Monday, January 2, 2012
हवाई पर्यटक साढे ५ लाख
काठमाडौं, १७ पुस
नेपाल पर्यटन वर्ष २०११ मा हवाईमार्ग हुँदै झन्डै साढे ५ लाख पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०११ मा हवाईमार्ग हुँदै नेपाल भिœने पर्यटकको संख्या ५ लाख ४४ हजार ९ सय ८५ पुगेको छ । गत वर्ष (सन् २०१०) मा ४ लाख ४८ हजार ७ सय ६९ पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका थिए । गत वर्षको तुलनामा यो वर्ष हवाई पर्यटक ९६ हजार २ सय १६ जनाले बढेका छन्, । यो वृद्धिदर गत वर्षकोभन्दा २१.४ प्रतिशतले बढी हो । सरकारले सन् २०११ लाई पर्यटन वर्ष घोषणा गरी नेपालमा १० लाख पर्यटक भिœयाउने लक्ष्य सार्वजनिक गरेको थियो ।
पर्यटन वर्षमा स्थलमार्ग हुँदै कति पर्यटक भित्रिए भन्ने एकीकृत तथ्यांक आइसकेको छैन । बोर्डका प्रवक्ता आदित्य बरालको अनुमानमा हवाईमार्ग र स्थलमार्ग हँुदै नेपाल आउने पर्यटकको संख्या ८ लाख पुगेको हुनसक्छ ।
“पर्यटन वर्षको संकेत राम्रो छ र अहिलेकै पूर्वाधारले पनि सन् २०१२ मा हामीहरू १० लाखभन्दा बढी पर्यटक भिœयाउन सक्छौं,” बरालले भने । पछिल्लो समयमा सीएनएन र बीबीसीमा नेपालको पर्यटन बजारबारे भइरहेको प्रचार–प्रसार तथा भारत र चीनमा गर्ने भनिएको प्रचारका कार्यक्रमले गर्दा १० लाख सहजै पुग्ने उनले बताए ।
पर्यटन वर्षमा भएको आगमन वृद्धिले नेपालमा पर्यटनको विकल्प छैन भन्ने प्रस्ट पारेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अर्जुन शर्माले बताए ।
“सरकारले बोलेका र गर्छु भनेका कुरा गरिदिएको भए १० लाखभन्दा बढी पर्यटक यसै वर्ष नेपाल आउने थिए,” शर्माले भने । पर्यटन वर्ष यतिसम्म सफल हुनुमा व्यवसायीको ठूलो भूमिका रहेको शर्माको दाबी छ । नेपालमा यो संख्याले सरकारले चासो तथा तदारूपता देखाउने हो भने केही वर्षमा नै २० लाख पर्यटक नेपाल भिœयाउन सकिने शर्माले दाबी गरे । “वातावरण मिलेमा सन् २०१२ मा नै १० लाख पर्यटक नेपाल आउने छन्,” उनले भने ।
सन् २०११ मा दक्षिण एसियाली मुलुकबाट नेपाल आउने पर्यटकको संख्यामा ३१.२ प्रतिशतले वृद्धि भएको छ । यस क्षेत्रबाट गत वर्ष १ लाख ३० हजार ७ सय ९५ पर्यटक नेपाल भित्रिएकामा सन् २०११ मा यो संख्या बढेर १ लाख ७० हजार १ सय ४५ पुगेको छ । पर्यटन वर्षको अबधिमा पनि अघिल्ला वर्षहरूमा जस्तै सबैभन्दा बढी भारतबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । भारतबाट नेपाल आउने पर्यटकको संख्या गत वर्ष १ लाख ४ हजार ४ सय ७० पर्यटक रहेकामा सन् २०११ मा उक्त संख्या वृद्धि हुँदै १ लाख ४५ हजार ३ सय ३८ पुगेको छ, यो संख्या ३९.१ प्रतिशतले बढी हो ।
सन् २०११ मा एसिया प्रशान्त मुलुकबाट नेपाल आउने पर्यटकको संख्यामा पनि उच्च वृद्धि भएको छ । यस क्षेत्रबाट गत वर्ष ८३ हजार ३ सय ९६ पर्यटक नेपाल आएकामा चालू वर्षमा १ लाख १० हजार २ सय ८० पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका छन् । यो संख्या गत वर्षभन्दा ३२.२ प्रतिशतले बढी हो । यी मुलुकहरूमध्ये चीनबाट नेपाल आउने पर्यटकको संख्या ७७.६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष चीनबाट नेपाल आउने पर्यटकको संख्या २५ हजार ५ सय ५९ पर्यटक नेपाल आएकामा यस वर्ष ४५ हजार ४ सय पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।
पर्यटन वर्षमा युरोपियन मुलुकबाट नेपाल आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । गत वर्षमा १ लाख ३८ हजार ७ सय २४ पर्यटक नेपाल आएकामा सन् २०११ मा भने १ लाख ५४ हजार २ सय ८७ पर्यटक नेपाल आएका छन् । जुन गत वर्षभन्दा ११.२ प्रतिशतले बढी हो । सन् २०११ मा इजरायलबाट नेपाल आउने पर्यटक संख्यामा वृद्धि भएको छ । गत वर्ष जम्मा ४ हजार ५८ पर्यटक नेपाल आएकामा यस वर्ष ६ हजार ४ सय ७० पर्यटक नेपाल भित्रिएका छन् । जुन गत वर्षभन्दा ५९ प्रतिशतले बढी हो । त्यस्तै गरी अस्ट्रेलिया र न्युजिल्यान्डबाट नेपाल आउने पर्यटकको संख्यामा १२.६ प्रतिशतले बढेको छ । गत वर्ष १६ हजार ६ सय ६० पर्यटक नेपाल आएकामा यस वर्ष भने १८ हजार ७ सय ५४ पर्यटक नेपाल भित्रिएका छन् । त्यसैगरी अमेरिकन मुलुक क्यानाडा र यूएसएबाट नेपाल आउने पर्यटक संख्यामा १३.६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ४२ हजार १ सय ६७ पर्यटक नेपाल आएकामा यस वर्ष ४७ हजार ८ सय ९२ पर्यटक नेपाल आएका छन् ।
