केदार दाहाल
काठमाडौं, ३ जेठ – वैशाख १२ गते गएको भूकम्पका कारण नेपालका प्रमुख पर्यटकीय क्षेत्रमा मुख्य असर पारेको छ । भूकम्पले खासगरी मनास्लु, लाङटाङ र सगरमाथा क्षेत्रलाई मुख्य असर पारेको हो । पर्यटकको मुख्य आकर्षक गन्तव्यमै धेरै क्षति हुँदा पछिसम्म यसको असर पर्ने भन्दै सम्बद्ध व्यवसायी चिन्तित देखिएका छन् । यी क्षेत्रमा तुलनात्मक रूपमा बढी खर्च गर्ने पर्यटन पुग्ने भएकाले यसले समग्र पर्यटन क्षेत्रको आम्दानीमा समेत असर पर्नेछ ।
भूकम्पकै कारण यो वर्ष पनि सगरमाथा आरोहण कार्यक्रम रद्द भइसकेको छ । गत वर्ष हिमपहिरोका कारण रद्द भएको थियो । “हाम्रो दुर्भाग्य भन्नुपर्छ— मुख्य पर्यटकीय क्षेत्रमा विनाशकारी भूकम्पले असर पारेको छ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले भने ।
गोरखाको बारपाकदेखि सुरु भएको भूकम्पले गोरखाकै मनास्लु, रसुवाको लाङटाङ, दोलखाको गौरीशंकर तथा सोलखुम्बुको सगरमाथा क्षेत्रलाई बढी प्रभावित पारेको छ । पदमार्ग क्षेत्रमात्रै नभई काठमाडौं, भक्तपुर र ललितपुरका गरी ७ वटा पुरात्विक सम्पदासमेत ध्वस्त भएका छन्, जसका कारण नेपालको पर्यटनमा लामो रिक्तता हुन सक्ने आँकलन पनि हुन थालेका छन् ।
“अहिले सबैभन्दा बढी मनास्लु र लाङटाङका पदमार्गलाई असर पारेको सुनेका छौं,” पर्यटन व्यवसायी कृष्ण अर्यालले भने, “यसले पर्यटन क्षेत्रमा तत्कालीन र दीर्घकालीन दुवैखाले असर पर्ने देखिएकाले हामी बढी संवेदनशील बन्नु जरुरी छ ।” सरकार र निजी क्षेत्र मिलेर काम गर्न सके ६ महिनाभित्र सहज वातावरण बनाउन सकिने उनको तर्क छ ।
प्राकृतिक प्रकोपलाई कसैले पनि रोक्न र छेक्न नसक्ने भएकाले आइसकेपछि अब कसरी अगाडि बढ्ने भन्नेमा सबैको सुझाव तथा सहयोग आवश्यक रहेको पर्यटन सचिव श्रेष्ठ बताउँछन् । नेपालको पर्यटकीय क्षेत्रको पुनरुत्थान गर्न तत्काल करिब १ अर्ब रुपैयाँ लाग्ने अनुमानसमेत नेपाल पर्यटन विभागले गरेको छ । विभागका उपमहानिर्देशक रमेशकुमार अधिकारीले पर्यटकीय गन्तव्यको सुधार र न्यूनतम पूर्वाधार विकासको कार्यक्रम सुरु गर्न करिब ८० करोड ८५ लाख रुपैयाँ लाग्ने जानकारी दिए । वैशाख १२ को विनाशकारी भूकम्पले पु¥याएको क्षतिपछि पर्यटकीय गन्तव्यलाई पुरानै अवस्थामा सञ्चालन गर्न तथा अवस्था सामान्य बनाउन तत्काल यो रकम आवश्यक पर्ने उनले बताए । धार्मिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणको लागत भने विभागको अनुगमनपछि मात्रै भन्न सकिने उनको भनाइ छ ।
विभागले नियमित रूपमा सार्वजनिक–निजी साझा संयन्त्रको बैठक गर्ने र नयाँ पर्यटकीय गन्तव्य पहिचान, सुविधा विस्तार, प्रचारप्रसार र बजारीकरण गर्दै लग्ने भएको छ । पर्यटकीय गाउँका पूर्वाधार बनाउन उसले सहरी विकास मन्त्रालयसँग साझेदारी गर्नेछ ।
पर्यटकीय गाउँमा पूर्वाधार निर्माणका लागि ६ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । विभागले रसुवाको लाङटाङ, गोरखाको मनास्लु, सिन्धुपाल्चोकको हेलम्बु, दोलखाको गौरीशंकर पदमार्ग सञ्चालन गर्न मन्त्रालयसँग सहकार्य गर्ने प्रस्ताव अगाडि सारेको छ ।
विभागले भूकम्पबाट प्रभावित मनास्लु, लाङटाङ, हेलम्बु, च्छोरोल्पा क्षेत्रका होटल, रेस्टुराँ, होमस्टे, टि–कफी हाउस निर्माण तथा मर्मत सुधारका लागि २ करोड रूपैयाँ अनुदान आवश्यक भनेको छ ।
‘ग्रेट हिमालय ट्रेकिङ टे«ल’अन्तर्गत अरुण नदीको पश्चिमसम्म भूकम्पले क्षति पु¥याएको पर्यटकीय मार्ग सर्वेक्षण, निर्माण तथा पुनर्निर्माण गर्न १० करोड रुपैयाँ आवश्यक देखिएको छ । विभागले भएका ट्रेकिङ ट्रेल निर्माण तथा मर्मत गर्न, नयाँ वैकल्पिक पदयात्रा निर्माण गर्न, पर्यटकीय क्षेत्रमा आश्रयस्थल तथा शौचालय निर्माण गर्न ४६ करोड रुपैयाँ आवश्यक पर्ने बताएको छ ।
पर्यटकलाई सुविधा दिन र पर्यटन क्षेत्रलाई जोगाउन पर्यटन बोर्डले १० करोड रुपैयाँको पुनर्निर्माण कोष स्थापना गरेको सञ्चालक राजेन्द्र सापकोटाले बताए । अहिले बोर्डको बजेट ९३ करोड रुपैयाँ छ । पुनर्निर्माणमा केन्द्रित रहे पनि बोर्डले अन्तर्राष्ट्रिय क्षेत्रमा गरिने मार्केटिङका काम भने नरोक्ने निर्णय गरेको सापकोटाले बताए । “संकटमा झनै मार्केटिङ आवश्यक हुन्छ,” उनले भने ।
No comments:
Post a Comment