आर्थिक क्षेत्रका विशेष गतिविधी

Saturday, September 12, 2015

खल्ती नभएको पोसाकले बखेडा

– उडान/अवतरण नै प्रभाव पार्ने मजदूर युनियनको चेतवानी
– मन्त्रालय भन्छ– अन्तर्राष्ट्रिय मापदण्डअनुसार हो
केदार दाहाल
काठमाडौं, २५ भदौ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा कार्यरत मजदुरलाई ‘खल्ती नभएको कपडा लगाउन’ ७ वर्षअघि अख्तियारले दिएको निर्देशन निकै चर्चित बनेको थियो । यात्रुका सामान हराउने समस्या बढेपछि अख्तियारले दिएको यो निर्देशन बल्ल कार्यान्वयन हुँदैछ तर यसमा कर्मचारीले नै बखेडा झिकेका छन् । अन्तर्राष्ट्रियस्तरमा समेत निकै चर्चित बनेको यो निर्देशन कार्यान्वयनसँगै तल्लो तहका कर्मचारी तथा मजदुरहरूले अवज्ञा आन्दोलन सुरु गरेका छन् ।
विमानस्थलमा कार्यरत मजदुरले माथिल्लो निकायका कर्मचारीले पनि सोही पोसाक लगाएमात्र आफूहरूले लगाउने बताएका छन् । साउन २१ देखि नै कार्यान्वयनमा ल्याउन नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्यान्डलिङ विभागले काम थाले पनि मजदुरहरूले अझै मानेका छैनन् । यो व्यवस्था लागू गरे झन्डै ४ सय मजदुरले खल्तीबिनाको पोसाक लागाउनु पर्नेछ । तर, मजदुर युनियनहरू भने यही निर्णयविरुद्ध बुधबारदेखि आन्दोलनमा छन् ।
युनियनहरूले विभेदकारी निर्णय बदर नगरे उडान÷अवतरणै अवरोध गर्ने चेतावनी दिएका छन् । अख्तियारको निर्देशन अहिले आएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगम व्यवस्थापनले मजदुरलाई मात्र अनिवार्य गर्न खोजेको आरोप निगमअन्तर्गत विमानस्थल मजदुर युनियनका अध्यक्ष रवीन राईले बताए । “अख्तियारको निर्देशन मान्ने हो भने सबै कर्मचारीलाई लागू गर्नुपर्छ, होइन भने हामी मान्दैनौं,” उनले भने, “विमानस्थलमा भ्रष्टाचार गर्नेहरू माथिबाटै चल्दै आएका छन् तर आरोप एक ठाउँमा ल्याएर विषयान्तर गर्न खोजिएको छ, यो मान्य हुँदैन ।”
यता, मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले पहिल्यैदेखि उठेको विषय भए पनि अहिले कार्यान्वयमा लैजान खोजिएको बताए । “यसलाई कसरी व्यवस्था गर्ने भन्ने निगमको हातमा छ,” उनले भने ।
विमानस्थलमा अनेक झमेला छन् । सामान हराउने समस्या नियमितजस्तै छ । त्यसमाथि कहिले सुन, कहिले डलर त कहिले भ्रष्टाचार काण्डले एकसाथ थुप्रै कर्मचारी पक्राउ परेका घटना सार्वजनिक भइरहन्छन् । यिनै काण्डमा प्रत्यक्ष रूपमा जोडिने मजदुरमाथि नियन्त्रण गर्न खल्तीबिनाको पोसाक अनिवार्य गर्न खोजिएको हो । विमानस्थल कार्यालयले लोड तथा अनलोडमा काम गर्ने मजदुरले यात्रुका सामान निकाल्ने गरेको भन्दै रोक्न यस्तो व्यवस्था गर्न लागिएको बताएको छ ।
भ्रष्टाचार रोक्न यस्तो व्यवस्था लागू गर्ने भनिए पनि विमानस्थलबाट खुलेआम सुन तस्करीलाई रोक्न नसक्नेहरूले मजदुरको खल्तीमा आँखा लगाएको आरोप थाई एयरवेज मजदुर युनियनका अध्यक्ष जगतबहादुर अधिकारी लगाउँछन् । “यहाँ मजदुरलाई मात्र पेल्न खोजिएको छ, यो राम्रो होइन,” उनले भने ।
एयर इन्डियाका मजदुर धनबहादुर कार्कीले खल्तीबिनाको पोसाक लगाउन भन्नु मानवअधिकारविपरीत भएको बताए । “मजदुरलाई मोबाइलसमेत बोक्न नदिनु जायज होइन,” उनले भने, “मानवअधिकार हनन् हो ।”
निगमको ग्राउन्ड सर्पोट विभाग प्रमुख सुदीप महर्जनले मजदुरहरूको आरोप प्रतिवाद गर्दै अन्तर्राष्ट्रिय मान्यताबमोजिम नै कार्यान्वयन गर्न खोजिएको बताए । “कसरी लागू गर्ने भन्नेमा मजदुर युनियनहरूसँग कुराकानी भइरहेकाले छिट्टै कार्यान्वयन हुनेछ,” उनले भने, “यो निर्णयबाट अब पछि हट्नेछैनौं ।”
यता नेपाल ट्रेकिङ–ट्राभल–¥याफ्टिङ–एयरलाइन्स मजदुर युनियनका महासचिव सुमन पराजुलीले भने मजदुरलाई मात्र यस्तो निर्देशन दिनु भनेको ‘नाङ्लो ठटाएर हात्ती तर्साउने काममात्र भएको’ टिप्पणी गरे । “सिधै भ्रष्टाचारमा संग्लग्न उच्च कर्मचारीलाई कारबाही गर्न नसक्नेहरूले मजदुरलाई पेल्न खोज्नु गलत हो,” उनले भने ।

No comments:

Post a Comment