बेलहियाबाट १ लाख ३३ हजार
भैरहवाको बेलहिया नाका हँुदै नेपाल पर्यटन वर्ष २०११ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको संख्या १ लाख ३३ हजार २ सय ८६ पुगेको छ । स्थलमार्गको एउटै नाकाबाट नेपाल भ्रमण गर्न आउने तेस्रो मुलुकको पर्यटकहरूको संख्या हालसम्मकै सर्वाधिक रहेको अध्यागमन कार्यालय बेलहियाले जनाएको छ । सन् २०११ को पर्यटक आगमन संख्या सन् २०१० को तुलनामा करिब ३१ प्रतिशत अर्थात् ३१ हजार १ सय ६६ ले बढेको छ । सन् २०१० मा यो नाका हुँदै १ लाख २ हजार १ सय २० पर्यटक नेपाल आएका थिए । ट्राफिक कार्यालयका अनुसार अढाई लाखभन्दा बढी भारतीय पर्यटक स्थलमार्ग हुँदै नेपाल आएको र त्यसमा ७० प्रतिशत धार्मिक पर्यटक छन् ।
बेलहिया हँुदै सबैभन्दा बढी विदेशी पर्यटक आउने मुलुकमा पहिलो नम्बरमा श्रीलंका छ । सन् २०११ मा यो नाकाबाट श्रीलंकाका ६६ हजार १ सय ५३ पर्यटक आएका छन् । गत वर्ष श्रीलंकाबाट स्थलमार्ग हुँदै ४४ हजार ४ सय ९२ पर्यटक आएका थिए । त्यस्तैगरी थाइल्यान्डका करिब २५ हजार, म्यानमारका १६ हजार, दक्षिण कोरियाका ६ हजार १ सयलगायत बाँकी अन्य मुलुकका छन् ।
काँकडभिट्टाबाट घटे
पर्यटन वर्षको अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट ५ हजार ५१ जना पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको तुलानामा ५ सय ८६ ले कम हो । यही नाकाबाट अघिल्लो वर्ष ५ हजार ६ सय ३७ जना पर्यटक नेपाल भित्रिएका थिए । बंगलादेशी पर्यटक भित्रिने क्रम घटेसँगै पूर्वीनाकाको पर्यटकीय चहलपहल घटेको हो । ४ वर्षअघिसम्म बर्सेनि १२ हजार जनाभन्दा बढी बंगलादेशी पर्यटक काँकडभिट्टा नाका हुँदै नेपाल आउने गरेका भए पनि पर्यटन वर्ष २०११ मा जम्मा ४ सय २७ जना नेपाल भित्रिएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ ।
नयाँवर्षमा ठमेलको कारोबार ६ करोड
काठमाडौं, १७ पुस
नयाँवर्षको पूर्वसन्ध्याको अवसरमा ठमेलमा मात्र झन्डै ६ करोड रुपैयाँको कारोबार भएको छ । नयाँवर्षको अवसरमा ठमेलका व्यवसायीले शतप्रतिशत कारोबारमा वृद्धि गर्ने गरेकाले सो रकमबराबर कारोबार भएको ठमेल पर्यटन विकास परिषद्ले दाबी गरेको छ । ठमेलमा अन्य विशेष दिन तथा अवसरमा भन्दा नयाँवर्षको कार्यक्रममा कारोबारमा उच्च वृद्धि हुने गरेको व्यवसायीको भनाइ छ । नयाँवर्षको अवसरमा ठमेलका रेस्टुेरन्ट, डान्स बारहरूमा विदेशीको तुलनामा ८० प्रतिशत नेपाली जाने गरेका छन् ।
नयाँवर्षको अवसरमा ठमेलमा सबै प्रकार सेवा तथा सुविधा पाइने भएकाले त्यसतर्फ नेपाली युवाहरू आकर्षित हुने गरेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले जानकारी दिए । “ठमेलमा नयाँवर्षमा रेस्टुरेन्ट तथा बारहरू ८० प्रतिशत नेपालीले भरिने गरेको छ,” श्रेष्ठले भने । नयाँवर्षको अवसरमा ठमेलमा दुई दिनसम्म बढी चहलपहल हुने गरेको छ । ठमेलमा रेस्टुरेन्ट, डान्स क्लबलगायत झन्डै १ सय ५० भन्दा बढी रेस्टुरेन्ट छन् । नयाँवर्षको अवसरमा बार तथा क्लबहरूमा थोरैमा पनि ४ लाखभन्दा बढीको कारोबार हुने गरेको परिषद्को भनाइ छ । नयाँ वर्षलगायतका अवसरमा ठमेलमा मात्र झन्डै १० करोडभन्दा बढीको कारोबार हुने गरेको व्यवसायीहरूको अनुमान छ ।
नेपाली युवा–युवतीलगायत परिवारिक जमघट ठमेलमा नै गर्ने परम्पराको विकासले पनि नयाँवर्षमा ठमेल बढी मात्रामा तात्ने गरेको उनको भनाइ छ । नयाँवर्ष तथा अन्य अवसरको कार्यक्रममा ठमेल तात्नुले नेपालमा पनि रात्रीकालीन व्यवसाय आवश्यक छ भन्ने कुरा प्रस्ट हुने श्रेष्ठको भनाइ छ ।
अन्य अवसरमा भन्दा नयाँवर्षको अवसरमा कारोबारमा शतप्रतिशत वृद्धि हुने गरेको ठमेलस्थित ब्रसेल्स रेस्टुरेन्ट एन्ड बारका सञ्चालक काजीबाबु श्रेष्ठले बताए । आफ्नो मात्र होइन सबैजसो रेस्टुरेन्ट, डान्सबार तथा क्लबहरूमा कारोबारमा वृद्धि हुने गरेको श्रेष्ठले जानकारी दिए ।
राति १ बजेसम्म खुल्यो ठमेल
क्रिसमसको अवसरमा २ बजेसम्म खोल्न दिने सहमति उल्टाउँदै १२ बजेनै प्रशासनले बन्द गराए पनि नयाँवर्षको पूर्वसन्ध्यामा भने ठमेल १ बजेसम्म खुलेको थियो ।
