइन्स नेपालमा उडान थप गर्न चाहन्छन्, जुन हामीले धान्ने अवस्था छैन । 
हामीकहाँ बजेटदेखि पाँचतारे एयरलाइन्सले उडान गरिरहेका छन् । आजको दिनमा २९ वटा एयरलाइन्सले दैनिक ४० भन्दा बढी उडान गरिरहेका छन् । नेपालका लागि ठूलो अवसर पनि भएकाले अब छिट्टै विमानस्थल निर्माण र सुधार गरेर धेरै एयरलाइन्स ल्याउने र यात्रु बढाउनुका साथै पर्यटक बढाउने दिशामा अग्रसर हुनु आवश्यक छ । 
अर्को महत्वपूर्ण कुरा, अहिले जहाज डाईभर्ट गर्नका लागि दिल्ली, लखनउ पठाउनुपर्ने अवस्था छ । कम्तीमा एउटा विमानस्थल तयार भएमा अझै धेरै एयरलाइन्स थपिनेछन् भने यात्रुलाई पनि भाडादर सस्तो हुनेछ । सन् २०२८ मा अहिले भएको यात्रुको संख्यामा दोब्बर वृद्धि हुनेछ ।