आर्थिक क्षेत्रका विशेष गतिविधी

Tuesday, December 23, 2014

सार्वजनिक यातायात सेवाभन्दा सास्ती


सार्वजनिक यातायात सेवाभन्दा सास्ती
शिव बोहरा
सार्वजनिक यातायातका साधनले क्षमताभन्दा ज्यादै धेरै यात्रु बोक्ने विषयमा कोही पनि बेखबर छैनन् । तर, समस्या विकराल बन्दै जाँदा पनि नियामक निकायले समाधानका लागि चासो देखाएको पाइँदैन ।सरकारले जतिबेला उपत्यकाबाट विक्रम ट्याम्पो हटाएर ठूला सवारी (मास ट्रान्सपोर्ट) ल्याउनुपर्ने ठाउँमा माइक्रोबस ल्याउने निर्णय ग¥यो त्यति बेलादेखि नै समस्या सुरु भएको हो । सहरी क्षेत्रमा त यो समस्या सबैको टाउको दुःखाइको विषय भइसकेको छ ।
चालकसहित १४ सिट क्षमताको माइक्रोबस ३० जनासम्म र २६ सिट क्षमताको मिनिबस ४० जनासम्म यात्रु बोकेर ट्राफिककै अगाडि गुड्छन् । नियामक निकाय यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी ‘पर्याप्त जनशक्ति नभएकाले अनुगमन गर्न नसकिएको’ अस्वाभाविक तर्क तेस्र्याउँछन् । जबकि, गलत गर्ने ४–५ वटा सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउने हो भने धेरै आफैं तर्सिन्छन् ।
मध्यम तथा लामो दूरीमा सञ्चालित बसमा देशभर कडाइ गरिए पनि सहरी क्षेत्रमा चल्ने बस तथा माइक्रोबसका विषयमा खासै चासो दिएको पाइँदैन । दुर्घटनाको संख्या बढ्दो दरमा छ, यातायात क्षेत्र जोखिमपूर्ण बन्दै गएको छ । यसलाई ट्राफिक प्रहरी स्वयंले पनि स्वीकार्ने गरेको छ ।
बढी यात्रु बोकेको विषयमा यातायात व्यवसायी, ट्राफिक तथा सरोकारवालासँग पटक–पटक छलफल हुँदै आए पनि ठोस निष्कर्षमा कहिल्यै पुगेको पाइँदैन । सार्वजनिक यातायात प्रयोगकर्ता नै सवारीमा क्षमताभन्दा बढी बसेर यात्रा गर्नुहुँदैन भन्ने विषयमा सचेत हुँदाहुँदै पनि विकल्प नहुँदा जोखिमपूर्ण यात्रा गर्न विवश छन् ।
विश्व परिवेशलाई हेर्ने हो भने सबैजसो देशका मुख्य सहरमा ‘मास ट्रान्सपोर्ट’ नै सञ्चालनमा छ । हाम्रो देशमा भने व्यवसायीको दबाबमा सबैखाले निर्णय हुने गरेकाले सरकार ‘पिछलग्गु’ मात्र बन्ने गरेको छ । कुनै बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले नै सरकारले विक्रम ट्याम्पोको ठाउँमा माइक्रोबस ल्याउने गलत निर्णय गरेको स्वीकार गरेका थिए ।

सहरी क्षेत्रमा साना सवारी नै समस्या
सहरी यातायात व्यवस्थापनमा साना सवारीसाधन सरकारका लागि टाउको दुखाइ बनेका छन् । काठमाडौं उपत्यकालगायत देशैभरि साना सवारीको बढ्दो चापले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको सरकारी विश्लेषण छ । देशभर दर्ता भएकामध्ये ८८ प्रतिशत हिस्सा साना सवारीको छ ।
हाल देशभर साना–ठूला गरी १७ लाखभन्दा बढी सवारी साधन दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांकले देखाउँछ । तीमध्ये आधाजसो बागमती अञ्चलका छन् ।
सन् २०१३ सम्मको दर्ता संख्यालाई हेर्दा बागमतीमा दर्ता सवारीमध्ये ५ लाख ६६ हजार ७ सय ८५ मोटरसाइकल तथा १ लाख १२ हजार ४ सय ३४ कार, जिप र भ्यान छन् । ठूला सवारीअन्तर्गत बस ७ हजार ५ सय ५५ र मिनिबस ५ हजार ९ सय ३३ छन् । मोटरसाइकलको हिस्सा ८२ प्रतिशत छ । कार १३, ट्रक २, मिनिबस, बस र टेम्पो १–१ प्रतिशतमात्र छन् ।
उपत्यकामा १ हजार ५९४ किमीमात्र सडक छ । तर, यातायात व्यवस्था विभागको सवारी दर्ता हेर्ने हो भने बागमती अञ्चलमा मात्रै देशको करिब आधा ७ लाख १३ हजार १ सय ८५ सवारी छन्, तीमध्ये धेरैजसो सवारी काठमाडौंकेन्द्रित छन् । यो तथ्यांकका आधारमा गर्दा १ किमी सडकबराबर ४ सय ४८ सवारी गुड्छन् । सरोकारवालाका अनुसार विश्वका कुनै पनि मुलुकमा यति धेरै सवारी घनत्व छैन । नेपालभर १६ लाख २९ हजार ४ सय ३२ सवारी दर्ता छन् ।
सरकारले तत्काल साना सवारी विस्थापनको नीति नलिने हो भने अवस्था भयावह हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वसन्तकुमार पन्त बताउँछन् । “साना सवारीले ट्राफिक व्यवस्थापनसँगै सुरक्षामा समेत चुनौती थपेका छन्,” उनी भन्छन्, “त्यसैले अब ‘मास ट्रान्सपोर्टेसन’तिर सोच्न आवश्यक भइसकेको छ ।”