व्यवसायीले नयाँवर्षमा १ बजेसम्म बजार खोल्न दिने सहमति गराएका थिए । १ बजेसम्मको सहमति भए पनि नयाँवर्षको अवसरमा राति २ बजेसम्म पनि ठमेलमा चहलपहल सकिएको थिएन । “हामीले क्रिसमसमा जस्तो खल्लो नहोस् भनेर पहिलेनै अवगत गराएका थियौं,” श्रेष्ठले भने ।
क्रिसमसको अवसरमा रात्री व्यवसायलाई २ बजेसम्म सञ्चालन गर्न दिइने पूर्वसहमति विपरीत जिल्ला प्रशासन कार्यालय काठमाडौंले १२ बजेनै बन्द गराए पछि ठमेललगायत क्षेत्रमा क्रिसमस इभ कार्यक्रम खल्लो भएको थियो ।
तात्यो ठमेल
नयाँवर्ष २०१२ को पूर्वसन्ध्यामा पूरै ठमेल तातेको थियो । ठमेलमा नयाँवर्षको पूर्वसन्ध्या र पहिलो दिन बढी मात्रामा युवा–युवतीहरू तथा पारिवारिक जमघट हुँदै आएको छ । नेपालीहरू रमाइलो गर्न नयाँवर्षमा बढी मात्रामा ठमेल जाने गरेपछि ग्राहक तान्न व्यवसायीबीच होडनै चलेको थियो ।
खासगरी ठमेलमा सञ्चालनमा रहेका रेस्टुरेन्ट, डान्सबार, डान्स क्लब लगायतहरूले स्पेसल अफर तथा स्पेसल परिकारहरूको बिक्रीमा होड नै चलाएका देखिन्थे । परिषद्ले गएको वर्षदेखि भने सडक महोत्सव नगरे पनि नेपालीहरू ठमेलमा बढीमात्रामा जाने गरेका छन् । ठमेलमा पर्किङको समस्या तथा साँघुरा गल्लीका कारण गत वर्षदेखि नै सडक महोत्सव गर्ने गरिएको छैन ।
Sunday, January 1, 2012
पर्यटक बढे पनि व्यापार १५ प्रतिशत घटेको छ
अध्यक्ष, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)
अध्यक्ष, ठमेल पर्यटन परिषद्
काठमाडौंमा ४ दशक अघिदेखि पर्यटन व्यवसाय गर्दै आएका तेजेन्द्रनाथ श्रेष्ठको परिवारले सन् १९७० देखि नै रेस्टुरेन्ट व्यवसाय सुरु गरेको थियो । पर्यटक आगमनको क्रम बढेपछि पर्यटकीय सामग्रीको होटल (ताहाचल गेस्ट हाउस), आयात निर्यात, कार्पेट, इलेक्ट्रोनिक्सलगायतका व्यवसायहरू सञ्चालन गरिसकेका छन् । बुवाको प्रेरणाले व्यवसायसँगै सामाजिक सेवामा समेत लागेको बताउने श्रेष्ठले हाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन र ठमेल पर्यटन परिषद्को समेत नेतृत्व लिइरहेका छन् । क्रिस्टल सिटीमार्फत हाउजिङ व्यवसायमा पनि संलग्न रहेका श्रेष्ठले रेडन कलेज, थर्ड आइ र यिङ याङ रेस्टुरेन्ट लगायतका व्यवसाय सम्हालिरहेका छन् । प्रस्तुत छ, श्रेष्ठसँग मुलुकको पर्यटन, रेस्टुरेन्ट, हाउजिङ, ठमेल क्षेत्र लगायतका विषयमा कर्पोरेट ब्युरो प्रमुख विपेन्द्र कार्की र संवाददाता केदार दाहालले गरेको कुराकानी ः
अहिले नेपालमा सेवामूलक व्यवसाय गर्न कत्तिको सजिलो छ ?
नेपालमा हालको अवस्थामा व्यवसाय राम्रोसँग सञ्चालन हुन सकिरहेको छैन । अलिकति अगाडि बढ्न खोजेको जस्तो देखिन्छ, फेरि कहिले पूर्व बन्द, कहिले पश्चिम बन्द हुने गरेको छ । एकदिनको बन्दले पनि व्यवसायमा धेरै दिनसम्म असर पारिरहने भएकाले राजनीतिक स्थिरता नहँुदा हाल कुनै पनि क्षेत्रको व्यवसायमा राम्रो र सकारात्मक अवस्था छैन ।
यस वर्ष पर्यटकको संख्या त बढेको छ, यसले व्यवसायमा कस्तो असर परेको छ ?
नेपालमा यस वर्ष पर्यटकको संख्यामा राम्रै वृद्धि भएको छ । संख्याको आधारमा धेरै पर्यटक यस वर्ष नेपाल भित्रिए पनि व्यापारको दृष्टिले समग्रमा हेर्ने हो भने गत वर्षभन्दा १५ प्रतिशतले कमी आएको छ । यस वर्षको व्यापारले के देखाउँछ भने संख्यामात्र बढ्दा व्यापार व्यवसाय राम्रो हुने होइन गुणस्तरलाई पनि ध्यान दिनुपर्ने प्रमाणित भएको छ ।
त्यसो भए नेपालमा अब संख्यात्मक र गुणात्मक पर्यटक आगमनका विषयमा छलफल हुनु आवश्यक छ ?
हो, पहिले पनि हामीहरूले संख्यालाई मात्र ध्यान नदिएर गुणात्मक पर्यटक भिœयाउनमा जोड दिनुपर्छ भन्दै आएका हौं । तर, त्यसका लागि पर्यटनको पूर्वाधार विकासमा जोड दिनुपर्छ । खानेपानीदेखि यावत समस्याहरू छन् । भर्खरै मात्र खानेपानी विभागले होटल याक एन्ड यती तथा मल्ल होटललाई कारबाही गर्ने भनेको छ । केको आधारमा कारबाही गर्ने त्यत्रो कामदारलाई रोजगारी दिइरहेका संस्थालाई ? सरकारलाई हरेक वर्ष करोडौं राजस्व तिर्दै आएको छ । के त्यता तिर ध्यान दिनुपर्दैन ? त्यसैले नेपालमा गुणस्तरको पर्यटक भिœयाउन सम्पूर्ण क्षेत्रको पूर्वाधार विकासमा ध्यान दिनुपर्छ ।
पूर्वाधारकै कुरा गर्दा ठमेलको अवस्था कस्तो छ ?
