आर्थिक क्षेत्रका विशेष गतिविधी

Monday, December 4, 2017

आँखै अगाडि सगरमाथा



सगरमाथा कुन हो ? हिमश्रृंखला देख्नेबित्तिकै सबैले गर्ने पहिलो प्रश्न हो यो । विश्वकै अग्लो सगरमाथा आरोहण सबैलाई गर्न कठिन विषय हो । तर, नजिकबाट हेर्ने हुटहुटी नहुने सायदै हुन्छन् । आफू बसेको स्थानबाट केही सय मिटर माथि जानेबित्तिकै सबै रमाउने मानिसको स्वभाव नै हो । आँखै अगाडि सरमाथा देखिँदा खुसी नहुने कुरै भएन ।
सगरमाथा नजिकबाट हेर्न सगरमाथा बेसक्याम्प, कालापत्थर नै पुग्नुपर्छ भन्ने छैन । केही रकम खर्च गरेर स्याङबोचेसम्म मात्रै जान सक्ने हो भने पनि सगरमाथालाई आँखै अगाडि हेर्न र क्यामेरामा कैद गर्न सजिलै सकिन्छ । स्याङबोचेमा ३ हजार ८ सय ८० मिटर उचाइमा होटल एभरेष्ट भ्यु बाट सगरमाथालाई नजिकबाट नियाल्न सकिन्छ । 

कसरी जाने ? 
काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलबाट सोलखुम्बु जिल्लामा रहेको लुक्ला विमानस्थल हवाई मार्गमार्फत् जान सकिन्छ । 
समुन्द्री सतहबाट २ हजार ८ सय ६० मिटर उचाइमा रहेको यो विमानस्थल आफंैमा विश्वभरका पर्यटकका लागि आकर्षक गन्तव्य हो । विश्वका एडभेन्चर विमानस्थलको सूचीमा दोस्रो नम्बरमा रहेको यो विमानस्थलमा पर्यटकीय सिजनमा दैनिक १ सय १५ वटासम्म उडान÷अवतरण हुने गरेको छ । 
लुक्लामा अवतरण भएपछि नाम्चेतर्फको तय गर्नुपर्छ । लुक्लादेखि सगरमाथा आधार शिविरसम्म करिब ६२ किलोमिटरको दूरी पार गर्न पदयात्री सामान्यतया दुई साता लगाउँछन् । तर, नाम्चे भने दुई दिनमा पुग्न सकिन्छ । पहिलो दिन मानिस मोन्जो या फाक्दिङ भन्ने स्थानसम्म पुगेर बास बस्ने गर्छन् । पर्यटक र पदयात्रीले लुक्लादेखि फाक्दिङ या मोन्जोसम्म पुग्न ५–६ घन्टाको समय लगाउने गर्छन् । पदायात्रामा विश्वका पदयात्रीहरू ठेमलठेल गरेर हिँडेको देख्न पाइन्छ भने सामान बोक्ने भरियाका साथै खच्चड र चौंरीको लामो लामले बाटो जाम नै गराउने दृष्य आकर्षक देखिन्छ । फाक्दिङबाट उकालो लागेका पदयात्री ८–९ घण्टामा नाम्चे पुगिसक्छन् । नाम्चेसम्मको यात्राका लागि सबैभन्दा कठिन र रोमाञ्चक पदमार्ग नै फाक्दिङदेखि नाम्चेसम्मको हो । 
तोपडाँडाबाट ३ हजार २ सय मिटर उचाइमा रहेको स्थान हो । तोपडाँडाबाट सगरमाथादेखि थामसेर्कु हिमालसमेत देख्न सकिन्छ । विगत दुई दशकदेखि पर्यटकलाई पिक हिमाल आरोहण गराउँदै आएका कर्माजन्गो शेर्पा सगरमाथा क्षेत्रमा यस वर्ष अत्यधिक पर्यटक आएको बताउँछन् । सगरमाथा बेस क्याम्प वा अरोहण सबै जना पुग्न नसक्ने भए पनि नाम्चे र स्याङबोचेसम्म मात्रै आए पनि यसवर्षको अवलोकन गर्न सकिने शेर्पा बताउँछन् । 

