आर्थिक क्षेत्रका विशेष गतिविधी

Thursday, May 21, 2015

भूकम्पपछी खुल्यो धरहराको मःमः पसल


फर्किन थाल्यो बजारमा रौनक
केदार दाहाल/शिव बोहरा
काठमाडौं, ७ जेठ – परकम्पका धक्काको प्रभाव न्यून हुन थालेपछि राधजानीका मुख्य व्यापारिक केन्द्रहरू सामान्य अवस्थातिर फर्कन थालेका छन् । वैशाख १२ को विनाशकारी भूकम्पपछि ८/१० दिनमै खुलेका पसल २९ गतेको शक्तिशाली परकम्पनपछि पुनः बन्द भएका थिए । त्यसयता पनि लगातार परकम्प आइरहे पनि व्यापारिक केन्द्रमा चहलपहल बढेको छ । यसले नागरिकमा आशा जगाएको छ । बुधबार दिउँसो आएको परकम्पको प्रभाव यी क्षेत्रमा आधा घण्टा पनि परेन र स्थिति सामान्य भइहाल्यो ।
खिचापोखरीमा व्यवसाय गर्दै आएका न्यु दुर्गा इम्पोरियमका सञ्चालक अनुप पौडेलले १२ गतेको भूकम्पपछि २० गते पसल खोलेको बताए । “त्यतिबेला पनि परकम्प आइरहँदा स्थिति सामान्य बनाउनु पर्छ भनेर २० गते नै पसल खोलियो तर २९ गते फेरि ठूलो कम्पन आएकाले बन्द गर्नुपर्ने स्थिति आयो,” उनले भने, “अहिले फेरि खोलें ।”
स्थितिलाई सामान्य बनाउनुपर्छ भनेर व्यवसायीले १ गतेदेखि नै पसल सञ्चालनमा ल्याएको उनको भनाइ छ । “विज्ञहरूले साना धक्का आइरहनु सामान्य भएको बताइरहेका छन्, डराएरमात्र केही हुँदैन,” उनले भने, “एउटाले खोल्यो, अर्कोले खोल्यो गर्दै जाँदा बजारमा चहलपहल सुरु हुन थाल्यो । जनजीवन सामान्यउन्मुख हुँदै जाँदा व्यवसाय नखोल्ने हो भने त समस्यै भयो नि !”
पहिलो भूकम्पले सामान्य बनाउँदै लगेको जनजीवन दोस्रो ठूलो कम्पनले केही दिन खलबल्याए पनि पुनः बजारको अवस्था सामान्यतर्फ लागेको शेरचन इम्पोरियमका सञ्चालक राजेन्द्र शेरचनले बताए । “हामी व्यवसायीकै पहलमा पसल सञ्चालन गर्नुपर्छ भनेर २९ गतेको कम्पनपछि बन्द भएका पसल १÷२ गतेदेखि नै खोल्न थाल्यौं,” उनले भने, “यो क्षेत्रका धेरैजसो पसल खुलिसकेका छन् ।” अब केही दिनमै सबै पसल खुल्ने खिचापोखरी व्यापार संघका पूर्वअध्यक्षसमेत रहेका शेरचनको विश्वास छ ।
खिचापोखरी व्यापार संघले १२ गतेको भूकम्पपछि २१ गतेदेखि पसल खोल्न आफ्ना सदस्यलाई पत्राचार नै गरेको अध्यक्ष मनोजबाबु श्रेष्ठले बताए । “पसल क्रमशः खुल्ने क्रममा थिए, बजारमा चहलपहल बढ्दै थियो । २९ गतेको धक्काले फेरि डामाडोल बनायो,” उनले भने, “तर, १÷२ गतेपछि धक्का कम भएसँगै पसल खोल्न आग्रह ग¥यौं र जनजीवन पुनः सामान्य बन्दै जान थालेको महसुस गरेका छौं ।”
खिचापोखरी, असन, इन्द्रचोकलगायत क्षेत्रमा बुधबारसम्म करिब ८० प्रतिशत पसल खुलेको श्रेष्ठले बताए । खुद्रा बजार करिब सामान्य बन्दै गए पनि थोक भने अझै सामान्य हुन नसकेको श्रेष्ठको भनाइ छ । “अधिकांश होलसेल मारवाडी समुदायले सञ्चालन गरेका छन्, उनीहरू अहिले भारततिर भएकाले स्थिति सामान्य हुन केही दिन लाग्न सक्छ,” उनले भने, “न्युरोड क्षेत्रमा ५० प्रतिशत पसल सञ्चालनमा आएका छन्, त्यहाँका सुन पसल करिब ३० प्रतिशत खुलेका छन् ।”