नेपालमा खासगरी १२ महिनाको कुरा गर्दा सबै समयमा पर्यटक नेपाल भिœयाउन सकेका छैनौं । अक्टोबर एक महिनामा मात्र पर्यटक आउँदा त ठमेलम मानै पर्यटक पुगेको छैन । हामीले १० लाख पर्यटक नेपाल भिœयाउने कुरा गर्दा फेरि एक महिनामा ल्याउने हो भने सम्भव छैन । तर, हरेक महिना केही न केही पर्यटक भिœयाउने हो भने त्यो राम्रो हुन्छ भनेका थियौं । सन् २०११ मा पनि मार्च महिनामा २३ करोड रुपैयाँ छुट्याएर विज्ञापन गर्ने भनेको कुरा हाल आएर थालिएको छ । यसले के प्रभाव पार्छ । यदि ठमेलमा बाह्रै महिना पर्यटक भिœयाउने हो भने धेरै पूर्वाधारको आवश्यकता पर्छ । पूर्वाधार विकास गर्ने कुरामा कहाँदेखि थाल्ने हो, त्यो बारेमा सानो कुरामा पनि ध्यान दिनुपर्छ । कुन मापदन्डमा कुन व्यवसाय खोल्ने भन्ने कुरा अहिलेसम्म कुनै पनि निरीक्षण गर्ने निकाय छैन । रेस्टुरेन्ट खोल्नको कुनै मापदण्ड छैन, जहाँतही खुलेका छन् । के सबै पर्यटक स्तरका छन् त ? त्यसैले सरकारले हरेक क्षेत्रमा मापदण्ड लागू गराउनुप¥यो । ठमेलको पूर्वाधारको कुरा गर्दा सडक व्यापारीहरूमा पनि समस्या छ । उनीहरूलाई हटाउन सकिएको छैन । पर्यटकहरूले सधैं गुनासो त्यही सडक व्यापारीहरूको गर्ने गरेका छन् ।
पछिल्लो समय ठमेल नेपालीको पनि आकर्षणको केन्द्र बनेको छ र बेला–बेलामा विभिन्न झमेलाहरू पनि हुने गरेको छ नि !
यो त ठमेलको मात्र नभएर सम्पूर्ण क्षेत्रको समस्या बनेको छ । महानगरपालिकामा एउटा प्रहरीले २ सय नागरिकलाई हेर्नुपर्नेमा ६ सय लाई हेर्नुपर्ने अवस्था छ । त्यसमा प्रहरीहरू दबाबमा काम गर्नुपर्ने अवस्था छ । अर्को कुरा मनोरन्जनका लागि युवा–युवतीहरूको आकर्षण ठमेलमा बनेको छ । त्यसले पनि समस्या हुँदै गएको छ । हामीले बारहरूमा पनि त्यस्तो हुन नदिन पहल जारी राखेका छौं । क्रिसमसमा पनि त्यस्तै भयो । सुन्धारमा तरबार भेटियो भनेर ठमेल बन्द गराइयो के अब ब्राजिलमा जहाज दुर्घटना भयो भनेर नेपालमा जहाज उडान नभर्ने ? त्यसैले समस्या जहाँतही छ त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने कुरा हो ।
ठमेलको व्यवसाय चल्नुमा नेपाली र विदेशीको योगदान कति–कति छ ?
सिजनमा विदेशी नै हो । बेसिजनमा नेपाली हो तर हाल ठमेलमा धेरै परिर्वतन आइसकेको छ । हामीले परिवारका लागि ठमेल भन्ने नारा राखेको र त्यसको प्रभाव पनि धेरै नै परेको छ । त्यसका लागि स्वदेशीहरू ठमेलको रेस्टुरेन्टमा धेरै न मात्रमा आउने गरेका छन् ।
तपाईं रेबानको अध्यक्ष पनि हुनुहुन्छ, नेपालमा रेस्टुरेन्ट चलाउन कि प्रहरी कि डनहरू चाहिन्छ भनिन्छ नि !
खासमा यो कुरा गलत सोचाइ हो । रेस्टुरेन्टको नाममा अरू व्यवसाय, धन्दा चलाउनेहरूले चलाएको हल्ला मात्र हो । त्यसैले रेस्टुरेन्ट बार एन्ड डान्स भनेर बनाउनु नै गलत हो । कि डान्स क्लब राख्नुप¥यो, दोहोरीसाँझ मात्र राख्नुप¥यो डान्स बारमा मानिस किन जान्छ डान्स गर्न होइन ? दोहोरीसाँझ दोहोरी सुन्न होइन ? नाम अनुसारको काम भएमा त्यस्तो समस्या रहँदैन ।
तपाईंहरू ठमेलमा व्यवस्थित बनाउन पनि त लागिरहनुभएको छ होइन ?
हो, हामीहरूले डान्स बारहरूलाई व्यवस्थित गराउन लागिरहेका छौं । मसाज सेन्टरहरूलाई नीतिअनुसार चलाउन लागिरहेका छौं । हाल डान्स क्लबहरूमा पनि पहिले जस्तो छैन । पहिले संकटकालमा धेरै चलेका र घर गाडीहरू पनि जोड्न सफल भए तर आज त्यस्तो अवस्था छैन । नेपालमा डान्स क्लब, मसाज सेन्टरलगायत सबैलाई व्यवस्थित गर्नुपर्छ । यस्ता कुराहरू निर्मल पार्न सकिँदैन त्यसका लागि व्यवस्थित बनाएर रात्रिकालीन व्यवसायका रूपमा विकास गर्नुपर्छ ।
के नेपालमा रेडलाइट क्षेत्रको आवश्यकता छ भन्न खोज्नुभएको हो ?