ठमेलभन्दा बढी रौनक
समुन्द्री सतहबाट ३ सय ४ सय ४० मिटर उचाइमा रहेको नाम्चे पुग्दा पर्यटक नरमाउने कुरै भएन । पर्यटक झम्के साँझमा नाम्चे बजार पुग्दा नाम्चे पनि झुम्न थालेको दृष्यले सबैलाई आकर्षित गर्छ । रातभर जागा बस्ने नाम्चे साँच्चै सुन्दर सहर हो । “विगतमा यहाँका मानिसलाई एभरेष्ट भन्ने पनि थाहा थिएन, न हिमालको महत्व,” पहिलो सगरमाथा आरोहण दलका एकमात्र जस्वित सदस्य कान्छा शेर्पाले भने । सन् १९५३ मा हिलारी र तेन्जिङले आरोहण गरेपछि मात्रै हिमालको महत्व विस्तारै बुझेको शेर्पा बताउँछन् । ८५ वर्षीय शेर्पा कल्पना गरेभन्दा छुट्टै संसार नाम्चे बनेको बताउँछन् । 
काठमाडौैं र पोखरामा मात्रै पर्यटकहरू डान्सबार र रेष्टुरेन्टमा रमाउँछन् भन्ने अनुमान नाम्चे पुग्दा जोकोहीको पनि तोडिने गर्दछ । नाम्चेमा हेलिकप्टर, खच्चड र चौंरी तथा मानिसबाटै बोकेर भए पनि संसारमा पाइने खानेकुराका सबै परिकार त्यहाँका रेष्टुरेन्टमा पाइन्छ । पटक–पटक गरेर तीन पटकसम्म नाम्चे पुगेका पत्रकार कृष्णमुरारी भडारी नेताहरू स्विट्जरल्यान्ड बनाउने भन्छन् तर यहाँको स्वर्गमा कोही नआएको बताउँछन् । “नाम्चे आएर पर्यटक हब कसरी विकास गर्ने भन्ने कुरा अन्य क्षेत्रमा मानिस आएर सिक्न जरुरी छ,” भण्डारीले भने । नाम्चेमा झन्डै ८० वटा होटल रहेका छन् भने दर्जनौ रेष्टुराँ र डान्सबारहरू रहेका छन् । 

१५ हजार कर तिर्न १ लाख खर्च 
पर्यटकका लागि पनि खानाको सबै परिकार बनाउन सक्ने क्षमता नाम्चेका होटल व्यवसायीको रहेको होटल क्याम्प दि बेस होटलका सञ्चालक निमा टासी शेर्पा बताउँछन् । “नाम्चेलाई राज्यले नभएर स्थानीयले बनाएको हो, तर पनि हामीलाई करको मामलामा दुःख दिने गरेको छ,” शेर्पा गुनासो गर्छन् । नाम्चेका व्यवसायीलाई १५ हजार वार्षिक कर तिर्न १ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको समेत शेर्पाले गुनासो गरे । नाम्चेबाट कर तिर्न धरान जानुपर्ने अवस्था छ । “सरकारलाई पटक पटक एउटा घुम्ति सेवा ल्याएर १५ हजारको ठाउँमा बरु १ लाख कर दिन्छौं भन्दा सुनेको छैन,” शेर्पाले भने । राजधानी काठमाडौंमा नाम्चे क्षेत्रका व्यवसायीले कर तिर्दैनन् भनेर हल्ला पिट्ने काम भएकोमा पनि शेर्पाले गुनासो गरे ।


‘एभरेष्ट भ्यु’ बाट सगरमाथा नियाल्दा
नाम्चेको बसाइसँगै पदयात्री र पर्यटक पुग्ने अर्को गन्तव्य भनेको स्याङबोचेमा रहेको एभरेष्ट भ्यु होटल हो । नाम्चे बसाइलाई अविस्मरणीय बनाउन यस आसपास प्रशस्त पर्यटकीय गन्तव्यको विकास गरिएको छ । नाम्चेबाट करिब एक घण्टाको उकालोपछि पुगिने स्याङ्बोचे विमानस्थल धुले विमानस्थल हो । हेलिकोप्टरले कार्गो उडान गर्ने यस विमानस्थलमा सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट विभिन्न सामग्री ल्याइन्छ । नाम्चेबाट २ घन्टाको उकालो हिँडेपछि ३ हजार ८ सय ८० मिटर उचाइमा रहेको एभरेष्ट भ्यु होटल पुग्न सकिन्छ । जापानी नागरिकले सञ्चालनमा ल्याएको होटेल नाम्चे नजिकैबाट सगरमाथा अवलोकन गर्ने उत्कृष्ट थलो हो । होटलको हरेक कोठाबाट सगरमाथा प्रष्ट देखिन्छ । बिहानको सुर्योदय हेर्दै कफीको चुस्की लिँदै ८ हजार ८ सय ४८ मिटर उचाइमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाको दृष्य देख्न सकिन्छ । “सगरमाथा क्षेत्र आउने सबै पर्यटक यहाँ आएर कफी भए पनि खान्छन्,” होटलका प्रबन्ध निर्देशक सोनाम शेर्पाले भने । सगरमाथा हेर्नको लागि सहज र रमणीय दृष्यावलोकन गर्नको लागि पनि एभरेष्ट भ्यु हेलिकप्टर चार्टर गरेर समेत आउने गरेको शेर्पा बताउँछन् । एभरेष्ट भ्युबाट सगरमाथामात्रै नभएर तोबुचे, लोत्से, नोत्से, आमादब्लम, थामशेर्कुलगायत दर्जनौं हिमाल देख्न सकिन्छ ।  


