आर्थिक क्षेत्रका विशेष गतिविधी

Sunday, May 3, 2015

सुनसान व्यापारिक केन्द्रहरू

केदार दाहाल
काठमाडौं, २० वैशाख – महाभूकम्प गएको एक सातापछि शनिबार दिउँसो एक बजेतिर असनचोकको गल्लीबाट वीर अस्पतालतर्फ निस्कने बाटोमा रामगोपाल महर्जन हतार–हतार सटर तान्दै थिए । केही बोल्न खोज्दाखोज्दै पनि ओठ र खुट्टा कमाउँदै उनी वीर अस्पतालतर्फ हान्निए । अघिल्लो शनिबार गएको भूकम्पपछि असन, इन्द्रचोक र वीर अस्पतालको पछाडि भाग खासाबजार, फसिकेव क्षेत्र, मख्खन गल्लीलगायत क्षेत्रमा व्यापारी र अन्य नागरिक कोही पनि जान सकेका छैनन् ।
सधैंको भीडभाडले भरिने र खुट्टा राख्ने ठाउँसम्म नहुने क्षेत्र अतिबेला एक्लै जाँदा आफैंमा भित्रैदेखि डरले हातखुट्टा नै ल¥याकलुरुक्क हुनेगरी सन्नाटा छाएको छ । भूकम्पले उक्त क्षेत्रमा क्षेति नपु¥याएपनि साँघुरो गल्ली, अग्ला र पुराना घरका कारण त्यसक्षेत्रमा कोही पनि जाने आँट गर्न नसकेको व्यापारी महर्जन बताउँछन् । “म र मेरो पुरै परिवार शनिवारदेखि टुँडीखेलमा बस्यौं र अझै आफन्तकोमा बसिरहेका छौं” महर्जनले भने । यतिवेला सयौ व्यापारिक कम्प्लेक्स र हजारौ साना पसल रहेको क्षेत्र पुरै भुत बंगला जस्तै भएका छन् । पूरै बजार सुनसान छन् । न कुनै घरवाला जान सकेका छन्, न कुनै व्यापारीले सटर खोल्ने आँट गर्न सकेका छन ।
“असन इन्द्रचोकको यस्तो सुनसान त मैले कहिल्यै देखेको थिइनँ,” डल्लुका हरिभक्त डंगोलले भने, “यहाँ आउँदा त दिउँसै तर्साउला जस्तो पो देखिन्छ ।” भूकम्पले सामान्य मात्रै क्षति पुगेको यो क्षेत्रमा मनोवैज्ञानिक त्रास बढी छ ।
पुराना घर भए पनि एक आपसमा जोडिएकै कारण क्षति नभएको स्थानीय बताउँछन् । “आगलागी भए यस्तै घर बढी जोखिममा पर्थे तर भूकम्पमा भने यस्ता घरलाई निकै राहत हुने रहेछ,” स्थानीय घरधनी बाबुलाल श्रेष्ठले भने । उनका अनुसार भूकम्प जानेबित्तिकै सबैले असन इन्द्रचोक गयो, कोही बाँकी रहेनन् भन्ने सोचेका रहेछन् । “यस क्षेत्रमा खासै क्षति नभएको भन्दासमेत कसैले पत्याएनन्,” उनले भने, “विदेशमा रहेका आफन्तले समेत हामी बाँचेको सुन्दा अचम्म मानिरहेका छन् ।” उनका अनुसार भित्री घरहरू केही भत्किए पनि यस क्षेत्रमा अधिकांश घरहरू सग्लै छन् ।
भूकम्प जानुभन्दा पहिले क्षति हुनसक्ने भनेर धेरै चर्चा भएको कारणले पनि त्यस क्षेत्रमा कोही पनि नागरिक जाने आँट गर्न नसकेको बताउँछन्, सोही क्षेत्रमा विगत दश वर्ष देखि व्यापार गर्दै आएका हिक्मत प्रधान । प्रधान पनि भूकम्प गएदेखि टुँडीखेलमा सेनाले हाल्दीएको टेन्टमा बस्दै आएका थिए तर अहिले घर फर्किसकेका छन् । उनको त्यहाँ इलेक्ट्रोनिक्स पसल छ । पसलमा चार्ज लाइट निकाल्दै गर्दा भेटिएका प्रधान पनि हतारोमै थिए । “हल्लामात्र हुन्छ घरी भूकम्प आउँछ भन्छन्, घरी आउँदैन भन्छन् कसरी घरमा बस्न आउनु, कसरी व्यवसाय चलाउनु ?” प्रधानले भने । त्यस क्षेत्रमा व्यवसाय र घर रहेका झन्डै ३ हजारभन्दा बढी टुँडिखेलमा पाल हालेर अहिले पनि बसिरहेका छन् । केहीले आफन्तकहाँ शरण लिइरहेका छन् ।
शनिबार गएको महाभूकम्पका कारण धराहारा ढलेर ६० जना भन्दा बढीको मृत्यु भएको थियो भने हनुमान ढोकामा रहेको बसन्तपुर दरबार पनि भत्किएको थियो । सोही दृश्य देखेका त्यस क्षेत्रका स्थानिय तथा व्यपारीहरू त्यसक्षेत्रमा आउन त फर्केरसमेत हेर्न सकेका छैनन् ।
नेपालको प्रमुख व्यापारिक केन्द्र त्यस क्षेत्रमा विशेष लत्ताकपडादेखि इलेक्ट्रोनिक्स सामानहरूका होसलेल खुद्रा पसलहहरू रहेका छन् । विशेष गरी मारवाडी, नेवार समुदायका पसलहरू धेरै मात्रामा त्यसक्षेत्रमा रहेका छन । दैनिकी करोडौंको कारोबार हुने क्षेत्र शनिबारदेखि पूर्णरूपमा सुनसान रहेको हो । चीन, भारत, थाइल्यान्डलगायत मुलुकका सामग्री त्यस क्षेत्रमा पाइन्छ ।

No comments:

Post a Comment