उपत्यकामा ‘¥यापिड मास ट्रान्सपोर्ट’को योजना
सरकारले आर्थिक वर्ष ०७१÷७२ को बजेटमार्फत काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि ‘¥यापिड मास ट्रान्सपोर्ट’ सञ्चालनमा ल्याउने योजना बनाएको छ । उपत्यकाको कहालीलाग्दो सार्वजनिक यातायातको सुधारका लागि सरकारले जुन उत्साहका साथ बजेटमा प्राथमिकता दिएको छ, त्यस्तै उत्साहका साथ कार्यान्वयन भए उपत्यकावासीले ठूलै राहत महसुस गर्ने थिए ।
बजेटमा भनिएको छ, ‘काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन विभिन्न स्तरमा ठूला र मझौला सडकमा ‘¥यापिड मास ट्रान्सपोर्ट’ अवधारणा लागू गरिनेछ । यसका लागि ४० भन्दा बढी सिट क्षमताका बसको आयातमा लाग्ने भन्सार महसुलमा निश्चित प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।’ यसअघि पनि सरकारले सार्वजनिक प्रयोजनका लागि आयात गरिने ठूला बसमा ५ प्रतिशतमात्रै भन्सार लगाउँदै आएको थियो ।
सरकारले लिएको नयाँ नीति कार्यान्वयनमा हाल सञ्चालनमा रहेका माइक्रो तथा अन्य साना सवारी नै टड्कारो समस्याका रूपमा देखापरेका छन् । यातायात व्यवस्था विभागले वैशाख १ देखि साना सवारीका लागि चक्रपथभित्र ‘रुट पर्मिट’ नदिने नीति लिएको छ । उपत्यकाभित्र सरकारले बजेटमा भनेअनुरुप साझा बसजस्ता ठूला सवारी सञ्चालनमा ल्याउने हो भने माइक्रोबसको ज्यादतीबाट उपत्यकाबासीले राहत पाउने थिए । ‘¥यापिड मास ट्रान्सपोर्ट’का लागि उपत्यकामा विस्तार गरिएको सडकले पनि साथ दिनेछ । सडक विस्तारपछि चक्रपथभित्रका सबैजसो रुटमा ठूला बस जानसक्ने अवस्था छ ।
योसँगै यातायात व्यवस्था विभागले पनि उपत्यकाभित्र सवारी व्यवस्थित गर्न ३ रुटको नयाँ खाका ल्याएको थियो । प्राइमरी रुटमा १८ मिटर लामा, सेकेन्डरी रुटमा मध्यमखालका बस र टरसरी रुटमा साना माइक्रो तथा टेम्पो सञ्चालनमा ल्याउने विषयमा छलफल पनि भएको थियो । तर, यो खाका पनि कार्यान्वयनमा आउन सकेको छैन ।
राजधानीमा बढ्दै गएको यातायात समस्याको दीर्घकालीन व्यस्थापनका लागि सरकारले २ वर्षअघि ‘काठमाडौं दिगो सहरी यातायात योजना’ पनि सुरु नगरेको होइन । आयोजनाको अध्ययन भौतिक योजना तथा यातायात मन्त्रालय र एसियाली विकास बैंक (एडीबी) संयुक्त रूपमा गरेका थिए । साना सवारी व्यवस्थापन नै काठमाडौंको सवारी व्यवस्थापनको मुख्य चुनौती भएको सरकार तथा ट्राफिक प्रहरीले विभिन्न चरणमा गरेको छलफलले निष्कर्ष निकालेको थियो ।
त्यस्तै, यातायात व्यवसायीले यातायातमा गरेको सिन्डिकेट अन्त्यका लागि सरकारले बेलाबेला कडा निर्णय गर्दै आए पनि कार्यान्वयन सुस्त छ । यो वर्षको बजेटमार्फत अर्थमन्त्री रामशरण महतले दिएको ‘सिन्डिकेट गर्ने सवारीको दर्ता खारेज गरी कालोसूचीमा राख्ने’ चेतावनी पनि चेतावनीमै सीमित छ । देशको सर्वोच्च न्यायालयले पनि सिन्डिकेट अन्त्यका लागि सरकारका नाममा जारी गरेको आदेश पालना भएको छैन ।

‘नमुना’ बन्दै साझा
०५८ सालमा बन्द भएर पुनः सञ्चालनमा आएको साझा अन्य यातायात व्यवसायीका लागि पनि ‘नमुना’ बन्दै गएको महसुस भएको हुनुपर्छ । व्यवसायीले सोझो भाषामा साझाले पाठ सिकाएको अस्वीकार गरे पनि उपभोक्ताको माग र प्रतिस्पर्धालाई मध्यजनर गर्दै समयानुकूल सुविधायुक्त सवारी भित्र्याएको भने स्वीकारेका छन् । उपभोक्तालाई मध्यनजर गर्दै नयाँ बस आउन थालेको विभिन्न यातायात समितिहरूले जनाएका छन् ।
पहिले बाहिर चलेका बस पुराना भएपछि उपत्यकामा ल्याउने गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिक तथा संयुक्त यातायात सञ्चालक सरोज सिटौलाले बताउँछन् । “तर अहिले यस्तो प्रचलन करिब हटिसकेको छ,” उनले भने, “पुराना सवारी सञ्चालन गर्दै आएका सबैजसो यातायात व्यवसायीले नयाँ गाडी ल्याउन थालेका छन् ।”
पुराना गाडी त्यसमाथि पनि मैला सिट भएका बस सञ्चालन गर्ने व्यवसायीलाई साझाको सुविधायुक्त र व्यवस्थित बसले सुध्रिन बाध्य पारेको प्रस्ट हुन्छ ।
 सभारः कारोबार अनलाइनबाट 