नाम्चेभन्दा आकर्षक खुम्जुङ 
अधिकांशलाई लाग्न सक्छ, नाम्चे भन्दा पनि राम्रो ठाउँ त्यो क्षेत्रमा अर्को कुन सक्छ ? तर त्यहाँ पुग्ने र घुम्नेलाई थाहा छ, खुम्जुङ क्षेत्रको आर्कषण । ३ हजार ६ सय मिटर उचाइमा ररहेको हिडन भ्यालीको उपमा पाएको खुम्जुङलाई स्याङबोचेबाट नियाल्दा अति सुन्दर देखिन्छ । सगरमाथा बेस क्याम्प नाम्चेबाटै जाने भएकोले उक्त क्षेत्र केही छायाँमा परेको छ । तर अगाडिपट्टी हिउँ नबस्ने नाङ डाँडोलाई त्यस क्षेत्रका स्थानीयले भगवानको रूपमा पूजा गर्दछन् । खुम्बिला नाम गरेको यो चुचुरोको विशेषता हिउँ पर्दैन र परे पनि टिक्दैन । खुम्जुङ यसै चुचुरोको फेदीमा अवस्थित एक आकर्षक गाउँ हो । जहाँ तीन दर्जन भन्दा बढी होटलहरू रहेका छन् ।   

नेपाली पदयात्रीलाई पनि सहज हुँदै
नेपाली पदयात्रीहरू अन्य क्षेत्रमा धेरै जाने गरे पनि सगरमाथा क्षेत्रमा जाने आँट हत्तपत्त गर्दैनन् । सडकबाट जान नसकिने र हवाई टिकटको चापले गर्दा नेपालीहरू त्यसतर्फ जान आँट नगर्ने पर्यटन अभियन्ता चक्र कार्की बताउँछन् । काठमाडौंबाट स्याङबोचेसम्म जानका लागि होटलहरू प्रशस्त भएकोले नेपालीहरूलाई कुनै पनि समस्या नपर्ने कार्कीले बताए । नेपालीहरूको लागि पनि प्याकेज दिँदै आएकोले अहिले खास महँगो नभएको उनको भनाइ छ । विगतमा जस्तो यस क्षेत्रमा नेपालीलाई पर्यटक नमान्ने चलन नरहेको होटल क्याम्प दि बेस होटल सञ्चालक निमा टासी शेर्पा बताउँछन् । अहिले नेपालीहरूका लागि पनि केही रुम सबै होटलहरूले छुट्याउने गरेकोले स्वदेशी पर्यटकका लागि सहज हँुदै गएको शेर्पाले बताए । 

समय र खर्च 
काठमाडौैं–लुक्लाको हवाई भाडा एकतर्फी ५ हजार 
होटलको रुम–१ हजारदेखि १५ सय 
खाना खर्च– सादा खाना ४ सयदेखि ७ सय रुपैयाँसम्म 
जम्मा लाग्ने खर्च–२० हजारदेखि ३० हजार रुपैयाँसम्म 
समय ५ दिन 
पहिलो दिन काठमाडौं–लुक्ला हँुदै फाक्दिङ बास
दोस्रो दिन फाक्दिङबाट नाम्चे 
तेस्रो दिन नाम्चे वरपर घुम्ने र स्याङबोचेसम्म जाने
चौथो दिन–फर्केर पुनः फाक्दिङ आएर बस्ने 
पाँचौं दिन लुक्लामा बस्ने वा काठमाडौं फर्कने 

९ महिनामा ३९ हजार ५ सय पर्यटक सन् २०१७ को ९ महिनामा सगरमाथा क्षेत्रमा पदयात्राका लागि जाने पर्यटकको संख्या ३९ हजार ५ सय ४३ पुगेको छ, जुन गत वर्षभन्दा दोब्बर भएको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ । सन् २०१६ को ९ महिनामा १८ हजार ३ सय ५० पर्यटक उक्त क्षेत्रमा गएका थिए । सन् २०१७ मा सबैभन्दा बढी सेप्टेम्बर महिनामा १२ हजार ४ सय ७३ पर्यटक सगरमाथा क्षेत्रमा गएका छन् । 


१५ हजार कर तिर्न धरान पुग्नुपर्छ
निमा टासी शेर्पा
सञ्चालक, होटल क्याम्प दि बेस होटल
पर्यटकका लागि खानाको सबै परिकार बनाउन सक्ने क्षमता नाम्चेका होटल व्यवसायीको छ । नाम्चेलाई राज्यले नभएर स्थानीयले बनाएको हो । करको मामलामा भने हामीले दुःख पाएका छौं । नाम्चेका होटल व्यवसायीलाई १५ हजार वार्षिक कर तिर्न १ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । नाम्चेबाट कर तिर्न धरान जानुपर्छ । सरकारलाई पटक पटक एउटा घुम्ति सेवा ल्याउन आग्रह गरेका छौं तर सुनेको छैन । बरु हामी १५ हजारको ठाउँमा १ लाख कर दिन्छौं ।
शब्द÷तस्बिर ; केदार दाहाल

Wednesday, July 12, 2017

प्राधिकरणसहित चार एयरलाइन्सको अडिट



अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को टोलीले चार वर्षपछि नेपालको हवाई क्षेत्रको वृहत् मूल्यांकन अर्थात अडिट सम्पन्न गरेको छ । आइकाओको टोलीले हवाई क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणसहित राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सको अडिट गरेको हो  ।  

नेपालकै आग्रहमा आइकाओको टोली गत असार २० मा नेपाल आएको थियो । टोलीले एकसातासम्म अडिट गरेको हो । टोलीले एक महिनाभित्र नेपाललाई ‘सिग्निफिकान्ट ‘सेफ्टी कन्सर्न’ (एसएससी) सूचीबाट हट्ने वा यथावत रहने जानकारी गराउनेछ ।  अडिट टोलीमा आइकाओका क्याप्टेन (पाइलट) भोउड्री यूजेनी र एरोनटिकल इन्जिनियर एडमन्ड बोहल्यान्ड सहभागी थिए । 

