आर्थिक क्षेत्रका विशेष गतिविधी

Monday, May 18, 2015

भूकम्पप्रभावित पदमार्गमा आफूखुसी घुम्न प्रतिबन्ध

केदार दाहाल
काठमाडौं, ३ जेठ – सरकारले भूकम्पप्रभावित पदमार्गहरूमा आपूmखुसी घुम्न पर्यटकलाई प्रतिबन्ध लगाएको छ । यो व्यवस्थासँगै मनास्लु, लाङटाङ र सगमाथा क्षेत्रमा तत्कालका लागि नेपाली गाइड र मजदुरबिना पर्यटक घुम्न पाउनेछैनन् ।
“भूकम्पका कारण गाउँ नै ध्वस्त भएका छन् भने पदमार्गसमेत भत्किएका छन्,” पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले भने, “त्यसैले पर्यटकको जोखिम कम गर्नका लागि प्रतिबन्ध लगाउने निर्णय गरेका हौं ।”
स्वतन्त्र घुम्न पाउने यसअघिको नीति परिमार्जन गर्दै सरकारले यी क्षेत्रमा प्रतिबन्ध लगाएको हो । वैशाख १२ गते गएको भूकम्प र त्यसपछि पराकम्पनका कारण मनास्लु र लाङटाङ क्षेत्रका पदमार्ग पूर्ण रूपमा ध्वस्त भएका छन् भने ती क्षेत्रका होटलसमेत नराम्ररी प्रभावित भएका छन् ।
तत्कालका केही महिना ती क्षेत्रमा पर्यटक पठाउँदा हराउने तथा जोखिम हुने भएकाले टेन्टसहित तालिमप्राप्त गाइडसँग मात्र पठाउने निर्णय गरिएको गौतमले बताए । यसले आगामी सेप्टेम्बरपछिका ३ प्रमुख पर्यटकीय सिजनमा आउने पर्यटकको संख्यासमेत प्रभावित हुने व्यवसायी बताउँछन् ।
अहिले ती क्षेत्रमा ३५० किलोमिटरभन्दा बढी नयाँ पदमार्ग बनाउनुपर्ने देखिएकाले सरकारको ध्यानजति पुनर्निर्माण योजनामा केन्द्रित भएको गौतमले बताए । उनका अनुसार भूकम्पका कारण पर्यटकीय सम्पदामा भएका क्षतिको पूर्ण विवरण आउन १ वर्ष लाग्छ । “पर्यटन क्षेत्रसँग सम्बन्धित धेरै संरचनामा क्षति पुगेको छ, विवरण संकलन सजिलो छैन,” उनले भने, “१ वर्ष नहुँदै पूर्ण तथ्यांक आउने सम्भावना छैन ।”
भूकम्पले ध्वस्त ट्रेकिङ ट्रेल मर्मत गर्न मात्रै ३ करोड रुपैयाँभन्दा धेरै लाग्ने भन्दै अनुमान विभागको छ । अहिलेसम्मको तथ्यांकअनुसार भूकम्पले ५२१ सम्पदामा क्षति पु¥याएको गौतमले बताए ।
भाडा घटाउन एयरलाइन्सलाई आह्वान गरिने
नेपालका मुख्य पर्यटकीय क्षेत्रमा असर पारेको तथा भूकम्पबाट सबै क्षेत्र अस्तव्यस्त भएको भन्दै सरकारले पर्यटकलाई सस्तो भाडामा नेपाल ल्याउन एयरलाइन्सहरूलाई आह्वान गर्ने भएको छ । “नेपालको पर्यटनमा अहिलेसम्मकै ठूलो संकट आइपरेको छ, यतिबेला आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नु जरुरी छ,” महानिर्देशक गौतमले भने ।
उनका अनुसार सरकारले नेपालमा उडान भर्ने सबै एयरलाइन्सलाई सहुलियत दरमा उडान भर्न आह्वान गर्ने तयारी गरेको छ । नेपाल वायुसेवा निगमले कसरी सुविधा र सहुलियत दिन सकिन्छ भनेर काम थालिसकेको उनले बताए । नेपालमा हाल २९ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएका छन् ।
भूकम्पप्रभावित ५ जिल्लामा बोर्डले पर्यटकीय गाउँ बनाउने
पर्यटन बोर्डले भूकम्पबाट अतिप्रभावित ५ जिल्लाका १–१ गाविसमा पर्यटन प्रवद्र्धनका विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक र दोलखाका गाविसमा यस्तो कार्यक्रम सञ्चालन गरिने बोर्डका प्रशासकीय अधिकृत रमेश अधिकारीले बताए ।
बोर्डले १० करोड रुपैयाँ बीउ पुँजी राखी पर्यटन पुनःस्थापना कोष स्थापना गर्ने भएको छ । यो कोषमा रकम थप्न बैंकमा खाता खोली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई आह्वान गर्ने तयारीसमेत बोर्डले गरेको छ । भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ प्रदान गर्ने निर्णय पनि भएको अधिकारीले बताए । उनका अनुसार बोर्डले यो वर्ष सेप्टेम्बर–अक्टोबर सिजनमा सकेसम्म धेरै विदेशी पर्यटक भिœयाउने गरी काम गर्नेछ ।

No comments:

Post a Comment