पुटिन युगको अन्त्यको संकेत

पुटिन युगको अन्त्यको संकेतसन् २०१४ मा राष्ट्रपति पदमा पुटिनको तेस्रो कार्यकालको २ वर्षभित्र तेलको मूल्य ५९.५० अमेरिकी डलरमा झरेको छ, अर्थतन्त्र धराशायी हुने सँघारमा छ । डिसेम्बरयता रूसी मुद्रा रुबल १६ वर्षयताकै सबैभन्दा न्यून तह अर्थात् डलरको तुलनामा ६९.४० मा रहेको छ । तेलको मूल्य सेप्टेम्बरयता खस्किँदै गएको छ ।


सोभियत संघको पतनयता रूसको अर्थतन्त्रमा तेलको मूल्यको भूमिकालाई महŒवपूर्ण मानिन्छ । रूसी अर्थतन्त्रमा तेलको आम्दानीको ठूलो हिस्सा छ । तेल र ग्यासको आधारमा उदाएको उदीयमान अर्थतन्त्र अहिले विघटनको सँघारमा पुगेको छ । तीन दशकअघि रूसी अर्थतन्त्रमा तेलको मूल्यले उल्लेख्य भूमिका खेलेको छ । तेलको आडमा टिकेको अर्थतन्त्रलाई पुटिनको युग वा ‘पुटिनोमिक्स’को रूपमा बुझ्ने गरिन्छ ।
तीन दशकअघि तेलको इतिहासमा एक ऐतिहासिक घटना घटित भयो, जसले विश्वव्यापी राजनीतिलाई परिवर्तन ग¥यो । सेप्टेम्बर १३, १९८५ मा साउदी अरबका तेलमन्त्री शेख अहमद जाकी यामेनीले मौलिक रूपमा नयाँ तेल नीतिको घोषणा गरे । उनको यो नयाँ नीतिअन्तर्गत साउदी अरबले तेल उत्पादनमा वृद्धि गर्नु थियो, जसले तेलको मूल्यमा गिरावट ल्यायो । यो घोषणाअघिसम्म सोभियत संघले आफ्नो अधिकांश राजस्व अफगानिस्तानमाथिको आधिपत्यबाट निकालिने तेलमा खर्च गर्ने गथ्र्यो ।
सन् १९८६ मा तेलको मूल्य १४.४४ अमेरिकी डलर थियो भने अघिल्लो वर्षमा यो मूल्य २६.९२ अमेरिकी डलर थियो । रूसी निर्यातले तेलको मूल्य ५० प्रतिशतले घट्यो, यो सोभियत संघको आर्थिक पतनको सुरुवात थियो ।
सन् १९८८ मा तेलको मूल्य १४.८७ अमेरिकी डलर थियो । राजनीतिक अस्थिरताको आरम्भसँगै रूसी राष्ट्रपति मिखाइल गोर्बाचेभले ‘ग्लास्नोस्त’ र ‘पेरेस्त्रोइका’को नारा दिए । सोभियत तेल उत्पादनमा ह्रास सुरु भयो । सोभियत अर्थतन्त्र अवरुद्ध भयो, उसलाई १ खर्ब अमेरिकी डलरको आवश्यकता प¥यो । सन् १८८८ मा सोभियत युनियन कच्चा तेलको सबैभन्दा ठूलो उत्पादक देश थियो, जसले दैनिक १ करोड १८ लाख ब्यारेल उत्पादन गथ्र्यो । सन् १९८७ देखि १९९६ सम्म उसको तेल उत्पादन ४३ प्रतिशतले खस्किएको थियो ।
सन् १९९१ मा सोभियन संघको विघटन भयो, त्यतिखेर तेलको मूल्य २०.२० अमेरिकी डलर थियो । त्यतिखेरका आम्दानी मुनाफा बढाउने वा ऊर्जाक्षेत्रमा पुनर्लगानी गर्नुभन्दा प्रतिरक्षा र सैन्य आधुनिकीकरणजस्ता क्षेत्रमा पुनर्वितरण गरियो । सोभियत युगमा विदेशी लगानीलाई अनुमति थिएन् ।
सन् १९९२ मा रूसमा तेल क्षेत्र विस्तारै आंशिक निजीकरणतर्फ जान थाल्यो, यतिखेर तेलको मूल्य १९.२५ अमेरिकी डलर थियो । सन् १९९४ मा सरकारी स्वामित्वमा रहेको धेरै तेल कम्पनीहरूलाई आंशिक निजीकरण गरिए, किनभने राज्यले अझ तेल ढुवानीमा नियन्त्रण कायम राखेको थियो र सरकारको स्वामित्व यी कम्पनीहरूमा रहिरहेको थियो ।
सन् १९९६ मा तेलको मूल्य २०.४६ अमेरिकी डलर थियो । सोभियत संघको विघटनपछि रूसी अर्थतन्त्रको समग्र सुस्तता र आन्तरिक ऊर्जाको मागमा गिरावटले गर्दा तेलको उत्पादनमा दैनिक ६० लाख ब्यारेलभन्दा कमी आयो । रूस शेल ग्यासजस्ता स्रोतको वैकल्पिक विस्तार गर्न असफलता रह्यो ।
सन् १९९८ मा तेलको मूल्य ११.९१ अमेरिकी डलर थियो । रूसलाई पहिलो प्रमुख आर्थिक संकटले प्रहार ग¥यो, जसलाई सबैले ‘रसियन फ्लू’का नामले बुझ्ने गर्छन् । रूसी सरकारले निर्र्यातलाई प्रोत्साहन गर्न र आन्तरिक रूसी उत्पादन प्रक्रियाको मागमा वृद्धि ल्याउन आफ्नो मुद्रा रुबलको अवमूल्यन ग¥यो ।
सन् १९९९ मा तेलको मूल्य १६.५६ अमेरिकी डलर थियो । भ्लादिमिर पुटिन पहिलो पटक प्रधानमन्त्रीका रूपमा सत्तामा आए । तेलको मूल्यमा वृद्धि र रूसी निर्यातमा वृद्धिले गर्दा रूसी अर्थतन्त्रले सुधारको संकेत दिन थालिरहेको थियो ।
सन् २००० मा तेलको मूल्य २७.३९ अमेरिकी डलर थियो । भ्लादिमिर पुटिन राष्ट्रपति भए । तेलको मूल्य फेरि बढन सुरु ग¥यो । राज्यनियन्त्रित प्रणालीको ठाउँमा बजार आधारित प्रणालीको संकेतका साथ उच्च प्रतिस्पर्धात्मकता र सक्रिय तेल ग्यासको क्षेत्रको उदयले गर्दा तेलको मूल्य बढ्न सुरु ग¥यो । रोमन अब्रामोभित (सिब्नेफ्ट), बोरिस बेरेजोभ्सकी र मिखाइल खोदोरोभ्भ्सकी (पूर्व योकोस) जस्ता राजनीतिकमा पहुँचप्राप्त कुलिन वर्गको उदय भयो । विश्वव्यापी महŒवाकांक्षासँगै यी कम्पनीको प्रविधिमा सुधार तथा व्यवस्थापनमा आएको प्रतिस्पर्धा हुन थाल्यो ।