टोलीले प्राधिकरणसहित चार वटा अन्तर्राष्ट्रिय उडानको अनुमति लिएका एयरलाइन्सको अडिट गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, हिमालयन एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सको अडिट गरिएको हो । “टोलीले आइकाओको मूल्यांकन समितिलाई रिपोर्ट दिनेछ र सोहीअनुसार निर्णय एक महिनाभित्र आउने छ,” लामिछानेले भने । 

चार वर्षदेखि आइकाओले नेपाली हवाई क्षेत्रलाई एसएससी सूचीमा राखेको छ । “अडिटमा आउनु नै सकारात्मक भएकोले एसएससी सूचीबाट नेपाललाई हटाउनेमा हामी आशावादी छौं,” लामिछानेले भने ।

एसएससी हट्यो भने नेपालले युरोपेली आयोगलाई ‘हवाई सुरक्षा सूची’बाट हटाउन आग्रह गर्नेछ । एसएससीबाट हटाउने वा राखिने भन्ने अब अडिटरहरूको हातमा निर्भर छ । आइकाओले विश्वभरका मापन गर्ने ८ वटा सूचकांकमा नेपाल पनि पुग्नै लागेको दावी नेपाली पक्षले गरेको छ ।  

यसअघि सन् २००९ मा नेपालको अडिट गर्न आइकाओको टोली नेपाल आएको थियो । उनीहरूले ८ वटा सुझाव दिँदै तत्काल सुधार गर्न नागरिक उड्डयन  प्राधिकरणलाई आइकाओले चेतावनी दिएको थियो ।

सोही अडिटलाई आधार मान्दै २०१२ अक्टोवर २३ मा प्राधिकरणका तत्कालीन महानिर्देशकलाई पत्र लेख्दै आइकाओले औल्याएका कमजोरीको बारेमा सुधार कति भइरहेको छ भन्ने प्रश्न सोधेको थियो ।  आइकाओको टोली २००९ कै अडिटको ‘फलोअप’ भन्दै २०१३ को जुलाईमा नेपाल आएको थियो । अघिल्लो पटकको अडिटमा सुधारका लागि दिइएको सुझाव कार्यान्वयन नभएको भन्दै नेपाललाई २०१३ पछि आइकाओको एसएससी सूचिमा राखेको थियो । 

२००९ मा सुधारको सुझाव दिनु र नेपालमा हवाई दुर्घटना दरमा अप्रत्यासित वृद्धि हुनु एकैपटक भएको देखिन्छ । २०१० देखि  २०१२ भित्रमा अग्नी एयरका दुई वटा, सीता एयर, तारा एयर र बुद्ध एयर दुर्घटनामा ठुलो मानवीय क्षति भएको थियो ।

आइकाओले नेपाललाई २०१३ मा राखेको एसएससी लिस्टको आधारमा युरोपेली आयोगले नेपाली हवाई आकाशलाई ‘हवाई सुरक्षा सूची’मा राख्दै आएको छ ।

Tuesday, July 11, 2017

निगम चार गन्तव्यमा उडान स्थगित, १ अर्ब नोक्सान



हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको अवरोधका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले विभिन्न चार गन्तव्यमा उडान स्थगित गर्ने भएको छ ।

भाडामा ल्याउन लागिएको भुटान एयरलाइन्सको जहाज पुरानो भएको भन्दै प्राधिकरणले रोक लगाएपछि निगमले दुई महिनाका लागि दोहा, क्वालालम्पुर, बैंग्लोर र नयाँ दिल्लीको एक उडान स्थगित गर्ने भएको छ । यसबाट निगमले १ अर्ब रुपैयाँभन्दा बढी रकम नोक्सानी बेहोर्नुपर्नेछ ।

निगमले हाल उडान गरिरहेको बोइङ–७५७ जहाज सी–चेकका लागि सिंगापुर पठाउँदैछ । यसै साता पठाउन लागिएको उक्त जहाजको चेकिङको लागि २ महिना लाग्नेछ । उक्त जहाजले उडान गरिरहेका गन्तव्यका लागि निगमले ग्लोबल टेन्डर आह्वान गरेर भुटान एयरलाइन्सको जहाज भाडामा ल्याउने तयारी गरिरहेको थियो । तर सम्झौताको अन्तिम तयारी भइरहेका बेला प्राधिकरणले रोक लगाएको हो ।

निगमले हाल नौ वटा गन्तव्यमा उडान भर्दै आएको छ । निगमले ल्याउन लागेको जहाज १५ वर्ष पुरानो भएको भन्दै प्राधिकरण अन्तर्गतको सुरक्षा विभागले जहाज भाडामा ल्याउन नपाउने भन्दै रोक लगाएको निगम स्रोतले जनाएको छ ।

