आर्थिक क्षेत्रका विशेष गतिविधी

Sunday, January 1, 2012

पर्यटक बढे पनि व्यापार १५ प्रतिशत घटेको छ

तेजेन्द्रनाथ श्रेष्ठ
अध्यक्ष, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)
अध्यक्ष, ठमेल पर्यटन परिषद्

काठमाडौंमा ४ दशक अघिदेखि पर्यटन व्यवसाय गर्दै आएका तेजेन्द्रनाथ श्रेष्ठको परिवारले सन् १९७० देखि नै रेस्टुरेन्ट व्यवसाय सुरु गरेको थियो । पर्यटक आगमनको क्रम बढेपछि पर्यटकीय सामग्रीको होटल (ताहाचल गेस्ट हाउस), आयात निर्यात, कार्पेट, इलेक्ट्रोनिक्सलगायतका व्यवसायहरू सञ्चालन गरिसकेका छन् । बुवाको प्रेरणाले व्यवसायसँगै सामाजिक सेवामा समेत लागेको बताउने श्रेष्ठले हाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन र ठमेल पर्यटन परिषद्को समेत नेतृत्व लिइरहेका छन् । क्रिस्टल सिटीमार्फत हाउजिङ व्यवसायमा पनि संलग्न रहेका श्रेष्ठले रेडन कलेज, थर्ड आइ र यिङ याङ रेस्टुरेन्ट लगायतका व्यवसाय सम्हालिरहेका छन् । प्रस्तुत छ, श्रेष्ठसँग मुलुकको पर्यटन, रेस्टुरेन्ट, हाउजिङ, ठमेल क्षेत्र लगायतका विषयमा कर्पोरेट ब्युरो प्रमुख विपेन्द्र कार्की र संवाददाता केदार दाहालले गरेको कुराकानी ः

अहिले नेपालमा सेवामूलक व्यवसाय गर्न कत्तिको सजिलो छ ?
नेपालमा हालको अवस्थामा व्यवसाय राम्रोसँग सञ्चालन हुन सकिरहेको छैन । अलिकति अगाडि बढ्न खोजेको जस्तो देखिन्छ, फेरि कहिले पूर्व बन्द, कहिले पश्चिम बन्द हुने गरेको छ । एकदिनको बन्दले पनि व्यवसायमा धेरै दिनसम्म असर पारिरहने भएकाले राजनीतिक स्थिरता नहँुदा हाल कुनै पनि क्षेत्रको व्यवसायमा राम्रो र सकारात्मक अवस्था छैन ।

यस वर्ष पर्यटकको संख्या त बढेको छ, यसले व्यवसायमा कस्तो असर परेको छ ?
नेपालमा यस वर्ष पर्यटकको संख्यामा राम्रै वृद्धि भएको छ । संख्याको आधारमा धेरै पर्यटक यस वर्ष नेपाल भित्रिए पनि व्यापारको दृष्टिले समग्रमा हेर्ने हो भने गत वर्षभन्दा १५ प्रतिशतले कमी आएको छ । यस वर्षको व्यापारले के देखाउँछ भने संख्यामात्र बढ्दा व्यापार व्यवसाय राम्रो हुने होइन गुणस्तरलाई पनि ध्यान दिनुपर्ने प्रमाणित भएको छ ।

त्यसो भए नेपालमा अब संख्यात्मक र गुणात्मक पर्यटक आगमनका विषयमा छलफल हुनु आवश्यक छ ?
हो, पहिले पनि हामीहरूले संख्यालाई मात्र ध्यान नदिएर गुणात्मक पर्यटक भिœयाउनमा जोड दिनुपर्छ भन्दै आएका हौं । तर, त्यसका लागि पर्यटनको पूर्वाधार विकासमा जोड दिनुपर्छ । खानेपानीदेखि यावत समस्याहरू छन् । भर्खरै मात्र खानेपानी विभागले होटल याक एन्ड यती तथा मल्ल होटललाई कारबाही गर्ने भनेको छ । केको आधारमा कारबाही गर्ने त्यत्रो कामदारलाई रोजगारी दिइरहेका संस्थालाई ? सरकारलाई हरेक वर्ष करोडौं राजस्व तिर्दै आएको छ । के त्यता तिर ध्यान दिनुपर्दैन ? त्यसैले नेपालमा गुणस्तरको पर्यटक भिœयाउन सम्पूर्ण क्षेत्रको पूर्वाधार विकासमा ध्यान दिनुपर्छ ।