यस्तो क्षेत्र बनाउन प्रस्ताव पनि पटक–पटक सरकारी निकायमा पुगेको छ । तर नेपालमा निर्णायक तहमा नै पुगेका मानिसहरूनै त्यस्तो ठाउँमा जाने गरेकाले त्यसलाई वैधानिकता दिन मानिरहनुभएको छैन । रेडलाइट एरिया कुन मुलुकमा छैन र ? मलेसिया, बैंकक, सिंगापुर जहाँ पनि छ । उनीहरूले त्यसबाट नै अर्बौं डलर आम्दानी गरिरहेका छन् । खाली त्यसलाई प्रयोग गर्ने कसरी भन्ने कुरा मात्र हो । जे कुरा पनि मानिसको चाहनामा भर पर्ने कुरा हो ।
समग्र ठमेलसहित रेस्टुरेन्टलगायत क्षेत्रलाई व्यवस्थित बनाउन तपाईंका कार्ययोजनाहरू के–के छन् ?
नेपालमा त्यस्ता क्षेत्रहरूलाई व्यवस्थित बनाउन रात्रिकालीन व्यवसाय र रात्रिकालीन मनोरञ्जनको विकास आवश्यक छ । त्यसका लागि चौबीसै घण्टा नै व्यवसाय सञ्चालन हुनुपर्छ । रात्रि व्यवसाय र रात्रिकालीन मनोरन्जनलाई सेक्सका रूपमा हेरियो भने हामी फेल हुन्छौं । त्यसका लागि स्वतन्त्र गराइयो भने नराम्रो कामहरू आफैं घटेर जान्छ । जब बन्देज गरिन्छ त्यहाँ चिटिङ भइहाल्छ । त्यसको लागि रात्रिकालीन व्यवसायको विकासमा लाग्नुपर्छ, त्यसमा नकारात्मक सोचले होइन, सकारात्मक सोचले गाइयो भने सरकारलाई पनि राजस्वको मात्रामा धेरै वृद्धि हुन्छ ।
हाउजिङ व्यवसायी पनि हुनुहुन्छ, हाल राष्ट्र बैंकको नीतिले गर्दा धराशायी पनि बनेको छ, तपाईंको आफ्नो व्यवसाय कस्तो छ ?
हुन त जाडो समयमा सबैले न्यानो लुगा लगाइरहेका बेला मलाई न्यानो छ भनेर पानीमा बस्न सकिँदैन । अहिले हाउजिङको व्यवसाय एकदमै खराब भएको छ । घरजग्गा हाउजिङ व्यवसायलाई अनुत्पादक भनिरहेको अवस्था छ । अहिले देखिएको अवस्था हरेक १०–१० वर्षमा आइरहने समस्या हो । नेपालमा हाउजिङ व्यवसायको सुरुवात भएको २०५४ सालदेखि मात्र हो । त्यसैले यो सधैं रहन्छ जस्तो लाग्दैन । रियल स्टेट व्यवसायका रूपमा विकास भयो । एकैदिनमा तीन पटकसम्म एउटै जग्गाको बैना हुन थाले, बैंकहरूले पनि कर्जा बढाउँदै लगे, राष्ट्र बैंक मूकदर्शक भएर हे¥यो तर पछि अनावश्यक कडाइ गरिदिएपछि पूर्ण ठप्प भयो ।
नेपालमा पहिले यस्तो विकास नै भएको थिएन । नेपालीहरू आफ्नै घर चाहिन्छ भन्ने मानसिकतामा थिए । हाल हाउजिङ व्यवसायमा आएको मन्दीले गर्दा कति क्रसर उद्योगहरू बन्द भएका छन्, कति इँटा भट्टीहरू बन्द भएका छन् । त्यसैले सरकारले जुन क्षेत्रलाई अनुत्पादक भनी रहेको अवस्था छ, त्यो सोचाइनै गलत हो । ठूला देशहरूमा किन त्यत्रो ठूला टावर बनेका छन् । नेपालबाट लाखौं युवाहरू त्यही कामका लागि बाहिरिएका छन् । यस्ता कुराहरू भनेको त कुनै पनि देशको विकासको सूचकांक हो जस्तो लाग्छ ।
तपाईंको आफ्नो व्यवसाय कसरी चलिरहेको छ ?
क्रिष्टल सिटीको डिजाइन गर्दा पूरै नयाँ मोडलमा इको सिस्टमको अवधारणालाई आधार मानी निर्माण गर्ने कोसिस गरे । जब यो मन्दी आएपछि सिंगल घरका रूपमा सुरु गरेका छौं । मंगलबारदेखि लन्चिङ पनि गरिएको छ । आठवटा जति सुलभ मूल्यमा दिने विचार गरेका छौं ।
हाउजिङ व्यवसायको भविष्य कस्तो देख्नुभएको छ ?
हरेक व्यक्तिमा घरजग्गा जोड्ने भनेको सपना हो । त्यसैले यो व्यवसाय सुनौलो छ । त्यसमा कसरी जाने भन्ने कुरा सरकारको नीतिमा भर पर्ने भएकाले आजको आवश्यकता के हो भन्ने कुरा सरकारले मन्दी नआउँदै नीतिहरू तयार पारिदिने हो भने व्यवसायी र उपभोक्ता दुवैलाई सहज हुने हामीले देखेका छौं ।
नेपालमा लगानी कर्ताहरूको मनोबल बढाउन के हुनुपर्छ जस्तो लाग्छ ?