तर निगमले भने भाडामा ल्याउनको लागि प्राधिकरण ऐनमा कुनै उल्लेख नभएको दावी गर्दै आएको छ । प्राधिकरण र निगमबीच विवाद भएपछि यो विषयको निर्णय मन्त्रीस्तरबाट हुनुपर्ने भन्दै मन्त्रालय पठाइएको छ ।

हाल संष्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री नभएकाले निर्णय हुन सकेको छैन भने निगम सञ्चालक समितका अध्यक्ष सचिव शंकरप्रसाद अधिकारीसमेत विदेश भ्रमणमा छन् । अर्को टेन्डर गर्न नभ्याउने भएकोले निगमको जहाज भाडामा ल्याउने विषय अब अघि बढाउन नसकिने बताइएको छ ।  

निगमले आह्वान गरेको टेन्डरमा सहभागी भुटान एयरलाइन्सले १७ वर्षदेखि उडाउँदै आइरहेको एयरबस ए–३१९ लिजमा दिने तयारी गरेको थियो । निगमले जहाज खरिद गरेर ल्याउन मात्र १५ वर्षे नीति लागू हुने बताउँदै आए पनि प्राधिकरणले भने भाडामा ल्याउन पनि नमिल्ने तर्क गरेपछि भाडामा ल्याएर उडाने तयारी असफल भएको हो ।

निगमले जहाज भाडामा लिन मागेको प्रस्तावमा भुटानको टासी गु्रप अन्तर्गतको भुटान एयरलाइन्स र युक्रेनको टुवेल्भ स्टार एभिएसनअन्तर्गतको स्टार एयरलाइन्सले प्रस्ताव पेश गरेका थिए ।निगमले अव दुई महिनासम्म एयरबस ३२०–२०० सिरिजका दुई थान न्यारो बडी जहाजमार्फत बाँकी रहेका गन्तव्यमा उडान गर्नुपर्ने अवस्था छ ।

“निगमका यात्रुमा शाख जोगाइराख्नको लागि या भाडामा ल्याउन लागेका थियौं,” निगमका एक उच्च अधिकारीले भने, “तर प्राधिकरणले नभएको नियम लगाएर निगमलाई असहयोग गरेको छ ।” निगमसँग रहेको बोइङ–७५७ एसीए सिरिजको ‘कर्णाली’ विमान भने दोस्रो पटक ग्लोबल टेन्डर गर्दा पनि बिक्री हुने सकेको छैन । 

निगमलाई नयाँ जहाज खरिद गरी गुमेका गन्तव्यमा उडान सुचारु गराउनु तथा व्यवस्थापन सुधार गरेर नाफामा लैजानु अहिलेका प्रमुख चुनौती हुन् । यस्तै पुरानो ऋण तिर्नुसमेत अर्को चुनौती छ । तर, निगममा बेलाबखत हुने यस्तै घटनाले शाख गिर्दो क्रममा छ । गन्तव्य घट्दा निगमको शाख खस्कने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।   

Thursday, July 6, 2017

नाफाको ४२ प्रतिशत लुप्थान्सालाई



काठमाडौंः नेपाल वायुसेवा निगमको रणनीतिक साझेदारका लागि इच्छुक जर्मन कम्पनी लुफ्थान्सा कन्सल्टिङले वार्षिक नाफाको ३५ देखि ४२ प्रतिशत रकम आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ । कम्पनीले निगमको नाफाबाट पहिलो वर्ष ३५ प्रतिशत, दोस्रो वर्ष ४० प्रतिशत र तेस्रो वर्ष ४२ प्रतिशत रका आफूले पाउनुपर्ने  प्रस्ताव गरेको पाइएको छ । 
लुफ्थान्साले तीन वर्षको रणनीतिक साझेदारी शुल्कबापत ६८ करोड ८६ लाख ७६ हजार ४ सय ७१ रुपैयाँ पनि प्रस्ताव गरेको छ । लुफ्थान्साले पहिलो चरण र दोस्रो चरणको लागि २४ करोड ७६ लाख ५० हजार रुपैयाँ दिनुपर्ने प्रस्ताव गरेको छ भने तेस्रो चरणका लागि ३३ करोड ८६ लाख २५ हजार रुपैयाँ प्रस्ताव गरेको छ ।
लुफ्थान्सालले पहिलो चरणमा ४ हप्ता निगमको कमजोरी पत्ता लगाउने, दोस्रो चरणमा निगमको पुनर्संरचनाको खाका ५ महिनाभित्र तयार गर्ने र तेस्रो चरणमा काम गर्ने प्रस्ताव गरेको छ । निगमको रणनीतिक साझेदारका लागि लुफ्थान्सा नै उयपुक्त हुने निष्कर्षसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहमतिको लागि अर्थ मन्त्रालयमा पत्र पठाएको छ ।
पर्यटन मन्त्रालयको प्रस्ताव आह्वानमा लुफ्थान्सा कन्सल्टिङको मात्र प्रस्ताव परेको हो । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठित मूल्यांकन तथा सिफारिस समितिले एक महिनाअघि नै  प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको थियो । 
“हामीले  लुफ्थान्साको प्रस्तावलाई हरेक कोणबाट हेरेर छलफल गर्दा उपयुक्त देखेर थप प्रक्रिया अगाडि बढाउन सिफरिस गरेका छौं,” समितिका संयोजक बुद्धिसागर लामिछानेले भने । अर्थ मन्त्रालयले सहमति दिएपछि बाँकी प्रक्रिया अगाडि बढ्ने लामिछानेले जानकारी दिए ।   
लुफ्थान्साले निगमको इन्जिनियरिङ विभाग, अपरेसन विभाग, फाइनान्स विभाग, मार्केटिङ विभाग सम्हाल्ने गरी प्रस्ताव गरेको संयोजक लामिछानेले जानकारी दिए । रणनीतिक साझेदारी गर्न आउने कम्पनीले ग्राउन्ड ह्यान्डलिङको काम भने हेर्न पाउने छैन ।
मन्त्रालयले तत्कालको लागि १० वर्ष निगममा रणनीतिक साझेदार राख्ने गरी प्रस्ताव गरेको भएपनि लुफ्थान्साले पहिलो चरणमा तीन वर्ष  र दोस्रो चरणमा थप दुई वर्ष साझेदार बन्नेगरी प्रस्ताव गरेको छ । 
लुफ्थान्साले तीनवर्ष भित्र निगमलाई कायपलट गर्नेगरी प्रस्ताव ल्याएकोले अब अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति लिएपछि दुईपक्षीय छलफलबाट टुंग्याउने लामिछानेले जानकारी दिए । अर्थ मन्त्रालयले सहमति दिएपछि पर्यटन मन्त्रालयले निर्णयको लागि मन्त्रिपरिषद् पठाउनेछ । 
निगमले हाल ग्राउन्ड ह्यान्डलिङ बाट ३ अर्व रुपैयाँ आम्दानी गरेकोले गत वर्ष ५ करोड रुपैयाँ नाफामा गएको थियो । ह्यान्डलिङ नगर्ने हो भने १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बार्षिक नोक्सान हुने देखिएको छ । 