पूर्वाधारकै कुरा गर्दा ठमेलको अवस्था कस्तो छ ?
नेपालमा खासगरी १२ महिनाको कुरा गर्दा सबै समयमा पर्यटक नेपाल भिœयाउन सकेका छैनौं । अक्टोबर एक महिनामा मात्र पर्यटक आउँदा त ठमेलम मानै पर्यटक पुगेको छैन । हामीले १० लाख पर्यटक नेपाल भिœयाउने कुरा गर्दा फेरि एक महिनामा ल्याउने हो भने सम्भव छैन । तर, हरेक महिना केही न केही पर्यटक भिœयाउने हो भने त्यो राम्रो हुन्छ भनेका थियौं । सन् २०११ मा पनि मार्च महिनामा २३ करोड रुपैयाँ छुट्याएर विज्ञापन गर्ने भनेको कुरा हाल आएर थालिएको छ । यसले के प्रभाव पार्छ । यदि ठमेलमा बाह्रै महिना पर्यटक भिœयाउने हो भने धेरै पूर्वाधारको आवश्यकता पर्छ । पूर्वाधार विकास गर्ने कुरामा कहाँदेखि थाल्ने हो, त्यो बारेमा सानो कुरामा पनि ध्यान दिनुपर्छ । कुन मापदन्डमा कुन व्यवसाय खोल्ने भन्ने कुरा अहिलेसम्म कुनै पनि निरीक्षण गर्ने निकाय छैन । रेस्टुरेन्ट खोल्नको कुनै मापदण्ड छैन, जहाँतही खुलेका छन् । के सबै पर्यटक स्तरका छन् त ? त्यसैले सरकारले हरेक क्षेत्रमा मापदण्ड लागू गराउनुप¥यो । ठमेलको पूर्वाधारको कुरा गर्दा सडक व्यापारीहरूमा पनि समस्या छ । उनीहरूलाई हटाउन सकिएको छैन । पर्यटकहरूले सधैं गुनासो त्यही सडक व्यापारीहरूको गर्ने गरेका छन् ।

पछिल्लो समय ठमेल नेपालीको पनि आकर्षणको केन्द्र बनेको छ र बेला–बेलामा विभिन्न झमेलाहरू पनि हुने गरेको छ नि !
यो त ठमेलको मात्र नभएर सम्पूर्ण क्षेत्रको समस्या बनेको छ । महानगरपालिकामा एउटा प्रहरीले २ सय नागरिकलाई हेर्नुपर्नेमा ६ सय लाई हेर्नुपर्ने अवस्था छ । त्यसमा प्रहरीहरू दबाबमा काम गर्नुपर्ने अवस्था छ । अर्को कुरा मनोरन्जनका लागि युवा–युवतीहरूको आकर्षण ठमेलमा बनेको छ । त्यसले पनि समस्या हुँदै गएको छ । हामीले बारहरूमा पनि त्यस्तो हुन नदिन पहल जारी राखेका छौं । क्रिसमसमा पनि त्यस्तै भयो । सुन्धारमा तरबार भेटियो भनेर ठमेल बन्द गराइयो के अब ब्राजिलमा जहाज दुर्घटना भयो भनेर नेपालमा जहाज उडान नभर्ने ? त्यसैले समस्या जहाँतही छ त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने कुरा हो ।

ठमेलको व्यवसाय चल्नुमा नेपाली र विदेशीको योगदान कति–कति छ ?
सिजनमा विदेशी नै हो । बेसिजनमा नेपाली हो तर हाल ठमेलमा धेरै परिर्वतन आइसकेको छ । हामीले परिवारका लागि ठमेल भन्ने नारा राखेको र त्यसको प्रभाव पनि धेरै नै परेको छ । त्यसका लागि स्वदेशीहरू ठमेलको रेस्टुरेन्टमा धेरै न मात्रमा आउने गरेका छन् ।

तपाईं रेबानको अध्यक्ष पनि हुनुहुन्छ, नेपालमा रेस्टुरेन्ट चलाउन कि प्रहरी कि डनहरू चाहिन्छ भनिन्छ नि !
खासमा यो कुरा गलत सोचाइ हो । रेस्टुरेन्टको नाममा अरू व्यवसाय, धन्दा चलाउनेहरूले चलाएको हल्ला मात्र हो । त्यसैले रेस्टुरेन्ट बार एन्ड डान्स भनेर बनाउनु नै गलत हो । कि डान्स क्लब राख्नुप¥यो, दोहोरीसाँझ मात्र राख्नुप¥यो डान्स बारमा मानिस किन जान्छ डान्स गर्न होइन ? दोहोरीसाँझ दोहोरी सुन्न होइन ? नाम अनुसारको काम भएमा त्यस्तो समस्या रहँदैन ।

