अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को टोलीले चार वर्षपछि नेपालको हवाई क्षेत्रको वृहत् मूल्यांकन अर्थात अडिट सम्पन्न गरेको छ । आइकाओको टोलीले हवाई क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणसहित राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सको अडिट गरेको हो ।
नेपालकै आग्रहमा आइकाओको टोली गत असार २० मा नेपाल आएको थियो । टोलीले एकसातासम्म अडिट गरेको हो । टोलीले एक महिनाभित्र नेपाललाई ‘सिग्निफिकान्ट ‘सेफ्टी कन्सर्न’ (एसएससी) सूचीबाट हट्ने वा यथावत रहने जानकारी गराउनेछ । अडिट टोलीमा आइकाओका क्याप्टेन (पाइलट) भोउड्री यूजेनी र एरोनटिकल इन्जिनियर एडमन्ड बोहल्यान्ड सहभागी थिए ।
टोलीले प्राधिकरणसहित चार वटा अन्तर्राष्ट्रिय उडानको अनुमति लिएका एयरलाइन्सको अडिट गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, हिमालयन एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सको अडिट गरिएको हो । “टोलीले आइकाओको मूल्यांकन समितिलाई रिपोर्ट दिनेछ र सोहीअनुसार निर्णय एक महिनाभित्र आउने छ,” लामिछानेले भने ।
चार वर्षदेखि आइकाओले नेपाली हवाई क्षेत्रलाई एसएससी सूचीमा राखेको छ । “अडिटमा आउनु नै सकारात्मक भएकोले एसएससी सूचीबाट नेपाललाई हटाउनेमा हामी आशावादी छौं,” लामिछानेले भने ।
एसएससी हट्यो भने नेपालले युरोपेली आयोगलाई ‘हवाई सुरक्षा सूची’बाट हटाउन आग्रह गर्नेछ । एसएससीबाट हटाउने वा राखिने भन्ने अब अडिटरहरूको हातमा निर्भर छ । आइकाओले विश्वभरका मापन गर्ने ८ वटा सूचकांकमा नेपाल पनि पुग्नै लागेको दावी नेपाली पक्षले गरेको छ ।
यसअघि सन् २००९ मा नेपालको अडिट गर्न आइकाओको टोली नेपाल आएको थियो । उनीहरूले ८ वटा सुझाव दिँदै तत्काल सुधार गर्न नागरिक उड्डयन प्राधिकरणलाई आइकाओले चेतावनी दिएको थियो ।
सोही अडिटलाई आधार मान्दै २०१२ अक्टोवर २३ मा प्राधिकरणका तत्कालीन महानिर्देशकलाई पत्र लेख्दै आइकाओले औल्याएका कमजोरीको बारेमा सुधार कति भइरहेको छ भन्ने प्रश्न सोधेको थियो । आइकाओको टोली २००९ कै अडिटको ‘फलोअप’ भन्दै २०१३ को जुलाईमा नेपाल आएको थियो । अघिल्लो पटकको अडिटमा सुधारका लागि दिइएको सुझाव कार्यान्वयन नभएको भन्दै नेपाललाई २०१३ पछि आइकाओको एसएससी सूचिमा राखेको थियो ।
२००९ मा सुधारको सुझाव दिनु र नेपालमा हवाई दुर्घटना दरमा अप्रत्यासित वृद्धि हुनु एकैपटक भएको देखिन्छ । २०१० देखि २०१२ भित्रमा अग्नी एयरका दुई वटा, सीता एयर, तारा एयर र बुद्ध एयर दुर्घटनामा ठुलो मानवीय क्षति भएको थियो ।
आइकाओले नेपाललाई २०१३ मा राखेको एसएससी लिस्टको आधारमा युरोपेली आयोगले नेपाली हवाई आकाशलाई ‘हवाई सुरक्षा सूची’मा राख्दै आएको छ ।
No comments:
Post a Comment