नेपालमा लगानीकर्ताहरूको मनोबल बढाउन आवश्यक छ, त्यस्तो भएमा ठूलो लगानी स्वदेशी पनि आउन सक्छ । अन्य मुलुकमा उद्योगपतिहरू निजी जहाज लिएर नेपाल आउने गरेका छन् । नेपालका उद्योगपतिलाई पनि त्यो अधिकार हुनुप¥यो, उनीहरू जहाज किन्ने हैसितमा पुग्न सक्छन् । मैले जहाज नै किनिहाल्छन् भन्न खोजेको होइन तर सरकारी नीति त्यस्तो हुनुप¥यो, जसले गर्दा स्वदेशी र विदेशी लगानीकर्ताहरूको मनोबल बढेर जाओस् ।
तपाईंले धेरै क्षेत्रमा व्यवसाय गरिरहुनुभएको छ, आफूलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
हाल शैक्षिक, पर्यटन, रेस्टुरेन्ट, वैदेशिक रोजगार, हाउजिङ लगातमा क्षेत्रमा काम तथा नेतृत्व गरिरहेको छु । पहिले सुरु–सुरुमा एकदमै अप्ठेरो पनि भएको थियो । तर, यसले एक कामलाई अर्को काममा लिंक गर्दा फेरि मानिसलाई यति धेरै शान्त बनाउँदो रहेछ, कि ठमेलमा प्रहरीदेखि व्यवसायी, सडक व्यापारीसम्म डिल गर्छु, कलेज गएपछि शिक्षक, विद्यार्थीसम्म डिल गर्छु, म्यानपावरमा त्यस्तै डिल गर्नुपर्ने । त्यसैले धेरै क्षेत्रमा काम गर्दा फेरि गाह्रो पनि, रमाइलो पनि छ । नेपालमा यस्तो कार्य गर्न असजिलो हुनु स्वाभाविक पनि हो । अन्य मुलुकमा भने यस्तो व्यवसाय सहजै सञ्चालन हुन्छन् ।
Tuesday, December 20, 2011
सहसचिव अर्यालद्वारा समितिको संयोजक पद अस्वीकार
काठमाडौं, ४ पुस
नेपाल पर्यटन बोर्डमा रिक्त सञ्चालक समिति सदस्य पदपूर्ति छनोट समितिको संयोजकमा रहन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावलाई सह–सचिव रञ्जनकृष्ण अर्यालले अस्वीकार गरेका छन् ।
मन्त्रालयको प्रस्ताव अस्वीकारसँगै बोर्ड सदस्य र बोर्डको सीईओ छनोट प्रक्रिया अझै लम्बिने भएको छ । बोर्ड सदस्यहरूको समयावधी सकिएर खाली भएको स्थानमा पदपूर्ति गर्न मन्त्रालयले बोर्ड सदस्य छनोट समिति गत साता बनाउने जानकारी दिए पनि हालसम्म गठन हुन सकेको छैन ।
बोर्डको प्रमुख कार्यकारी नियुक्ति गराउने जिम्मा पाएको छनोट समितिका सदस्यहरूको समयवधी सकिएपछि प्रक्रिया नै अबरुद्ध छ । यो अन्योल हटाइ प्रक्रियालाई छिटो सुचारु गराउन बोर्ड सदस्य नियुक्ति प्रक्रिया अगाडि बढाउन छनोट समिति तय गर्न लागेको भए पनि अर्यालले अस्वीकार गरेपछि दुवै प्रक्रिया अबरुद्ध भएको छ ।
मन्त्रालयले अर्याललाई छनोट समितिको संयोजकमा प्रस्ताव गरेको तर उहाँले नबस्ने जानकारी दिएकाले समिति निर्माण प्रक्रिया रोकिएको मन्त्रालयका प्रवक्ता हरि बस्यालले जानकारी दिए । अर्यालले आफ्नो व्यस्तता देखाउँदै छनोट समितिमा नबस्ने बताएको बस्यालले जानकारी दिए । तर स्रोतका अनुसार प्रधानमन्त्री पत्नी हिसिला यमी र पर्यटनमन्त्री लोकेन्द्र बिष्टबीच आफूनिकटकालाई सदस्य बनाउन हानाथाप सुरु भएपछि उनले पद अस्वीकार गरेका हुन् । “अब छिट्टै मन्त्रालयले अर्को नाउँ तय गरेपछि समिति निर्माण हुन्छ,” बस्यालले भने । सार्वजनिक निजी साझेदारीको अबधारणा (पीपीपी) बमोजिम बोर्डमा व्यावसायिक प्रतिनिधि राखिने प्रावधान छ ।
बोर्डको कार्यकारी प्रमुख नियुक्त प्रक्रिया अगाडि बढाउन बोर्ड सदस्य नियुक्त गर्नुपर्ने भएकाले मन्त्रालयले छिट्टै बोर्ड सदस्य नियुक्ति प्रक्रियालाई अगाडि बढाउन लागि रहेको बस्यालले जानकारी दिए । मन्त्रालयका सह–सचिवस्तरीय छनोट समितिले व्यावसायिक संघसंस्थासँग छलफल गरी पाँच जनाको नामावली मन्त्रालयमा पठाउने र मन्त्रीस्तरीय निर्णयले तीन जनाको नियुक्ति बोर्ड सदस्यका रूपमा गरिने प्रावधान छ ।
यसअघि व्यावसायिक संस्थाको प्रतिनिधित्व गर्ने गणेश सिम्खडा र ङिमी शेर्पा बोर्ड सदस्य थिए । उनीहरू नियुक्त भएको ४ वर्षे कार्यकाल सकिएको छ । अर्का सदस्य धु्रवनारायण श्रेष्ठको समयवधी सकिएको छैन । “बोर्ड सदस्यहरूनै छनोट समितिका सदस्यहरू रहेकामा हाल उनीहरूको समय सकिएपछि सीईओ छनोट प्रक्रिया रोकिएको हो,” बस्यालले भने । बोर्ड सदस्य पनि नयाँ र सीईओ छनोट समिति पनि नयाँ भएपछि मात्र नियुक्ति प्रक्रिया अगाडि बढ्ने मन्त्रालयले बताउँदै आएको छ ।
पीपीपीबमोजिम बोर्डमा व्यावसायिक प्रतिनिधि राखिने गरेको भए पनि मन्त्रीको हस्तक्षेप हुने गरेको बताउँदै व्यवसायीले यसपटक कुनै पनि हालतमा त्यस्तो हुन नदिने बताइ रहेको बेला छनोट समितिमा नै तीन जनामध्ये दुई जना व्यावसायिक प्रतिनिधित्व हुने भएकाले त्यस्तो नहुने मन्त्रालयले प्रष्ट पारेको छ । बोर्ड सदस्यमा पर्यटन व्यवसायीको प्रतिनिधिका रूपमा नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल(टान), होटल एसोसिएसन नेपाल (हान), नेपाल पर्वतारोहण संघ (एनएमए) लगायतबाट छनोट गरिन्छ । १३ वर्ष अगाडि पर्यटन विभागलाई विघटन गरी पीपीपी अवधारणाअनुसार नेपाल पर्यटन बोर्डको गठन गरिएको थियो ।