सन् २००१ मा तेलको मूल्य २३ अमेरिकी डलर थियो । दैनिक उत्पादनमा सन् १९९६ को तुलनामा २० प्रतिशतले वृद्धि हुन पुग्यो (दैनिक ७२ लाख ब्यारेल) । सन् २००१ मा रूसी अर्थतन्त्रले सोभियत संघयताको सबैभन्दा राम्रो प्रदर्शन ग¥यो, यसको कुल गार्हस्थ्य उत्पादन ५.५ प्रतिशतमा बढ्यो र निर्यात १ खर्ब ८ अर्ब अमेरिकी डलर पुग्यो ।
सन् २००२ मा तेलको मूल्य २२.८१ अमेरिकी डलर थियो । सन् २००१ को अक्टुबरदेखि मार्च २००२ सम्म केही समयका लागि मूल्यमा ह्रास आए पनि फेरि बढ्न सुरु ग¥यो, तेलको निर्यातबाट भएको आम्दानीले राजस्वमा महŒवपूर्ण भूमिका खेल्यो । ग्यासको मूल्य तेलको मूल्यसँग सम्बन्धित गरेर रूसी मूल्य प्रणाली लागू गरिएकाले उसको ग्यास निर्यात पनि बढ्यो ।
सन् २००३ मा तेलको मूल्य २७. ६९ अमेरिकी डलर थियो । यतिखेर भ्लादिमिर पुटिनले शक्तिको अभ्यास गर्न सुरु गरेका थिए, उनले उच्च कुलीनतन्त्र र त्यस्ता व्यक्तिहरूमाथि आफ्नो राजनीतिक नियन्त्रण कस्न सुरु गरे । पुटिनको राजनीतिक उदयमाथि प्रश्न तेस्र्याउने कुनै बेला रूसका सर्वाधिक धनी व्यक्ति र त्यतिखेरका सबैभन्दा ठूला तेल कम्पनीहरूमध्ये १ र रूसको कुल तेल उत्पादनको २० प्रतिशतजति तेल उत्पादन गर्ने कम्पनी युकोसका प्रमुख कार्यकारीसमेत रहेका मिखाइल खोदोरकोभ्स्कीलाई ठगी र कर छलीको अभियोगमा गिरफ्तार गरे । युकोस त्यसपछि टुक्रियो र सन् २००७ मा कम्पनी समाप्त भयो ।
सन् २००४ मा तेलको मूल्य ३७.६६ अमेरिकी डलर थियो । पुटिनले आफ्नो पहिलो पदावधि सकेर दोस्रो पटक राष्ट्रपतिमा जितेर आएपछि उनले रूसी अर्थतन्त्रको पुनर्उत्थान देखे ।
सन् २००८ तेलको मूल्य ९१.४८ अमेरिकी डलर थियो । तेस्रो पटक राष्ट्रपति बन्न नपाएपछि पुटिन सत्तामा प्रधानमन्त्री भएर आए । एक सन्तुलित अर्थतन्त्रको रुपबाट उत्साहित रूसले पहिलो पटक एक ठूलो भूराजनीतिक पहलस्वरूप जर्जियाको दक्षिण ओसेसियामाथि हमला ग¥योे । विश्वव्यापी आर्थिक संकटका असरहरूले गर्दा यस्तो भएको अनुभव गरियो । यसका तेल र ग्यासजस्ता उत्पादनको मूल्यमा गिरावट आयो । भूराजनीतिक चिन्ता जताउँदै विदेशी लगानीकर्ताहरूले रूसबाट लगानी झिके ।
सन् २०१२ मा तेलको मूल्य ८६.४६ अमेरिकी डलर थियो । सन् २००८ देखि सन् २०१२ को बीचमा विश्वव्यापी अर्थतन्त्र अझै सुधारको चरणमा थियो, तेलको मूल्यले एकपटक तल डुबुल्की लगायो । सन् २००९ मा ५३.४८ अमेरिकी डलरबाट ९१.४८ अमेरिकी डलरमा पुगेको बाहेकको समयमा तेलको मूल्य तल झ¥यो । सन् २०१२ मा पुटिन रूसको राष्ट्रपतिका रूपमा दमित्री मेदभेदेभको उत्तराधिकारीका रूपमा पुनः उदाए । सन् २०१२ मा रूसले दैनिक ९९ लाख ब्यारेल तेल उत्पादन ग¥यो । तर, तेलको सहयोगमा रूस अर्थतन्त्र बनाउँदै गर्दा पुटिनका सामु सन् २०१२ को मध्यतिरबाट तेलको मूल्यमा आएको गिरावटको चनौती थपिँदै गयो । उपभोगमाा ह्रास र उत्पादनको वृद्धिको चुनौती पुटिनलाई थपिएको थियो ।
सन् २०१४ मा राष्ट्रपति पदमा पुटिनको तेस्रो कार्यकालको २ वर्षभित्र तेलको मूल्य ५९.५० अमेरिकी डलरमा झरेको छ, अर्थतन्त्र धराशायी हुने सँघारमा छ । डिसेम्बरयता रूसी मुद्रा रुबल १६ वर्षयताकै सबैभन्दा न्यून तह अर्थात् डलरको तुलनामा ६९.४० मा छ । तेलको मूल्य सेप्टेम्बरयता खस्किँदै गएको छ । तेलबाट हुने आम्दानी रूसी बजेटको ४५ प्रतिशतको हाराहारीमा छ । युक्रेनी संघर्षमा रूसको संलग्नता, विशेषतः क्राइमियालाई आफूमा गाभेपछि पश्चिमा देशहरूले ऊमाथि आर्थिक नाकाबन्दी लगाएका छन् । रूसी समर्थित पूर्वी युक्रेनी विद्रोहीहरूले मलेसियली विमान मार हानी खसाएपछि रूसमाथि नाकाबन्दी थप नाकाबन्दी लगाउनुपर्ने दबाब बढाउँदै गरिएको छ । यो परिदृश्यमा अर्थशास्त्रीहरूले यदि तेलको मूल्य प्रतिब्यारेल ६० अमेरिकी डलरमा रहे रूसको कुल गार्हस्थ्य उत्पादनमा व्यापक गिरावट हुने अनुमान गरेका छन्, जुन कम्तीमा यो ४.५ प्रतिशतमा रहनेछ । नाकाबन्दीको असर र तेलको मूल्य तथा कमजोर रुबलले पुटिनको युग ‘पुटिनोमिक्स’को समाप्तिको संकेत दिएको छ ।
स्रोत ः लाइभ मिन्ट साभारः कारोबार अनलाइनबाट 