तपाईंहरू ठमेलमा व्यवस्थित बनाउन पनि त लागिरहनुभएको छ होइन ?
हो, हामीहरूले डान्स बारहरूलाई व्यवस्थित गराउन लागिरहेका छौं । मसाज सेन्टरहरूलाई नीतिअनुसार चलाउन लागिरहेका छौं । हाल डान्स क्लबहरूमा पनि पहिले जस्तो छैन । पहिले संकटकालमा धेरै चलेका र घर गाडीहरू पनि जोड्न सफल भए तर आज त्यस्तो अवस्था छैन । नेपालमा डान्स क्लब, मसाज सेन्टरलगायत सबैलाई व्यवस्थित गर्नुपर्छ । यस्ता कुराहरू निर्मल पार्न सकिँदैन त्यसका लागि व्यवस्थित बनाएर रात्रिकालीन व्यवसायका रूपमा विकास गर्नुपर्छ ।

के नेपालमा रेडलाइट क्षेत्रको आवश्यकता छ भन्न खोज्नुभएको हो ?
यस्तो क्षेत्र बनाउन प्रस्ताव पनि पटक–पटक सरकारी निकायमा पुगेको छ । तर नेपालमा निर्णायक तहमा नै पुगेका मानिसहरूनै त्यस्तो ठाउँमा जाने गरेकाले त्यसलाई वैधानिकता दिन मानिरहनुभएको छैन । रेडलाइट एरिया कुन मुलुकमा छैन र ? मलेसिया, बैंकक, सिंगापुर जहाँ पनि छ । उनीहरूले त्यसबाट नै अर्बौं डलर आम्दानी गरिरहेका छन् । खाली त्यसलाई प्रयोग गर्ने कसरी भन्ने कुरा मात्र हो । जे कुरा पनि मानिसको चाहनामा भर पर्ने कुरा हो ।

समग्र ठमेलसहित रेस्टुरेन्टलगायत क्षेत्रलाई व्यवस्थित बनाउन तपाईंका कार्ययोजनाहरू के–के छन् ?
नेपालमा त्यस्ता क्षेत्रहरूलाई व्यवस्थित बनाउन रात्रिकालीन व्यवसाय र रात्रिकालीन मनोरञ्जनको विकास आवश्यक छ । त्यसका लागि चौबीसै घण्टा नै व्यवसाय सञ्चालन हुनुपर्छ । रात्रि व्यवसाय र रात्रिकालीन मनोरन्जनलाई सेक्सका रूपमा हेरियो भने हामी फेल हुन्छौं । त्यसका लागि स्वतन्त्र गराइयो भने नराम्रो कामहरू आफैं घटेर जान्छ । जब बन्देज गरिन्छ त्यहाँ चिटिङ भइहाल्छ । त्यसको लागि रात्रिकालीन व्यवसायको विकासमा लाग्नुपर्छ, त्यसमा नकारात्मक सोचले होइन, सकारात्मक सोचले गाइयो भने सरकारलाई पनि राजस्वको मात्रामा धेरै वृद्धि हुन्छ ।