Tuesday, November 1, 2011
सवारी साधन बुकिङ उच्च
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ बढेपछि गाडी तथा मोटरसाइकलको बुकिङ उच्च दरले बढेको व्यवसायीहरूले बताएका छन् । डलर वृद्धिले तेस्रो मुलुकबाट आयात हुने सवारी साधनको मूल्य बढ्ने भएकाले बुकिङ बढेको हो ।
डलरको मूल्य बढे पनि नेपालमा गाडी व्यवसायीले स्टकमा रहेका सवारी साधन नै बिक्री गरिरहेकाले हालसम्म त्यसको असर परेको छैन । नयाँ गाडी भित्र्याउँदा मूल्यवृद्धि हुने निश्चित भएपछि उपभोक्ता सवारी किन्न आतुर देखिएको व्यवसायीको बुझाइ छ ।
लामो समयदेखि गाडी बिक्रीमा उच्च गिरावट खेप्दै आएका व्यवसायीलाई असोजमा भने केही राहत मिलेको छ । आर्थिक वर्ष ०६७/६८ को मंसिरदेखि ओरालो लागेको अटोबजार चालू आवको असोजमा आएर उकालो लागेको हो । गाडी तथा मोटरसाइकल बिक्री भदौको तुलनामा असोजमा वृद्धि भएको नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष तथा साझा बिजनेस ग्रुपका प्रबन्ध निर्देशक राजेशकाजी श्रेष्ठ बताउँछन् ।
स्टक गाडी सकिएर नयाँ आउनेबित्तिकै उपभोक्ताले १० देखि ५० हजार रुपैयाँसम्म बढी तिर्नुपर्ने उनले जानकारी दिए । केही अघि ७१ रुपैयाँ रहेको अमेरिकी डलर अहिले ७९ रुपैयाँ पुगेकाले नयाँ आउने गाडीको मूल्य बढ्ने निश्चित छ ।
चालू आवको भदौमा भन्दा असोजमा गाडीतर्फ ४६ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा मोटरसाइकलतर्फ पनि ३४ प्रतिशतले वृद्धि भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । भदौमा ३ हजार ६ सय १५ थान मोटरसाइकल विभागमा दर्ता भएकोमा असोजमा ३४ प्रतिशत वृद्धि भई ५ हजार ४ सय ३६ थान पुगेको छ । त्यस्तै भदौमा ५ सय ११ थान गाडी दर्ता भएकोमा असोजमा ४७ प्रतिशत वृद्धि हुँदै ९ सय ५८ थान विभागमा दर्ता भएको छ । गत आवको तुलनामा बिक्रीदरमा मोटरसाइकलतर्फ ८ प्रतिशतले वृद्धि भएको छ भने गाडीतर्फ ९ प्रतिशत गिरावट आएको छ ।
गएको भदौमा नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा)ले सञ्चालन गरेको अटो सो २०११ तथा दसैं अफरको प्रभाव पनि न्यून देखिएको बताइएको थियो । दसैंतिहार तथा छठको अफर कार्यक्रमको प्रभाव पनि भदौमा भन्दा असोजमा बढी परेकाले अटोबजार उकालो लागेको व्यवसायीको अनुमान छ ।
यस वर्षको बजेटमा २० लाखसम्मको सवारी साधन खरिद गर्दा स्रोत खुलाउनुपर्ने प्रावधानको सीमा ५० लाख पु¥याइएपछि पनि अटोक्षेत्रमा प्रभाव परेको श्रेष्ठको बुझाइ छ । “अहिले चिनियाँलगायत सबै प्रकारका सवारी साधनको बिक्रीदरमा वृद्धि भएको छ,” उनले भने ।
भदौमा भन्दा असोजमा सवारी साधनतर्फको राजस्वमा पनि वृद्धि भएको छ । भदौमा ८ करोड ९१ लाख ६३ हजार ८ सय ७ रुपैयाँ राजस्व संकलन भएको थियो । यातायात व्यवस्था विभागका अनुसार असोजमा १० करोड १६ लाख १९ हजार ३ सय २५ रुपयाँ संकलन भएको छ । त्यस्तै गाडीतर्फ पनि भदौमा १९ करोड १० लाख ६८ हजार ४ सय ३६ रुपैयाँमात्र संकलन भएकोमा असोजमा भने २४ करोड १० लाख ९८ हजार २१ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
सरकारले गत मंसिरमा मोटरसाइकलमा विभिन्न शीर्षकमा लाग्ने करको दस्तुर ८० प्रतिशत तथा गाडीमा २३८ प्रतिशत पु¥याएपछि अटोबजार ओरालो लाग्दै आएको थियो ।
पर्यटन बोर्ड कार्यकारी प्रमुखविहीन
सरकार र निजी क्षेत्रबीच समन्वय गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापित नेपाल पर्यटन बोर्ड मंगलबारदेखि नेतृत्वविहीन बन्न पुगेको छ । बोर्डका कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठको चारवर्षे कार्यकाल सोमबार सकिएको छ ।
नयाँ कार्यकारी प्रमुख छनोट प्रक्रिया पूरा नभएकाले बोर्ड प्रमुखविहीन बन्न पुगेको हो । एक महिनाअघि गणेश सिंखडा, ङिमी सेर्पेनी र ध्रुवनारायण श्रेष्ठ सदस्य रहेको नयाँ सीईओ छनोट उपसमिति गठन गरिएको थियो । कार्यकारी प्रमुख छनोट प्रक्रियाले अहिलेसम्म पनि गति लिन नसकेको भन्दै सरोकारवालाहरूले असन्तुष्टि जनाएका छन् ।