Sunday, December 21, 2014

पर्यटन बोर्ड सुधार्न निजी क्षेत्र पनि इमानदार हुनुपर्छ


पर्यटन बोर्ड सुधार्न निजी क्षेत्र पनि इमानदार हुनुपर्छ

सुमन पाण्डे
अध्यक्ष, पाटा (नेपाल च्याप्टर)
१८ औं पुस्तासम्म नेपाली सेनामा रहेको नुवाकोटको पाण्डे परिवार अहिले भने पर्यटन व्यवसायमा अग्रणी मानिन्छ । सन् १९८८ मा हिमालयन एक्सपिडिसन कम्पनी खोलेर पर्यटनमा आएको यो परिवारको स्वामित्वमा अहिले दर्जनौं व्यवसाय छन् । सुमन पाण्डे आफैंले सन् १९९६ मा हिमालयन एक्स्प्लोरर नामक कम्पनी खोले । सन् २००७ मा फिस्टेल एयर लिएर एयरलाइन्स क्षेत्र छिरेका पाण्डे हाल ठमेलमा छायाँ सेन्टर निर्माणमा तल्लीन छन् भने हिमालयन एयरलाइन्स सञ्चालनका लागि पनि उत्तिकै व्यस्त छन् । सँगै गोमा एयरको सञ्चालक भएरसमेत काम गरिरहेका छन् । पाटा नेपाल च्याप्टरका अध्यक्ष पाण्डे टानका पूर्वअध्यक्षसमेत हुन् । पर्यटनसँगको लामो अनुभव उनले कारोबारकर्मी केदार दाहालसँग यसरी बाँडे :
पर्यटक आगमनदर हेर्ने हो भने घटिरहेको छ तर तपाईंहरू ठूलो लगानी गरेर होटल खोल्दै हुनुहुन्छ, विदेशी एयरलाइन्स ल्याइरहनुभएको छ, किन ?
अहिलेको अवस्था हेरेर लगानी गर्ने नै होइन । लगानी भनेको दीर्घकालीन सोच राखेर गर्ने हो । लगानी बढ्नु र पर्यटक आगमनदर छुट्टाछुट्टै विषय हुन् । नेपालमा शान्ति स्थापना भएपछि होटलमा मात्र होइन, जलविद्युत्मा पनि लगानी आइरहेका छन् । अन्य उत्पादनमूलक क्षेत्रमा पनि लगानी आइरहेका छन् । यतिबेला सबैलाई के अनुभव भइरहेको छ भने सबैतिर आर्थिक कुरामात्र भइरहेका छन् । यो नै लगानीको उपयुक्त अवसर बनेर आइरहेको छ । होटलमा आएको लगानी मुलुकमा शान्तिबहाली र संविधान जारी भएर मुलुक अगाडि बढ्छ भन्ने आशामा हो ।