हाउजिङ व्यवसायी पनि हुनुहुन्छ, हाल राष्ट्र बैंकको नीतिले गर्दा धराशायी पनि बनेको छ, तपाईंको आफ्नो व्यवसाय कस्तो छ ?
हुन त जाडो समयमा सबैले न्यानो लुगा लगाइरहेका बेला मलाई न्यानो छ भनेर पानीमा बस्न सकिँदैन । अहिले हाउजिङको व्यवसाय एकदमै खराब भएको छ । घरजग्गा हाउजिङ व्यवसायलाई अनुत्पादक भनिरहेको अवस्था छ । अहिले देखिएको अवस्था हरेक १०–१० वर्षमा आइरहने समस्या हो । नेपालमा हाउजिङ व्यवसायको सुरुवात भएको २०५४ सालदेखि मात्र हो । त्यसैले यो सधैं रहन्छ जस्तो लाग्दैन । रियल स्टेट व्यवसायका रूपमा विकास भयो । एकैदिनमा तीन पटकसम्म एउटै जग्गाको बैना हुन थाले, बैंकहरूले पनि कर्जा बढाउँदै लगे, राष्ट्र बैंक मूकदर्शक भएर हे¥यो तर पछि अनावश्यक कडाइ गरिदिएपछि पूर्ण ठप्प भयो ।
नेपालमा पहिले यस्तो विकास नै भएको थिएन । नेपालीहरू आफ्नै घर चाहिन्छ भन्ने मानसिकतामा थिए । हाल हाउजिङ व्यवसायमा आएको मन्दीले गर्दा कति क्रसर उद्योगहरू बन्द भएका छन्, कति इँटा भट्टीहरू बन्द भएका छन् । त्यसैले सरकारले जुन क्षेत्रलाई अनुत्पादक भनी रहेको अवस्था छ, त्यो सोचाइनै गलत हो । ठूला देशहरूमा किन त्यत्रो ठूला टावर बनेका छन् । नेपालबाट लाखौं युवाहरू त्यही कामका लागि बाहिरिएका छन् । यस्ता कुराहरू भनेको त कुनै पनि देशको विकासको सूचकांक हो जस्तो लाग्छ ।

तपाईंको आफ्नो व्यवसाय कसरी चलिरहेको छ ?
क्रिष्टल सिटीको डिजाइन गर्दा पूरै नयाँ मोडलमा इको सिस्टमको अवधारणालाई आधार मानी निर्माण गर्ने कोसिस गरे । जब यो मन्दी आएपछि सिंगल घरका रूपमा सुरु गरेका छौं । मंगलबारदेखि लन्चिङ पनि गरिएको छ । आठवटा जति सुलभ मूल्यमा दिने विचार गरेका छौं ।

हाउजिङ व्यवसायको भविष्य कस्तो देख्नुभएको छ ?
हरेक व्यक्तिमा घरजग्गा जोड्ने भनेको सपना हो । त्यसैले यो व्यवसाय सुनौलो छ । त्यसमा कसरी जाने भन्ने कुरा सरकारको नीतिमा भर पर्ने भएकाले आजको आवश्यकता के हो भन्ने कुरा सरकारले मन्दी नआउँदै नीतिहरू तयार पारिदिने हो भने व्यवसायी र उपभोक्ता दुवैलाई सहज हुने हामीले देखेका छौं ।

नेपालमा लगानी कर्ताहरूको मनोबल बढाउन के हुनुपर्छ जस्तो लाग्छ ?
नेपालमा लगानीकर्ताहरूको मनोबल बढाउन आवश्यक छ, त्यस्तो भएमा ठूलो लगानी स्वदेशी पनि आउन सक्छ । अन्य मुलुकमा उद्योगपतिहरू निजी जहाज लिएर नेपाल आउने गरेका छन् । नेपालका उद्योगपतिलाई पनि त्यो अधिकार हुनुप¥यो, उनीहरू जहाज किन्ने हैसितमा पुग्न सक्छन् । मैले जहाज नै किनिहाल्छन् भन्न खोजेको होइन तर सरकारी नीति त्यस्तो हुनुप¥यो, जसले गर्दा स्वदेशी र विदेशी लगानीकर्ताहरूको मनोबल बढेर जाओस् ।

तपाईंले धेरै क्षेत्रमा व्यवसाय गरिरहुनुभएको छ, आफूलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
हाल शैक्षिक, पर्यटन, रेस्टुरेन्ट, वैदेशिक रोजगार, हाउजिङ लगातमा क्षेत्रमा काम तथा नेतृत्व गरिरहेको छु । पहिले सुरु–सुरुमा एकदमै अप्ठेरो पनि भएको थियो । तर, यसले एक कामलाई अर्को काममा लिंक गर्दा फेरि मानिसलाई यति धेरै शान्त बनाउँदो रहेछ, कि ठमेलमा प्रहरीदेखि व्यवसायी, सडक व्यापारीसम्म डिल गर्छु, कलेज गएपछि शिक्षक, विद्यार्थीसम्म डिल गर्छु, म्यानपावरमा त्यस्तै डिल गर्नुपर्ने । त्यसैले धेरै क्षेत्रमा काम गर्दा फेरि गाह्रो पनि, रमाइलो पनि छ । नेपालमा यस्तो कार्य गर्न असजिलो हुनु स्वाभाविक पनि हो । अन्य मुलुकमा भने यस्तो व्यवसाय सहजै सञ्चालन हुन्छन् ।

No comments:

Post a Comment