उपसमितिले कार्यकारी प्रमुखका लागि गत कात्तिक महिनामा आवेदन खुलाएकोमा १८ जनाले निवेदन दिएका थिए । आवेदकमध्येबाट उपसमितिले कार्यकारी प्रमुखका लागि सिफारिस गर्न सकेको छैन । हालसम्म उपसमितिको बैठकसमेत बस्न सकेको छैन ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अर्जुनप्रसाद शर्माले उपसमितिले अहिलेसम्म पर्यटन व्यवसायीसँग छलफल नगर्नुले बोर्डमा सही व्यक्ति आउनेमा आशंका लागेको बताए । नयाँ कार्यकारी नियुक्तिमा ढिलाइ गर्न नहुने उनले बताए ।
सरोकारवालाहरूले श्रेष्ठको कार्यकालमा पर्यटन क्षेत्रले राहत महसुस गरेको प्रतिक्रिया दिएका छन् । श्रेष्ठले भने आफ्नो कार्यकालमा भएका राम्रा अनि नराम्रा कामको सही मूल्यांकन हुनुपर्ने बताए । आफू पदमा नरहे पनि पर्यटनको विकासका लागि सक्दो सहयोग गर्ने उनको भनाइ छ ।
नाट्टा अध्यक्ष शर्माले श्रेष्ठको कार्यकालमा बोर्डले पर्यटन व्यवसायी र सरकारी निकायसँग पुलको भूमिका निर्वाह गर्नु मुुख्य उपलब्धि भएको बताए । श्रेष्ठले अगाडि बढाएका राम्रा काम सरकारले स्थायित्व नपाउँदा पूरा हुन नसके पनि उनको कार्यकाललाई व्यावसायिक क्षेत्रले सफल मानेको अध्यक्ष शर्माको भनाइ छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागलाई विघटन गरी १२ वर्षअघि सार्वजनिक–निजी साझेदारीको अवधारणामा सञ्चालन गर्ने गरी बोर्ड गठन गरिएको थियो । श्रेष्ठसँगै बोर्डमा तीन जनाले कार्यकारी प्रमुखको जिम्मेवारी पूरा गरिसकेका छन् । पहिलो कार्यकालमा प्रदीपजंग पाण्डे थिए भने दोस्रो कार्यकाल टेकबहादुर डाँगीले सम्हालेका थिए ।
श्रेष्ठले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आइतबार नै बोर्डलाई औपचारिक पत्र पठाएका थिए । पर्यटन बोर्डका कर्मचारीहरूले श्रेष्ठलाई सोमबार नै अनौपचारिक रूपमा बिदाइसमेत गरेका थिए ।
Sunday, October 30, 2011
पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १८ जनाको आवेदन
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १८ जनाले आवेदन दिएका छन् । कार्यकारी प्रमुखका लागि आवेदन दिने अन्तिम म्याद आइतबारसम्ममा पर्यटन क्षेत्रसँग सम्बद्ध १८ जनाको आवेदन परेको पर्यटन बोर्ड स्रोतले जनाएको छ ।
चार÷चार वर्षमा बोर्डमा नयाँ कार्यकारी प्रमुख नियुक्त गर्ने गरिन्छ । अबको कार्यकालका लागि व्यावसायिक क्षेत्र, सरकारी तथा गैरसरकारी क्षेत्रमा रही लामो समय पर्यटन क्षेत्रमा काम गरेका व्यक्तिहरूको आवेदन परेको स्रोतको भनाइ छ । बोर्डका वर्तमान कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठको कार्यकाल कात्तिक १४ गते सकिने भएपछि नयाँ नियुक्तिका लागि आवेदन खुलाइएको हो ।
बोर्डको कार्यकारी प्रमुख पदका लागि सरकारले ३५ दिने सूचना जारी गरेको थियो । यो म्याद आइतबार सकिएको हो । ३५ दिनको अवधिमा १८ जनाले उक्त पदमा आफ्नो दाबी पेस गरेका हुन् ।
आवेदन संकलन तथा नयाँ कार्यकारी प्रमुख छनोटका लागि बोर्ड सञ्चालक समिति बैठकले तीन सदस्यीय टोली गठन गरेको छ । छनोट समितिमा बोर्ड सदस्यहरू ध्रुवनारायण श्रेष्ठ, निमी सेर्पा र गणेश सिंखडा छन् । समितिले ३५ दिनभित्र कार्यकारी प्रमुख नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था छ । समितिले पहिलो चरणको प्रारम्भिक नाम दर्ता सार्वजनिक गर्ने अनि दोस्रो चरणमा संकलित नामहरूबाट प्रस्ताव संकलन गर्नुपर्ने प्रावधान छ । त्यही प्रस्तावपत्र र अन्तर्वार्ताका आधारमा नयाँ कार्यकारी नियुक्त गरिन्छ ।
बोर्डको कार्यकारी प्रमुखका लागि आवेदन दिनेहरूमा डा. गंगाप्रसाद अकेला, ज्ञानेश्वरप्रसाद सिंह महतो, डा. रघु विष्ट, भूमिलाल तामाङ, लोकबहादुर खत्री, डा. नारायणकृष्ण प्रधान, जितेन्द्र राना, दीपकराज जोशी, डा. ज्ञानेन्द्ररत्न तुलाधर, विष्णुबहादुर जीसी, कृष्ण थापा, सुवास निरौला, डा. हरि शर्मा, शिवशरण थापा, गजेन्द्रराज शर्मालगायत छन् । कार्यकारी प्रमुखका लागि कम्तीमा १० वर्ष पर्यटन क्षेत्रमा सेवा गरेको हुनुपर्ने व्यवस्था छ ।
१२ वर्षअघि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागलाई विघटन गरी सार्वजनिक–निजी साझेदारी (पीपीपी)को अवधारणामा सञ्चालन गर्ने गरी नेपाल पर्यटन बोर्डको गठन गरिएको थियो । बोर्डमा हालसम्म श्रेष्ठसँगै तीन जना कार्यकारी प्रमुखले आफ्नो कार्यकाल पूरा गर्दै छन् । जसमध्ये पहिलो कार्यकालमा प्रदीपजंग पाण्डे थिए भने दोस्रो कार्यकाल टेकबहादुर डाँगीले सम्हालेका थिए ।