सिल्भर हेरिटेजको ३ अर्ब राष्ट्र बैंकबाट फुकुवा



२०२२ सम्म तीनवटा पाँचतारे सञ्चालनमा ल्याइने 

काठमाडौंः नेपाल राष्ट्र बैंकले ६ महिनादेखि रोकेको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको ३ अर्ब ५ करोड रुपैयाँ लगानी भिœयाउन स्वीकृति दिएको छ । केन्द्रीय बैंकले सिल्भर हेरिटेजले सबै प्रक्रिया पूरा गरेका कारण लगानी ल्याउन स्वीकृति दिइएको जनाएको छ । कम्पनीले यो रकमबाट पूर्वको झापामा पाँचतारे होटल खोल्ने जनाएको छ .\

ग्रुपले भैरहवा, झापा, धनगढीसहित काठमाडौंमा पनि पाँचतारे होटल खोल्ने महत्वकांक्षी योजनासहित ५ अर्ब रुपैयाँ लगानी गर्ने लक्ष्य राखेको थियो ।  विदेशी मुद्रामा लगानी भिœयाउँदा र लाभांश लैजाँदा राष्ट्र बैंकको स्वीकृति अनिवार्य चाहिने व्यवस्था छ । सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालि हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको नेपालमा लगानी गर्न बनेको सहायक कम्पनी हो ।   

सिल्भरले २ अर्ब रुपैयाँ भने यसअघि नै नेपाल भिœयाएर लगानी गरिसकेको छ । हाल रुपन्देहीको कोटीहवामा टाइगर प्यालेस नामको पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ । हङकङको सिल्भर हेरिटेज ग्रुपले नेपालमा पाँचतारे होटल खोल्नका लागि सो रकम नेपालमा भिœयाएकोे हो । राष्ट्र बैंकले आवश्यक पर्ने डकुमेन्ट पूरा नभएको कारण ६ महिनादेखि भने ३ अर्ब ५ करोड रुपैयाँ रोकिएको थियो । 

नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका प्रमुख भीष्मराज ढुंगानाका अनुसार  कम्पनीले आवश्यक पर्ने डकुमेन्ट पेस गरेको हुँदा पैसा रिलिज गरेको हो । हङकङमा केन्द्रीय कार्यालय रहेको सिल्भर हेरिटेज क्यासिनो र होटलको क्षेत्रमा लगानी गरेको कम्पनी हो । 

कम्पनीका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईंले केन्द्रीय बैंकले प्रक्रिया पु¥याउन केही समय लगाए पनि वैदेशिक लगानीका लागि बैंकको भूमिका सहयोगी रहेको आफूले महसुस गरेको बताए । “सरकारी निकायका विभिन्न जिम्मेवारी हुन्छन्, उहाँहरूले पूरा गर्नुभयो, समग्रमा मैले उहाँहरूको भूमिका सकारात्मक र सहयोगी पाएको छु,” बजगाईंले भने ।

सिल्भर हेरिटेजले रुपन्देहीको कोटिहवामा १५ बिघा क्षेत्रफलमा पाँचतारे होटल निर्माण गर्दैछ । भारतबाट क्यासिनो खेल्न आउनेलाई लक्षित गरेर होटल निर्माण भइरहेको छ ।  कम्पनीले रुपन्देहीमा निर्माण गरेको होटल यो वर्षदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । कम्पनीले झापामा टाइगर प्लालेस रिसोर्ट सञ्चालन गर्ने जनाएको छ । 