त्यसो भए त पर्यटक पनि नघट्नु पर्ने होइन र ?
अहिले पर्यटक घट्नुमा ३–४ वटा कारण छन् । जुन हिसाबले विश्वमा पर्यटकहरूको संख्या बढेको छ, हामी त्यसका लागि तयार भएनौं । राज्य पनि खासै चासो दिएर यो विषमा लागेको पाइएन । सरकारी निकायमा भएका अनियमितताको विषयमा निजी क्षेत्रले सडक आन्दोलन गर्नुपर्ने अवस्था आउनुप¥यो । यसले पनि प्रष्ट पार्छ, जिम्मेवार निकायमा बसेकाहरू पर्यटन क्षेत्रको विकासमा कति महत्व दिन्छन् भन्ने । युरोपेली युनियनले नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दा पनि एजेन्टहरूले ठूला कार्यक्रम राखेका छैनन् । त्यसले पनि पर्यटक आगमनदर घटाइरहेको छ । नेपालमा पर्यटन क्षेत्रबाट प्रवद्र्धनका कार्यक्रमहरू जुन हिसाबले गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । केही आशाहरू भने पक्कै थपिएका छन् । विमानस्थल निर्माण, सडक–बाटो विस्तारका कुराले गर्दा पनि पर्यटक आगमनदर बढ्छ । त्यसका लागि भए पनि होटलमा लगानी आवश्यक छ भन्ने सबै लगानीकर्ताले बुझेर होटलमा लगानी गरिरहेका हुन् ।

ठूला होटलमा लगानी त आइरहेका छन् तर पनि किन ठमेलकेन्द्रित ? यसले त झन् अस्वस्थ प्रतिस्पर्धा निम्त्याउँदैन र ?
ठमेलमा मात्र आएको भन्ने कुरा संयोग हो । हामीले वा अन्यले ठमेल नै खोजेर आएका होइनौं । तर, पनि लगानीकर्ताले अवसरचाहिँ अवश्य खोज्छन् । एउटा कुराचाहिँ के हो भने ठमेल विश्वका जुनसुकै मुलुकका नागरिकलाई पनि थाहा छ । यति सानो क्षेत्रमा यति धेरै कुरा छन्, जसले सबैको ध्यान तानेको देखिन्छ, जहाँबाट जसरी नेपाल पर्यटक आए पनि प्रायःले ठमेल आएरमात्र कुन स्थानमा घुम्न जाने भन्ने योजना बनाउँछन् । अर्को कुराचाहिँ अहिलेसम्म ठमेलमा भएका होटल तथा संरचनाहरू मध्यमस्तरका पर्यटकका लागि मात्र थिए । उच्चस्तरका पर्यटकले पनि ठमेलमा समय बिताउने वातावरण बनाउने होटलले नै हो, त्यसैले पनि लगानीकर्ताको ध्यान तानिएको हुन सक्छ । पर्यटकलाई खाना खान, ट्रेकिङ जाने सामग्री किन्नदेखि एजेन्ट खोज्न पनि ठमेल आउनुपर्ने तर बस्ने होटलचाहिँ नभएकाले होटल ठमेलकेन्द्रित भएका हुन् ।

तपाईंहरूले ठमेलमै छायाँ सेन्टर निर्माण गर्दै हुनुहुन्छ । यसले नेपालको पर्यटनमा के नयाँपन दिन्छ ?
नेपाल भ्रमण आउने पर्यटकका लागि रुचिको विषय हो ठमेल । हरेक कुरा ठमेलमा आएर ठोक्किन्छन् । छायाँ सेन्टर आएपछि नेपाल भित्रिने पर्यटक अन्यत्र जानुपर्दैन, सबै यहीँ व्यवस्था हुनेछ । सामग्री खरिद गर्नेदेखि खाने–बस्ने सुविधासम्म सबै प्रकारका सुविधा हुनेछन् । ठमेल आउँदा पार्किङको समस्या छायाँ सेन्टरले हाल गर्नेछ, जहाँ ४५० भन्दा बढी गाडी पार्किङ गर्न सकिन्छ । ठमेलभित्रको ठमेल बन्दैछ छायाँ सेन्टर । ठमेलले वास्तवमा नयाँ ठमेल पाउनेछ । यहाँ अहिलेसम्म सिनेमा हल छैनन् तर सेन्टरमा हल बन्दैछ । नेपालमा विश्वका सिनेमा पारखीहरू आउँछन्, त्यसमा पनि ठमेलमा त धेरै नै आउँछन् । उनीहरुलाई लक्षित गरेर हल बनाउन लागिएको हो । नेपालमा अहिलेसम्म बिजनेस कम्प्लेक्स र पाँचतारे होटल सँगै छैनन्, यहाँ एकै स्थानमा हुँदैछन् । नेपाल भित्रिने पर्यटकका लागि नयाँ प्रडक्ट हुनेछ छायाँ सेन्टर ।

