आर्थिक क्षेत्रका विशेष गतिविधी

Sunday, August 31, 2014

रोजाइमा ‘इन्ट्री लेभल’का कार



शिव बोहरा
काठमाडौं, २६ साउन- कार चढ्ने रहर सडक सञ्जालले छोएको सबै ठाउँमा बस्ने मानिसमा हुनु स्वाभाविक हो । तर कार चढ्ने आयस्तर भएका सीमित मानिसको मात्र उक्त रहर पूरा हुन्छ । नेपाली उपभोक्तामा सस्तो ‘इन्ट्री लेभल कार’ चढ्नेको संख्या उल्लेख्य छ  । 
नेपाली बजारमा १५÷१६ लाखदेखि २२÷२५ लाख रुपैयाँसम्मका कारलाई इन्ट्री लेभल कारका रूपमा लिइन्छ । केही वर्ष अघिसम्म कारलाई पूर्ण विलासी साधनका रूपमा लिइन्थ्यो । तथापि अहिले पनि हाम्रो समाजले यो सवारी साधनलाई विलासिताको साधनका रूपमा नै हेर्ने गर्छ ।
यद्यपि नेपालमा कार चढ्ने उपभोक्ताको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको वार्षिक रूपमा यातायात व्यवस्था विभागमा दर्ता भएका सवारीको संख्याले समेत पुष्टि गर्छ । बाग्मती अञ्चलमा मात्र आर्थिक वर्ष ०७०÷७१ मा ८ हजार ३ सय ९७ कार, जिप र भ्यान दर्ता भएको देखिन्छ । यो संख्या अघिल्लो वर्षको तुलनामा २४.५६ प्रतिशतले धेरै हो । आव ०६९÷७० मा बाग्मतीमा ६ हजार ३ सय ३४ कार, जिप, भ्यान दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांकले देखाउँछ । नेपाली बजारमा कार विक्रेता अधिकांश ब्रान्डका इन्ट्री लेभलका कार छन् ।
हुन्डाईको इनोदेखि ग्रान्ड आई १० सम्म, मारुती सुजुकीको अल्टोदेखि एस्टारसम्म, होन्डाको अमेज सिरिज, फोर्डको फिगो सिरिज, टाटाको इन्डिकादेखि इन्डिगो, फियाट पुन्टो १.२ पेट्रोल एक्टिभलगायत यो वर्गमा पर्छन् । यी कारको नेपाली बजार मूल्य १४ देखि २५ लाख रुपैयाँसम्मका छन् । अन्य कम्पनीका पनि यो सेगमेन्टका कारहरू नेपाली बजारमा उपलब्ध छन् ।
नेपाली बजारमा कार बिक्री बढ्नुको मुख्य कारण नै इन्ट्री लेभल कार भएको लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक तथा नाडाका उपाध्यक्ष अन्जन श्रेष्ठले बताए । उनले भने, “मोटरसाइक विस्थापित गरी कार चढ्ने अधिकांशले इन्ट्री लेभलका कार नै रोज्ने गरेकाले अन्य सेगमेन्टको तुलनामा यसको बिक्री नेपाली बजारमा अत्याधिक छ ।” बैंकले सहज रूपमा सवारी लोन उपलब्ध गराउनु र त्यसको ब्याजदरसमेत विगतको तुलनामा निक्कै सस्तो हुनु र रेमिट्यान्सका कारण पनि कार बिक्रीमा सहयोग पु¥याएको श्रेष्ठ बताउँछन् । “नेपाली बजारमा गाडी बिक्रीको संख्या बढ्दै गएको छ, यो वृद्धिको मुख्य भूमिका इन्ट्री लेभल सवारीलाई नै मान्नुपर्छ,” उनले भने ।
हाल बैंक तथा वित्तीय संस्थाले सवारी लोन ८ देखि ९ प्रतिशतमै उपलब्ध गराउँदै आएका छन् । यसले पनि मोटरसाइकल चढ्दै आएका र आयस्तर सामान्यभन्दा अलि बढी भएकाहरूले इन्ट्री लेभलका कार खरिद गर्ने गरेका छन् । नेपाली बजारमा बिक्री हुने कार मध्ये इन्ट्री लेभलका कार ५० देखि ६० प्रतिशत बिक्री हुने गरेको श्रेष्ठ बताउँछन् । जबकी महँगा कार (१ करोड रुपैयाँ माथिका) चढ्नेको संख्या कार चढ्नेमध्येका ५ प्रतिशतभन्दा कम रहेको बताइन्छ ।
इन्ट्री लेभलका कार धेरै बिक्री हुनुमा यसको बिक्रीपछिको सेवा राम्रो र स्पेयर पार्टस् सस्तो हुनुलाई नै आधार मान्छन् नेपाल अटो मोबाइल्स डिलर एसोसिएसन (नाडा)का महासचिव गोपीप्रसाद न्यौपाने । “बैंकको लोन सहज हुनु, ब्याजदर काम हुनु, सहरी क्षेत्रको सडक फराकिलो हुनु र हरेकमा कार चढ्ने चाहना हुनुले इन्ट्री लेभलका कार धेरैजसोको रोजाइमा परेको हो,” उनले भने । इन्ट्री लेभल कारले नेपाली बजारमा बिक्री भएका कारको ८० प्रतिशत हिस्सा ओगटेको दाबी न्यौपानेको छ ।
कार    सीसी    मूल्य (रुपैयाँमा)
हुन्डाई इनो डिलाइट प्लस        १६ लाख ५६ हजार
हुन्डाई ग्रान्ड आई१० मेग्ना        २३ लाख ९६ हजार
मारुती सुजुकी अल्टो एसी     ८००    १५ लाख ९९ हजार
मारुती सुजुकी न्यू वागनआर भीएक्सआई    १०००    २० लाख ९९ हजार
टाटा इन्डिका एलएस एनए    १४०५    १८ लाख ७० हजार
टाटा इन्डिगो ईसीएस जीभीएक्स    ११९३    २४ लाख २० हजार
फोर्ड फिगो पेट्रोल एलएक्सआई    ११९६    १९ लाख ५० हजार
फोर्ड फिगो डिजल ईएक्सआई    १३९९    २४ लाख ९९ हजार
फियाट पुन्टो १.२ पेट्रोल एक्टिभ        २३ लाख ७१ हजार ९ सय ९९
 

No comments:

Post a Comment