नेपालमा सन् २०१२ मा भित्रिएको हो । जसले अहिले काठमाडौंको सांग्रिला होटलमा मिलिनियर्स क्लब नामको क्यासिनो सञ्चालन गरिरहेको छ । यो क्यासिनो एसएचएल सर्भिसेजको नामबाट सञ्चालन भइरहेको छ ।

सिल्भर हेरिटेज ग्रुप गत अगस्ट २९ मा अस्ट्रेलियन सेकुरिटिज एक्सचेन्जमा सूचीकृतसमेत भएको थियो । उद्योग विभागले जेठ २८ गते राष्ट्र बैंकलाई सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिले आफ्नो पुँजी १ अर्ब ९५ करोडबाट वृद्धि गरी ५ अर्ब पु¥याउन लागेको जानकारी दिएको थियो ।

जानकारी पत्रका अनुसार सिल्भर हेरिटेज ग्रुपले एसएचएल सर्भिसेजमा ७५ करोड, टाइगर वानमा ८५ करोड र टाइगर टुमा १ अर्ब ४५ करोड थप लगानी गर्न लागेको छ । 

नेपालको पर्यटन र जलविद्युत्मा लगानी गर्ने उद्देश्य राखी स्थापना भएको यो कम्पनीले सन् २०२२ सम्ममा तीनवटा पाँचतारे होटेल सञ्चालन गर्ने लक्ष्य राखेको छ ।  सिल्भरले सञ्चालन गर्ने तीनवटै पाँचतारे होटेलमा क्यासिनोसहितको आधुनिक सुविधा रहने छन् ।  

Wednesday, July 5, 2017

हवाई सुरक्षामा सुधार

नेपाल केही वर्षयता युरोपेली युनियन (ईयू) को उड्डयन कालोसूचीमा रहँदै आएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को स्थलगत अनुगमन र अध्ययन प्रतिवेदनलाई आधार मान्दै ईयूले २०७० मंसिरमा आफ्ना सदस्य मुलुकभित्र नेपाली वायुसेवालाई निषेध गर्दै हवाई सुरक्षा सूचीमा राख्दै आएको छ ।

अहिलेसम्म यो कालोसूचीको प्रत्यक्ष ठूलो असर नपरेको भए पनि यसबाट अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा नेपालप्रति नकारात्मक सन्देश प्रवाह भइरहेको छ । नेपालको हवाई आकाशमा बारम्बार दोहोरिरहने दुर्घटनाहरूले पनि यहाँको उड्डयन क्षेत्र असुरक्षित नै हो कि भन्ने सन्देश प्रवाह भइरहेको छ ।

नेपालको भौगोलिक अवस्थाअनुसार सोलुखुम्बुको लुक्ला विमानस्थललाई विश्वकै जोखिमयुक्त विमानस्थलको सूचीमा राखिएको छ नै, अन्यत्रका विमानस्थल पनि जोखिमयुक्त छन् भन्ने सन्देश यहाँका हवाई दुर्घटनाले दिने गरेका छन् ।

खास गरी हवाई दुर्घटनाको अनुसन्धान प्रभावकारी हुन नसक्नु नै नेपालको हकमा सबैभन्दा फितलो पक्ष देखिएको छ । हवाई दुर्घटना भएपश्चात् हुने जाँचबुझतर्फ भने सुधार हुन नसकेको तथ्यांक छ, विश्वमा सरदर ५५.५४ प्रतिशतको अनुपात रहेकोमा नेपालको अवस्थामा २०.४१ प्रतिशतमात्र रहेको छ । जुन तथ्यांक आइकाओको मापदण्डभन्दा निकै खराब हो ।

हरेक पटक विमान दुर्घटना भएपछि जाँचबुझ आयोगहरू बनाइने गरिएको भए पनि तिनले गर्ने अनुसन्धानहरू प्रायःजसो कोठे हुने र सधैं एकै प्रकारका प्रतिवेदन दिने प्रवृत्तिले नेपाली अनुसन्धानप्रति विश्वास नजागेको हो ।

हवाई सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुसार कम्तीमा पनि ३९ प्रतिशत सुरक्षा उपाय अवलम्बन हुनैपर्छ, तर नेपालको अवस्था कमजोर देखिएकै कारण आईकाओको सन् २००९ को स्थलगत अध्ययन–प्रतिवेदन र सन् २०१३ को फलोअप अडिटले सुधारका धेरै पक्ष औंल्याएको हो ।

ईयूकै कालोसूचीमा परेर मुलुककै बदनाम भएपछि भने नेपाल नागरिक उड्डयन प्राधिकरण र सरकारले हवाई सुरक्षा सुधारमा निकै सक्रियता देखाउँदै आएका छन् । आईकाओले सार्वजनिक गरेको आठवटा सूचकमध्ये केहीमा सुधार गरेको तथ्यांक सार्वजनिक भएकोे छ ।

यसअनुसार पछिल्लो चार वर्षमा नेपालले हवाई कानुन कार्यान्वयनमा सबैभन्दा बढी सुधार गरेको छ । आइकाओले सार्वजनिक गरेको तथ्यांकमा विश्वमा कार्यान्वयनको दर ७०.१२ प्रतिशत रहेकोमा नेपालले सुधार गर्दै ६९.५७ प्रतिशत पु¥याएको छ ।

सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने हाम्रो अवस्था सन् २०१३ मा ४३ प्रतिशत रहेकोमा अहिले ५८.१ प्रतिशत पुगेको छ । विश्वव्यापी लक्ष्य ६० प्रतिशत छ । नेपाल पछिल्लो हवाई सुरक्षा अडिटपछि त्यो सूचक हासिल गर्ने अवस्थामा पुग्ने सरकारी अधिकारीहरूको विश्वास छ ।

विश्वकै नागरिक उड्डन क्षेत्रको नियमन गर्दै आएको आईकाओले विश्वका १ सय ९० देशको उड्डयन सुरक्षाको अडिट गर्दै आएको छ । उसले सार्वजनिक गर्ने प्रत्येक सूचकको विशेष रणनीतिक अर्थ रहन्छ । यसले जमिनमाथि उड्ने प्रत्येक व्यक्तिको जीउधनको सुरक्षा मात्रै गर्दैन, विश्वभरि नै सुरक्षित हवाई यात्राको प्रत्याभूतिसमेत गराउँछ ।

त्यसैले पनि नेपालले आईकाओद्वारा यसअघि दिएका हरेक सुझावको अक्षरशः पालना गर्नैपर्ने अवस्था थियो र अझै पनि छँदै छ । पछिल्लो हवाई सुरक्षा अडिटको नतिजाले नेपालको अवस्थामा सुधार भएको देखिए आईकाओको सिग्निफिकेन्स सेफ्टी कन्सर्न (एसएससी) सूचीबाट हट्नेछ । यो सूचीबाट हट्नुको अर्थ ईयूको कालोसूचीबाट पनि हट्नका लागि आधार सिर्जना हुनु हो । 

एयर काष्ठमण्डपको एओसी खारेज



काठमाडौंः नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर काष्ठमण्डपको उडान अनुमति (एओसी) खारेज गरेको छ । काष्ठमण्डपले सन् २००९ मा दुई जहाजमार्फत उडानको लागि अनुमति पाएको थियो ।

नेपालगन्ज र सुर्खेतबाट कर्णाली क्षेत्रमा चार्टर उडान गर्दै कार्गो तथा यात्रुलाईसमेत सेवा दिँदै आएको काष्ठमण्डपको एओसी जेठ २६ मा खारेज भएको हो । प्राधिकरणले अमुमति खारेजीको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि गराइएको जनाएको छ । 

प्राधिकरणका अनुसार गत चैत १२ मा एयर काष्ठमण्डपलाई पत्र लेख्दै दुई महिनाभित्र कम्पनीको अडिट पास गराउन भन्दै पत्र काटेको थियो । काष्ठमण्डपले अडिट पेश गर्न अटेर गरेपछि एओसी खारेजीको निर्णय भएको प्राधिकरण स्रोतले जानकारी दियो । २०७२ फागनुमा  नेपालगन्ज विमानस्थलबाट जुम्लाका लागि उडेको ९ एन–एजेबी पीएसी ७५० एक्स एल कलसाइन भएको काष्ठमण्डपको जहाज दुर्घटनामा परेपछि एउटा जहाजमा सीमित भएको छ ।  

हाल काष्ठमण्डपसँग एक थानमात्र छ । जहाज उडान गर्ने पाइलटको साथै इन्जिनियहरूको समेत अभाव खेपेको एयरलाइन्सले लामो समयदेखि उडान भर्न सकेको थिएन । प्राधिकरणले पटकपटक ताकेता गर्दा पनि उडान सुचारु गर्न नसकेको तथा अडिटमा फेल भएको भन्दै उडान अनुमति खारेज गरेको हो । काष्ठमण्डपले पुनः सञ्चालन गर्न चाहेमा नयाँ प्रक्रियाअनुसार एओसी अनुमति लिनुपर्ने व्यवस्था छ । 

पछिल्ला केही वर्षदेखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपाललाई ‘सिग्निफिकान्ट ‘सेफ्टी कन्सर्न’ (एसएससी) मा राखेपछि उडान अनुमति र नवीकरणमा कडाइ गर्दै आएको छ ।

आइकाओको टोलीले ४ वर्षपछि नेपालको उड्डयन क्षेत्र मंगलबारदेखि अडिटसमेत थालेको छ । नेपालमा सिंगल इन्जिनयुक्त काष्ठमण्डपको एक, गोमाको दुई र मकालु एयरको एक गरी चारथान जहाज छन् । सरकारले यीनमा यात्रु बोक्न प्रतिबन्ध लगाउँदै आएको छ । 

काष्ठमन्डपको एओसी खारेजीमा परेसँगै अब नेपालमा एओसी अनुमति पाएर उडान भर्ने एयरलाइन्सको संख्या १९ मा झरेको छ । नयाँ एयरलाइन्स कम्पनीहरू आक्रामक बजार विस्तारमा लागिरहेका वेला पुराना एयरलाइन्सहरूले भने सञ्चालन गर्न नसकेर खारेजीमा परेको छ ।