– १५ प्रतिशत यात्रु थपिने अनुमान
– दुर्गमका यात्रु झनै मर्कामा
केदार दाहाल
काठमाडौं, १४ भदौ- बाढी पहिरोका कारण मुलुकका प्रमुख राजमार्ग अवरुद्ध भएपछि दसै, तिहार तथा छठ पर्वमा हवाई यात्रुको चाप पोहोरभन्दा १५ प्रतिशतसम्मले थपिने भएको छ । बढ्दो चापलाई मध्यनजर गरी वायुसेवा कम्पनीहरूले अहिलेदेखि नै बुकिङ खुला गरिसकेका छन् । करिब ७० प्रतिशत टिकट बुकिङसमेत भइसकेका छन् ।
देशका विभिन्न स्थानमा बाढीपहिरोले लामो तथा छोटो दूरीका राजमार्ग अवरुद्ध छन् । देशकै प्रमुख पूर्व–पश्चिम राजमार्गका दर्जनौं पुल भत्किएका छन् भने पश्चिम खण्डमा पनि स्थल यातायात ठप्पप्रायः छ ।
“पोहोर दसैं–तिहारमा भन्दा यो वर्ष १५ प्रतिशतभन्दा बढी यात्रुको चाप पर्नेछ,” नेपाल वायुसेवा सञ्चालक संघ ९आयोन०का प्रवक्ता तथा सिम्रिक एयरलाइन्सका बजार निर्देशक घनश्याम आचार्यले भने, “यस्ता चाडपर्वमा पहिले पनि उडान थपिन्थ्यो, यो वर्ष अझै बढाउनुपर्ने भयो ।” अझै वर्षा नसकिएकाले हवाई यात्रुको चाप बढ्न सक्ने अनुमान उनको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँगै यती, बुद्ध र सिम्रिक एयरलाइन्सले भद्रपुर, विराटनगर, तुम्लिङटार, भैरहवा, नेपालगन्ज, पोखरा, धनगढी, जनकपुरलगायत क्षेत्रमा उडान गर्दै आएका छन् । दसैंका लागि यती, सिम्रिक, निगम र बुद्धले सुगम क्षेत्रका गन्तव्यमा तथा दुर्गममा उडान गरिरहेका तारा, गोमा एयरले पनि टिकट बुकिङ थालिसकेका छन् । दसैं, तिहार र पर्यटकीय सिजनमा वायुसेवा कम्पनीहरूको आम्दानी सन्तोषजनक हुने भएकाले टिकट बुकिङ खुला गरिएको आचार्यले बताए ।
दसैं आउन झन्डै १ महिना बाँकी हुँदा ७० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेको कम्पनीहरूले बताएका छन् । हिन्दूहरूको मुख्य पर्व दसैंमा काठमाडौंबाट बाहिर जाने यात्रुको चाप बढी हुने भएकाले १ महिनाअघिदेखि नै टिकट बुकिङ गर्छन् ।
“दसैंमा बढी नै चाप हुने भएकाले अहिले नै बुकिङ खुला गरेका छौं,” बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भने, “टिकट बुकिङ बाह्रैमास हुने भए पनि यो समयमा चाप थेगिनसक्नु हुन्छ, त्यसैले अधिकांश गन्तव्यका टिकट बुक भइसकेका छन् ।”
बुद्धले टिकट बुकिङलाई हेरेर उडान थपघट गर्ने गरेको छ । जोशीका अनुसार दसैंका बेला विराटनगर, नेपालगन्ज र भद्रपुरमा यात्रुको बढी चाप हुन्छ । अन्य केही कम्पनीले पनि दसंैका बेला सेवा दिन खोजिरहेकाले केही हल्का भने हुन सक्ने आचार्यको भनाइ छ । सौर्य एयरलाइन्सले दसंैअघि नै उडान गर्ने गरी जहाज काठमाडौं अवतरण गराइसकेको छ ।
दुर्गमका यात्रु झनै मारमा
दुर्गम क्षेत्रमा उडान भर्ने विमान पर्याप्त नहुँदा हवाईयात्रुको अवस्था नाजुक भइरहेका बेला यसपालि दसैं, तिहारमा झनै समस्या हुने भएको छ । दुर्गममा सेवा दिइरहेको सीता एयर र सिंगल इन्जिनको एयर काष्ठमण्डप पनि कार्गोमा घटुवा भएपछि दुर्गममा उडान भर्ने कम्पनी घटेका छन् । दुर्गममा सेवा दिन निगमले चीनबाट ल्याउने भनेको वाई १२ जहाज पनि आउन ढिला हुने भएपछि दुर्गमका यात्रुले समस्यामाथि समस्या बेहोर्ने निश्चित छ ।
आन्तरिक उडानतर्फ हाल नेपालमा १५ विमान कम्पनी सञ्चालनमा छन् । दुर्गम क्षेत्रका विमानस्थलहरूमा हाल ४ वटा कम्पनीले मात्र सेवा दिइरहेकामा अब सीताले यात्रु उडाउन पाउनेछैन । अहिले निगमको १, तारा एयरका ७ र सिम्रिक एयरलाइन्सका २ गरी जम्मा १० विमानले दुर्गममा सेवा दिइरहेका छन् ।
नेपालका ५८ विमानस्थलमध्ये ३१ वटामात्र सञ्चालनमा छन् । तीमध्ये दुर्गम क्षेत्रमा १८ वटा छन् । डोल्पा, मुगु रारा, जुम्ला, बझाङ, भोजपुर, रुम्जाटार, फप्लु, मनाङ, तुम्लिङटार, तामाखर्क, खामिडाँडा, बाजुरा, चौरजहारी, हुम्ला, सिमिकोटा, रुकुम सल्ले, लामीडाँडा, कागेलडाँडा दुर्गमका विमानस्थल हुन् ।
No comments:
Post a Comment