छायाँ सेन्टर र होटल ठ्याक्कै कहिलेदेखि सञ्चालनमा आउँछन् ?
अहिले जुन हिसाबले काम अगाडि बढाइरहेका छौं, त्यसअनुसार सन् २०१६ को पहिलो पर्यटकीय सिजनमा छायाँ सेन्टर सञ्चालनमा आउँछ । त्यसको १ वर्षपछि स्टारउडको अलफ्ट ब्रान्डको पाँचतारे होटल सञ्चालनमा आउँछ ।

नेपाली लगानीकर्ताले लगानी गरेका अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी एकपछि अर्को असफल भइरहेका बेला तपाईंहरूले रुचि देखाउनुको कारण ?
एयरलाइनस भनेको यस्तै बिजनेस हो । संसारभरिका राज्यले सञ्चालन गरेका एयरलाइन्सहरू पनि टाट पल्टिएका उदाहरण छन् भने सानो लगानी गरेर खोलिएका एयरलाइन्स कम्पनीले ठूलो मार्केट बनाएका सफल उदाहरण पनि छन् । भारतमा भीपी गोपीनाथ भन्ने पाइलटने सञ्चालन गरेको डेकन एयरले यसरी बजार विस्तार ग¥यो कि पछि त्यसलाई जेट एयरवेजले लियो । बेलायतमा रिचर्ज बेड्सनले दुइटा एयरक्राफ्टमार्फत सञ्चालनमा ल्याएको भर्जिन एयरलाइन्स आज युरोपको उत्कृष्ट एयरलाइन्स भएको छ । त्यसकारण एयरलाइन्सका सफल र असफल दुवै धेरै उदाहरण छन् । नेपालमा आन्तरिक र बाह्यमा आएकामध्ये कति बन्द भए, कतिले राम्रो गरिरहेका छन् । एयरलाइन्समा सबैभन्दा महत्वपूर्ण कुरा भनेको लगानी हो । लगानी भनेको एयरलाइन्स सञ्चालनमा आएपछि बिजनेस गरेर केही फाइदा जाने बेलासम्म भन्ने बुझिन्छ । त्यो हुन सकेन भने एयरलाइन्स टिक्दैन । बन्द हुनुको कारण पनि यही हो ।
अर्को कुरा दक्ष जनशक्ति अभाव हो । स्पेयर्स पार्ट्सदेखि व्यवस्थापनमा पनि दक्ष जनशक्ति आवश्यक पर्छन् । विगतमा आएका केही एयरलाइन्सहरू सञ्चालनको दिनसम्म मात्र टिक्ने हिसाबले आए, जुन एकदमै नकारात्मक कुरा हो । पहिले नै सबै तयारी गरेर आउनुपर्छ । उडान सुरु गरेर दक्ष जनशक्ति खोज्ने होइन । अरुको उदाहरण देखेर हामी के निर्णयमा पुग्यौं भने अन्तर्राष्ट्रिय एयरलाइन्समा लगानी गर्न नेपाली लगानीकर्ताको अझै समय भएको रहेनछ । त्यसैले प्राविधिक कारण र लगानीको रकमले गर्दा विदेशी एयरलाइन्ससँगको साझेदारीमा सञ्चालन गर्न खोजका हौं । हामीले एयर चाइनाको स्वामित्वमा रहेको तिब्बत एयरलाइन्ससँग मिलेर लगानी गरेको भएर हामी सफल हुनेमा आशावादी छौं । हामीले स्थानीयस्तरको सहयोग गर्ने हो, उनीहरूले प्राविधिक व्यवस्थापन र मार्केटिङ गर्ने भएकाले अन्य नेपालीले लगानी गरेर बन्द भएका एयरलाइन्सभन्दा हामी टिक्नेमा विश्वस्त छौं ।

एयरलाइन्स टिक्ने आधार विदेशी एयरलाइन्ससँगको साझेदारी नै हो त ?
त्योमात्र होइन तर त्यसले सहयोग गर्छ । एयरलाइन्सका लागि दक्ष जनशक्ति चाहियो, तालिम चाहियो, प्राविधिक दक्षता चाहियो र सदैव स्पेर्यस पार्ट्स सप्लाई हुनुप¥यो । अर्को कुरा लगानी हो । मुख्य कुरा मार्केटिङ हो, जुन साझेदारी एयरलाइन्सले गर्दा सहज हुनेछ । नेपाल वायुसेवा निगमको विश्वास गुमेको अवस्था छ । कुनै जमानामा बजार हिस्सा ६५ प्रतिशत रहेकोमा अहिले खुम्चिएर ३ प्रतिशतमा झरेको छ । विदेशी पर्यटकको पहिलो रोजाइ राष्ट्रिय ध्वजावाहक हुने भएकाले पनि निगम बलियो हुनुपर्छ । हामी पहिलो एयरलाइन्स हुन्छौं, जसले ध्वजावाहकको ‘ग्याप’ पूर्ति गर्छ । यो पनि हामी सफल हुने अर्को कारण हो ।
अहिले दैनिक १५ सयदेखि २ हजार नेपाली विदेश गइरहेका छन् । त्यसको २० प्रतिशतमात्र हामीले लिन सक्यौं भने एयरलाइन्स टिक्छ । विश्व ‘ग्लोबल भिलेज’का रूपमा अगाडि बढिरहेका बेला यसले पनि सहयोग गर्छ । आज नेपाल ‘फिफ्थ फ्रिडम’मा अडिएको अवस्था छ । विदेशी कम्पनी नेपाल आएर अन्य मुलुकमा उडान गर्न दिनुचाहिँ ‘फिफ्थ फ्रिडम’ हो तर नेपाल त्यसमा गएको छैन । आज विश्वमा ‘एट्थ फ्रिडम’का कुरा आइसकेको छ । विदेशी एयरलाइन्सले आन्तरिक उडानसमेत गर्न पाउने व्यवस्था खुला भइसकेको छ तर नेपालमा त्यो हुन सकेको छैन । सारा संसारको बजार खुला भइरहेका बेला नेपालीले राम्रो गर्दैनन् भन्ने कुरा मान्न सकिँदैन ।