फसिकेव, रञ्जना गल्ली, महाबौद्धलगायत क्षेत्रमा बुधबार सबैजसो पसल खुलेको राष्ट्रिय व्यापार संघका अध्यक्ष नयनबहादुर पण्डितले बताए । “अनावश्यक रूपमा फैलाइएका हल्लाका कारण मंगलबार केहीमात्र खुलेकोमा बुधरबारको चहलपहलले आशा जगाएको छ,” उनले भने ।
यो क्षेत्रका बाटा साँघुरा भए पनि व्यवसायी र उपभोक्ता सामान्य त्रासबीच दैनिकी सामान्य बनाउन लागेको पण्डितको भनाइ छ । खुद्रामा खासै समस्या नदेखिएको भन्दै उनले थपे, “खुद्रा पसल भएका क्षेत्रमा बाटा ठूला भएकाले अधिकांश खुलेका छन् तर होलसेल साँघुरो गल्लीमा भएकाले आधाजति मात्र खुलेका छन् ।”
पर्यटकीय क्षेत्र ठमेलमा पनि पसल खुल्ने क्रम बढ्दै गएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले बताए । “सामान्य परकम्प आइरहे पनि केही त्रासबीच ठमेलमा करिब ८० प्रतिशत पसल खुलेका छन्,” उनले भने, “जनजीवन सामान्य बन्दै जाँदा होटल पनि आधाजति खुलेका छन् ।” बाँकी होटल तथा पसल खोल्न व्यवसायीलाई आग्रह गरिएको उनले बताए ।
परकम्प आउने क्रम कम घट्दै गएपछि उपत्यकालगायत प्रभावित र अन्य स्थानको जनजीवनसमेत सामान्य बन्दै गएको छ । सामान्य कम्पनलाई पनि हाउगुजी बनाई सधैं बरालिने र अनावश्यक गफमा रुमलिनुभन्दा स्थितिलाई सामान्य बनाउनेतर्फ व्यवसायी लागिपरेको देखिन्छ ।
खुल्यो धरहराको मःमः पसल
धरहराको फेदमा दैनिक ३ देखि ४ सय प्लेटसम्म मःमः बिक्री गर्दै आएको पावेल धरहरा खाजाघर २२ दिनपछि पुनः सञ्चालनमा आएको छ । सञ्चालक धन देवकोटाले नागरिकमा रहेको डर कम गर्न पसल खोलिएको बताए । “त्यति ठूलो संरचना ढल्यो, नजिकबाट महसुस गरिएकाले नयाँ जीवन पाएजस्तो भयो । थप केही गर्नुपर्छ भन्ने पाठ सिकायो,” उनले भने ।
वैशाख १२ गते भूकम्प जाँदा यो मःमः पसलवरपर करिब २÷३ सय आगन्तुक थिए । शीतल र केही शान्त वातावरण भएकाले यहाँ धेरै मानिस आराम गर्न आउने गरेको देवकोटाले बताए । “धन्न प्रकृतिले नै बचायो भन्नुपर्छ, संयोगवश कम मानिस भएतिर ढल्यो,” उनले भने ।
पहिले दैनिक ३ सयदेखि ४ सय प्लेटसम्म मःमः बिक्री गर्दै आएकोमा अहिले मुस्किलले १ सय प्लेटसम्म बिक्री भइरहेको उनले बताए । भूकम्पअघि ५० देखि ६० जनाले काम गर्दै आएकामा अहिले २० जनामात्र छन् । जेठ २ देखि खोलिएको यो पसलमा खाजा खान आउनेहरू क्रमिक रूपमा बढ्दै गएको उनले सुनाए । ६ वर्षदेखि धरहराको फेदमा पसल सञ्चालन गरेका देवकोटाले मासिक ६० हजार रुपैयाँ भाडा तिर्छन् । 

No comments:

Post a Comment