चीनबाट यति धेरै एयरलाइन्स नेपाल आउँदैछन्, प्रतिस्पर्धा गर्न त सजिलो छैन नि !
म चीनसँग नजिक भएको २० वर्ष भयो । आजको दिनमा चिनियाँ सरकार र जनताको एकदमै सद्भाव पाएको छ । चीन सरकारले अहिले नेपालमा कसरी धेरै चिनियाँ पर्यटक पठाउने भन्ने ध्याउन्नमा छ । त्यही भएर पनि अहिले चिनियाँ पर्यटक नेपालमा बढिरहेका छन् । अहिलेको तथ्यांकअनुसार वार्षिक ८ करोड चिनियाँहरू विदेश भ्रमणमा जाने गरेका छन् । तिब्बतको ल्हासा चिनियाँका लागि खुलेको जम्मा १० वर्षमात्र भएको छ । त्यहाँ ४० लाख चिनियाँ पर्यटक आउजाउ गर्छन् ।
ल्हासाबाट चिनियाँ पर्यटक नेपालको बाटो हुँदै फर्कने वातावरण तयार हुँदैछ । यसपछि कति धेरै पर्यटक नेपाल आउनेछन् भन्ने कुरा हामी कल्पना पनि गर्न सक्दैनौं । ५ वर्षमा केरुङ रेल ल्याउँदै छ । आगामी ५ वर्षमा नेपालमा १० लाख चिनियाँ पर्यटक पठाउने गरी काम भइरहेको छ । अहिले हाइड्रो, विमानस्थल निर्माणदेखि हरेक स्थानमा चिनियाँहरू संलग्न भइरहेका छन् । यही नै पर्यटक भित्रिने संकेत हो । यसरी पर्यटक संख्या बढ्यो भने जति पनि एयरलाइन्स धान्न सकिन्छ ।

नेपाल पर्यटन बोर्डको विवाद त अझै मिलेको छैन । तपाईंहरूले अलपत्रै पारेर छाड्नुभयो है ?
विवाद नमिलेको होइन । हामीलाई पनि थाहा थिएन— ३ वर्षका यति धेरै संक्रमण फैलिएको रहेछ, जसले गर्दा हामीले आन्दोलन गर्नुप¥यो, मन्त्रालय जानुप¥यो, अख्तियारको ढोका चहानुप¥यो । त्यो नभएर संसद्समेत गुहार्नुप¥यो । तर, बोर्ड अब बिस्तारै किस्ताबन्दीमा पुरानै ठाउँमा फर्किंदै छ । बोर्डलाई फेरि सुधार गर्नुपर्ने छ । यसका लागि निजी क्षेत्र पनि इमान्दार हुनुपर्छ । हामी पनि आफ्नो स्वार्थलाई छाडेर बोर्डको स्वार्थमा केन्द्रित भयौं भने सबै कुरा सुध्रिनेछन् ।

नेपाली पर्यटन क्षेत्रमा पाटा नेपाल च्याप्टरको भूमिका कमजोर किन छ ?
नेपालमा धेरै संस्थाहरू छन्, सबैले आ–आफ्नो क्षेत्रबाट काम गरिरहेका हुन्छन् । पाटा पनि तिनै सदस्यहरूकै संस्था भएकाले पनि केही छायाँमा परेको जस्तो भएको छ । तर, पनि हामीले धेरै कुराहरू अगाडि बढाइरहेका छौं । हाम्रोचाहिँ ट्रेड युनियनको कामभन्दा पनि तालिम तथा व्यवस्थापनको काम हो । पाटा अन्तर्राष्ट्रियले विश्वभर कुनै पनि ब्रान्ड स्थापना गर्नका लागि मार्केटिङदेखि विविध कुरामा सहयोग गर्छ ।
पाटाले अब हिमालयन ट्राभल मार्ट सञ्चालन गर्नका लागि पहल गरिरहेको छ । पाटाको मुख्य काम भनेको ‘बिजनेस टु बिजनेस डिल’ गराइदिने हो, जसमा मार्टमार्फत ‘एजेन्ट टु एजेन्ट’, ‘बिजनेस टु बिजनेस’सँगै अन्यको पनि त्यसरी नै छलफल र प्रडक्ट आदान–प्रदान गराउने हो । हामीले आधुनिक व्यवस्थापनसम्बन्धी पनि काम गरिरहेका छौं । त्यसमा वार्षिक २ वटा तालिम सञ्चालन गराइरहेका छौं । हाम्रो काम भनेको विभिन्न तथ्यांक सार्वजनिक गर्ने र त्यहीमार्फत संसारभर पर्यटनका योजना बनाउने पनि हो । नेपालमा पनि हामीले त्यही काम गरिरहेका छांै ।

सोख– व्यवस्थापन
सुन्दर स्थान– पोखरा र स्याङ्बोचे
पुस्तक– इजरायली पूर्वप्रधानमन्त्री गोल्डा मेइरको ‘माई लाइफ’
हाल पढिरहेको पुस्तक– चेतन भगतका पुस्तक
परिवार – आमा, श्रीमती, छोरा र छोरी